तिमीले दिएका चोटहरू
फूलझैं सँगालेर
छातीमा नसमेटेको भए
म कसरी तिमीलाई
बारम्बार सम्झिरहन सक्थैँ र ?
तिमी आगो बोल्थ्यौ
आँधी हिँड्थ्यौ,
र सुनामी उत्पातले
मलाई लथालि· पार्थ्यौ
म त्यही आगोका शब्दमा
फूल सुम्सुम्याउँथे
आँधी हिँडाइमा
चाहनाकी देवयानी देख्थेँ
सुनामी उत्पातमा
पुनर्निर्माणको प्रेरणा पाउँथेँ ।
अवगालका पाइताला
बाक्लो जमेको रातको प्रीत
कल्पनामै मात्र रहिरह्यो
दुखेको कल्पना र
च्यातिएको सपना अनि
निमोठिएको विपना
मेरा अंशका चरित्रहरू ।
तिम्रो बाटोको चुम्बक
म कमजोर फलामको गन्तव्य
दन्त्यकथाका राक्षस पात्रहरू
आँखाको जाल विछ्याएर
सहर हल्लामा पौडिरहेछन् ।
मासुका मनचिन्ते व्यापारी
सहरभरि व्याप्त छन्
खबरदार आमाहरू
बालक लिएर खोपी पस
मेरो दुर्भाग्य
कटाक्ष व्यापारको सिकार छु
प्रत्येक चोटलाई
मनको खोपीमा
जतनसाथ राखेको छु ।
प्रतीक्षामा छु
चोटहरू स्नेहास्त्रमा परिणत हुने दिन
र हातका माला पहिरिने दिन ।
म खालि
चोट – पुष्पको प्रतीक्षामा छु
चोट – मालाको प्रतीक्षामा छु ।
मेरो मालाका लागि
एउटा फूल थपिदिन्नौ र मित्र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *