एउटा पुलकित अनुहार
जब मेरो अगाडि उभिदिन्छ
मेरा अकल्पनीय आकाङ्क्षाहरू
लक्ष्मणरेखाभित्रै
कठ्याङ्ग्रिन बाध्य हुन्छन् ।
अनन्तहीन बाटाहरूमा
म तिम्रा
पैतलाका डोबहरू पछ्याउँदैछु
लाखौं तृष्णाहरू
सल्बलाउँदै मडारिन थाल्दैछन्
म केवल एक्लो छु एक्लो…..
सदाचार र परिष्कारको भुँवरीमा
कल्पनै कल्पनाको बर्को ओढेर
तिम्रा पैतलाको ध्वनि सुन्न खोज्दैछु ।
मनभित्रका धेरैकुराहरू
जिन्दगीका गाराभरि
तस्बिरझैं हाँस्दैछन्
पखेटा काटिएका चराहरू
जिल्लिएझैं
मेरै कोठाभित्र म…..
रोज जिल्लिएर तिमीलाई पर्खिरहेको छु ।
तिमीले र मैले तृष्णा-वितृष्णामा
जेलिदै हुर्काएका
यी सुकुमार अनुहारहरू…
तिम्रा र मेरै रापमा झुल्सिदै छन् ।
बाटो बिर्सेको यात्रीझैं
चौमुहानीमा प्रश्न बोकेर
म उभिएकै छु
कुन बाटाबाट
तिमी र्फकने हो ?
तिम्रो पुलकित अनुहार
आफ्नै अगाडि
अझैं खोज्दैछु अझै खोज्दैछु

-‘भृकुटी कुञ्ज’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *