आज तिम्री छोरीले माटो केरी कखरा लेखी साइँली दिदी
चोरेर भाइको कापी हेरी हेरी कखरा लेखी साइँली दिदी
भाइलाई स्कुल पठाएर वस्तु लखेट्दै जङ्गल पस्याथी
त्यहाँ पनि रुख खोपेर फेरि कखरा लेखी साइँली दिदी
भान्सा सकी जूठो चुल्हो आँगन कसेर गर है भन्दा
अँगेनीको कोइला झिकी मझेरी कखरा लेखी साइँली दिदी
माटो पखाल्छौ कि रुख ढाल्छौ कि फेरि मझेरी पोत्छौँ हँ
कसरी मेट्छौ त्यसले त मनभरि कखरा लेखी साइँली दिदी
– सहिद चोक, भरतपुर ।
