आँखा अघिल्तिर
छोइएलाझैँ गरी
एक हूलव चखेवा उड्न थालेपछि
मैले पुराना सपनाहरू निकालेँ
हृदयका मुदुसबाट
जसरी एउटा झरीमा
बग्दै गरेको कागजको डुङ्गा पल्छन्छ
र कलिलो मन खिन्न हुन्छ,
फ्रेमभित्रको तस्विरका ओठमा
हिउँ जमेर चिसो पाक्छ
र सदियौंदेखिको मौनता
हृदयसँगैको आकारमा जम्छ,
क्रूरताका जुत्ताहरू मुन्तिर
टेकिएर फूलको मन
आँसुका भाकाको पुरानो शृङ्खला
ओठ खोज्दै बग्छ
जसरी शिकारीका आँखामा रात ब्यूँझिएर
खलनायक स्वप्न तिर्खा खोक्छ
कुनै भूल नगरी घायल मनले समय बोल्छ
र दुख्ने व्याकरणको कारखाना खोल्छ
रुझाएर उकाली ओरालीहरू
निदको झुलिरहने बगैंचामा
जहाँ जरादेखि नै शङ्का फुल्छ
मैले प्रेम गरेकी केटीका घर अघिल्तिर
एउटा सिपाही रात सम्झेर
घरी-घरी आफैसँग टुक्रन्छ
र हाम्रा आँखालाई
हावाका औंलाहरूले
सीना मिचेरै कुल्चन्छ
हृदयका मुदुसबाट मैले
पुराना सपनाहरू निकालें
आँखा अघिल्तिर छोइएलाझैं गरी
यादहरूको हुरीमा
एक हूल चखेवा उड्न थालेपछि ।
पोखरा
