“सखिये हो ! माघीक् पिली गुरी जाँर …” (साथीहरू हो ! माघीमा पियौँ गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो थारू गीतको एक हरफले थारूको पहिचान झल्काउँछ । एकापसमा रमाइलो गर्ने, साथीभाइबीच प्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ पर्व थारू जातिको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, लागू गर्ने, प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षभरिको कामको समीक्षा गर्दछ । एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वर्षभरिका लागि बनाइएको योजना सफल भए कि भएनन् ? सफल भए भने कतिमात्रामा भए र असफल भए भने के कारणले भए, यावत कुराको लेखाजोखा गहन तरिकाले यस पर्वमा थारूहरूले गर्ने गर्दछन् । जिम्मेवारी पाउनेले जिम्मेवारी निर्वाह गर्न सक्यो कि सकेन ? लापरवाही गरेको छ भने उसलाई के-कस्तो दण्ड जरिवाना गर्ने आदि कुराको निक्र्यौल माघीले गर्छ ।
थारू जातिको मौलिकता बोकेको ऐतिहासिक चाड माघी विकासे पर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास जगाउँछ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको उत्सर्जन गर्दछ । वर्षभरिको दुःख सुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो-मसिनो खाएर आत्मसन्तुष्टि लिने काम हुन्छ । विवाहगरी अन्य ठाउँमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरूको सुख-दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम पनि हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्न पाउँछन् र बुवा-आमासँग सुख-दुःखका कुराहरू साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा अरूसँग साटेर अलिकति भए पनि मन हलुङ्गो पार्ने अवसर यस चाडले दिन्छ ।
नेतृत्व छनौट
माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको पाप पखालिन्छ भन्ने थारूमा गहिरो जनविश्वास छ । त्यो दिन सशुल्क नुहाउने गरिन्छ । जलदेवतालाई पैसा चढाएर मात्र नुहाउने चलन छ । कामको सिलसिलामा घरबाहिर गएकाहरू माघीमा अनुकुलता भए अनिवार्य घर र्फकन्छन् । मिलनको अवसर जुराउने यस पर्वले नयाँ नेतृत्वको छनौट पनि गर्दछ । गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निक्र्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बडघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को व्यवस्था गरिन्छ । उनीहरूको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । वर्षभरिको घरको नाफा नोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने नभए अर्को व्यवस्था गर्ने गरिन्छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बडघरले गर्ने गर्दछ । गाउँको नीति नियम बनाउने र त्यसको पालना गराउने जिम्मेवारी गाउँभरिका मानिसहरू सामुहिक छलफल गरेर बडघर लगायतका पदाधिकारीलाई सुम्पने गर्दछन् । बर्षभरिको कामको जिम्मा लिई बसेको बड्घरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा हटाउन पनि सकिन्छ । गाउँको साझा नीति नियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । त्यसो हुन नसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिनसक्छ । यसप्रति सबै चनाखो हुन्छन् । माघीदेखि थारूहरूको नयाँ खाता सुरूवात हुन्छ । तिर्नुपर्ने ऋणहरू चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्ने काम हुन्छ । कुलोपानीको उचित व्यवस्थापनको योजना निर्माण हुन्छ । थारूहरू बडघर छनौट गर्दा गाउँको सक्षम व्यक्तिको चयन गर्ने गर्दछन् । पुरूष या महिला जो नेतृत्वका लागि सक्षम हुन्छ त्यही नै बडघरको जिम्मेवारी सम्हाल्ने मौका पाउँछ । थारू गाउँमा महिलाहरू बडघर हुने प्रचलन उहिलेदेखिको हो । तर सङ्ख्यात्मक रूपमा महिला बडघर भएको निकै कम उदाहरण भेटिन्छ । कैलालीको केही गाउँमा गैरथारू पनि बडघर रहेका छन् ।
जीता मार्ने चलन
माघेसंक्रान्ति मकरसंक्रान्ति सँगै पर्ने हुनाले त्यसदिन पाप र अशुभ काम नगर्ने हुनाले थारूहरू पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर-बंगुर काट्ने गर्छन् । जसलाई थारू भाषामा “जीता मार्ने” भनिन्छ । मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने गरिन्छ, त्यो सम्भव नभए अन्य गाउँ ठाउँमा गएर पनि सुंगुर बंगुर किनेर ल्याइन्छ । गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासु काटेर भाग लगाई वितरण गर्ने गरिन्छ । मासु खान पाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरू निकै फुरूङ्ग हुने गर्छन् । माघेसंक्रान्तिका दिन विशुद्ध चोखो चिजबस्तुहरू घरमा बनाई खाने गरिन्छ । चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ ।
चेलीबेटीलाई उपहार
यस पर्वमा थारूहरू आफ्ना चेलीबेटीलाई गच्छेअनुसार उपहार टक्र्याउँछन् । चेलीबेटीका लागि नछुट्याएसम्म आफू खाना समेत खाँदैनन् । कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नानगरी घर आएर चेलीबेटीका नाममा नुन, चामल, दाल लगायतका खाद्यान्नहरू छुट्याएर मात्र बाँकी कामको शुरूवात हुन्छ । त्यसका अतिरिक्त नगद, लत्ता कपडा तथा अन्य खाद्यान्न सामग्री दिने गरिन्छ । विवाह गरी अर्काको घरमा गएका चेलीलाई मात्र सो सामान उपहारस्वरूप दिने गरिन्छ । जसलाई थारूमा ‘निसराउ’ भनिन्छ । माघीको निसराउ नपाए चेलीबेटीहरू आफू माइतबाट उपेक्षित भएको महशुस गर्ने हुनाले अनिवार्यरूपमा सो उपहारको व्यवस्था गरिएको हुन्छ । यस्तो उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारमा ठूलो महत्त्व राख्ने थारूहरूको बुझाइ छ । तर अहिले सो उपहारलाई समानतासँग तुलना गर्न थालिएको छ । महिला-पुरूष बरावरीको नाराले सधैंभरि चेलीबेटीलाई माइतका वालाले उपहार दिनुपर्ने प्रसङ्गमा प्रश्नचिन्ह लगाउन थालिएको छ । आर्थिक अवस्था दयनीय रहेकाले पनि चेलीबेटीलाई उपहार दिनुपर्ने बाध्यात्मक परिपाटीलाई बदली सक्षम चेलीबेटीले आफ्नो माइतका परिवारलाई पनि सक्दो सहयोग गर्ने परिपाटीको विकास गर्न आवश्यक रहेको कतिपय थारू अगुवाहरूको भनाइ छ ।
जाँड नभएको पनि के थारू ?
विशेषगरी माघीमा थारूहरू ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरूल, माछा, गंगटा, मासु, जाँड र त्यसको झोल एवं दारू लगायतका परिकार खाने गर्दछन् । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरूगीत तथा डफुहरू बजाई मनोरञ्जन गरिन्छ । गाउँघरमा एउटा उखान छ “जाँर ना दारू काहेक् थारू” (जाँड नभएको पनि के थारू) । त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारूको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरू सत्कारस्वरूप पाहुना तथा घर गाउँका सदस्यलाई खान दिइन्छ । अघिपछि काममा व्यस्त हुने थारूहरू चाडवाडमा खुलेरै रमाइलो गर्ने गर्दछन् । यस चाडमा आफू पनि खाने र अरूलाई पनि खुवाउने चलन छ । घरका सदस्यहरूसँगै गाउँका अन्य सदस्यहरूलाई पनि बोलाई खुवाइन्छ । काम गर्न र खानमा नहिच्किचाउने थारूहरू परिआएको बेला जस्तोसुकै सहयोग गर्न तयार हुन्छन् ।
साताभरी रामरमाइलो
पुसको अन्तिम दिनबाट सुरू हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’, पहिलो दिनबाट शुरू भई पाँचौ र सातौँ दिनसम्म नाचगान गरी रमाइलो गर्ने गरिन्छ । गाउँमा केटा-केटी, उमेरले अधवैँसे तथा बुढाबुढीको अलग-अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । नाचसँगै जाँडको झोल र रक्सी पनि खाने गरिन्छ । जसलाई थारूमा ‘छाँकी खाएको’ भनिन्छ । नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने गरिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुने र अर्कोतिर संस्कृतिको पनि जगेर्ना एवं विकास पनि हुनेगर्छ । मनोरञ्जन बाहेकका बाँकी समयमा हरहिसाव तथा नेतृत्व छनौट गर्ने काममा लगाइन्छ । नाच नाच्दा मादले र नाच्नेको अनिवार्य व्यवस्था गरिन्छ । थारूहरू माघीको अतिरिक्त, दसैँ, तिहार, होली, अतवारी, जितिया, सिरूवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरू मनाउने गर्दछन् ।
अभिशापजस्तै विगत
विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरिद गरी दास जिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ । कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन । अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ । यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ । कैयौंको यौन शोषण पनि गरेको घटना देखिन्छ ।
सामाजिक सद्भावमा विस्तार
सामाजिक सद्भाव कायम गर्नु माघीको सबैभन्दा ठूलो सकारात्मक पक्ष हो । समाजमा भए गरेका विकृति, विसङ्गति तथा आपसी वैमनस्यतालाई त्याग्ने काम यस चाडले गर्दछ । पुराना रिसरागलाई हटाई नयाँ सम्बन्धको सुरूवात यसले गर्छ । पुर्खौंदेखि चलनचल्तीमा आएको पर्वलाई कायमै राख्नुले संस्कृतिको संरक्षण र प्रवर्द्धन पनि हुने र भाइचारासँग भेटघाटको उपयुक्त वातावरणको सिर्जना गर्ने काम यस चाडले गर्दछ । आपसी सहयोगको भावना बढाउँछ । नयाँ कुराको सुरूवात गर्ने र विगतका कमीकमजोरीको समीक्षा गर्ने अवसर यस चाडले जुटाउने गर्दछ । जसले गर्दा मानिसका आफ्ना आन्तरिक कमी कमजोरीलाई सुधारेर भावी दिनको योजना तर्जुमा गर्नमा मद्दत पुग्दछ । कामको सिलसिलामा घर, देश बाहिर गएकाहरूलाई एकै थलोमा जमघट गराई सुखःदुखका कुराहरू साट्ने मौका प्रदान गर्दछ । नाचगान तथा मनोरञ्जनले एकातिर वर्षभरिको थकानलाई केही दिनका लागि भए पनि मेटाउने काम गर्छ भने अर्कोतिर यस जातिको संस्कृतिको जगेर्ना पनि गर्ने गर्दछ ।
रूपान्तरण आवश्यक
थारू समुदायमा जाँड र दारू नभए पाहुनाको सत्कार हुन्न भन्ने मनसायले गहिरो जडा गाडेको छ । जुन अहिलेको सन्दर्भमा उपयुक्त मान्न सकिन्न । इष्टमित्र तथा पाहुनालाई सत्कार गर्ने, स्वागत गर्ने अन्य तमाम विकल्प छँदाछँदै पनि परम्परागत रूपमै चल्नु अहिलेको अवस्थामा सुहाउने कुरो होइन । थारूको देवताले पनि जाँड र दारू खान्छन् भन्ने जनविश्वासलाई हटाई त्यसलाई अहिलेको यु्ग सुहाउँदो प्रविधिमा रूपान्तरण गर्न आवश्यक देखिन्छ । कैयौंले त्यस्तो शुरूवात गरेको भए पनि तुलनात्मक रूपमा परम्परागत शैली विद्यमान छ । संयुक्त परिवारमा बस्ने थारूहरू भाइ-भाइ छुट्टनिु पर्यो भने माघीलाई नै गन्तव्यको रूपमा प्रयोग गर्ने गर्छन् । जसले माघी पर्वको महत्वमाथि नै प्रश्नचिन्ह लगाइदिन्छ । एकातिर नयाँ वर्षको रूपमा यस चाडलाई मनाउने अर्कोतिर ‘भाइफुटे गँवार लुटे’ नेपाली उखानलाई सार्थकता दिने काम गरिनु उपयुक्त होइन । यस पक्षमा थारूले सुधार गर्नैपर्छ । माघी पर्वबाटै आफ्ना छोरी चेलीलाई स्कूल पढाउन छाडी अर्काको घरमा भाँडामाझ्ने काममा लगाउने परम्परा छ, जसलाई सुधार्नु पर्छ । दासदासी जीवनको अन्त्यका लागि थारूले आफ्नै घरबाट त्यसको सुरूवात गर्न सके परिवर्तन सम्भव हुनेथियो ।
अनुकरणीय पद्धति
नयाँ नेपाल बनाउने सुरमा अगाडि बढेका राजनीतिक दलहरू यतिबेला तिव्र मतभेदमा छन् । लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउन हिँडेका उनीहरू आफै रणभूल्लमा छन् । थारूहरूको नयाँ वर्ष माघीले राजनीतिक दलका नेताहरूको आँखा उघार्नसके देशले निकास पाउँथ्यो । माघी पर्वको सार्वजनिक विदा दिने काम सरकारले वि.सं २०५९ सालबाट सुरू गरेपछि थारूहरू काठमाडौँमा समेत विगत आठ वर्षदेखि माघी महोत्सव कार्यक्रम गरी रमाइलो गर्दै आएका छन् । थारूहरूको लोकतान्त्रिक पद्धतिबाट दलका नेताहरू केही सिक्न जरूरी छ । कम्तीमा एउटा किसानले वर्षभरीको कामको योजना बनाई काम गर्ने गर्दछ र परिवार-जहान सुखसँग पालेको हुन्छ तर हाम्रा नेताहरूको काम योजनाविहिन भएकै कारण अहिलेसम्म देश ‘कुहिरोको काग’झैँ भड्किनु परिरहेको छ । कुन बेला बाली राख्ने, कहिले गोडमेल गर्ने, कुनबेला मल हाल्ने, कहिले बालीमा पानी हाल्ने, स्याहार्ने लगायतको निश्चित् योजना बनाएर किसानले काम गर्ने गर्दछ । र त मिहिनेतअनुसारको फल पनि प्राप्त गर्छ । थारूको माघी पर्वबाट सबैले पाठ सिक्न सके देशलाई उँभो लगाउनमा सहयोग पुग्थ्यो कि !
शनिबार, गोरखापत्र
माघ १, २०६७
