अन्ततः दस वर्षसम्म चलेको भयङ्कर सशस्त्र आँधीहुरी र वर्षात थामिए । मान्छेहरूले पहिलाभन्दा होलो अनुभूत गर्न थाले । त्यसैले जल, गाउँ, सहरमा आवतजावत सरल देखिन थाल्यो ।

हामीलाई विभिन्न सङ्घसंस्थाहरूको आयोजनामा विद्रोही पक्षका शान्त हुन थालेका केही मानिसका साथ केही प्रहरी अधिकृत, केही राजनैतिक कार्यकर्ता, केही पत्रकारलाई मानवअधिकारसम्बन्धी प्रशिक्षण दिन खटाइयो ।

सशस्त्र द्वन्द्वको असर गाउँहरूले स्पष्ट पार्ने नै भए । हामीले पुग्नेबित्तिकै आँखाभरि टासिहाल्यौँ । भत्किएका र डढेका छाप्राहरू । ढलेका रूखहरू । यावत् वातावरण चित्रणबाट वीभत्सका केही छिर्का अवशेषले कथाव्यथा प्रसारित गरिरहेका थिए ।

प्रशिक्षणको बेलाबाहेक वरपरको समय हामी अन्यत्र घुम्न भ्याउँथ्यौँ । हामीमध्ये कोही भन्ज्याङतिर घुम्थे, कोही चौतारीतिर । कोही नयाँ गाउँ पनि पुग्थे ।

घुम्दाघुम्दै एक बिहान पानी माग्न एउटा झुपडीमा पसेको निरौला तर्सेर बाहिर हुत्तिँदै आइपुग्यो ।

के भएछ ? हामी पनि त्यतै हानियौँ । —”त्यहाँ…त्यहाँ…।” निरौला आत्तिएर भित्रपट्टि देखाउँदै थियो, तर बोलीले स्पष्ट पार्न सकिरहेको थिएन ।

हामी दुई जना के गरौँ-के गरौँको भावमा एकअर्कालाई हेर्न थाल्यौँ । झूट नबोल्ने हो भने हामीलाई त्यस क्षण डरले कोर्रा वर्साउन थालेको थियो । अलि एकलास जस्तो थियो त्यो ठाउँ, एउटै मात्र झुपडी त्यही थियो । परपरसम्म पनि अरू कुनै छाप्रो देखिएको थिएन । त्यस्तो एकान्त, साँच्चै नै एक्लादुक्ला त रहर पनि नगर्लान् जस्तो थियो, आउन ।

फर्कौं । यही भाव पनि आयो । र्फकन पनि लाग्यौँ, तर निरौलाले नै तानेर भित्र पस्न आग्रह गर्‍यो ।

—”के छ भित्र ?” सोधेँ ।

निरौला अझै स्पष्ट बोल्न सक्ने भइसकेको थिएन । खालि भित्र जौँ-भित्र जौँको सड्ढेत मात्रै गर्दै थियो ।

त्यसो भए अनुमानित खतरा त होइन रहेछ । यही त निष्कर्ष थियो त्यो ।

अन्तमा तीनै जना भित्र पस्यौँ, सावधानीको कुटुरो बोकेर ।

भित्र । ओह…! दृश्य कसरी बयान गर्ने ?

दैलोमा पुरुष ढलेको थियो । अ·प्रत्य·बाट निस्केका रगत अब भुइँमा टाटा बनेका थिए । झिंगाहरू रजाइँ गर्दै थिए । त्यसभन्दा डरलाग्दो कुरा त, लासले भित्तातिर एकटकले हेरिरहेको थियो ।

अनि त्यस भित्तामा दुई लालाबाला टासिएका थिए । एउटा २-३ वर्षको र अर्को ३-४ वर्षको । आफ्नै आँखाअगाडिका दृश्य देखेर तर्संदा तर्सदै सबै कुरा बिर्सेजस्ता देखिन्थे । तिनका निश्चल आँखा एकटकले निस्तेज बनेर अगाडिको लास हेरिहेका थिए । हामी पुग्दा पनि तिनका आँखा हल्लिएनन् ।

पक्कै ती लालाबाला त्यस लासकै छोराहरू थिए । तब त आफ्नै आँखा अगाडि त्यसरी मर्दै गरेको आफ्ना बाबुलाई देखेर तिनको होसचेतनासमेत उडेका थिए । तिनका मुटु बिस्तारैबिस्तारै ढुकढुक गर्दै थिए । धन्न/प्राण त रहेछ ।

उपाय सोचेर बस्ने समय थियो त त्यो ?

तीनै जनाले हत्तपत्त ती दुई लालाबालालाई बोकेर बाहिर ल्यायौँ । आफ्नै स्तरको खैलाबैला भयो त्यहाँ । केही छिनपछि । लासका निम्ति सम्बन्धित निकायलाई गुहार्‍यौँ ।

गाउँलेले बताए, लासको नाउँ धनबहादुर हो । गरिब किसान । ती लालाबालाका आमालाई तीन महिना पहिला बेपत्ता पारिएको थियो ।

कसले ? हो, यहाँनिर स्पष्ट थिएन केही कुरामा पनि ।

गाउँमा मानिसलाई बेपत्ता र लास बनाउने होड तीव्र गतिमा चलेको थियो । त्यसैले कसले ? को उत्तर सजिलै आउन सक्तैनथ्यो ।

दुईतीन दिनपछि पनि ती लालाबाला बोल्न सकिरहेका थिएनन् । तिनको आवश्यक व्यवस्थाका लागि हामीले थप धपेडा गरिसकेका थियौँ ।

प्रहरी आएका थिए । गाउँलेहरू आएका थिए । हामी त्यहीँ थियौँ । प्रहरीले पसिना झारिरहेका थिए । प्रयासहरू विफल हुँदै गएका थिए…दुईमध्ये कोही बोल्न सकिरहेका थिएनन् । केवल तिनका निस्तेज आँखा अझै एकोहोरिएका थिए ।

हाम्रो टोलीमा केही महिला प्रशिक्षक पनि थिए । तिनैले ती लालाबालालाई सुमसुम्याउन थाले ।

प्रशिक्षक रेणुले सोधिन् “पानी पिउँछौ बाबू ?”

उत्तर आएन ।

दुबै अझै एकोहोरो हेरिरहेका थिए ।

प्रशिक्षक रूपाले पानीले तिनका हातखुट्टा पुछिदिइन् ।

रेणुले अझै बिस्तारै भनिन् “नडराऊ बाबू । हामी तिमीहरूलाई हेरिहाल्छौँ नि । नडराऊ ।”

त्यसरी लगातारको प्रयत्नपछि ठूलोचाहिँ बच्चाले झस्केर लामो सास तानेझैँ गर्‍यो ।

बिस्तारै ऊ स्वस्थ हुँदै गएझैँ देखियो । भाइचाहिँको स्थिति उही थियो । रेणुले भाइचाहिँलाई काखमा राखेर सुमसुम्याउन थालिन् । रूपा उनलाई सहयोग गर्दै थिइन् ।

त्यसको लगभग पैँतीसचालीस मिनेटपछि ठूलो बच्चो रुन थाल्यो । रूपा त्यस बच्चालाई फकाउन थालिन् । हामी पनि अघि सर्‍यौँ ।

रेणुको काखमा बसेको सानो बच्चामा पनि केही सुधार आएजस्तै देखियो । ऊ एकोहोरो अवस्थाको आँखा लिइरहेकै थियो, तर ओठमा ससानो स्वरमा ‘बा ! बा !’ भनिरहेको सुनियो । रेणुले ध्यानाकृष्ट गरेपछि थाहा पायौँ ।

उसको टाउको स्नेहपूर्वक मुसारिदिएँ, तर उसलाई केही थाहा नभएझैँ देखियो । कुनै प्रतिक्रिया जनाएन ।

निरौलाले सुस्तरी ठूलो बच्चालाई फकाउँदै सोध्यो “के भयो बाबू भन त ।” बच्चो केही सम्झीसम्झी हिक्कहिक्क गर्दै थियो । त्यो पनि सकिनसकी ।

रूपाले भनिन् “अहिले सबै सोध्ने बेला अलि भएको छैन निरौला सर । म अझै केही समय चाहन्छु ।” उनी ठूलो बच्चालाई थुमथुम्याउँदै नरुन भन्न थालिन् ।

प्रहरीसँगै हामी प्रतीक्षा गर्न थाल्यौँ । लगभग अरू आधा घन्टापछि ठूलो बच्चाले एकदुईवटा-एकदुईवटा गर्दै केही कुरा अड्कीअड्की भन्न थाल्यो ।

ती केही कुरा पनि यथेष्ट जानकारी दिन सक्षम थिए । हामीले उसका भनाइ जोडजाड गरेर बुझ्यौँ । लगभग सबैको आँखाअगाडि सचित्रझैँ नाच्न थाल्यो ।

बेलुकी दैलोलाई लातले हानेर खोल्दै हतियारहरूसहित एक समूह झुपडीभित्र पस्यो ।

लास, धनबहादुर आफ्ना लालाबाला तर्सेला भनेर आत्तिँदै भन्न थाल्यो “मैले केही गरेको छैनँ हजुर ।”

—”तैँले झूट बोल्ने हामीसँग ।” समूह गर्ज्यो ।

—”हो हजुर । मैले झूट बोलेको हैन ।”

—”अझ कराउँछस् !” अनि धनबहादुरलाई समूहले लडायो । उसका बच्च्ाहरू, ती लालाबाला आफ्ना बाले खानेकुरा पकाएर खान देलान् भनेर अगेनाछेउ बसिरहेका थिए, अब नराम्ररी तर्संदै भित्तामा टासिए ।

ती लालाबाला रोए, कराए, तर समूहले तिनको बालाई छाडेन । अनि तिनकै आँखाअगाडि तिनका बाको शरीरका ठाउँठाउँमा धारिलो छुराले रेट्न थाले ।

त्यस्तोमा पनि ऐयाआत्थुभन्दा पीरले धनबहादुर छटपटायो “मलाई …जे गरे नि…मेरा बच्चाहरूलाई छाड्…देओ ।”

सम्भवतः रिसको तुस मेटियो । रगत बगेर लतपतिन थालेको धनबहादुरलाई छाडेर समूह निस्क्यो ।

ती लालाबालाहरू भोक बिर्सेर आफ्ना बाको अवस्था डराईडराई हेर्दै थिए । के हुन्थ्यो तिनका सामु उपाय, आफ्ना बाबुको पीडादायी मृत्युलाई टुलुटुलु हेर्नुबाहेक !

रगतको आहालमा लटपटिँदै धनबहादुर केही भन्न थाल्दै थियो, शरीरबाट प्राण निस्कनुसँगसँगै उसका स्वर धीमा हुँदै थियो—”बाबू…बाबू… गा…गाउँ…मा जाओ…।”

अनि ती लालाबाला हेर्दै थिए, तिनका बाबुको स्वर सुनिन छाड्यो, केवल आँखाले तिनैलाई हेरिरहेको थियो । बाले किन बोल्न छाडे, थाहा भएन ।

अनि ती लालाबाला आँखा त्यतिकै राखेर भित्तामा टाँसिएको टाँसियै भए ।

कति दिन ? कति रात ? त्यसको हिसाप थिएन । सुनेर हाम्रा त आँखा पानीले टम्म भरिए भने रेणु र रूपाले के थाम्न सक्थे । दुवै तरुनीहरू घ्वाँघ्वाँ रुन थाले । अब तिनलाई पो फकाउने आवश्यकता देखियो ।

प्रशिक्षक सुशीलको पनि दुखित स्वर निस्कियो “कसले होला त यस्तो…?” एउटा गाउँले वृद्ध रुँदै भन्न थाले “खै हजुर कसले भन्ने ? के दशा आइलाग्यो के…एक थरी आउँछन्, हाम्रो सुराकी दिन्छस् भनेर हामीलाई मर्ने गरी कुट्छन् । अर्का थरी आउँछन्, तिनीहरूलाई शरण दिन्छस् भनेर हामीलाई नै कुट्छन् ।”

जम्मा भएका अन्य गाउँलेहरू पनि धुरुधुरु रुन थाले । वर्सात्पछि खुला आकाशको चाहना सबैले राख्छन्, तर यहाँ आकाश किन खुल्दैन उदेकको विषय नै थियो ।

धनबहादुरका मृत्युको कारण त खुल्यो, तर ती लालाबालाले के गल्ती गरेका थिए जसले गर्दा यस्तो अवस्था आयो ? अब हामी पनि जान्दैनौँ, यस प्रश्नको कसले उत्तर दिन्छ !

शनिबार, गोरखापत्र
माघ १, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *