कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा नियति

  • by


गएको महिनाको कुरा हो । झापा फर्किएर व्यावसायिक बङ्गुरपालन सुरु गरेको खबर थाहा पाएपछि झापाका एकजना पत्रकार बन्धुले टिप्पणी गरे- “तपाईंले आफूले आफैँलाई चिन्न सक्नु भएनछ….।”

म मज्जाले हाँसेँ मात्र । यद्यपि मेरो माथिङ्गल धेेरै दिनसम्म रिङ्ग्याइरहृयो । झापाका अग्रज पत्रकार नकुलकाजीका बारेमा कुनै बेला म पनि यसै भन्ने गर्थें । केही कालपछि बाँण आज आफैँतिर फर्कियो । यद्यपि मेरो गाउँ फर्काइको उद्देश्य अलि फरक छ । म सहरबाट पलायन भएको वा हिम्मत हारेर लुते कुकुरझैँ पुच्छर लुकाउँदै गाउँ फिरेको हुँइनँ ।

हुन त ती मित्रको आशय “तपाईं जत्तिको मान्छे लेखनमै स्थापित हुनुपर्थ्यो” भन्ने थियो होला । वा तपाईं आफैँले काठमाडौँ लगेर पत्रकारितामा डोर्‍याएका मान्छे आज देशको प्रमुख पत्रिकाको सम्पादक छन्, तपाईंभन्दा ‘जुनियर’हरू ठाउँ-ठाउँमा छन्, तपाईं जत्तिको मान्छेले गाउँ फिर्नु हुँदैनथ्यो अथवा प्रो पब्लिकको छँदाखाँदाको जागिर छाड्नु हुँदैनथ्यो भन्ने होला ।

‘जल्लादको मन’ उपन्यास लेख्नका लागि दुई महिने बेतलबी बिदा नपाएपछि मैले गैसस प्रो पब्लिकको जागिर त्यागेको थिएँ । कतिपयले त्यति ‘आकर्षक’ जागिर छाड्नु मूर्खता हो पनि भनेका थिए तर जागिर छाडेर घर फर्केको रात म यति आनन्दले निदाएको थिएँ कि सम्झँदा पनि मोह लाग्छ ।

‘जल्लादको मन’ र ‘लालचुडी’ उपन्यासको प्रकाशनसँगै जागिर छाडेको दुई वर्षको अवधिमा थप पाँच वटा कृतिका कम्प्युटरप्रति तयार भएछन् । लेख्नका लागि नयाँ विषयवस्तु मात्रै पनि चार वटा फेला पारेँ तर नेपालको सन्दर्भमा वर्षमा एउटा कृति प्रकाशित गर्दा पनि अलि हतार गरेजस्तो ठहरिँदोरहेछ । त्यसपछि सोचेँ, अलि फरक धारको काम पनि गरुँ । अनि रोजेँ, व्यावसायिक बङ्गुरपालन ।

त्यसक्रममा मैले पूर्वका २५-३० वटा बङ्गुरफार्मको स्थलगत अवलोकन गरेँ । धेरै कुरा सिकेँ । कम लगानी गरेर बढी फाइदा लिन सकिने र समाजमा फरक पहिचान पनि बन्न सक्ने व्यवसाय यही हुन्छ भन्ने निष्कर्षमा पुगेँ । मलाई लाग्यो, १० वर्ष अघिसम्म बाहुन-क्षत्रीका घरमा मुस्किलले कुखुराको मासु पाक्थ्यो । अहिले सहज रुपमा पाक्छ । अबको १० वर्षपछि त्यो स्थान बङ्गुरको मासुले पनि लिने निश्चित छ ।

सबैभन्दा डर ८५ वर्षे बयोबृद्धा हजुरआमासँग थियो । उहाँले पनि कुनै आपत्ति नजनाउनु भएपछि कसैसँग भय रहेन । गएको मङ्सिरबाट व्यवसाय सुरु गरेँ, शान्तिनगर-३ झापामा । त्यसपछि मेरो बसाइँ झापामा बढी काठमाडौँमा कम हुन थाल्यो ।

खेतीको धमाधमबाट उम्केर साउन २० गते काठमाडौं आइपुगेँ । भद्रपुरको परिवेश रहेको एउटा उपन्यासको विषयवस्तुले मनमा आँधीबेहरी नै मच्चाइरहेको थियो । घरमा बसेर लेख्ने अवस्था थिएन । पुरानो बानेश्वरस्थित मिडिया फर कल्चरको कार्यालयमा बसेर चार दिनमा कम्प्युटर प्रति तयार गरेँ । त्यसपछि सीमा खानले लेखेको ‘बुहारीको मोटरसाइकल’ शीर्षकको उपन्यासको सम्पादन सकेँ । अनि साथी धनबहादुर महर्जनसँग बसेर ‘बिर्सिएका सपुत’को कम्प्युटर डिजाइन गरेँ, जुन ०७ सालको बन्दीपुर लडाइँमा राणा सैनिकको गोली लागेर पनि बालबाल बाँचेका मुक्तियोद्धा दलसुर राना बारेको जीवनी हो । म आफैँले लेखेको ।

त्यसपछि सहरिया परिवेशमा आधारित अर्को उपन्यास सुरु गरेँ । त्यो उपन्यास लेखर सकिनै लागेको बेला देब्रेगाला र देब्रेहात दोबि्रने अनौठो समस्या देखा पर्‍यो । दुई दिनपछि त कम्प्युटर चलाउनै नसक्ने स्थिति सिर्जना भयो । केहीले पक्षघातको आशङ्का गरे । म हतारहतार पूर्वपरिचित वरिष्ठ अङ्कुपन्चरिस्ट डा. हरिश्चन्द्र शाह कहाँ पुगेँ । उहाँले केही औषधि लेखिदिनु भयो ।

तर बीसौँ दिनको बिहान अनौठो समस्या देखा पर्‍यो । सुतिरहेको बेला म अचानक बेहोस भएँछु । आत्तिएकी श्रीमतीले करिब डेढ मिनेटपछि होसमा ल्याइछन् । हतारहतार नजिकैको ओम अस्पताल पुगियो, आकस्मिक कक्षमा तर रक्तचाप, रगत, पिसाब जाँच गरेर दुई-चार हजार झार्नेबाहेक तातो भुत्लो केही भएन ।

त्यसपछि चिकित्सक रवीन्द्र समीर कहाँ पुगियो । उहाँले केही सल्लाह दिनु भयो । उल्टो बुद्धि भनुँ, उहाँको त्यो सल्लाह अपनाउन छाडेर अरु अरु चिकित्सक कहाँ धाउन थालियो । ईईजी गर्दा हुने रहेछ, एमआरआई गरेर १० हजार रुपियाँ चुना लगाइयो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पुराना पत्रकार मित्र तोया दाहालले शिक्षण अस्पतालमा कार्यरत बरिष्ठ न्युरो फिजिसियन डा. जगदीश अग्रवालको परामर्श लिन सल्लाह दिनु भयो । अचम्म ! अस्पताल पुगेर “पेइङ”मा नाम लेखाउन खोज्दा चार महिनापछि अर्थात् पुस २१ गतेका लागि हो भने मात्रै नाम टिप्न सकिन्छ भनियो ।

पुनः दाहालजीलाई गुहारेँ, आखिर देश नै सोसफोर्सले चलेको छ भने उपचारका लागि सोर्स लगाउँदा के फरक पर्छ भनेर तर कुनै उपाय लागेन । अस्पतालमा कार्यरत चिनारुको सहारा लिन खोजेँ । त्यहाँबाट पनि हिस्स हुनु पर्‍यो । चाहेको भए सक्थेँ होला तर माथिल्ला पदवालाबाट फोन लगाइमाग्ने मन भएन ।

सबैतिरबाट दिक्क भएपछि ओममै कार्यरत न्युरोलोजिस्ट डा. गोपालकुमार शर्मा कहाँ पुगेँ । रोग पहिल्याइसकेपछि उनले दुई वर्ष निरन्तर औषधि खानु पर्ने, दिमागी चाप पर्ने काम बन्द गर्ने सुझाव दिए तर उनले सुरुमा एक हप्ताका लागि भनेर दिएको औषधि यति कडा कि मुटु दुखेर खप्नै गाह्रो हुने ।

त्यसपछि कुनै उपाय निस्कन्छ कि भनी म प्राकृतिक चिकित्सक हरिप्रसाद पोख्रेल कहाँ पुगेँ । पूर्वपरिचित भएकोले तुरुन्तै समय दिनुभयो । उपचारका कागजात हेरिसकेपछि अझै सही उपचार हुन नसकेको निष्कर्ष निकाल्नु भयो । र, न्युरो सर्जन डा. वसन्त पन्त कहाँ जाने सल्लाह दिनु भयो ।

मैले अलि गाह्रो मानेँ । किनकि डा. पन्तको नाममा जाँच शुल्क तिरेर “सिकारु डाक्टर”बाट जचाउन मलाई मन थिएन । किनकि त्यो मामलामा डा. पन्तले वर्षौदेखि राम्रै “ख्याति” कमाउँदै आउनु भएको र डाक्टरको विरामी जाँच शुल्क तोक्ने अधिकार पाएको नेपाल मेडिकल काउन्सिलले पनि कुनै लछारपाटो लगाउन नसकेको बारेमा मलाई राम्रै जानकारी थियो ।

डा. हरिप्रसादले आफूले पठाएका बिरामीका हकमा त्यस्तो नहुने विश्वास दिलाउनु भयो तर त्यस्तो भएन । मन अमिलो पार्दै डा. पन्तका नाममा ओठमाथि भर्खर जुँगाको रेखी बस्दै गरेका “चिकित्सक”बाट जँचाएर फर्केँ । ३१५ रुपियाँ तिरेर । त्यसवापत् डा. शर्माले दिएको औषधिको सट्टामा अर्को औषधि खान सुझाए फुच्चे चिकित्सकले ।

फेरि प्राकृतिक चिकित्सक पोख्रेल कहाँ पुगेँ । उहाँले दुइटा उपाय सुझाउनु भयो । पहिलो, मलाई रोगै लागेको छैन, म पूर्ण स्वस्थ छु भन्ने आत्मवल विकास गर्ने । अनि योगा, ध्यान र सात्विक भोजन गर्ने । दोस्रो, डाक्टरले भनेझैँ औषधि खाने तर योगा, ध्यान र सात्विक भोजन पनि गर्दै रहने ।

मैले पहिलो उपाय रोजेँ । निकै राहत महसुस भयो ।

राहतको अनुभूति धेरै दिन टिक्न पाएन । इन्द्रेणीको रमाइलोजस्तो मात्र भयो । व्यावसायिक कामको सन्दर्भमा झापा गएका बेला बाउँडिने समस्या फेरि देखियो । उपचारका लागि भेलोर जाने कि भन्ने सोच बनाउँदै काँकरभिट्टामा रहेका आत्मीय सम्बन्ध भएका पुराना औषधि पसले मित्रलाई भेट्न पुगेँ, किरण मेडिकल हलमा । उपचारका सम्पूर्ण कागजात हेरिसकेपछि उनले मलाई निकै चर्को गाली गरे, औषधि नखाएकोमा । साथै उनले आगामी दुई वर्ष दिमागी कसरत हुने काम बन्द गर्न, लामो यात्रा एक्लै नगर्न, बाहिर कतै हिँड्दा पुराना मेडिकल रिपोर्ट र परिचयपत्र साथै बोकेर हिँड्न, दुई पाङ्ग्रे सवारीसाधन चलाउने गरेको भए नचलाउन चेतावनी पनि दिए ।

उनले भनेमध्ये केही कुरा चिकित्सक मित्र डा. रवीन्द्र समीरले भन्नुभएको थियो तर त्यसरी पितृ बुझाउने गरी कसैले भनेका थिएनन् । सोधेँ, आखिर कारण के हो ? भेलोर गएर ठीक पार्न सकिन्न ?

“तपाईंको टाउकाको कुनै नशामा थोप्लोजस्तो सानो दाग छ । भोलोर गए पनि, संसारको जुनसुकै कुनामा गए पनि उपचार हुने भनेको यही हो । त्यसकारण दुई वर्षसम्म ढुक्कले औषधि खानुस्, सुझाव पालना गर्नुस् । त्यसबाहेक अर्को उपाय छैन ।”

यद्यपि मलाई भनेँ विश्वासै भएन । धक फुकाएर हाँसिरहेँ, केही नभएझैँ ।

दुई महिनायता म उनै मित्रका सुझाव पालना गरिरहेको छु ।

गएको तिहारमा काठमाडौँ आएका बखतमा भने मैले आफ्ना बारेमा नौलो खबर सुन्नु पर्‍यो । रक्तकुण्ड उपन्यासको लेखक हो भन्ने थाहा पाएपछि सुकेधारातिर बस्ने एकजना सज्जन महिलाले सुनाइन्, “तपाईं त मेन्टल डिस्टर्ब हुनुभएको छ भन्ने हल्ला सुनेकी थिएँ, होइन ?”

म धक फुकाएर हाँसेँ । कुनै बेला जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ दाइले भन्ने गरेको “नाम होस्, बद्नाम होस्, तर गुमनाम नहोस्” भन्ने वाक्यांश आफ्नो सन्दर्भमा समेत लागू भएको सुन्न पाउँदा गर्व महसुस भएर आयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *