Skip to content

साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन

  • by


नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ पत्रिकाको योगदान महत्त्वपूर्ण रहेको छ । नेपालकै जेठो समाचार पत्रिका ‘गोरखापत्र’ कै प्रकाशन गृहबाट प्रकाशित हुँदै आएको ‘मधुपर्क’ ले २०६७ साल माघ अङ्कलाई ५००औँ अङ्कका रूपमा प्रकाशन गर्ने तयारी गरिरहेकै अवस्थामा गत २०६७ मङ्सिर १ गते काठमाडौँको बागबजारस्थित अशोका होटलमा ‘साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान’ विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न गर्‍यो । सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विजय चालिसेले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो । प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्ज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक शम्भु श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै आफू भूपी शेरचनका कविताबाट प्रेरित र प्रभावित भएको बताउनुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चारसचिव सुशील घिमिरेले आफू ७/८ कक्षामा पढ्दादेखि नै मधुपर्कको पाठक रहेको जानकारी गराउनुभएको थियो । उहाँले साहित्यका साथै भाषाका विद्यार्थीलाई पनि मधुपर्कले सहयोग गर्दै आएको र गोरखापत्रको इतिहासलाई कसरी जीवन्त राख्न सकिन्छ भन्नेमा सचेत रहन आग्रह गर्नुभएको थियो । अग्रणी साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले मधुपर्कको आकारमा अनियमितता भएको सन्दर्भ उठाउँदै भाषा व्याकरणमा शुद्धता र एकरूपता कायम राखी राम्रो र उत्कृष्टरूपमा प्रकाशन गरी मधुपर्क देशकै प्रतिष्ठा बन्नुपर्नेमा जोड दिनुभयो । मधुपर्क अब्बल भएर निस्कनुपर्ने उहाँको आग्रह थियो ।

जनता एकसे एक जागा छन् भन्दै कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले जागेका जनतालाई उचित दिशातिर डोर्‍याउन साहित्यिक पत्रकारिताको महत्त्वपूर्ण स्थान छ भन्नुभयो । मुलुकको सङ्क्रमणकालबारे चर्चा गर्दै सङ्क्रमणकालबाट मुलुकलाई अघि बढाउन, उज्यालोतिर डोर्‍याउन साहित्यकारहरू मात्र सक्षम छन् भन्दै उहाँले आशावादी मनोविज्ञानका लागि वातावरण तयार गर्नु आजको आवश्यकता रहेको र अब पुराना कुराबाट समाजको नेतृत्व गर्न नसकिने तथ्य औँल्याउनु भयो । प्रमुख अतिथिले दस वर्षे जनयुद्ध र शान्ति-प्रक्रियाबारे चर्चा गर्दै नयाँ ढङ्गबाट अघि बढ्न साहित्यकारहरू सक्षम रहेको र साहित्यिक पत्रकारिताले नै राष्ट्रलाई समुन्नत बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

‘मधुपर्क’का सम्पादक श्रीओम श्रेष्ठले ‘मधुपर्क’ नेपाली साहित्यिक पत्रकारिता र नेपालकै गौरव भएको कुरा व्यक्त गर्नुभयो । उहाँले ‘मधुपर्क’ र साहित्यिक पत्रिका प्रकाशनका आरोह/अवरोहबारे चर्चा गर्दै कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । विचारगोष्ठीको पहिलो सत्रको समापनअघि बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम् गोरखापत्रका कार्यकारी अध्यक्ष विजय चालिसेले ‘मधुपर्क’बाटै आफ्नो पहिलो अनुवाद कथा प्रकाशित भएको सन्दर्भ स्मरण गर्दै नेपाली साहित्य-सभ्यताको निर्माण गोरखापत्रबाटै प्रारम्भ भएको उल्लेख गर्नुभयो । त्यसका साथै दक्षिण एसियाबाट निस्कने पत्रिकामा गोरखापत्र प्रमुख रहेको र नेपाली संस्कृति र आजको समाज निर्माणको भूमिकामा ‘मधुपर्क’को महत्त्वपूर्ण योगदान रहेको चर्चासँगै उहाँले लेखकीय सामथ्र्यको प्लेटफार्म ‘मधुपर्क’ लाई अझ स्तरीय बनाउन सुझावहरूको अपेक्षा राख्दै व्यवस्थापन पक्षले सक्दो सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा ५००औँ अङ्कसँगै मधुपर्कमा प्रकाशित रचनाहरूबाट प्रतिनिधि कथा, हास्यव्यङ्ग्य निबन्ध र नियात्रा सङ्ग्रहसमेत प्रकाशन गर्ने जानकारी दिइएको थियो । ‘मधुपर्क’का सहसम्पादक तुलसीहरि कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रमको पहिलो सत्र झण्डै डेढघण्टा चलेको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिए । डा. बेञ्जु शर्माको सभाध्यक्षता र विजय चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले ‘नेपाली साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा.गौतमले प्रस्तुत गर्नुभएको कार्यपत्रको विषयवस्तुलाई सङ्क्षेपमा बूँदागतरूपले यसरी प्रस्तुत गरिन्छ-

क) कार्यपत्र विभिन्न बाह्र शीर्षक र उपशीर्षकमा विभाजित,

ख) ‘मधुपर्क’ नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमिका रूपमा रहेको,

ग) ५००औँ अङ्क पूरा गर्न लागेको साहित्यिक पत्रिका ‘मधुपर्क’ मात्र भएको,

घ) ‘मधुपर्क’ को प्रथम सम्पादक गोपालप्रसाद भट्टराई तथा सहायक सम्पादकहरूमा नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल रहनुभएको,

ङ) ‘मधुपर्क’ को नाउँ जुराइदिने व्यक्ति तुलसीनाथ ढुङ्गेल रहनुभएको,

च) कलासाहित्यको सेवाबाट प्रेरित भएर प्रकाशन आरम्भ भएको र विशुद्ध सेवा भावबाट प्रकाशित हुँदै आएको,

छ) पहिलो अङ्क जेठ ३० बाहेक अन्यमा महिना र सालमात्र उल्लेख गरिएको,

ज) धेरै साहित्यकारहरूको पहिलो रचना प्रकाशित भएको पत्रिका हुन पुगेको,

झ) सबैभन्दा बढी प्रकाशित कविता विधा भएको र प्रवृत्तिगत दृष्टिले विविध भावधारा र अन्तर्वस्तु रहेको,

ञ) वि.सं. २०३५ पूर्वका प्रकाशित कविताहरू क्रान्तिचेतबाट प्रेरित देखिन्छन् भने २०४६ पछि बेग्लै धाराका पाइएका,

ट) लघुकथाले अलि पछिबाट मात्र प्रकाशनमा तीव्रता पाएको,

ठ) निबन्ध र हास्यव्यङ्ग्य बढी प्राथमिकतासाथ प्रकाशित भएको,

ड) नाटक/एकाङ्की अरू विधाका तुलनामा कम प्रकाशित भएको ।

ढ) समालोचना विविध विषयमा आधारित भए पनि नवीन प्रवृत्तिमा आधारित समालोचनाको सङ्ख्या न्यून रहेको,

ण) समय परिवर्तनसँगै ‘मधुपर्क’ पनि प्रभावित भएको,

त) राजनीतिक प्रभावबाट पनि अछुतो नरहेको ।

थ) सामान्य पाठक र स्तरीय प्राज्ञिक पाठकलाई समेत ध्यानमा राखेर ‘मधुपर्क’ प्रकाशित भएको,

द) केही अङ्क सम्पादकको उल्लेख नभइकन पनि प्रकाशित भएको,

ध) सम्पादकीय शीर्षक र सन्दर्भमा परिवर्तन देखापरेको,

न) ५००औँ अङ्क प्रकाशनको सुखद अनुभूतिसँगै ‘मधुपर्क’ अझ स्तरीयरूपमा प्रकाशन हुँदै जाओस् भन्ने शुभाकाङ्क्षा प्रकट गर्दै सुझाव र प्रशंसा अभिव्यक्त ।

डा.लक्ष्मणप्रसाद गौतमको कार्यपत्रमाथि साहित्यकार वासुदेव अधिकारीले गर्नुभएको टिप्पणीलाई बूँदागत र सङ्क्षेपमा यसरी प्रस्तुत गरिन्छ-

क) कार्यपत्र लेखन प्रशंसायोग्य र चुनौतीपूर्ण भएको,

ख) घतलाग्दा र ऐतिहासिक सूचना सम्प्रेषित,

ग) युगचेतनालाई ‘मधुपर्क’ले समाहित गरेको,

घ) धेरैको रचनाधर्मितालाई आत्मसात् गरेको,

ङ) ‘मधुपर्क’ले अनुकरणीय नभए पनि उल्लेखनीय कार्य गरेको,

च) ‘मधुपर्क’ नियमित नरहेको,

छ) ‘मधुपर्क’ को प्रकाशन प्रति र पाठकसङ्ख्या उल्लेख नभएको,

ज) सम्पादकअनुसारको योगदान अभिलिखित भइदिएको भए राम्रो हुने,

झ) पारिश्रमिकका कारणले रचना-प्रेरणामा पारेको प्रभावबारे उल्लेख गरेको भए राम्रो हुने,

ञ) अनुमानका आधारमा स्तरमापन नगरेर कुनै शोधविधिका आधारमा गरिदिएको भए राम्रो हुने,

ट) कवितामा देखापरेको विचलनको आधार स्पष्ट नभएको,

ठ) यति हुँदाहुँदै पनि कार्यपत्र खँदिलो र जानकारीमूलक भएको ।

यसैगरी कार्यक्रममा समालोचक नेत्र एटमले ‘नेपाली साहित्यमा मधुपर्कका विशेषाङ्कहरूको योगदान’ शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रका विषयवस्तुलाई सङ्क्षेपमा बूँदागत प्रस्तुति यसरी गरिन्छ-

क) वि.सं. २०२९ देखि २०६७ सम्म ४३ वटा विशेषाङ्कहरू प्रकाशित,

ख) आरम्भमा राजारानीको जन्मोत्सवलाई विशेषाङ्क प्रकाशनको आधार बनाए पनि २०५१ पछि जेठ महिनाको अङ्कलाई पहिलो मानेर विशेषाङ्क प्रकाशनको महिना बनाएको,

ग) कार्यपत्र पाँचखण्डमा विभाजित,

घ) समाज सेवा विशेषाङ्कमा साहित्यिक कुनै सन्दर्भ उल्लेख नभएको र यस्तो हुन नहुने,

ङ) कथा, निबन्ध, कविता र नाटकमा विशेषाङ्क प्रकाशित,

च) कथा विशेषाङ्कमार्फत् विशिष्ट योगदान,

छ) कविता विशेषाङ्क महत्त्वपूर्ण नभएको,

ज) विशेषाङ्कहरूको प्रकाशनले अन्तर्विषयक अध्ययनमा विशेष भूमिका निर्वाह गरेको,

झ) नेपालबाहिरको नेपाली साहित्यबारे विशेषाङ्क प्रकाशन,

ञ) प्रतिभा विशेषको दसवटा अङ्क प्रकाशित र तीनजना जीवितस्रष्टाले विशेष अङ्कमार्फत् सम्मान प्राप्त गरेको -प्रशंसनीय कार्य,

ट) ‘कलासंस्कृति’ विशेषाङ्क पहिलो भएको र यसबाट बढी योगदान देखिएको

ठ) पत्रकारितासँग सम्बन्धित दुईवटा विशेषाङ्क प्रकाशित भएका तर उपलब्धिमूलक हुन नसकेका ।

कार्यपत्र प्रस्तोता नेत्र एटमले ‘मधुपर्क’ लाई अझ स्तरीय बनाउन केही निष्कर्ष र सुझाव प्रस्तुत गर्नुभएको थियो । तिनलाई यसप्रकार प्रस्तुत गरिन्छ ।

निष्कर्ष

क) स्रष्टा विशेषका अङ्क महत्त्वपूर्ण,

ख) युवापुस्ताका नवीन विचारयुक्त रचनालाई महत्त्व दिइएको,

ग) सैद्धान्तिक अवधारणातिर पाठक/लेखकलाई आकषिर्त गरेको,

घ) राष्ट्रिय/अन्तर्राष्ट्रिय सन्दर्भलाई आत्मसात् गरिएको,

ङ) अनूदित रचना समाविष्ट-प्रशंसनीय कार्य भएको,

च) पाँच विधामा विशेष योगदान ।

सुझाव

क) सस्तो लोकपि्रयताबाट बच्नुपर्ने

ख) विशेषाङ्कमा समालोचना राख्दा व्यक्तिचयनमा ध्यानदिनुपर्ने,

ग) एउटै अङ्कमा रचनाकार दोहोर्‍याउनु नहुने,

घ) पृष्ठमा रचनालाई सीमित गर्नु नहुने,

ङ) रचना र चित्र अमूर्त र उपयुक्त राख्नुपर्ने,

च) विशेषाङ्कका लागि नयाँ विषयको खोजी गर्नुपर्ने ।

नेत्र एटमको कार्यपत्रमाथि समालोचक डा. ज्ञानू पाण्डेले गर्नुभएको टिप्पणीलाई सङ्क्षेपमा र बूँदागतरूपमा यसरी प्रस्तुत गरिन्छ-

क) कार्यपत्रमा उल्लेख गरिएका अधिक प्रसङ्गको समर्थन गरिएको,

ख) पृष्ठभूमिमा साहित्यिक पत्रकारिताको महत्त्व र विशेषताको उल्लेख प्रशंसनीय रहेको,

ग) प्रमुख अतिथिको अभिव्यक्तिबारे चर्चा गर्दै नारी लेखकको उपस्थितिबारे जिज्ञासा व्यक्त,

घ) सुझाव र निष्कर्षले कार्यपत्रलाई ओजिलो बनाएको,

ङ) क्षेत्रीय विशेषाङ्कको प्रकाशनबारे चर्चा गर्दै मोफसलका स्रष्टालाई समेटेर विशेषाङ्क प्रकाशन गर्नुपर्ने कुराको अभिव्यक्ति प्रशंसनीय रहेको उल्लेख ।

यसरी दुई कार्यपत्रको प्रस्तुति र तिनमाथि टिप्पणी गरिसकेपछि फ्लोरबाट हरि अधिकारी, प्रकाश सिलवाल, विक्रम तिमिल्सिना, मोहन दुवाललगायतले विभिन्न प्रसङ्गमा जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा गोरखापत्रका कार्यकारी अध्यक्ष एवं कार्यक्रमको दोस्रो सत्रका प्रमुख अतिथि विजय चालिसे, डा. लक्ष्मणप्रसाद गौतम, नेत्र एटम र तुलसीहरि कोइरालाले जिज्ञासाबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष डा. बेञ्जु शर्माले आफू विद्यार्थी छँदा गोरखापत्रले ‘मधुपर्क’ प्रकाशन गर्दैछ भन्ने सुन्दा औधी हषिर्त भएको कुरा व्यक्त गर्नुभयो । यसका साथै उहाँले कार्यक्रममा प्रस्तुत दुबै कार्यपत्र एवं तिनमाथिको टिप्पणीको समेत प्रशंसा गर्दै ‘मधुपर्क’ ले साहित्यलाई मात्र नभएर भाषा, कला, संस्कृतिलाई पनि अँगालेको हुनाले यसको योगदान महत्त्वपूर्ण र विशिष्ट रहेको चर्चा गर्नुभयो । विधागत अभिलेख सूची तयार गरिदिए राम्रो हुने थियो भन्दै साहित्यिक पत्रकारिताका क्षेत्रमा ‘मधुपर्क’ले महìवपूर्ण योगदान गरेको उहाँले चर्चा गर्नुभयो । यसरी डा. शर्माको मन्तव्यसँगै बिहान नौ बजेदेखि आरम्भ भएको गोरखापत्र संस्थानद्वारा आयोजित एक दिवसीय उक्त विचारगोष्ठी झण्डै पाँच घण्टासम्म चालू रही करिब दुई बजे समापन भयो । कार्यक्रम आरम्भ हुनुअघि चिया खाजा र समापनपछि खानाको व्यवस्था गरिएको सो कार्यक्रममा सयौँको सङ्ख्यामा साहित्यिक पत्रकार, साहित्यकार एवम् समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । दोस्रोसत्रको कार्यक्रमको सञ्चालन पनि तुलसीहरि कोइरालाले गर्नुभएको थियो । वि.सं. २०२५ सालदेखि निरन्तररूपमा प्रकाशित ‘मधुपर्क’ले नेपाली साहित्य, साहित्यिक पत्रकारिता र सामाजिक रूपान्तरणका निम्ति अझ सशक्त र उपयोगी भएर प्रकाशित हुनुपर्ने आवश्यकता एकातिर छ भने अर्कातिर ५००औँ अङ्कसम्मको चुनौतीपूर्ण यात्रालाई पार गरी अघि बढ्नु स्वयम्मा कीर्तिस्तम्भ निर्माण गर्नु हो भन्ने लाग्दछ । यस अवसरमा गोपालप्रसाद भट्टराईदेखि विजय चालिसे, शम्भु श्रेष्ठ, श्रीओम श्रेष्ठ र तुलसीहरि कोइरालासम्मका व्यत्तित्वहरूको योगदान र कार्यको प्रशंसा गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *