Skip to content

म आफू प्रकट भएको आधार नै ‘मधुपर्क’ हो

  • by


वि.सं. २००२ देखि २००४ साल साउनसम्म गोरखापत्र संस्थानमा जागिरे जीवन बिताएँ । २००४ सालमा प्रजातन्त्र नभएको बेला पनि पद्म शमशेरको शासनकाल उद्धार किसिमको थियो । त्यसबेला भर्खरै दैनिक भएको थियो गोरखापत्र र साहित्यिक रचनाहरू पनि गोरखापत्रमा प्रकाशित हुन्थे । मलाई संयोग जुरेको भन्नुपर्छ, सिद्धिचरण श्रेष्ठ सम्पादकीय विभागमा आउनुभयो र म पनि त्यसैमा थिएँ । सम्पादकीय विभागमा बसेर सम्पादन गर्दा नेपाली व्याकरणका क्षेत्रमा बसेको बानीले मलाई निकै फाइदै भयो । गौरीको स्वर्गवासपछि मेरा केही रचनाहरू उहाँलाई दिएको थिएँ । मलाई निकै हौसला दिनुहुन्थ्यो । एउटा कविका लागि कसैले उसका कविताहरू मन पराउनु भनेको गौरवको कुरा हो । मेरा कविताहरू उहाँले स्वीकार गर्नुभयो र उचित सल्लाह-सुझावहरू दिनुभयो । मलाई के लाग्छ भने मेरा प्रेरणाका स्रोत भन्नु नै सिद्धिचरण श्रेष्ठ हुनुहुन्छ ।

छिमेकी मुलुक स्वतन्त्र भएपछि नेपालमा पनि स्वतन्त्रताका लागि अनौठो क्रान्ति सुरु भयो । राणाहरूको छायाँबाट मुक्ति, आफ्नो राष्ट्रियतालाई जोगाउने भावनास्वरूप क्रान्तिका ज्वालाहरू क्रमशः बल्दै गए । अन्ततः मुक्ति मिल्यो । त्यसै बखत सरस्वती सदनमा पहिलो कविता सम्मेलन पनि भयो । राष्ट्रिय ध्येयले ओतप्रोत भएका कविताहरू त्यहाँ गुञ्जिएका थिए ।

यसै मेसोमा यस संस्थानले ‘मधुपर्क’ नामक साहित्यिक मासिक पत्रिकाको रूपमा प्रकाशन गर्ने सूचनाले म हषिर्त भएको थिए । ‘मधु’को अर्थ माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ र ‘पर्क’को अर्थ मह चिनी, घिउ, सखर र जल मिलाएर बनाइएको, देउता, वर, अतिथिलाई अर्पण गरिने पदार्थ । यानी मिष्ठान्न पकवान । यस्तै नामले रोमाञ्चित भएको थिएँ म । नेपाली साहित्यमा पनि यस्तै पत्रिकाको कमी थियो । यसको सुरुआतसँगै ‘साहित्यिक रचना, विकासमा साहित्यिक योगदान’मधुपर्कले गर्दै आएको छ । विशुद्ध साहित्यमा नै समाज परिवर्तन भइरहेको छ । कविताका, कथाका मापदण्डहरू बदलिएका छन् । वर्तमानमा साझा फूलवारी भएर रहेको छ ‘मधुपर्क’ ।

एकेडेमीमा वि.सं. ०३८ सालमा केदारमान व्यथित आएपछि म बाहिर रहेँ । घर गृहस्ती चलाउन कठिन अवस्थामा पनि मैले लेख्ने अवसर पाएँँ । मेरा चेला भैरव अर्याल गो.प.मा आएपछि फोनबाट नै रचना टिपाइ दिन्थे र छापिन्थ्यो पनि । यो एउटा साझा फूलवारीको रूपमा अगाडि बढ्दै आएको छ । मैले फूलवारी किन भनेको भने, जोसुकैका साहित्यिक रचनाहरू छापिने भएकोले पनि मलाई फूलवारी भन्न मन लागेको हो । जस्तो कि हेर्नोस् यी बगैँचाहरू -आफ्नै घरको बगैँचामा देखाउँदै) यहाँ धेरै थरिका रचनाहरू अटाएका छन् । विभिन्न प्रकारका मानसिक खाना पस्किने अवसर प्राप्त भएको छ । नढाटीकन भन्नुपर्दा म आफू प्रकट हुने आधार नै ‘मधुपर्क’ हो ।

कविता लेख्नुपर्छ, कुरा मात्र लेख्ने होइन, साहित्यिक समाज निर्माण भएपछि प्रभाव र प्रेरणा पर्नु स्वभाविक हो । सुधार गर्ने मौका मिल्छ । रचनाहरूले नयाँ दिशा देखाइरहेका छन् । अरूका रचनाहरूले पनि सूचना प्राप्त गर्न सकिन्छ । मौलिक सिर्जनाका निम्ति प्रेरणा दिन्छन् । मधुपर्कमा प्रकाशित मौलिक रचनाहरूले सबैलाई राम्रै गरेका छन् । धेरै ज्ञान फैलाएका छन्, सबै पत्रिकाले सिर्जना गरेका वातावरण प्रभावकारी छ । त्यसबेला कसैसँग सल्लाह र सुझाव लिने गरिएको थिएन । आफ्ना चेलाहरूले बेलाबेलामा रचनाहरू माग्थे, प्रकाशन गरिदिन्थे, त्यसैमा म सन्तुष्ट थिएँ । मलाई के लाग्छ भने शुद्ध भाषाको विशेषता हो मधुपर्क तर आज भाषा भत्केको छ । प्रयोग गरिनु ठीक हो तर त्यसले भाषालाई बिगारेको छ । परम्परालाई कायम गर्नु बेश हुन्छ । भाषाका निम्ति, पहिलेको भाषा नेपालीहरूको कलेजोमा अड्केको छ । प्रयोग शिष्ट भयो भने ब्याकरण बन्छ । भाषा बन्छ । मधुपर्कको शैली उल्लेख्य छ । शैली भत्किएमा भाषा पनि भत्किन्छ । फूलको थुङ्गा भत्कियो भने सौन्दर्य कहाँ रहन्छ र…….? भाषामा रहेको सम्प्रेषणीयता नरहे भाषाको अर्थ के रहला र ?

साहित्यका इतिहास भनेका यस्ता पत्रिकाहरू नै हुन् । मधुपर्कले गद्य कवितालाई प्राथमिकता दिएको छ । अहिले सम्पादकीयमा भाषा बिग्रेको पनि पाइन्छ । यहाँ एउटै शैलीको भाषा प्रयोग गर्नुपर्छ । निश्चित हुनुपर्छ कि म यो भाषिक शैली प्रयोग गर्छु । भाषिक नीति पनि पहिले र अहिले वदलिनु हुन्न, त्यो मीठास, मधुरता कायम रहनुपर्छ । आफ्नोपन कायम रहनु पर्छ । मधुपर्कको सिद्धान्तमा उत्तम रचना आउनुपर्छ । समयको मर्म व्यक्त गर्ने भाषा, साहित्यिक हुनुपर्छ । एकाङ्गी होइन, विकसित सन्दर्भलाई पनि आत्मसात गर्नुपर्छ मधुपर्कले । गेट अपको निम्ति कलात्मक कृति, संस्कृतिको कुरा अत्यन्त राम्रो छ । कागज अलि अप्ठेरो छ । हामीलाई पढ्न कठिन भएको छ । समय अनुसार फेरिएर आउनु नै राम्रो होला । पुस्तकहरूको समालोचनाबीचमा किन राखेको होला ? यसलाई पछाडि राखे कसो होला ? पद्य कविता पद्य जान्नेलाई देखाएर मात्र छाप्नुपर्छ भन्ने म चाहन्छु । मधुपर्कमा कविता बुझ्ने मान्छे नभएको जस्तो हुनु भएन । इन्टरनेटमा फैलिएको सन्दर्भमा आफ्ना त्रुटि नजाउन्, आफ्ना खोट नदेखिउन्, भाषिक पहिचान र आफ्नोपन चिनियोस् भन्ने तिर सजक हुनु पर्दछ । सार्वजनिकरूपले बाहिर आउने कुरामा राम्रो ध्यानदिनु पनि सम्पादकको काम हो । केवल फूलहरू जोडेर ल्याउनु मात्र होइन, एक प्रकारको शिल्प/रचना हो सम्पादक गर्नु । सम्पादकको कला देख्न पाइयो भने नाम लेखिनुको औपचारिकता झल्कियोस् । भाषा जानेको हुनुपर्‍यो । राष्ट्रिय महत्त्वको सन्दर्भमा खलल नपरोस्, कुनै व्यक्तिले पत्रिकालाई प्रभाव नपारोस् । राजनीतिक परिस्थितिमा पनि राम्ररी जोगिनु उचित हुन्छ ।

प्रस्तुति ः छविरमण सिलवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *