साहित्यिक पत्रिकाको अभाव भइरहेको बेला मधुपर्क प्रकाशित हुनु ज्यादै राम्रो थियो । गुणस्तरीय कागज, छपाई, आकार ठिक्कको थियो । सबै राम्रो थियो, पछि खस्कियो । कागज पनि त्यति राम्रो भएन, आकारमा पनि एकरूपता राख्न सकेन । मेरो भनाई केहो भने कागज, छपाई र आकारमा एउटा ‘स्तर’ कायम गर्न सकेन । सस्तो कागज खोज्ने होइन, बरु मूल्य बढाइदिए हुन्छ नि ! पत्रिकाको सङ्ग्रहकर्ताका लागि गुणस्तरीय कागज, छपाइ र आकारमा एकरूपता हुनु आवश्यक छ ।

साहित्यिक पत्रिका धेरै बिक्री भएर धेरैले पढ्ने भन्ने होइन । यसको स्तरमा ध्यान दिनैपर्छ । किनभने यो सरकारीस्तरबाट प्रकाशित पत्रिका भएकाले त्यस्तो अपेक्षा गरिएको हो ।

पञ्चायतकालमा प्रकाशन आरम्भ गरेको सरकारी पत्रिका भएकाले पञ्चायतको बारेमा दुईचार शब्द नलेखी हुँदैन थियो, त्यो स्वभाविकै पनि हो । रचनाका लागि चिठ्ठी आइरहन्थ्यो, नआए पनि साहित्यिक पत्रिकाको श्रद्धाले पनि रचना छाप्न दिइन्थ्यो । इरान र नेपालको राजतन्त्रको बारेमा मेरो लेख छापिएको थियो, सायद पहिलोपल्ट । वर्ष सम्झना भएन । इरानमा राजतन्त्रको २५ सय वर्ष पुगेको बेला त्यो रचना छपाएको थिएँ । कार्तिक नाच, प्राज्ञापारमिता, मुद्रासम्बन्धी महत्त्वपूर्ण लेख आवरण लेखका रूपमा मघुपर्कमा छापिएको थियो । त्यसपछिका दिनमा बरु मेरै बारेमा योगदान, कृतिजस्ता विषयमा मधुपर्कमा छापिएका छन् ।

पारिश्रमक त त्यति महत्वपूर्ण होइन, मुख्य कुरा त स्तरकै हो । अहिले त लेख चाहियो भनेर चिठ्ठीपत्र पनि आउँदैन, लेख्दा पनि लेखिएको छैन । एउटा लेख बीचमा छापिएको थियो, त्यो बारेमा मलाई नै थाहा थिएन । बिर्सिसकेको रहेछु । वास्तवमा महाकवि देवकोटासँग मेरो पनि सम्बन्ध थियो, अरूलाई त्यो त्यति थाहा नभएको कुरो । प्रचार गर्नेहरूले त महाकविसँग मेरो यस्तो सम्बन्ध थियो, उस्तो सम्बन्ध थियो भनेर छपाए तर मेरो त्यस्तो भएन । महाकवि देवकोटा शिक्षा मन्त्री भएको दिन ‘तपाईको मन्त्रालय यही हो’ भनेर मैले नै लगेर देखाएको हो । उहाँलाई मन्त्रालय कुन हो थाहा थिएन । उहाँको ज्वाइँ आएका रहेछन् साइकल चढेर, उनलाई पनि थाहा रहेन छ । सिंहदरबारमा शिक्षा मन्त्रालय मलाई थाहा थियो, मैले नै लगेर देखाएँ ।

कसोकसो उनलाई पनि लोकसाहित्यमा रुचि रहेछ । उतिबेला म बालकविता लेख्थेँ, बालकवितामा उनलाई पनि रुचि भएकाले हाम्रो बीचमा सम्बन्ध राम्रो थियो । लोकसाहित्यसम्बन्धी मेरो एउटा लेख उहाँकोमा रहेछ । त्यो मलाईसमेत थाहा थिएन । महाकविका छोरा डा.पदमप्रसादले मधुपर्कमा छाप्न दिनुभएको रहेछ । त्यसको पारिश्रमिकसमेत पाएको थिएँ ।

त्यसपछि लोककथाको प्रकारसम्बन्धी लेख मधुपर्कमा छापिएको थियो, त्यो चाहिँ ज्यादै नराम्रोसँग छापियो । लोककथा विशेषाङ्कमा छापिएको हो, त्यो । ज्यादै चित्त दुख्यो । अनुसन्धानमूलक लेख थियो, त्यो । छाप्न त अगाडिको मुल लेख कै रूपमा छापिएको थियो तर साना अक्षर, साजसज्जा पनि राम्रो थिएन । हेर्दै कस्तोकस्तो लाग्यो ।

पछि के विषयको बारेमा एउटा चिठ्ठी आएको थियो, तर लेखिन । बिर्सेछु, चिठ्ठीको ‘फलोअप’ पनि भएन । विशेषगरी अनुसन्धानमूलक लेखका लागि लेखकसँग निरन्तर सम्पर्कमा त बस्नैपर्छ, एक दुईचोटि । त्यस्ता लेखकले पारिश्रमिकको मतलव पनि गर्दैन । लेखकसँग के विशेषता छ, त्यो लिनको निमित्त पछि त लाग्नैपर्छ । एउटा चिठ्ठीको भरमा लेखेर ल्याउन भनेर मात्रै त भएन नि ! लेखलाई कसरी तयार पार्ने, कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफलसमेत गर्न सकिन्छ ।

त्यो बेला ‘मधुपर्क’ को नामको विषयमा चर्चा थियो । के हो ‘पर्क’ भनेको भन्ने सनसनी थियो । पहिला नौलो नाम थियो । त्यसले कस्तो कस्तो भइरहेको थियो । पछि थाहा भयो । एकथरी ग्राहक खोजीखोजी किनेर पढ्ने हुन्छन्, अर्कोथरी पाएदेखि पढ्ने हुन्छन् । पाए पढ्ने ग्राहकका लागि ‘पुससेल’ पनि गर्नुपर्छ । ग्राहक अभियान चलाएर घरघरमा पुर्‍याउने व्यवस्था गर्नुपर्छ । कहाँ जाने, कसरी पत्रिका प्राप्त गर्ने भन्ने द्विविधा हुन्छ ।

कला, साहित्य, संस्कृति, लोकसाहित्य, आधुनिक, उत्तरआधुनिक साहित्य, लोकनाच, संस्कृति, परम्परामा आएको परिवर्तन, कलामा आएको परिवर्तनसम्बन्धी विविध विधाका ज्ञाताहरू कम्तीमा ४० जना त होलान् नि । तिनलाई सम्पर्क गरेर मधुपर्कले अनुसन्धानमूलक लेख प्रकाशन गरेमा त्यसले निकै महत्व राख्छ । मधुपर्कको ध्यान त्यतातिर जानुपर्छ । नयाँलाई पनि स्थान दिनुपर्छ तर इतिहासलाई लिखित नगर्ने हो भने, इतिहासको विश्लेषण नगर्ने हो भने अहिलेको कला, साहित्य, सङ्गीत र संस्कृतिलाई बु्झ्न सकिन्न ।

प्रस्तुति ः दीपक विहीन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *