विषय प्रवेश
नेपाली पत्रत्रिकाहरूको प्रकाशन परम्परालाई हेर्दा सर्वप्रथम विक्रम संवत १९४३ सालमा भारतको बनारसबाट युवककवि मोतीराम भट्टको सम्पादकत्वमा गोर्खाभारत जीवन पत्रिका प्रकाशित भएको देखिन्छ । त्यसको एक दर्जन वर्षपछि वि.सं. १९५५ सालमा नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका सुधासागर हो । यो पत्रिका नरदेव मोतीकृष्ण शर्माको सम्पादकत्वमा प्रकाशित भएको हो । नेपाली पत्रपत्रिको इतिहासमा गोरखापत्र मात्रै एउटा यस्तो भाग्यमानी पत्रिका सावित भएको छ, जुन आजसम्म पनि निरन्तर रूपमा सार्वजनिक भैरहेको छ । गोरखापत्रको प्रकाशन वि.सं. १९५८ साल जेठ ३ गते काठमाडौँको पाशुपत प्रेसबाट साधुराम देवकोटाको सम्पादकत्वमा प्रकाशित भएको देखिछ । नेपाली साहित्यिक पत्रिकाको इतिहासमा वि.सं. १९९१ सालमा प्रकाशित शारदा नेपाली साहित्यको माध्यमिककाल र आधुनिककाल बीचको सीमा स्तम्भका रूपमा रहेको छ । शारदा पत्रिकाको माध्यमबाट नेपाली साहित्यले आधुनिकताको जगमा प्रवेश गर्ने सौभाग्य प्राप्त गरेको छ । नेपाली भाषा साहित्यको विकासको चरणबद्ध इतिहासमा माध्यमिककाल र आधुनिककाल बीचको लक्ष्मणरेखा कोर्न सक्षम शारदा ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा काठमाडौँको जोरगणेश छापाखानाबाट प्रकाशित भएको थियो ।
तथापि शारदा साहित्यिक पत्रिका प्रकाशित भएको ३५ वर्षपछि २०२५ सालमा गोपालप्रसाद भट्टराईको सम्पादकत्वमा मधुपर्कको प्रकाशन प्रारम्भ भएको हो । यसरी हेर्दा गोर्खाभारत जीवन १९४३ देखि आरम्भ भएको नेपाली साहित्यिक तथा साहित्येत्तर पत्र-पत्रिकाहरूले २०२५ सालको समयावधिसम्म आइपुग्दा सङ्ख्यात्मक एवम् गुणात्मक दुबै रूपमा जीवन्तता प्राप्त गरेको देखिन्छ । त्रिचालीस वर्षअघि विक्रम संवत् २०२५ साल जेठ ३० गते नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विकासमुलक योगदान पुगोस् भन्नाका खातिर गोरखापत्र संस्थानको सह-प्रकाशनको रूपमा मधुपर्क मासिकको जन्म भएको हो । यस क्षेत्रमा नेपाली वाङ्मयको प्रत्येक विधाको समतामुलक विकासबिना नेपाली भाषा, साहित्य कला-संस्कृति सवल र प्रभावकारी हुन नसक्ने यथार्थतालाई कसैले पनि नकार्न मिल्दैन । साहित्यिक सामग्रीहरूको आधिकारिक स्रोत मधुपर्कले नेपाली भाषा र साहित्यका सङ्ग्रहणीय स्रोत साधनका रूपमा स्थापित भएको तथ्य पनि विज्ञवर्ग सामु खुला पुस्तकझैँ छर्लङ्ग छ । नेपाली वाङ्मयका अनेकन ओजस्वी स्रष्टा साधकहरू जन्माउनमा पनि मधुपर्कको योगदान आफैँमा प्रेरणादायी रहेको छ ।
सम्पादक तथा सम्पादकीय
मधुपर्कको इतिहास निर्माण गर्नमा अनेकन् कालखण्डमा सेवा प्रदान गर्ने सम्पादकहरूको योगदानको भूमिका पनि उल्लेखनीय रहेको छ । यसै पृष्ठभूमिमा मधुपर्कको त्रिचालीस वर्षको इतिहासमा पहिलो सम्पादक बन्ने श्रेय गोपालप्रसाद भट्टराईलाई प्राप्त भएको छ । नेपालको पहिलो समाचार पत्रिका गोरखापत्रको पनि सम्पादक रहेका गोपालप्रसाद भट्टराई २०२५ जेठदेखि २०३२ असारसम्म मधुपर्क मासिकको सम्पादक भएर रहेका थिए । उनको कार्यकाल सात वर्ष दुई महिना रहेको देखिन्छ । यस अवधिमा ८६ वटा अङ्क मधुपर्क प्रकाशित भएको छ । मधुपर्कको पहिलो अङ्कमा २०२५ साल जेठ ३० गते उल्लेख गरिएको सन्दर्भमा सम्पादक भट्टराईका सहायकहरूमा प्रतिभाशाली व्यक्तित्व नारायणबहादुर सिंह, भैरव अर्याल र दाताराम शर्मा रहेका थिए । पत्रिकामा सम्पादकहरू अदलबदल हुने क्रममा सम्पादक भट्टराईका सहयागीका रूपमा २०३० सालमा केशवराज पिंडालीको प्रवेश भएको छ भने २०३० सालकै भदौ अङ्कदेखि पिंडालीलाई अतिरिक्त कार्यकारी सम्पादक र भैरव अर्याललाई सहयोगी भनेर राखिएको छ । यस्तै २०३१ साल असारमा भैरव अर्याललाई लेख रचना सम्पादकको दायित्व प्रदान गरिएको छ ।
यसरी हेर्दा सम्पादक गोपालप्रसाद भट्टराई गोरखापत्रको सम्पादक रहेको अवस्थामा त्यस समयावधिमा मधुपर्कलाई जीवन्त राख्न नारायणबहादुर सिंह, भैरव अर्याल, दाताराम शर्मा र केशवराज पिंडालीको योगदान महत्त्वपूर्ण रहेको देखिन्छ ।
चार दशक लामो इतिहास निर्माण गरेको मधुपर्कको पहिलो अङ्कमा सम्पादकीय छैन तर गोरखापत्र कर्पोरेसनबाट प्रकाशनमा आउन लागेको मधुपर्क नामक मासिक पत्रिकाले देशको साहित्य, कला, संस्कृति एवम् व्यवस्थाका विभिन्न व्यावहारिक पक्षहरूमा प्रकाश दिँदै राष्ट्रिय वाङ्मयको संमृद्धि गर्नमा सफलता प्राप्तहोस् भन्ने सन्देश राष्ट्रनायक श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट बक्स भएको छ । यसै गरी श्री ५ महाराजाधिराज सरकारको ४९ औं जन्मोत्सवको शुभ-मुर्हूतदेखि प्रकाशन प्रारम्भ हुन लागेको मधुपर्क नेपाली वाङ्मयका विभिन्न पक्षहरूको संरक्षण एवम् सम्बर्द्धन गर्नमा सफलहोस् भन्ने शुभकामना देशका प्रधानमन्त्री सूर्यबहादुर थापा एवम् गृहपञ्चायत तथा सूचना प्रसारमन्त्री गेहेन्द्रबहादुर राजभण्डारीले व्यक्त गरेका छन् । मधुपर्कको दोस्रो अङ्क २०२५ असारदेखि भने सम्पादकीयका रूपमा पाठकसभा अन्तर्गत पाठक प्रतिक्रिया समावेश गरिएको छ । यस अङ्कमा श्रीधर खनाल, कृष्णचन्द्रसिंह प्रधान, ढुण्डिराज भण्डारी, चन्द्रकान्त शर्मा र उपेन्द्र श्रेष्ठ, यी स्रष्टाका गम्भीर र पठनीय पाठक प्रतिक्रियाहरू प्रकाशित भएका छन् । पाठकसभामा अन्तर्गत प्रकाशित रचनाहरूका सम्बन्धमा निष्पक्ष समीक्षात्मक विचारहरू एवम् मधुपर्कको स्तर वृद्धिका बारेमा आत्मकेन्दि्रत भएर पाठक प्रतिक्रियाहरू पठाउन मधुपर्कले समयमै अनुरोध गरेको थियो । गोपालप्रसाद भट्टराईको कार्यकाल भरिनै पाठकसभाअन्तर्गत पाठक प्रतिक्रियालाई निरन्तर महत्त्व दिइएको देखिन्छ । मधुपर्कमा पाठकहरूबाट प्राप्त सुझाव र शुभ-कामनाहरूलाई पनि पाठक प्रतिक्रियामा समावेश गरिएको छ । यस अवधिमा अधिकांश पाठकहरूको चासोको विषय मधुपर्कलाई पठनीय र स्तरीय बनाउनुका साथसाथै नेपाली साहित्यका सबै विधालाई महत्त्व दिनु पर्यो भन्ने नै रहेको देखिन्छ । आम नेपाली पाठकबीच मधुपर्क साहित्यिक लोकपि्रय बनोस् भन्ने नै रहेको छ ।
मधुपर्कको दोस्रो सम्पादकका रूपमा २०३२ साउनदेखि नारायणबहादुर सिंहले प्रवेश पाएको देखिन्छ । उनी निमित्त सम्पादक भएर २०३२ पुससम्म कार्यरत रहे । उनका सहयोगीका रूपमा केशवराज पिंडाली अतिरिक्त कार्यकारी सम्पादक र भैरव अर्याल लेखरचना सम्पादक रहेका थिए । आधावर्षे सिंहको कार्यकालमा मधुपर्कमा खासै परिवर्तन भएन । सम्पादकीयका रूपमा कायम रहँदै आएको पाडकसभालाई नै पाठक प्रतिक्रियाको रूपमा निरन्तरता दिने काम नारायणबहादुर सिंहबाट पनि यथावत नै रहृयो । उनको छोटो कार्यकालमा पाठक प्रतिक्रिया भने बढी नै राखेको देखिन्छ ।
गोरखापत्र संस्थानसँग आवद्ध भारतदत्त कोइराला २०३२ माघ अङ्कदेखि कायममुकाम सम्पादकको रूपमा मधुपर्कमा प्रवेश गरेेका हुन् । उनका सहयोगीका रूपमा केशवराज पिंडाली अतिरिक्त कार्यकारी सम्पादक तथा भैरव अर्याल लेख रचना सम्पादक भएर कार्य सम्पादन गरेका थिए । भैरव अर्यालको ठाउँमा २०३३ माघदेखि भने लेख रचना सम्पादकमा गोकुलप्रसाद पोखरेलले प्रवेश पाएका छन् । उता २०३३ साउनदेखि भारतदत्त कोइराला का.मु. हटेर सम्पादकमा रूपान्तरण भएका हुन् भने भैरव अर्याल २०३३ कात्तिकबाट मधुपर्कबाट बाहिरिए । भारतदत्त मधुपर्कमा आएपछि उनले सम्पादकीय नै हटाई दिए र सम्पादकीयको ठाउँमा कुनै ख्यातिप्राप्त व्यक्तिको विचार प्रस्तुत गरेको देखिन्छ । उनले मधुपर्कको यस स्तम्भमा स्वदेशी र विदेशी विद्वान्हरूका महत्त्वपूर्ण विचारलाई प्रस्तुत गरेका छन् । उनले पहिलो पटक फेडे्सजस्ता विद्वान्को विचार तादो र दिमाग प्रस्तुत गरे भने २०३२ फागुनको अङ्कमा अभूतपूर्व शीर्षकमा श्री ५ वीरेन्द्रको उद्गार राखेका छन् । उनले मधुपर्कको सम्पादकीयलाई लिएर दान र व्यापार तथा हामी सबै नै पापी हौँ जस्ता युक्तिहरू सम्पादकीय रूपमा प्रस्तुत गरेका छन् । यस क्रममा नयाँवर्ष २०३५ लाई लिएर वैशाख अङ्कमा श्री ५ वीरेन्द्रको सन्देश प्रस्तुत गरेका छन् । त्यसै वर्षको बीचमा लियो टाल्सटायको विचार जीवनको पानी तथा कविशिरोमणि लेखनाथ पौड्यालको सत्यसन्देश आदिको उद्गार प्रस्तुत गरेका छन् । यस्ताखाले उद्गारहरू प्रत्येक अङ्कमा सामान्यत राखेको देखिन्छ । साढे तीन वर्ष मधुपर्कको सम्पादक रहेका भारतदत्त कोइरालाको कार्यकाल २०३६ असारसम्म कायम रहेको देखिन्छ । उनले २०३५ पुस अङ्कमा संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् १९७९ लाई अन्तर्राष्ट्रिय बाल वर्षका सन्दर्भमा श्री ५ वीरेन्द्रबाट बक्स भएको शाही सन्देश प्रस्तुत गरेका छन् । आफ्नो कार्यकालको अन्तिम अङ्कमा वृथाभिमान शीर्षक अन्तर्गत एउटा काग र हीराको कथालाई लिएर उद्गार प्रस्तुत गरेका छन् ।
भारतदत्त कोइराला गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त भएपछि मधुपर्कमा का.मु. सम्पादकमा २०३६ साउनदेखि पत्रकार गोकुलप्रसाद पोखरेललाई चयन गरिएको छ । उनका सहायकमा केशवराज पिंडालीलाई प्रबन्ध सम्पादक भनेर राखिएको भए पनि मङ्सिरमा पिंडाली मधुपर्कबाट हटेका छन् । उनले २०३६ भदौ अङ्कमा उत्कृष्ट साहित्य भनेर श्री ५ वीरेन्द्रको विचार प्रस्तुत गरेका छन् भने असोज अङ्कमा विशेष गरी महिलाको बारेमा चिन्तित हुँदै चुनौतिपूर्ण सहभागिता अन्तर्गत श्री ५ ऐश्वर्यको उद्गार राखिएको छ । चैत-वैशाख अङ्क २०३८(२०३९ देखि का.मु. हटेर सम्पादक मात्र रहेका गोकुलप्रसाद पोखरेलको पदावधि २०४० फागुनसम्म कायम रहेको देखिन्छ । उनको कार्यकालमा पनि मधुपर्कको सम्पादकीयमा पुरानै परम्परालाई निरन्तरता दिइएको छ । उनले २०३६ साउन अङ्कमा महानताको कसी भनेर पहिलो सन्दर्भ नै कविता प्रस्तुत गरेका छन् । यसै गरी २०३९ जेठ अङ्कमा तीन रत्नमा यसको व्याख्या गरिएको छ । पृथ्वीमा तीन रत्न छन् ती हुन- जल, अन्न र सुवचन, मूर्खहरूले पत्थर आदिका टुक्रामा रत्नको नाम लेखिदिएका छन् भन्ने उद्गार यस अङ्कमा समावेश गरिएको छ । उनले बीच बीचका अङ्कहरूमा पनि आफ्नै बौद्धिक परम्परा र मस्तिष्कको बनोट विषयमा चर्चा गरेका छन् । उनको अन्तिम छनोट २०४० माघ-फागुन संयुक्त अङ्कमा देशको हित अन्तर्गत श्री ५ त्रिभुवनबाट २००८ साल माघ १२ गते दिएको शाही सन्देशको अंशलाई उद्धृत गरेका छन् ।
पहिलो चिन्तनका रूपमा महाकवि देवकोटाको मान्छे जादु निबन्धको मर्मलाई लिएर २०४० चैतमा रामचन्द्र न्यौपाने मधुपर्कमा सम्पादक पद सम्हाल्न पुग्छन् । उनी निमित्त सम्पादकका रूपमा मधुपर्कमा पुगेका हुन् । उनी २०४१ वैशाखसम्म मात्र मधुपर्कमा रहेका थिए । दुई अङ्कको मात्र निमित्त सम्पादक रहेका रामचन्द्रले वैशाख अङ्कमा अनुकूल वातावरण अन्तर्गत नववर्ष २०४१ का सन्दर्भमा श्री ५ वीरेन्द्रबाट बक्स भएको शाही सन्देशको केही अंश प्रस्तुत गरेका थिए । अघिल्लो पटक आधावर्ष मधुपर्कमा रहेका नारायणबहादुर सिंह दोस्रो पटक २०४१ जेठदेखि पुनः सम्पादकको दायित्व लिएर मधुपर्कमा उनको प्रवेश भएको छ । मधुपर्कमा प्रवेशसँगै उनका सहयोगी पुरु रिसाललाई सह-सम्पादकमा चयन गरिएको छ । यस अङ्कदेखि पाठक प्रतिक्रियाको ठाउँमा पत्र-पत्रांश राखिएको छ । समय सन्दर्भ अन्तर्गत यसपालि आफ्नै केही कुरा भनेर सम्पादकीय लेखिएको छ, जहाँ पहिलो अङ्कलाई लिएर श्री ५ महेन्द्रको संस्मरण गरिएको छ । सह-सम्पादक रिसाल भने २०४१ मङ्सिरसम्म कायम रहेको देखिन्छ । नारायणबहादुर सिंहले २०४२ पुसदेखि नायब प्रधानसम्पादकको भूमिका निर्वाह गरेका थिए । मधुपर्कमा अठार वर्षभित्र प्रकाशित सामग्रीहरूको सन्दर्भ सूची २०४२ माघ अङ्कमा राखिएको छ र अन्त्यमा यस अङ्कका सम्बन्धमा केही कुरा लेखिएको छ । यसै गरी २०४३ सालका सबैजसो अङ्कहरूमा पनि पत्र-पत्रांश, समय-सन्दर्भ र मन्तव्यहरूलाई नै महत्त्वका साथ राखिएको छ । अन्तर्राष्ट्रिय युवावर्ष सन् १९८५ को महत्त्वलाई समय-सन्दर्भअन्तर्गत समेटिएका छ भने २०४४ जेठमा नारायणबहादुर सिंह प्रधानसम्पादक र कपिल घिमिरे उप-सम्पादक रहेको देखिन्छ । समय सन्दर्भमा २०४४ जेठ अङ्कमा मधुपर्क बीसौं वर्ष प्रवेशका अवसरमा केही गन्थन केही मन्थन लेखिएको छ ।
मधुपर्क प्रकाशन प्रारम्भ भएको अठार वर्षसम्म सानो आकारमा प्रकाशित हुँदै आएको थियो तर २०४४ असोज अङ्कदेखि प्रधानसम्पादकमा कृष्णभक्त श्रेष्ठको प्रवेश हुन्छ । उनी गोरखापत्रका प्रधानसम्पादक हुन् । गोरखापत्रको प्रधानसम्पादक भएका कारण मधुपर्कमा उप-सम्पादकको दायित्व कपिल घिमिरेले लिएका थिए । उनको समय २०४४ कात्तिक अङ्कदेखि मधुपर्क ठूलो आकारमा पाठकसमक्ष सार्वजनिक हुन पुग्यो । सहज अध्ययनका दृष्टिले सानो भन्दा ठूलै अङ्क नै बढी पठनीय र आकर्षण देखियो । यो आकार अपवादका रूपमा केही कालखण्डलाई छोडेर निरन्तर कायम रहँदै आएको छ । कृष्णभक्त गोरखापत्रका साथै मधुपर्कको प्रधानसम्पादक भए पनि सबै काम उप-सम्पादक कपिल घिमिरेबाट भएको देखिन्छ । यस कार्यकालमा पनि पाठक प्रतिक्रियाको रूपमा पत्रपत्रांश र समय सन्दर्भलाई यथावत राखिएको छ । कात्तिक अङ्कमा समय सन्दर्भमा आजको आवश्यकता अन्तर्गत भाषा, साहित्य, कला संस्कृतिको संरक्षणको बारेमा महत्त्व दिइएको छ । उपसम्पादक रमेश शर्माको २०४५ साउनदेखि मधुपर्कमा प्रवेश भएको छ भने २०४६ साउनदेखि पत्रपत्रांश हटेको छ । यसैगरी २०४६ असोज अङ्कमा समय सन्दर्भमा अत्याधुनिक रङ्गमञ्चको खाँचो अन्तर्गत नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रदर्शन गरेको हामी बाँच्न सक्छौं नाटकका लेखक-कलाकारहरूलाई श्री ५ वीरेन्द्रबाट सामूहिक रूपमा नगद पुरस्कार स्वरूप रु. असी हजार बक्स भएको समाचारले नेपाली कला र साहित्य जगत्मा हौसलापूर्ण वातावरण सिर्जना भएको तथ्य उल्लेख गरिएको छ । नयाँवर्ष २०४७ वैशाखमा पुनः पत्र-पत्रांशलाई निरन्तरता दिइएको छ भने २०४७ असारदेखि उपसम्पादक रमेश शर्मा मधुपर्कबाट हटेका छन् । यसकारण पत्र-पत्रांश र समय सन्दर्भ कायमै रहेको छ । परिवर्तनको सबै सन्देशलाई समय सन्दर्भमा समेटिएको छ भने प्रधानसम्पादक कृष्णभक्त श्रेष्ठको कार्यकाल २०४७ चैतसम्म रहेको देखिन्छ ।
सरकारका सम्बन्धित मन्त्री फेरबदल हुनासाथ त्यसको प्रभाव गोरखापत्रमा पनि पर्ने गरेको छ । पत्रकार श्रीप्रसाद गौतम २०४८ वैशाखमा गोरखापत्र र मधुपर्क दुबैको प्रधानसम्पादक बन्न पुग्छन् । उनको समयमा मधुपर्कमा कपिल घिमिरे उपसम्पादक र भिक्टर प्रधानलाई सम्पादन सहयोगका रूपमा राखिएको छ । उनको समयावधि २०४९ मङ्सिरसम्म रहेको देखिन्छ भने उक्त कालखण्डमा पनि पत्रपत्रांशलाई स्थान दिइएको छ । वाङ्मय विकासको उपेक्षा भनेर २०४८ असारमा आमनिर्वाचन २०४८ सुसम्पन्न भएको अवसरमा साहित्यमा पनि यसको सकारात्मक प्रभाव पर्ला भन्ने आशाका साथ समय सन्दर्भ लेखिएको छ । यसै गरी २०४९ वैशाखमा पत्रकार गौतमकै नेतृत्वमा मधुपर्कको टिममा फेरबदल भएको छ जहाँ कपिल घिमिरे सम्पादक तथा श्रीओम श्रेष्ठ र वसन्तप्रकाश उपाध्याय उपसम्पादक रहेका थिए । यस वर्ष पनि पत्रपत्रांश कायमै रहनुका साथै वर्ष २०४८ निष्फल थिएन भन्ने शीर्षकमा समय सन्दर्भमा लेखिएको छ । २०४९ पुसमा कृष्णभक्त श्रेष्ठ पुनः मधुपर्कको प्रधानसम्पादक भएको देखिन्छ । उनको कार्यकाल २०५० असोजसम्म रहेको छ । यस अवधिमा उनी गोरखापत्रका पनि प्रधानसम्पादक हुन् । पत्रपत्रांश यथावत रहेको छ भने समय सन्दर्भमा पनि महत्त्वपूर्ण पक्षहरूलाई उठाइएको छ । त्यस समयमा नेपाली वाङ्मयलगायत साहित्य, कला र संस्कृतिको महत्त्वलाई समय सन्दर्भमा बढी उजागर गरिएको छ । नियमितताको अपेक्षा भन्दै २०५० असोजको अङ्कमा साहित्य कला र संस्कृतिको सम्बर्द्धन विकासका लागि साधक, संस्था र सरकारसमेतको अहम्भूमिका हुन्छ भन्ने सन्देश समय सन्दर्भमा उल्लेख गरिएको छ ।
गोरखापत्र संस्थानबाट सेवा प्रारम्भ गरेका कपिलदेव घिमिरे मधुपर्कमा सबैभन्दा बढी सम्पादक भएर काम गर्ने व्यक्ति हुन् । उनी बीचका केही वर्ष छोडेर २०५० कात्तिकदेखि २०६२ वैशाखसम्म मधुपर्कमा सम्पादक रहेका थिए । पहिलोपटक मधुपर्कमा सम्पादक भएर आउँदा उनका सहयोगीमा उप सम्पादक द्वय श्रीओम श्रेष्ठ र वसन्तप्रकाश उपाध्याय रहेका थिए । घिमिरे २०५४ माघसम्म मधुपर्कमा रहेको देखिन्छ । मधुपर्कको सम्पादक भएपछि उनले प्रत्येकवर्ष कुनै एक विधामा विशेषाङ्क निकाल्ने कार्यको थालनी गरेका थिए, जसले आज निरन्तरता पाइरहेको छ । कपिल घिमिरे मधुपर्कमा आउनसाथ उनले सम्पादकीय लेखनशैलीमा पनि परिवर्तन गरेका छन् । समय-सन्दर्भ अन्तर्गत २०५० कात्तिक अङ्कमा हार्दिक शुभकामना भनेर प्रतिभाहरूका सम्मानमा लेखिएको छ । यस अङ्कमा मदन पुरस्कार, भारती खरेल स्मृति पुरस्कार, हरिहर शास्त्री साहित्य पुरस्कार लोकपि्रय पुरस्कार, वेदनिधि पुरस्कार र व्यथित काव्य पुरस्कार घोषणाको सन्दर्भलाई लामो व्याख्या गरिएको छ । यस्तै २०५१ भदौ अङ्कमा समय सन्दर्भलाई लिएर निबन्ध विधा खडेरी परेको हो त भनी प्रश्न उठान गरिएको छ । त्यसै अनुरूप भदौ अङ्क निबन्ध अङ्कको रूपमा प्रकाशित भएको छ । २०५१ चैत अङ्कमा अन्तक्रिर्याको शुभारम्भ गर्दै समय सन्दर्भमा टिपोट गरिएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मोफसलका साहित्यिक संस्था र साहित्यकर्मीका बीच गरेको अन्तक्रिर्याको नीति स्वागतयोग्य कदम हो भनिएको छ । मास महत्त्व, मङ्गलमय कामनालगायत समय सन्दर्भअन्तर्गत श्री ५ हरूको प्रसङ्गलाई धेरै ठाउँमा महत्त्वका साथ उठाइएको छ भने २०५३ चैत अङ्कमा सकारात्मकतातर्फ उन्मुख भनेर सम्पादकीय लेखिएको छ । प्रेस काउन्सिल नेपालले २०५३ फागुनमा हेटौंडामा आयोजना गरेको साहित्यिक पत्रकारिताबारे गरेको अन्तक्रिर्या र तनहूँको दमौलीमा सम्पन्न राष्ट्रिय साहित्य सम्मेलनका बारेमा महत्त्वका साथ चर्चा गरिएको छ । यस अवधिमा पत्र-पत्रांशलाई पनि स्थान दिइएको छ भने २०५४ असोजमा श्रीओम श्रेष्ठ सह-सम्पादकमा रूपान्तरण भएका हुन् ।
मधुपर्क साहित्यिकको कार्यकारी सम्पादक रामचन्द्र गौतम २०५४ फागुनदेखि २०५५ भदौसम्म मधुपर्कमा रहेका थिए । त्यतिबेला मधुपर्कमा काम गर्ने अन्य समूहमा कपिलदेव घिमिरे सम्पादक, श्रीओम श्रेष्ठ सह-सम्पादक र वसन्तप्रकाश उपाध्याय उपसम्पादकमा रहे पनि २०५५ वैशाखमा वसन्तप्रकाश मधुपर्कबाट हटेको देखिन्छ । यस अवधिमा पनि पाठक प्रतिक्रियाको रूपमा पत्र-पत्रांश कायमै रहेको देखिन्छ भने २०५४ फागुन अङ्कमा समय सन्दर्भअन्तर्गत मननीय पक्ष उजागरमा सम्पादकीय लेखिएको छ । मननीय पक्ष उजागरमा के कुरा भन्न खोजिएको छ भने प्रजातन्त्र पुनः स्थापना पश्चात साहित्य अनुत्पादन क्षेत्र हो भन्ने सङ्कुचित मानसिकतामा ह्रास आइरहेको तथ्यलाई उल्लेख गरिएको छ, जुन यस क्षेत्रका लागि खुसीको कुरा हो । नयाँवर्ष नयाँ दृष्टिकोणको अपेक्षा अन्तर्गत २०५५ वैशाख अङ्क समालोचना अङ्ककै परिफेरिमा सम्पादकीय लेखिएको छ । मधुपर्कमा २०५५ असोजमा कपिलदेव घिमिरेको पुनः प्रवेश भएको छ । उनी मधुपर्कमा सम्पादकको रूपमा २०५८ असोजसम्म कायम रहेका थिए । तत्काल उनका सहयोगीमा सह-सम्पादक श्रीओम श्रेष्ठ रहेको देखिन्छ भने २०५५ माघ अङ्कदेखि सहायक सम्पादकमा तुलसीहरि कोइरालाको प्रवेश हुन्छ । वैशाख अङ्कमा समय सन्दर्भ अन्तर्गत चुनौतीपूर्ण वर्ष २०५६ भनेर सम्पादकीय लेखिएको छ । चैत अङ्क २०५६ पनि फागुन मासको औचित्य अन्तर्गत हाम्रो परम्परामा फागुन महिनाले विशेष महत्त्व राख्छ भन्दै यसको महिमा प्रस्तुत गरिएको छ । गोरखापत्र शताब्दी अङ्कलाई लिएर २०५७ जेठ अङ्कमा विशेष महत्त्वको चाड भनेर कविशिरोमणि लेखनाथ पौड्यालको कविता उधृत गरिएको छ । त्यसै गरी २०५७ चैत अङ्कमा प्रजातान्त्रिक संस्कारको अपेक्षा राख्दै समय सन्दर्भ लेखिएको छ । विशेष गरी यस अङ्कमा राष्ट्रको पहिचान र निधि भनेको भाषा, साहित्य, संस्कृति हुन् र यिनलाई सम्मान गर्नु पर्छ भन्ने मनसाय रहेको देखिन्छ ।
मधुपर्कमा पाँचौ सम्पादकका रूपमा रहेका रामचन्द्र न्यौपानेजस्तै छोटो समयका लागि २०५८ कात्तिकमा पत्रकार श्रीआचार्य मधुपर्कको प्रधानसम्पादकमा रहेका छन् । उनी गोरखापत्रको प्रधानसम्पादक भएकै कारण मधुपर्कको पनि प्रधानसम्पादक रहेका हुन् । श्री आचार्यको कार्यकाल २०५८ कात्तिक मङ्सिरसम्म मात्र रहेको छ । उनी प्रधानसम्पादक रहे पनि मधुपर्कलाई जीवन्त राख्नमा सम्पादक कपिलदेव घिमिरे, सह-सम्पादक श्रीओम श्रेष्ठ र सहायक सम्पादक तुलसीहरि कोइराला क्रियाशील रहेको देखिन्छ । पत्रकार किशोर नेपाल २०५८ पुसदेखि २०५९ कात्तिकसम्म मधुपर्कको प्रधानसम्पादक रहेका थिए । उनी गोरखापत्र दैनिकका प्रधानसम्पादक हुन् । उनको कार्यकाल भरि नै श्रीआचार्यको सम्पादक समूह क्रियाशील रहेको देखिन्छ । कुनै पनि राष्ट्र कति सुसम्पन्न र सुसभ्य छ भन्ने कुराको नापो राष्ट्रको मौलिक वाङ्मय तथा पहिचानले गराउँछ भन्दै २०५८ पुस अङ्कमा सम्पादकीय लेखिएको छ । महाकवि देवकोटाको ९३ औँ जन्म जयन्तीका सन्दर्भमा घेरा र वादभन्दा माथि उठेर साहित्यसिर्जना गरौँ भन्ने गम्भीर बहस गरिएको छ । किशोर नेपालको कार्यकालमा मधुपर्कका कुनै कुनै अङ्कमा समय सन्दर्भको ठाउँमा सम्पादकीय लेखिएको छ भने श्री ५ महाराजाधिराज सरकारको शुभ-जन्मोत्सवलाई लिएर २०५९ असार अङ्कमा नेपालीहरूको गर्वको दिन भनेर समय सन्दर्भ लेखिएको छ । लोककथा अङ्कलाई लिएर उद्देश्यको निरन्तरता पक्षमा २०५९ भदौ अङ्कमा प्रजातन्त्रपछिको साहित्यिक र सांस्कृतिक संस्थाको बारेमा सम्पादकीय लेखिएको छ । पत्रकार उद्धव उपाध्याय २०५९ मङ्सिरदेखि मधुपर्कको का.मु. प्रधानसम्पादकमा देखा पर्छन् । उपाध्याय गोरखापत्रका का.मु. प्रधानसम्पादक हुन् । उनको समयावधि २०६० असोजसम्म कायम रहेको छ । उनका सहयोगीका रूपमा किशोर नेपालको समूहमा रहेका, श्रीओम र तुलसीहरि नै सम्पादक मण्डलमा रहेको देखिन्छ । उनको समयमा पनि समय सन्दर्भ र सम्पादकीयमा अघिका वर्षहरूमा उल्लेख भएका विषयवस्तुलाई नै निरन्तरता दिने कार्य भएको छ । पुसको महिमा, शान्तिप्रतिको सन्देश र समयको मागजस्ता विषयवस्तुलाई आत्मकेन्दि्रत गरेर सम्पादकीय लेखिएको छ ।
गोरखापत्र संस्थानमा उपसम्पादक पदबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका वरिष्ठ पत्रकार युवराज गौतम मधुपर्कका प्रधानसम्पादक हुन् । उनले २०४४ देखि २०५० सालसम्म गोरखापत्रमा उपसम्पादक भएर कार्य गरेका थिए । गोरखापत्रमा पत्रकारिता सेवा छोडिसकेपछि सञ्चालक समितिको सदस्य रहेकै अवस्थामा युवराज गौतमलाई श्री ५ को सरकारले २०६० असोजमा गोरखापत्र संस्थानको प्रधानसम्पादकमा नियुक्त गरेको हो । त्यतिबेला गोरखापत्रको प्रधानसम्पादक अरू मासिक प्रकाशनको पनि प्रधानसम्पादक रहने परिपाटी अनुरूप उनी मधुपर्कको प्रधानसम्पादक रहेका थिए । मधुपर्कलगायत मुना र युवामञ्च मासिकको प्रधानसम्पादक हुनेमध्ये युवराज गौतम पनि एक हुन् । मधुपर्कमा पत्रकार गौतमको कार्यकाल २०६० माघसम्म रहेको देखिन्छ । उनी मधुपर्कको प्रधानसम्पादक भए पनि सम्पादकीय लेख्ने काम सम्पादक कपिलदेव घिमिरेले गरेका थिए । त्यस अवधिमा उनको सम्पादक समूहमा श्रीओम श्रेष्ठ ‘रोदन’ सह-सम्पादक र तुलसीहरि कोइराला उपसम्पादक रहेका थिए । युवराज गौतम प्रधानसम्पादक रहे पनि मधुपर्कको सम्पादकीय लेख्ने स्वतन्त्र जिम्मा सम्पादक कपिल घिमिरेलाई दिएका थिए । तेस्रो पटक २०६० फागुनमा कपिलदेव घिमिरेको मधुपर्कमा प्रवेश भएको छ । उनको कार्यकाल २०६२ वैशाखसम्म रहेको छ । उनका सहयोगीहरूमा श्रीओम श्रेष्ठ सह-सम्पादक र तुलसीहरि कोइराला सहायक सम्पादक रहेका थिए । विशेषगरी शान्ति र प्रजातन्त्र तथा २०६१ चैत अङ्कमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट माघ १९ गते राष्ट्रका नाममा भएको शाही घोषणालाई लिएर समय सन्दर्भ लेखिएको छ । शान्ति र सद्भावनामा नै सिर्जना फक्रन्छ भनिएको छ ।
मधुपर्क मासिकको सम्पादकमा गोरखापत्र संस्थानभन्दा बाहिरबाट आउनेमा उदय निरौला पहिलो सम्पादक हुन् । एकातिर देशमा लोकतन्त्रका लागि २०६२-०६३ मा जनआन्दोलन चलिरहेको थियो भने अर्कोतिर देशको शासनसत्ता श्री ५ ज्ञानेन्द्रको कब्जामा थियो । देशमा चलेको शाही शासनलाई समर्थन गर्दै उदय निरौलालाई श्री ५ को सरकारले २०६१ चैतमा मधुपर्कको सम्पादकमा नियुक्त गरेको हो । उनले २०६२ वैशाखबाट मात्र कार्यभार सम्हालेका थिए । उनको कार्यकालमा मधुपर्कको सम्पादकीय लेखनको स्वरूप नै परिवर्तन भएको छ । मधुपर्कलाई क्रियाशील बनाउनमा उनका सहायकमा नायब कार्यकारी सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र उपसम्पादक तुलसीहरि कोइराला रहेका थिए । पछि दुबै जनाले मधुपर्कलाई छोडेपछि नायब कार्यकारी सम्पादकमा लक्ष्मी गुरागाईंलाई आफ्नो मातहतमा ल्याएका थिए ।
श्री ५ को सरकारको नियन्त्रणमा रहने मधुपर्कको संरचनामा उदय निरौलाको कार्यकालमा खासै परिवर्तन नभए पनि शाही सरकारको समर्थन र जन आन्दोलनको विरोधमा जाने उनको सहज दृष्टिकोण देखिँदैन । उनको सम्पादकीयमा १२ अङ्क प्रकाशित भएका छन् । देशमा लोकतन्त्रको आगमनसँगै शाही सरकारको विघटन भएपछि उदय निरौलाले २०६३ वैशाखमा सम्पादकबाट अवकाश लिएका हुन् ।
गोरखापत्र संस्थानभन्दा बाहिरबाट आएका उदय निरौलापछि २०६३ जेठमा लक्ष्मी गुरागाईं मधुपर्कको सम्पादकमा रूपान्तरण भएका हुन् । उनको समयावधि २०६३ कात्तिकसम्म रहेको छ । छ वटा अङ्कको मात्र सम्पादक रहेका गुरागाईंका सहयोगी भने रहेको देखिँदैन । छोटोछोटो समयका लागि सम्पादकहरू अदलबदल हुने क्रममा २०६३ मङ्सिर अङ्कदेखि उद्धव उपाध्याय दोस्रो पटक मधुपर्कमा सम्पादक बन्न पुग्छन् । उनी २०६४ असारसम्म सम्पादक भएर रहेको देखिन्छ । उनका सहयोगी सम्पादकहरूमा नायब कार्यकारी सम्पादक श्रीओम श्रेष्ठ र उपसम्पादक तुलसीहरि कोइराला रहेका छन् । सम्पादक उपाध्यायको आठ महिने कार्यकालमा मधुपर्कको सम्पादकीय लेखनमा खासै परिवर्तन भएको छैन । २०६४ जेठ अङ्कलाई लिएर हास्यव्यङ्ग्य अङ्कका बारेमा दरो सम्पादकीय लेखिएको छ ।
नेपाली पत्रकारिता जगत्मा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको नेपालकै सबैभन्दा पुरानो समाचारपत्र गोरखापत्र संस्थानको सेवामा प्रवेश गरेका साहित्यिक पत्रकार श्रीओम श्रेष्ठको मधुपर्कमा लामो लगानी छ । श्रीओमले २०६४ साउनदेखि २०६४ मङ्सिरसम्म नायब कार्यकारी सम्पादक कै रूपमा मधुपर्क प्रकाशन गर्नु परेको थियो । उनका सहयोगी तुलसीहरि कोइरालालाई उपसम्पादकको जिम्मा दिइएको छ । उनको पाँच महिने कार्यकालमा पनि सम्पादकीय लेखनमा त्यति फेरबदल भएको पाइँदैन । मधुपर्कलाई निरन्तरता दिनु पनि एउटा विशेषता जस्तै हो । सुधासागरबाट प्रारम्भ भएको साहित्यिक पत्रकारिता अहिले पनि समय अनुरूप अगाडि बढ्न सकेको छैन भन्दै दरो सम्पादकीय लेखिएको छ । यसका समस्याहरू सुरुदेखि हालसम्म पनि उस्तै छन् भनेर चिन्ता प्रकटसमेत गरिएको छ ।
मधुपर्कलाई निरन्तरता दिने क्रम लक्ष्मी गुरागाईं दोस्रो पटक २०६४ पुसमा यसको सम्पादक रहेको देखिन्छ । उनले २०६५ भदौसम्म मधुपर्कको सम्पादक भई कार्य सम्पादन गरेका थिए । उनको नौमहिने कार्यकालमा सम्पादकीय सन्दर्भलाई लिएर केही तथ्यहरू पस्कने प्रयास गरिएको छ । सह-सम्पादक कुलचन्द्र वाग्ले र उपसम्पादक तुलसीहरि कोइराला सहयोगीमा रहेका थिए भने २०६५ असारमा नायब कार्यकारी सम्पादक श्रीओम श्रेष्ठको प्रवेश भएको छ । सम्पादकीय, समय सन्दर्भ र अरू विषयहरू यथावत रहेको छ ।
गोरखापत्र संस्थानमा २०३७ साल जेठमा उपसम्पादक पदबाट पत्रकारिता प्रारम्भ गरेका पत्रकार एवम् साहित्यकार विजय चालिसे मधुपर्कका सम्पादक हुन् । यस अघि उनले गोरखापत्रको प्रधानसम्पादक र हाल कार्यकारी अध्यक्ष भएर कार्य गरिरहेका छन् । विजय चालिसे २०६५ असोजदेखि २०६६ साउनसम्म मधुपर्कमा रहेका थिए । तत्काल मधुपर्क सञ्चालन गर्न उनको समूहमा सहयोगी सम्पादक श्रीओम श्रेष्ठ, कुलचन्द्र वाग्ले र तुलसीहरि कोइरालालाई क्रमशः नायब कार्यकारी सम्पादक, सह-सम्पादक र उपसम्पादकको जिम्मेवारी दिइएको छ । उनको एघार महिने कार्यकालमा केही नयाँ तथ्यहरू सम्पादकीयमा उठान गरिएको छ । ऐतिहासिक राजनीतिक परिवर्तनपछिको वातावरणलाई लिएर २०६५ असोजमा वैचारिक छलफलको अपेक्षा भन्दै सम्पादकीय लेखिएको छ । त्यसै गरी २०६५ कात्तिक र चैतमा देवकोटा शतवाषिर्की शासकीय प्रवृत्ति र हामी तथा विवादको घेराभित्र प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा सम्पादकीय लेखिएको छ ।
मधुपर्क मासिक ५०० अङ्कसम्म आइपुग्दा यसको २४ औं सम्पादकमा श्रीओम श्रेष्ठ ‘रोदन’ रहेका छन् । साहित्यिक पत्रकार रोदनले २०६६ भदौदेखि निमित्त सम्पादकका रूपमा मधुपर्कलाई जीवन्तता प्रदान गर्दै आएका छन् । मधुपर्कलाई कसरी स्तरीय र पठनीय बनाउन सकिन्छ भन्ने बारेमा उनको सधैँ सकारात्मक दृष्टिकोण रहँदै आएको छ । उनका सहयोगीमा उपसम्पादक तुलसीहरि कोइराला मात्रै रहेका छन् । उनको समयमा इतिहासको सम्मान गर्दै सम्पादकीय लेखिएको छ भने २०६६ कात्तिकमा देवकोटा शतवाषिर्की र उपेक्षामा दरो सम्पादकीय लेखिएको छ । त्यस अवधिमा पत्रपत्रांशलाई यथावत राखिएको छ भने २०६६ पुसमा श्रद्धा सम्मानअन्तर्गत नेपाली साहित्यमा आख्यान पुरुषका रूपमा स्थापित रमेश विकलको योगदानको बारेमा सम्पादकीय लेखिएको छ । यसैगरी २०६६ चैतमा नेपाली साहित्यमा नारी हस्ताक्षरमा सम्पादकीय लेखिएको छ । उनको पछिल्लो सम्पादकीय ४९९ पूर्णाङ्क २०६७ पुस अङ्कमा हाम्रो विश्वास शीर्षकमा सम्पादकीय लेखिएको छ । साहित्यिक पत्रकारिताको यति लामो समयावधिमा पहिलोपटक ५०० पूर्णाङ्क प्रकाशन गर्ने सौभाग्य मधुपर्कले प्राप्त गरेको मनसाय व्यक्त गरिएको छ । गोरखापत्र संस्थानको सह-प्रकाशनको रूपमा विगत ४३ वर्षदेखि निरन्तर प्रकाशन हँुदै आएको मधुपर्कको ५०० पूर्णाङ्क प्रकाशन भएपछि साहित्यिक पत्रकारिताको क्षेत्रमा राष्ट्रको अर्को इतिहास बन्ने छ र यो सबैका लागि गौरवको विषय बन्नेमा हाम्रो विश्वास छ भन्दै यस अङ्कमा सम्पादकीय लेखिएको छ । यसरी हेर्दा २०२५ जेठदेखि २०६७ पुससम्म ४३ वर्षको समयावधिमा पटक पटकगरी दुई दर्जन सम्पादकहरूले मधुपर्कलाई जीवन्त राख्ने कार्य गरेको देखिन्छ । इतिहासको सुन्दरकालखण्ड बनेको यस अवसरमा मधुपर्कका सम्पादकहरूको समयावधिलाई यो रूपमा अवलोकन गर्न सकिन्छ ः
निष्कर्ष
अन्त्यमा, नेपाली भाषा साहित्यको उत्थान र श्रीवृद्धिका लागि मधुपर्कले खेलेको भूमिका उल्लेखनीय रहेको छ । नेपाली साहित्य लगायत नेपाली पत्रकारिताको क्षेत्रमा गोरखापत्र संस्थान र यसको एक अभिन्न अङ्ग बनेर रहेको मधुपर्क साहित्यिक दरो इतिहास भएर उभिएको छ । मधुपर्कको माध्यमबाट नेपाली साहित्यमा आफ्ना अनेकन सिर्जनाहरूद्वारा इतिहासनिर्माण गरिसकेका यावत सर्जकहरू वीचको न्यानो र भावनात्मक सम्वन्धलाई मधुपर्कले अझ बढी कसिलो र फराकिलो बनाएको छ । मधुपर्क आजपनि नेपाली भाषा साहित्यको विकासमा नवीन एवम् उत्कृष्ट साहित्यिक रचनाहरूका साथ प्रकाशित भैरहेको छ । मधुपर्कमा लेखिएका सम्पादकीय एवम् समय सन्दर्भका पृष्ठभूमिमा एक वर्षभित्रपर्ने नयाँवर्ष, भानु, मोती, लेखनाथ, देवकोटा, सम र असीम लगायत अन्य वाङ्मय सेवीहरूका जन्म जयन्तीका साथै सहिद दिवस, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस, फागुपूणिर्मा, महाशिवरात्री, वसन्तपंचमी, माघेसक्रान्ति तथा श्री ५ हरूको शुभ-जन्मोत्सव एवम् जन्मजयन्ती जस्ता विषयहरू मधुपर्कमा सम्पादकीय लेखन बन्ने गरेका छन् र रहेकवर्ष हुने श्री ५ को शाही सम्बोधन र शाही घोषणालाई पनि मधुपर्कको सम्पादकीयले उच्चतम् महत्व दिदै आएको देखिन्छ । साहित्यिक घटना, सभासम्मेलन र गोष्ठीहरूका बारेमा पनि मधुपर्कले सम्पादकीयमा समेटेको छ । यसका अतिरिक्त श्री ५ हरूको राजकीय भ्रमणद्वारा गरिने सम्बोधनहरूलाई पनि सम्पादकीय मार्फत प्रस्तुत गरिएको छ । त्यसकारण ४३ वर्षमा मधुपर्कको सम्पादकीय परम्परालाई हेर्दा देश, काल परिस्थिति, नियम, कानून र संवैधानिक दायराभित्र अनुशासनको मर्यादामा रहेर सम्पादकीयहरू लेखिएका छन् । कुनै पनि शासनप्रणाली आफैमा साधन मात्र हो साध्य होइन भन्ने सहज तथ्यबोधलाई पनि मधुपर्कको सम्पादकीयले पूर्णत आत्मसात गरेको छ। सरकार परिवर्तनसंगै हुने सम्पादकहरूको फेरवदलले पनि मधुपर्कलाई बेलाबखत प्रभावित पारेको देखिन्छ । त्यसैले मधुपर्कमा अहिले सम्म लेखिएका सम्पादकीयहरू मुलुक, राष्ट्र, राष्ट्रियता र समाजहितको पक्षमा नै अभिप्रेरित रहेको तथ्यसंग विमति भने रहदैन ।
