Skip to content

अभिषेक स-सम्मान ! ५०० पूर्णाङ्की मधुपर्कलाई यो !!!

  • by


पुर्खाले झोपडीलाई जीवन आश्रम मान्न नसकेको भए ? मन खुल्दुलिन्छ । मन खुल्दुलिनु ! के ? सोधेँ, आफैँसित । भन्न थाल्छ मन । मन खुल्दुलिनु त चासो उर्लिनु पो रैछ । एक अर्थमा । अनेक कोण र आयाम बोक्छ यो खुल्दुलिनुले । सरोकारले तानातान गर्दै गर्‍यो । त्यो सरोकार सान्दर्भिक थियो । परिवेशमूलक सरोकार थियो साहित्यिक पत्रकारिता । परिवेश अनि मधुपर्कको ५०० अङ्कको । ५०० अङ्क लरतरे लेखा होइन । निरन्तर सेवारती यसको उचाइ बन्छ । सेवा प्रतिबद्ध सङ्कल्पको अभिमुखीकरण भन्छु, भन्न मनलाग्छ । निरन्तर सेवा चल्छ, जहाँ उचाइका उच्चातन चुलिन्छ ।

यसलाई विपरीत कोणबाट आँकलन गरौँ । मानिलिऔँ कि यो एक रुख विरुवा हो । रुख विरुवाको अर्को रूप । हुर्किएको आकार । मानौँ फेरि कि विरुवा पालुवा हो । पालुवाको विकसित अवस्था । भन्नुस् कि पालुवाको पूर्वरूप अवस्था कोपिला । अनि कोपिलाको पूर्व अवस्था मुना । मुनाको चिचिला । चिचिलाको बीउ-बिजन । यस्तै उस्तै । बीउजस्तै बिजाउन थाल्छ टुसो टुसिन्छ । टुसिन्दो टुसो मात्र आकाश ताक्दैन त्यसले । ठीक विपरीत दिशाबोध पनि गर्छ त्यसले । टुसोसित जरो पनि पलाउन थालेकै हुन्छ । जहाँ टुसो टुसाउँछ, त्यहाँ जरो पनि जराउँछ । भित्रभित्रै माटोमा जराजुरी जुरिन्छ । आकाश र पाताल एकसाथ उन्मुखीकरण हुन थाल्छ । माटोमाथि डाँठ र हाँगोबिँगो । माटोमुनि जराजुरी । फैलाई दुबैतिर माथि आकाशमुखी, भित्र माटोमुनि । माटोमुखी ।

लाग्न थाल्छ उत्ति नै खेर । कि मधुपर्क डाँठ र हाँगोबिँगो बनेछ । समाजमा हाँगोबिँगो हामीबीच । धरतीभित्र माटोमा बलियो पकड भएका जराजुरीहरू । जराजुरी बिनाको रुख झाङ्गिन्न । नझाङ्गिएको रुखको जराजुरी जुरिन्न । यी दुईका दुई उच्चाई र गहिराई एक साथ बढ्छ । यो प्रकृतिको प्राकृतिक नियम रहेको छ । प्रकृतिले प्राकृतिक रूप लिइरहेसम्म झाङ्गिनु र फैलनु एकतमास चलिरहन्छ । प्रकृति एकतमासपनका शाश्वत सत्य । हामी सबै यिनै शाश्वत सत्यका आ-आफ्नै पारा । पारा यो एक ठाउँ विशेषको होइन । जीव विशेषको होइन । विशेष सबै संसारव्यापी मजस्ता महरूको । हामीझैँ हाम्रा नरवंशजहरूको पनि । सबै सांसारीहरूकै ।

वि.सं. २०२५ सालमा टुसाएको बीउविजन यो मधुपर्क । नेपाली वाङ्मय र साहित्यको अर्क । यो अर्क साहित्यिक खर्क पनि । हामी यसमा कतिपय नामी बनेछौँ । छातीमा हात हालेर भन्न मन पराउँछु । मधुपर्क साहित्यिक सम्पर्क सङ्गम जुराएको यो कथ्य । नैपथ्यको गुनगुनाई होइन यो । यो त भित्री अनुभूतिको विज्ञप्ति । विज्ञप्ति विज्ञ बनेर बोकेको विश्वासिलो सम्पत्ति । भन्दै उस्तै-उस्तै सम्पत्तिजस्तै प्रियसी दम्पति । लाग्छ कठै च्यामती हुँ- सेरोफेरो घुम्छु, घुमिरहन्छु । रन्थनिन्न बरू मजा चाख्छु – चाखिरहन्छु । फनफन फनफनी एक आवृत्त र पुनरावृत्तका उपासना । एक मगनमस्त्तीका चाहना । चाहना एउटा भावना । भावना दृढ सङ्कल्पका शुभकामना अभ्यन्तरका जपना ।

वि.सं. २०२५ साल मधुपर्कको जन्म साल । मेरो बैसालु लालीगुँरास यौवनले छाएको मस्ती जीवनकाल । लेक, तराई, बेँसी र फाँटहरूका अनुभूति साँच्ने बेलाको मस्ती । स्वेतपरीहरूले पुरुषले बेलैमा बन्ध्याकरण राम्रो उपदेश पाएको त्यो क्षण । स्वेतपरीहरू नर्सटोली थिइन् । काठमाडौँ सहरमा होइन भोजपुरको एक गाउँठाउँमा । गाउँठाउँको सुन्दरता सहरको भन्दा बेग्लै अनुभूतिदायक शुमङ्गल र सौहार्द रहन्छ । अनुभूति जब बोल्न थाल्छ स्पष्ट बोल्छ, सुललित बोल्छ, बक्छ । मधुपर्कसित बोलिरहेछु छातीमा हात हालेर । पहाड र लेकमा मधुपर्क पढ्छु जब शीतलताले सम्हालिएको हुन्छु । तराई, बेँसीहरूमा न्यानोपन दिन्छ, दिइरहेको हुन्छ । त्यसबेला मधुपर्क मौसमी पर्यावरणको अर्कझैँ लाग्न थाल्छ । जहाँजहाँ पुगेँ-जुम्ला, डोटी, अछाम, गोरखा, धादिङ, दोलखा, उदयपुर, डोल्पा, मुस्ताङ, सोलुखुम्बु, सङ्खुवासभा कर्मचारीका हातमा मधुपर्क भेट्टाउँछु । मधुपर्क त कर्मचारीहरूका लागि अनौपचारिक उपचार बनेझैँ लाग्न थाल्यो ।

अनुभूति यो मात्र दुर्गम पहाड, पर्वत, लेकको रहेनथ्यो । रहृयो उपत्यका, दून र बेँसी बस्तीहरूको पनि । तराई फाँटमा नि यस्तै अनुभूतिले सुमसुम्याइएको शरीरसितको मन र मनसितको शरीर बक्फुटाउन रुचाउँछ । मधुपर्क मधुपर्कै रहेर म नि मधु सम्पर्क गर्छु । डोल्पाली फोक्सुण्डो बस्तीमा फाफरको बाक्लो रोटा/रोटा महमा चोप्दै कुम्ल्याएको अहिलेझैँ रसाउन थालिरहेछ जिब्रो । मधुपर्क पल्याउँदै मह रोटा खाएको क्षणले मधुपर्क एकान्त लेकाली जीवनसाथ बनेको सम्झनाका चेत ओकल्दैछु । बितेका दिनहरू जसलाई कृष्णचन्द्रसिंह प्रधान भन्ने गर्थे ‘नर्फकने ती दिनहरू’ रसिला लाग्दारैछन् । ती बैँसका तन्नेरी जोश जाँगरका अनुभूतिहरूका संस्मरण मात्रले नि तन्दुरुस्ती भोग्न थाल्छु । मधुपर्क साथ हिउँदाका ती क्षणहरू कठिनतासितका मीठास बनेथ्यो । ती कठिन मीठासका ओक्ल्याइहरू ओकल्दा ओकल्दै आफ्नै निष्ठा गोठको गाईको उघ्राइ सम्झन पुग्छु । मानौँ कि यो तेजेब्बर नामक जन्तुको तन्तु उस्तैउस्तै पो रैछ । होस्, नहोस्, के भो र ? मलाई भने यी अनुरागका रागहरू फाल्गुणे होलीलय, चैते घाटु, गृष्मको उराठिलो उखरमाउले राग, वषर्ाको असारे, शरदको मालश्रीझैँ गुनगुनाउँदै मधुपर्कको कान भरुँभरुँ लाग्छ यतिञ्जेल ।

कागबेनी, मुक्तिनाथका मुस्ताङबाट फर्कंदै नारायणबहादुर सिंह भेट हुन्छ । मधुपर्कलाई सम्झनु हुन्न यहाँ । उहाँले झिल्काउनु भयो । इतिवृत्तिहरू पुनरावृत्त गर्न पुग्छ । एउटा लेख उहाँको माग । ‘धार्मिक सामञ्जस्यको प्रतीक ः मुक्तिक्षेत्र’ मधुपर्कलाई सस्नेह उपहार बन्यो । मार्फत नारायणबहादुर सिंह । तत्कालीन सम्पादक मधुपर्क । दीर्घकाल पछिको प्रवेश मेरो मधुपर्क सम्पर्क । पाठक थिएँ । लेखक थिइनँ । मधुपर्कको त्यतिञ्जेलसम्मै लगातार । साथीहरूका इमान्दारीपूर्ण बोलमा भेट्टाएथेँ तौल । बोलको तौलमा हौसिएको हौसिएकै रहेँ । झन्नै सिङ्गो निबन्ध ‘मधुपर्क’ सङ्ग्रह बनिसक्दा मेरो श्री ॐ श्रेष्ठको ‘दाइ एउटा उद्गारमय अभिव्यक्ति !’ यस रचनाका स्रोत बन्छ बन्यो । बचन टार्नु आफैँलाई टार्नु हो । पक्कै हो भन्छु । बचन टारेर आफैँलाई टारिनु अभिशाप बन्छ । गर्नुपर्ने नगरेर अभिशप्त बन्नु किन ? ‘अभिशाप बोकेर अभिशप्त नबन्नु ।’ मेरी आमा शारदादेवी मल्ल ग्वंगःले उहिल्यै २०१० साल पहिले शुभेच्छा आशिष गर्नु भएथ्यो । सम्झनाको पोको यो मधुपर्कलाई ! आयुर्वेदको जडीबुटीका काष्टादी अनि रसादी औषधि पोको जस्तै !

जतिजति निबन्धहरू निर्बन्ध र निर्वाढ प्रकाशित भए मधुपर्कमा प्रवद्ध र सहृदय पाठक संसार उदित हुन थाल्यो । मोफसलबाट पनि फसल लाग्न थाल्यो । निबन्ध पठन क्रियाको । निबन्ध पठनपछिको पाठकीय फसल असल, कुशल आयुर्वेदझैँ अनुभूत हुन पुग्यो । पाठकीय प्रतिक्रिया प्रोत्साहनको मलिलो पाटो जँचियो । प्रोत्साहनकारी मलिलो पाटो उर्वर भूमि भनुँ आधार बन्दोरहेछ । मात्र प्रोत्साहन होइन बरु नयाँ पहलका मल्हम पनि बन्दोरहेछ । पुग्यो नि बन्न उस्तै । पाठकीय कन्निकुथि सुरम्य विचारका उद्गार पनि । ती उद्गारलाई मनभरि सँगाल्न सक्दा जव सिर्जनाका द्वार खुल्न पुग्दोरैछ । सकारात्मक प्रवृत्तिको देन भन्छु यसलाई म । सकारात्मक रागले अनुराग बढ्दो अनुभूति तगडा लाग्छ मलाई आफ्नो । नराकात्मक धारणाले हीनताबोध हुन्छ । नकारात्मक नकारात्मैक रहन्छ । हीनताबोधले दुष्कामनाबोध गराउँछ । ईश्र्या जन्माउँछ । ईश्र्याले द्रोह । द्रोहले वैमश्य । वैमश्यले कलह । कलहले मुठभेड । जहाँजहाँ कलह र मुठभेड छ, त्यहाँत्यहाँ म छैन । हुन्न पनि । मधुपर्कमा मलाई पढेर पोषण गर्नु हुने सहृदय पाठकप्रति अनुगृहीत रहेको मधुपर्क ५०० पूर्णाङ्कमार्फत् व्यक्त्त्याउँदैछु ।

निबन्धमा जब निर्बन्ध हुन पुग्छु कत्तै अकासिन्छु । कतै त्यसैै जरालिएर धसिन्छु । कतै दाँया, बाँया फाँटिलिन पुग्छु । मेरो निबन्धसित पाठक अनि पाठक निबन्धसित मेरोमा सहयात्री बन्दा म सहज, सरल र सुगम बन्न पुग्छु वा पुगिरहेको हुन्छ । निबन्ध उठ्दै उडिरहँदा पाठकले उद्दिपन नपाउँदा म शब्द जञ्जाल बन्नपुग्छ । अनि रजनीश । ओशोको उक्तिको स्मरण गर्नपुग्छु । कविताको अर्थ शब्दमा भेटिन्न ओशोले भनेथे । कविता त शब्दशब्दका काँपबाट टप्किन्छ, टप्किरहेको हुन्छ । उनको उद्गार थियो । आख्यान पनि कविता बन्छ काव्यात्मक अनुष्ठानमा उद्दिपन लिँदा । निबन्धले जरो हाल्दा अदृश्य । अमूर्त बनिदिन्छ । हात खुट्टाहरू होस्टेहाइस्टे गर्न थाल्छ जब, फाँटिलो बन्न पुग्छ निबन्ध । पाठक र निबन्ध एकै दौतरी बन्दा दुबैको समान वर्चस्व बढ्न पुग्छ । जहाँ पाठक र निबन्ध आपसमा हातेमालो गर्न पुग्छ त्यहीँनिर आनन्दसार लेखनवृत्ति बनेको स्वाद लिँदैगर्छु । पाठकसित निबन्ध र निबन्धसित पाठक लहसिँदा निबन्धकार बेकार नबनेको हुन्छ । मधुपर्कको माध्यम यो शङ्खध्वनि हजुरहरूका हजुरमा लौ है ! लौ है !

निबन्ध एउटा आत्माभिव्यक्ति मात्र ठान्दिन । एउटा सशक्त प्रयोगधर्म नि ठान्छु । आत्मानुभूतिले आत्माभिव्यक्ति आफ्नै हैसियतमा छचल्किँन थाल्दा आत्मपरकता झझल्किन्छ निबन्धमा । मधुपर्कले मलाई मन मुटुले छामे, अँगालेको निबन्धले चाल पाए । सशक्त भएँ म । सशक्त भयो निबन्ध उस्तै । भनुँ निबन्ध मसित सशक्तिए । यस्तो भानले सुमसुम्यायो कि म एक निबन्ध हुँ । उस्तै अनि निबन्ध नि एक म हुँ । कत्रो अन्योन्यास्रय ? निबन्ध अलग्याऊँ म हुन्न । मै छैनजस्तो । म अलग्गियुँ निबन्ध छैन वा रहन्न । हो म निबन्ध रच्छु निबन्धले रच्यो मलाई यहीं हो अन्योन्यास्रय । भने, म छैन, निबन्ध छैन । निबन्ध छैन, म छैन । म हुँदैमा किन

हुन्न ? यामानको प्रश्न ! यत्रा निबन्ध छन् । यति निबन्धकार छन् । झुठमुढको खेती गर्दो छु म ? त्यो नि होइन अनि के नि ? म छैन वा छुन्न मेरोपनको निबन्ध लेखिन्न फेरि । मैसित जान्छ सती मेरापन अनि मेरो आत्मपरक अभिव्यक्ति । मेरो लेखनशैली । मेरो चिन्तन, बिलुप्त हुनुपुग्छ । मेरो जीवन दर्शन मेरा पर्सिसकेका हुन्छन् । एकपछि अर्को । अर्कोपछि अर्को । एकएक गरेर ।

स्वाहा ! स्वस्ति ! नमस्तुते !

एक व्यक्तित्व स्वच्छन्द । उन्मुक्त चिन्तन जीवन दर्शन । यही त निबन्धको निर्बन्धपन । मलाई पखेटा मनपर्छ । पखेटा जसले उडान भर्ने शक्ति दिएर सशक्त पार्छ । मलाई आफ्नै उडान भर्ने पखेटा मनपर्छ । पखेटा उडान भर्ने शक्ति साधन । पखेटा निर्बन्ध उन्मुक्ति । उन्मुक्ति यस्तो उन्मुक्ति कि आफ्नो उडानले अरूको स्वछन्दता अपहरण नहोउन् । बाँचोस्, जियोस् उन्मुक्ति अरूको । सुरक्षित रहुन् आकाशको नीलोपन । खुल्ला आकासको आकासपन । आकासपन जसले सबका स्वाभिमानका जिजिविषा जियाइरहुन् । मधुपर्कको उडान सोलुसल्लेरीसम्म उड्छन् र पो सल्लेरीका सुसेली यी कानभरि सुसेलिन आइपुग्छन् । हिमालयको उच्चाइमा निबन्धले विचरण गर्न पुग्छन् । निबन्ध हिमाल बनिदिन्छन् । म निबन्धसितै हिमाल बन्न पुग्छु । क्या आनन्दी क्षण बन्छ त्यो सोह्र हजार फिटमाथि हिमालमा बुर्लुकबुर्लुक बुर्लुलिएको घडी त्यो ! अब त्यो अतीत बनिसक्यो मधुपर्क सोलुसल्लेरी डाँडामाथि पढेको समय क्षण । क्षणैक्षणहरूका कोमल, कठोर जीवन क्षण !

हो, पक्कै हो ! निबन्ध पढेर मेरा निबन्धाभाष बोकेका सन्देश, शुभेच्छाहरू सुनिरहन्छ बेलामौकामा तर एकबाट होइन, बढी आत्माहरूबाट । निबन्ध पढी सक्नेबित्तिकैको अभिमतले ममा अभिशेष छर्ने स्वनामधन्य कमल दीक्षित, प्रहृलाद पोखरेलसम्म सम्मान पुर्‍याउन मधुपर्कसित अनुनय मेरो । मलाई कृतज्ञता विशाल लाग्छ, कृतघ्नता नीच । नीच रहने चाहना छैन । उच्च बन्ने इरादा होइन । विशाल मन राख्ने निरन्तर लक्ष यो । घोडचढीका सवार होइन आफ्नै पाइलामा महिमा भर्ने शान । जुम्ला, डोटी, डोल्पा, सोलु र ताप्लेजुङका स्वरलहरीका उच्छास् आनन्ददायक लाग्छ । बेँसी मीठास त त्यो स्वर मन्त्रमुग्ध लाग्यो, लागिरहेछ अझै उस्तै । ‘अवकासपछिको आकाश’ मेरो निबन्ध । मधुपर्कले सञ्चार गर्‍यो, छाप्यो । त्यो निबन्ध लेख्दै गर्दा डा. फत्तेबहादुर मल्लले २०५४ तिर एक साँझ जिज्ञाशा राख्नु भएथ्यो । के लेख्दै हुनुहुन्छ ? अवकासपछिको

आकास ! मैले भने ! वा ! क्या मीठो शीर्षक ! म नि भावविभोर भएँ । त्यै निबन्ध पढिसकेर बेलुकीपख दूरभाष टिरिङ टिरिङ । टिरिङमिरिङ ताप्लेजुङबाट रैछ । प्रमुख जिल्ला अधिकारी या स्थानीय विकास अधिकारी दुईमध्ये एक पक्कै हुन् । आनन्दकर अभिमत थियो, ‘मलाई पनि त्यस्तै हुने रहर छ, तपाईं जस्तै । अनि अवकासपछि ।’ हर्षविभोर बने । हर्षविभोर छु । रहनेछु हर्षविभोर । आगामी दिनहरूमा नि । म एकहर्ष बनूँ । म एक बिभोर बनूँ ।

कति शुभेच्छा कतिकति ! आगामी अल्याख अङ्कहरूलाई ! निर्वाध निरन्तरतालाई । निर्बन्ध प्रयासहरूलाई । उद्दिपनका उच्चातनलाई ! मेचीमहाकालीसम्मका फाँट फैलाइहरूलाई । हिमालदेखि तराईसम्मका नेपाली ब्यासभूमि पर्यन्तलाई । मधुपर्कका मधुप्राण अनि मधुपानका हिमायतीहरूलाई । भूमिका शिरोमणि प्रापक भट्टराईका गोविन्दराजलाई सम्मान दाता धनराज गिरीका चिन्तक चेतहरूलाई ! मजस्ता अनगिन्ती महरूलाई । हजुरजस्ता हजारौँ हजार हजुरहरूलाई शुभकामना मधुपर्कको ५०० पूर्णाङ्क प्रकाशन उपलक्ष्यमा । चुक्क चुम्बन ! कलेटीभरिका अोंठहरूका चुम्बन निबन्धहरूका मेरा । मेरा निबन्धहरूका । लाग्छ अब त निबन्धहरूका पनि ओँठ गुलाबिए छ मेरा । यद्यपि कलेटीँहरू नपाप्रिने स्थिति निबन्धका ओँठहरूमा उदाइसकेको नहोउन् । निबन्धले निर्बन्ध स्वच्छन्दता पायो, पाइरहेछ । परन्तु, निबन्धका निबन्धकारले निबन्धमै निर्धक्क जिउन धाउधाउ ढुक्ढुकी सम्बरण गर्ने नै छ । स्याँस्याँ स्वास भित्रबाहिर गर्नुपर्दोछ । यथास्थिति भूत बनेकै छ । गोरखापत्र संस्थानद्वारा प्रकाशित मधुपर्कले नेपाली वाङ्मय र साहित्यमा चाक्लो, बाक्लो तीनमाना पाक्लो योगदान पुर्‍याएको छ । जीवन जनक योगदान वृद्धि रहोस् । पोहर साल भक्तपुर रोटेरी क्लबको बैठकमा कमल दीक्षितले एउटा ठट्टा -२०१ परिकार उपहार गर्नु हुँदा नील ताम्राकारले खुसुक्क कान फुकेको झझल्को यतिञ्जेल सम्झन्छु । ‘तेजेश्वर बा, सबै स्रष्टाले कमलदीक्षित बनेर लेख्न पाए पो !!! यो उद्गार पनि ५०० पूर्णाङ्की मधुपर्कलाई अभिषेक स-सम्मान !!!

निकाछेँ, सूर्यविनायकमार्ग, सिपाडोल-१ भक्तपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *