नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहासमा सबैभन्दा पहिला पूर्णाङ्क ५०० निकाल्न सफल भएको छ ‘मधुपर्क’ । यसको निमित्त गोरखापत्र संस्थान, ‘मधुपर्क’ सञ्चालन परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु र ‘मधुपर्क’को दीर्घायुको कामना !
‘मधुपर्क’ २०२५ सालको सुरुमा गोरखापत्र संस्थानको चौथो उपहारको रूपमा निक्लन लागेको सुखद खबर पढ्न पाउँदा खुसी लागेको सम्झना अझै ताजा छ मनमा । साहित्यिक पत्रपत्रिका पढ्ने र सङ्कलन गर्ने आदत बसिसकेकोले आतुरका साथ ‘विविध विषययुक्त’ यो मासिक पत्रिका कस्तो होला भन्ने खुल्दुली पनि थियो ।
वि.सं.२०२५ साल जेठ ३० गते तत्कालीन कवि राजा महेन्द्रको जन्मोत्सवको अवसरमा यो प्रकाशनमा आयो । भोलिपल्ट जुद्धसडकस्थित पीपलको बोटमा रु.१।५० तीन मोहोर हालेर तीनतिर ‘मधुपर्क’ लेखेको मासिक पत्रिका लिएर डेरा फर्केको म सम्झन्छु । वरिष्ठ कलाकार उत्तम नेपालीको कलाले सिँगारिएको आवरणचित्र रातो, सेतो र हरियो रङमा थियो । गोपालप्रसाद भट्टराई (जो गोरखापत्रको समेत सम्पादक हुनुहुन्थ्यो) को सम्पादन र सहयोगीमा सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा तथा भैरव अर्याल हुनुहुन्थ्यो । तीन कथा, छ कविता, तीन समीक्षा, समालोचना, तीन निबन्ध, दुई दर्शन-व्यवस्था, दुई औषधि-विज्ञान तथा एक एकवटा कला, गीतिनाटक, संस्मरण र संस्कृतिसम्बन्धी लेखसहितको पहिलो अङ्कमा दुई दर्जन साहित्यकारहरूमा अहिले चार जनाबाहेक कोही जीवित हुनुहुन्न ।
‘मधुपर्क’को पहिलो अङ्कमा बालकृष्ण समको ‘मधुपर्क’ शीर्षकको एउटा कविता प्रकाशित छ, एकप्रकारको गद्य लेखजस्तो । मलाई भने यो शीर्षकले चालीस वर्षसम्म भ्रममा राख्यो । मैले ठानंँे, जसरी अर्जुनशम्शेरले ‘शारदा’ को न्वारन गरे, त्यसैगरी ‘मधुपर्क’को न्वारन बालकृष्ण समबाट भएछ । उहाँ त्यतिखेर गोरखापत्र संस्थानको सञ्चालक समितिमा पनि हुनुहुन्थ्यो । यसैको फलस्वरूप मैले ‘मधुपर्क’को संस्मरण अङ्क वि.सं.२०५२ मा यसको उल्लेख गरेको थिएँ । सम त धेरै प्रकारको नाटक गर्न पोख्त मान्छे ! यहाँ पनि त्यस्तै गर्नुभएको रहेछ ! चालीस वर्षपछि यसको रहस्य खुल्यो मित्र भैरवबहादुर थापाद्वारा ! उहाँका अनुसार गोपालप्रसाद भट्टराईको अनुरोधमा यो नाम जुराइदिने व्यक्ति हुनुहुँदोरहेछ तुलसीनाथ ढुङ्गेल । यस तथ्यलाई थापाजीले आफ्नो प्रकाशोन्मुख निबन्ध ‘समर्पण’ मा यसरी सम्झनुभएको पाए ।
”एक दिन गोरखापत्रका प्रधानसम्पादक गोपालप्रसाद भट्टराईको अनुरोधमा साहित्यिक पत्रिकाका लागि ‘मधुपर्क’ नाम जुराइदिने पनि तुलसीनाथ नै हुन् ।” (मेरो तुलसीनाथ, ‘समर्पण’, पृष्ठ ७) वास्तवमा यस तथ्यलाई ‘मधुपर्क’को पहिलो अङ्कमै उल्लेख गरिनुपथ्र्यो-सम्पादकबाट । तर यो गुनको कदर गरिएन त्यतिखेर । त्यसो त तुलसीनाथ पनि सहयोग गर्ने तर फलको आशा नगर्ने व्यक्ति नै हुनुहुन्थ्यो । ‘मधुपर्क’को दोस्रो अङ्कमा चन्द्रकान्त शर्माले ”मलाई ‘मधुपर्क’ भन्ने शब्दले नै आज नयाँ प्रेरणा दियो । यो शब्द चयन गर्ने व्यक्तिलाई म विशेषरूपले साधुवाद टक्र्याउन चाहन्छु” भन्ने पाठक प्रतिक्रिया व्यक्त गर्दा नै चयनकर्ताको नाम उल्लेख गरिदिएको भए न त बालकृष्ण सम, न त नारायणबहादुर सिंह आदिको भ्रम फैलने थियो ।
‘मधुपर्क’ झण्डै साढे चार वर्षजति नियमित रूपमा प्रत्येक महिनाको मसान्तको दिन निक्लेर सेवा गर्दैथियो । वि.सं.२०२९ साल पुस महिनामा ‘मधुपर्क’ पहिलोपल्ट ‘कला अङ्क’ लिएर विशेषरूपमा देखापर्यो । यसैवर्ष पहिलो अङ्क ९-१० संयुक्त अङ्क निक्लन बाध्य भयो । त्यो पनि सबभन्दा ख्याउटे अङ्कको रूपमा । वर्ष ५ को आखिरी अङ्क र वर्ष ६ को पहिलो अङ्क पहिलो कथा अङ्कको रूपमा निक्ल्यो तर यो अङ्क पनि संयुक्त भएर ! यसरी बीचबीचमा संयुक्ताङ्क निक्लेर ‘मधुपर्क’ १९८ पूर्णाङ्क पुग्दासम्म १३ अङ्क पछि पर्न गएको छ । वास्तवमा ‘मधुपर्क’को ५०० पूर्णाङ्क वर्ष ४२ अङ्क ८, २०६६ पुस महिनामा नै निक्लनु पथ्र्यो । यी सबै कुरा बिर्सेर ‘मधुपर्क’को आजसम्मको उपलब्धिको चर्चा गर्ने हो भने यसको योगदान नेपाली साहित्यमा अमूल्य छ । यसले निकालेका विशेष अङ्कहरू मात्र अध्ययन गर्यौं भने पनि यसको पुष्टि हुनसक्छ ।
‘मधुपर्क’ले थालनीमा कला अङ्क निकालेर विशेष अङ्क निकाल्ने परम्परा सुरु गरेको हो । आजसम्म झण्डै तीन दर्जनजति विशेषाङ्क, अङ्क तथा स्मृति अङ्कहरू निक्लेका छन् । केही उल्लेख्य अङ्कहरूमा- कथा अङ्क, लघुकथा अङ्क, यौनकथा अङ्क, लोककथा अङ्कसहित कविता-गीत गजल अङ्क, निबन्ध-प्रबन्ध अङ्क, नाटक, एकाङ्की अङ्क, समीक्षा-समालोचना अङ्क, लोकसाहित्य अङ्क, हास्यव्यङ्ग्य विशेषाङ्क, नारीलेखन अङ्क, गोरखापत्र शतवाषिर्की अङ्क आदि हुन् ।
अन्त्यमा भावी दिनहरूमा ‘मधुपर्क’ले अहिलेसम्म पनि कमीको रूपमा रहेको खोज-अनुसन्धानमूलक लेखरचनाका साथै जिल्लाजिल्लाको नेपाली साहित्यको इतिहास पनि लेखाएर प्रकाशित गर्नु आवश्यक छ । यी बाहेक लामो समयदेखि साहित्य सेवामा लागेर पनि ओझेल परेको अवस्थामा रहेका साहित्यकारहरूको खोजी गरी प्रकाशमा ल्याउनुपर्छ । यी सबै काममा ‘मधुपर्क’लाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
