Skip to content


जब शान्त स्वरहरू
आक्रामणमा पर्छन्
जब दूधे बालक पनि
घाँटी निमोठ्याइमा पर्छ
जब मौन बहुमतमाथि
हल्लाखोर अल्पमतले शासन चलाउँछ
जब नम्र शरीरहरूमाथि
हिंस्रकले डण्डा बर्साउँछ
जब व्यस्त सहर पनि
जङ्गलमा अनूदित हुन्छ
असुरक्षित वातावरणमा कसको पो भर हुन्छ र, अनि
डर नमानेर पो के गर्नु र ?
सत्यको विजय हुन्छ, डर नमानी लड्नु
भन्ने नै त्रासदी बीच गयो भने
छिमेकी यन्त्रणाको शिकार हुँदा अर्को छिमिकी
ढोका थुनेर सुत्छ भने
जब सभ्यता र सौहाद्रताको पर्दा
निर्माण गर्नेहरू नै च्यात्न उद्यत हुन्छन् भने
लाजै नमानी शासनमा बस्नेहरू
जनताप्रति गैरजिम्मेवार हुन्छन् भने
डर नमानेर पो के गर्नु र ?
युद्धको विभिषिकामा परेर घाइते भए
जस्तो छ देश
जहाँ नागरिकभन्दा धेर सहिद छन्
नमारिएर छाडिदिएका दुर्बलहरू एकाध छन्
अपहेलित-अर्धमृत
भावना र अन्तिम सासको दोसाँधमा छन्
सिमाना मिचिएकाहरू सुस्ता र कालापानीमा
कराउँदै पनि छन्
राष्ट्रियताको बाक्लो बर्को ओढेर देश
मस्त निद्रामा छ
सपनामा पनि तर्साउन आउँछन् गिजाभरि
रगतको टाटा बोकेका राक्षसहरू-र, हैरान पार्छन्
बलात्कृत मैना र फूलमतीयाहरू
यौन क्षुधा शान्त गर्न पल्केकाहरू साँझ भट्टीमा सल्लाह गर्दैछन्,
आमा भन्छिन्-रातैभरि अनिदो बसेर पनि हुन्छ र ?
म भन्छु-डर नमानेर पो के गर्नु र ?
स्वतन्त्रताको जग हल्लिँदा पनि
मेरो कलमको निबबाट मसीको थोपा झर्दैन
आतङ्कित छु वैरीबाट होइन आफ्नै मित्रहरूबाट
जसले सिकाए प्रजातन्त्रको पाठ-र देख्दैछु
तिनको शासन गर्ने आडम्बर कहिल्यै मर्दैन
नदी किनारको बकुल्लाले माछा खान्न भनेर जोगी भए जस्तो
मालिकहरू बसेका छन् किनारमा
र मुण्टो लुकाएर बसेका छौँ हामी-यस्तोमा
प्रश्न सोधर हैरान पार्छन् साथीभाइहरू
तिमीले आँट गरे हुन्न र ?
मेरो भने जवाफ हुन्छ-यस्तोमा
डर नमानेर पो के गर्नु र ?
भयरहित वस्ती निर्माणको सपना
विस्तारै विस्तारै
भयपूर्ण विस्फोटको नजिक गइरहेछ
अनि,
डर नमानेर पो के गर्नु र ?
डर मानेर पो के गर्नु र ?

ज्ञानेश्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *