Skip to content


नेपाली साहित्यलाई वैविध्यपूर्ण उत्कर्षमा पुर्‍याउने अविश्रान्त साधकहरूमध्ये एक ओजश्वी र प्रेरणादायी स्रष्टा हुनुहुन्छ कृष्णप्रसाद पराजुली । सङ्घर्षमय जीवनका कठिन गोरेटाहरूबाट गुज्रँदा पनि नआत्तिई, हरेस नखाई नेपाली भाषा, साहित्यलाई माया गरेर निरन्तर पुर्‍याउँदै आउनुभएको चिरस्मरणीय योगदान बन्दनीय देखिन्छ । दर्जनौँ कृतिका प्रणेता कवि, कोशकार व्याकरणविद्, कथाकार, सम्पादक र समष्टिमा भनौँ बाग्देवीका उपाशक कृष्णप्रसाद पराजुलीले लेख्नुभएका कविताहरूको टिपोट गरेको एकदुई हरफ लेख्दै जाने हो भने पनि एउटा लघुपुस्तिका नै तयार हुन्छ ।

कृष्णप्रसाद पराजुलीको पछिल्लो प्रकाशित बृहत् ग्रन्थ हो शिखरयात्रा । आत्मकथा विधाको यस उत्कृष्ट कृतिमा उहाँले आफ्नो शैशवावस्थादेखि लिएर जीवनको उत्तरार्द्ध कालखण्डसम्मका अनेक घटनाहरूको आरोह-अवरोहहरूलाई प्रसङ्गहरूको घुम्ती र गोरेटोहरूलाई, विषयहरूका उतारचढाव र निचोडलाई बढी रोचक, कौतुकमय, ज्ञानवर्द्धक किसिमले सुललित शैलीमा बक्त्याउनुभएको छ । ग्रन्थलाई तीनखण्डमा विभाजन गरिएको छ । आत्मवृतान्त खण्डमा बत्तीस वटा उपशीर्षकहरू छन्, वंश, वृक्ष, परिवार र थातबास खण्डमा तीन खण्ड छन् र परिशिष्टमा तीन शीर्षकहरू छन् ।

आत्मवृतान्त खण्डमा बालककाल, सुख-दुःखको घामछायाँ, बालजीवनको बाँकी झझल्का, काठमाडौँको आकाशमुनि, काठमाडौँ आउँदा र घर फिर्दा, बिहे र मायाप्रीति, अध्ययन-लेखन र कामको त्रिवेणीमा, प्रेमपत्र लेखिदिएँ, लेखेँ, २००७ सालका अविस्मरणीय घटना, २००७ पछिको दशकको सम्झिदा, सांस्कृतिक चेतनाको घाम बटुल्दा यात्राको अनुभूति गर्दै गएँ, साहित्ययात्राको थालनी सरस्वतीको मन्दिरमा पुगेँ, प्रसङ्ग पुस्तकालयको सम्झना आफ्नै, नेपाल राष्ट्रिय विद्यापीठमा लाग्दा, त्रिभुवन स्मृतिग्रन्थको सम्पादन, डेरामा बस्दाको कथाव्यथा, यसरी बास उभ्याएँ, जुद्धोदय मा.वि.मा रहँदा, साहित्ययात्राको माध्यम, उकाली-ओराली छिचोल्दै, तीर्थयात्राको निहुँ-पूरै भारतयात्रा, त्रिविविमा अध्यापन, नेपाली बृहत् शब्दकोश सम्पादन, पञ्चायतको छायाँले छुन सकेन, काभ्रे र सिन्धुको धर्तीमा, सुनकोसीको लहर बोकेर, जनआन्दोलनताका र अघिपछि, बालबालिका विद्यार्थीहरूको माझमा, स्वास्थ्य र उपचार, साहित्ययात्राको बिसाउनीतिर सम्मान पाउँदाको अनुभवमा भोगाई, अनुभूति, अभाव, जीवन, दर्शन र दृष्टिकोणलाई व्यापक र विस्तृतरूपमा प्रष्ट पारिनुले पनि ग्रन्थको उपयोगिता र प्रभाव बेजोडको देखिन्छ । छोटा तर घतलाग्दा गम्भीर प्रसङ्गहरूले कृतिलाई गहकिलो तुल्याएको छ भने अर्को खण्डमा हाम्रा पुर्खा-पराजुली र हामी, हाम्रो वंशका हाँगोको नालीबेली, परिवार र थातबास खण्डले सूचनात्मकज्ञान सम्प्रेषण गरेको देखिन्छ । परिशिष्ट खण्डमा वंशको वर्णानुक्रम तालिका लेखकको पूर्वप्रकाशित आत्म कथनात्मक रचना र चित्रावली पनि निकै सागरर्भित र लोभलाग्दा छन् ।

समग्रमा यस कृतिले पराजुलीको व्यक्तित्व, जीवनी र योगदानका हरेक पाटा र प्रवृत्तिलाई स्पष्टसँग एकै गाताभित्र समेट्तै नेपाली साहित्यमा आत्मकथा विधाको अभावलाई पूर्णता दिने काम गरेको छ । ठूला सफल लेखक भनौँ, साहित्यकारहरूले देखेका, भोगेका र अनुभूत गरेका सामान्य घटनाहरू पनि अनुज पुस्ताका लागि प्रेरक सामग्री बन्न सक्छन् भन्ने जिउँदो उदाहरण बनेको छ यो कृति । भाषा सारै कोमल, कञ्चन र रसयुक्त भएको कारणले गर्दा पनि आत्मकथाभित्र प्रवेश गरिसकेपछि नछोडौँ-नछोडौँ झैँ लाग्दछ र प्रस्तुतिसारै मनोहारी छ ।
कृति ः शिखरयात्रा
कृतिकार ः कृष्णप्रसाद पराजुली
प्रकाशक ः साहित्य सङ्गम वाराणासी
पेज ः ५२०+२२
मूल्य ः ने.रु. ६००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *