पत्रपत्रिकाहरूमा प्रशस्तै हास्यव्यङ्ग्य लेखेर पनि कुनै लछारपाटो लगाउन नसकेका लक्ष्मण गाम्नागेले फेरि एउटा हास्यव्यङ्ग्यको किताबै निकालेछन्, ‘कति धुनु गधाहरूलाई’ शीर्षक दिएर । यसअघि नै ‘घिटिकघिटिक बाँचेर सहरमा’ र ‘३ न १३’ व्यङ्ग्य कवितासङ्ग्रह तथा ‘लाठीचार्ज’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह निकालेर आफ्ना लालाबालाको गाँस र आस खोसिसकेका गाम्नागेलाई फेरि पनि व्यङ्ग्यको किताबै लेख्न किन जङ् चलेको हो कुन्नि ? लेख्न भनेपछि बाह्रहातका काँडा उम्रने म अल्छी उल्लुलाई त आफैँसँग उदेक लागेर आउँछ ।

कसैका बारेमा कुनै कुरा लेखिसकेपछि सम्बन्धित पक्षले चासो देखाओस् । उसका कुकुरे-कान ठाडाठाडा हुन् । रिसले मुर्मुरिँदै लेखक साँझबिहान लखरलखर हिँड्ने बाटो ढुकोस् । जम्काभेट हुनासाथ अनुहारमा पिच्च पारेर थुकोस् । तँ आफूलाई कति महान् लेखक हुँ भन्ठान्छस् हैन ? भन्दै लात्तैलात्तीले भकुरोस् । रगतपच्छे भएर दुई-चार दिन अस्पतालमा लम्पसार पर्नु परोस् । अस्पतालको खर्च जुटाउन नसकेर स्वास्नीको नाकको फूली सुनारेकहाँ पुगोस् । नत्र के लेख्नु ? समयको पनि सत्यानाश, छापिसकेपछि पर्यावरणको पनि विनाश ।

आखिर गाम्नागेलाई लेखेर गुजारा गर्नु नै छ रे, दाम पनि कमाउनु छ रे, लेखक भइटोपल्नु पनि छ रे । यदि त्यस्तो नै हो भने बरु तस्कर-माफियाहरूका बारेमा महाकाब्य लेख्नु । ठूलाबडाहरूको प्रशस्ती गाउनु, स्तुति छपाउनु । बिहानबिहान नेता-मन्त्रीहरूको ढोकामा धाउनु । अनि पो ठूलो मान्छे भइन्छ । हनुमान चालिसामा अभ्यस्त हुनुपर्ने अहिलेको जमानामा नाथे भैरव अर्याल र केशवराज पिंडालीहरूको बाटो हिँडेर पनि ठूलो मान्छे हुइँन्छ र ? ल्हासा जानु कुत्तीको बाटो भनेजस्तो ।

गाम्नागेले आफ्नो किताबमा लेख्ने विषय पनि गतिला रोजेका छैनन् । उही काठमाडौँमा बस्ने सबैले भोगिआएको डेराको समस्या, अन्तर्राष्ट्रिय चिनारी बनेको विकृति, दिनदुगुना रात चौगुना बढिरहेको बेरोजगारी, बोर्डिङ स्कुलहरूको खुलेआम ठगी, सर्वसाधारणको ढाड सेक्ने महँगी, नेता र ब्यापारीहरू मालामाल भइरहेको कालाबजारी, नैतिकता हराएका नेताहरूका लाचारी आदिका बारेमा लेखेका छन् । अर्थात् लेख्न मिल्नेजति र आफूले देखेजति सबै विषयमा समेटेका छन् । मान्छेको मन नै गैडाको छालाजस्तो भइसकेको अवस्थामा व्यङ्ग्य गरेर जबर्जस्ती चिमोटेका छन् । तर दलका नेता-कार्यकर्ताहरू नै सर्वेसर्वा भएको अहिलेको अवस्थामा सर्वसाधारणका देखाई, भोगाई र दुखाईको के अर्थ ? उक्त सङ्ग्रह पढिसकेपछि मलाई त लाग्यो, गाम्नागेले आफू बाँचेको देश, काल परिस्थिति राम्ररी बुझेकै छैनन् । यदि बुझेका रहेछन् भने पनि निबन्धहरूमा बुझ पचाएका छन् ।

अहिलेको जमाना उत्तआधुनिकताको हो । यो जमानामा क्लिस्ट, परिष्कृत र हत्तपत्त सर्वसाधारण पाठकले बुझ्न नसक्ने स्तरमा लेख्न सक्नेहरूलाई मात्रै वरिष्ठ लेखक मानिन्छ । तर लेखक गाम्नागेले यो कुरो बुझेकै रहेनछन् । उनले त लोपोन्मुख झर्रा नेपाली शब्दहरू प्रयोग गरेर कखरा मात्रै चिनेकाहरूले समेत सजिलै बुझ्ने गरी अत्यन्तै सरल भाषामा लेखेका छन् । आफ्नो लेखन माझिएको देखाएका छन् । मलाई त आरिस पो लाग्यो । यस्तो पनि लेख्ने हो ?

एउटा निबन्धमा उनले आफ्नो उमेरको हिसाब किताब निकालेर अर्को एउटा ब्यर्थको काम गरेका छन् । सधैँका फुर्सदिला हामीलाई समयको पाठ पढाउने उनको प्रयास आफैँमा उदेकलाग्दो छ । जस्तो एउटा उदाहारण ः “हामीकहाँ समयको जति उल्लङ्घन गर्‍यो, उति नै ठूलो भीआईपी भइन्छ । हाम्रा नेता-मन्त्रीहरूलाई कुनै सभासमारोहको उद्घाटन वा शिलान्यास गर्न बोलायो भने कम्तीमा आधा घन्टा र बढीमा जतिसुकै घन्टा ढिलो नगरी पुग्दैनन् । कुनै काम ठीक समयमा सुरु गर्ने र ठीक समयमा सक्नेलाई त बेकुफ पो भन्छन् त….. !”

किताबका कतिपय अनुच्छेद पढेपिच्छे हाँस्न मन लाग्छ । कुरा चै रुनुपर्ने खालको छ तर भाषाशैली र प्रस्तुतिले चै एक्लै हाँस्न बाध्य पार्छ । यस्तो नाथे लेखाई पनि के लेखाई ? यस्तो लेखाइले गाम्नागेले कुनै साहित्यिक पगरी वा पुरस्कार पड्काउलान् जस्तो लागेन मलाई त । प्रकाशन गृहलाई धनी र आफूलाई गुनी बनाउने काम मात्रै गरेजस्तो लाग्यो । बरू उनले यी ३० वटा हास्यव्यङ्ग्य निबन्ध लेख्न लागेको समय कुनै नेता महोदयको ढोका कुर्नमा लगाएका भए पक्कै जीएम, सीएम पड्काउने थिए ।

अन्तिम पातोमा प्रकाशक अर्जुन पराजुलीले गाम्नागेलाई फुक्र्याएर आफ्नै खुइलिएको टाउकोमाथि राखुँलाझैँ गरे पनि किताबभित्र केही कमजोरी पनि छन् । जस्तो उनले महिलालाई ठाउँठाउँमा लाजैमर्दो हुने गरी होच्याएका छन् । त्यति नाम चलेका लेखकले त्यति चै गर्न नहुने । अर्को कुरा गाम्नागे आफ्ना निबन्धमा पूरै सहरमुखी भएका छन् । चुनाव जितेर सहर पसेका नेताहरूले जस्तै उनले पनि गाउँलाई चटक्कै बिर्सेका छन् । यत्रो किताब निकालिसकेपछि गाउँका विषय एउटा पनि समेट्न नसक्नु कत्रो महानता ?

विषयअनुसार किताबको शीर्षक पनि सुहाउँदिलै छ । किनकि कहिल्यै नसुध्रिने थेत्तरा नेताहरूलाई गाली गर्ने निहुँमा त्यो सोझो श्रमजीवी प्राणीको हूर्मत लिनु सोह्रै आना सही हो । आखिर लेख्ने कला र हातमा कलम भएपछि जे गरे पनि भयो होइन र ? त्यो गधा प्राणीले प्रतिवाद गर्ने होइन क्यारे !

कृति ः कति धुनु गधाहरूलाई (हास्यव्यङ्ग्यसङ्ग्रह)
लेखक ः लक्ष्मण गाम्नागे
प्रकाशन ः २०६६, चैत
प्रकाशक ः भुँडीपुराँण प्रकाशन
पृष्ठ ः ११८+१४
मूल्य ः रु. १००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *