जीवनको मूल्य खोजिएका निबन्धहरू

  • by


नेपाली साहित्यमा निबन्ध विधालाई रुखा-सुख्खा विधा मानिन्छ र पनि यसमा कलम चलाउनेहरूको भने कमी नै चाहिँ छैन । निबन्धका उपविधा-नियात्रा एवं हास्यव्यङ्ग्य लेखन र पठन दुवैका दृष्टिले चल्तीका भए पनि आत्मपरक विषय-सन्दर्भका निबन्धहरू चाहिँ कमै लेखिनेमा पर्दछन् । विचारप्रधान यस्ता निबन्धहरूको स्वतन्त्र फैलावट तथा समाजको एक गौरवपूर्ण पात्रको जीवनवृत्त पढेर लिन सकिने लाभ निबन्धभित्र असीमित नै हुन्छ । यस्तै निबन्धकारमा पर्दछन्- जयदेव गौतम । पचासको दशकमा उदाएका निबन्धकार जयदेव गौतम लेखनयात्राको समयावधिका हिसावले यतिबेला पाँच-सात सङ्ग्रहका जोदाहा निबन्धकारमा दरिइसक्नुपर्ने थियो तर भर्खरै मात्र उनी ‘लक्ष्मणरेखाका दासहरू’ निबन्धसङ्ग्रहमार्फत् निबन्धकारहरूको लाइनमा उभिन पुगेका छन् ।

गौतमको यस सङ्ग्रहभित्र विविध विषय र सन्दर्भका अठार वटा निबन्धहरू सङ्गृहीत छन् । निबन्धलेखनका हिसावले उनको पहिलो रचना वि.सं. २०४९ सालमा ‘आस्था कर्कलाको पानी होइन’ शीर्षकमा ‘युगसम्बाद’ पत्रिकामा प्रकाशित थियो । ‘लक्ष्मणरेखाका दासहरू’ मा जम्मा अठार शीर्षकका निबन्ध रहनु र उनको निबन्धलेखनको समयावधि पनि अठार वर्षको हुनुले वर्षको एउटाले प्रतिनिधित्व गरे पनि उनी बीचको समयमा पात्ताल प्रवासमा हराएका कारण पछिल्लो समयमा आएर मात्र उनी ज्यादा सक्रिय देखिएका छन् । उनको पहिलो निबन्धले भारतीय राज्य उत्तरप्रदेशको राम जन्मभूमि विवादको सन्दर्भलाई लिएर धार्मिक आस्था र विश्वासको पक्षमा वकालत गरेको छ । उनी मानवीय जीवनको सकारात्मक चिन्तक, व्याख्याताका रूपमा सङ्ग्रहभरि छरप्रष्ट छन् । उनी जीवन बाँच्ने रहरमा लटरम्म फुलेका छन् र आत्महन्ताहरूलाई धिक्कार्छन् ।

सङ्ग्रहमा फरकफरक विषय र सन्दर्भका निबन्धहरू रहेका छन् । व्यक्तिकेन्द्री निबन्धहरूमा उनी कुशल निबन्धकार सावित भएका छन् । उनले पारिजातको साङ्गोपाङ्ग जीवनलाई ‘मैले भेटेकी पारिजात’ मा उतारेका छन् । दँगासे साइँला’ को त्याग र प्रजातन्त्रप्रतिको शहादतको उच्च मूल्याङ्कन गरेर गौतमले देशको सच्चा सपुतलाई पछिल्लो पुस्तामा चिनाउने काम गरेका छन् । जापानी ग्रान्डमास्टर कानाजावाको नेपाल मोहलाई सलाम गर्नुपर्छ । विदेशयात्राका पृष्ठभूमिका निबन्धहरू बादलुभन्दा माथि हङकङ विमानस्थलमा केही घण्टा, अमेरिकामा भेटिएका अमिगो र अमिगाहरू रोचक शैलीका निबन्धहरू छन् । ‘चामल र चमेली’ निबन्धमा गौतमले भोक र सौन्दर्यको उत्तिकै आवश्यकता बोध गराएका छन् सुन्दर जीवनका लागि । ‘लक्ष्मणरेखाका दासहरू’ शीर्षकको निबन्धले सिङ्गो सङ्ग्रहकै नामाकरणको प्रतिनिधित्व गरेको छ ।

लक्ष्मणरेखाको दास बनेर नाघ्न नचाहँदो दुर्नियतिको व्याख्यान सँगसँगै यसका धार्मिक मान्यताहरू पनि उधिनेका छन् तर ‘लक्ष्मणरेखा’ वास्तवमा ‘भ्रमरेखा’ हो भन्ने लेखकलाई कमै मात्र जानकारी भएको देखिन्छ । रामायणको व्याख्यानअनुसार श्रीराम सर्वव्यापक छन् र उनी कर्ताहर्ता सबै हुन् । उनलाई सीता हरण गर्न रावण आएको भन्ने पनि ज्ञान हुन्छ । त्यसैले असली सीतालाई अग्निमा लुकाएर नक्कली सीता खडा गरेका हुन्छन् । लक्ष्मणलाई यो कुराको ज्ञान हुँदैन र लक्ष्मणरेखा कोर्छन् । सीताले रेखा नाघेपछि रावणले हरण गरेर लान्छ र आफ्नो अशोकवाटिकामा राख्छ । श्रीरामले हनुमान, सुग्रीवलगायतको सहयोगले रावणलाई मारेर सीतालाई ल्याउँछन् । यो सबै जम्मा एक वर्षभित्र भएको हुन्छ तर गौतमले वषौर्ं भनेर उल्लेख गरेका छन् । पछि अग्नि परीक्षाको निहुँ गरेर नक्कलीलाई डढाएर असली सीता निकालेको रामायणको रोचकपक्षमा गौतम अलमलिएका देखिन्छ । त्यस्तै, पारिजातको सन्दर्भको निबन्धमा ‘बागमतीमा पानी एकलास बगिरहृयो’ भनेका छन् । पानीको बग्नेक्रम एकलास नभएर एकनास अथवा निरन्तर अविरल हुनुपर्थ्यो । केही अन्य शाब्दिक एवं व्याकरणिक त्रुटिहरू पनि नभएका होइनन् तर आकर्षक साजसज्जा र स्तरीय छपाइले त्यसलाई ढाकिदिएको छ । निबन्धलाई परिभाषाभित्र बाँधेर राख्न सकिँदैन भनिन्छ । यसैकारण गौतमका ‘लक्ष्मणरेखाका दासहरू’ भित्रका अठारवटै लेखहरूलाई निबन्ध नै भन्न सकिन्छ अन्यथा यसमा केही यात्रासंस्मरण छन् र केही संस्मरण पनि छन् । समग्रमा भन्दा विविध सन्दर्भका सामग्रीहरूको पठनीय सँगालो बनेको छ ‘लक्ष्मणरेखाका दासहरू’ र यसै कृतिमार्फत् उनी पत्रकारबाट साहित्यकार, त्यसमा पनि निबन्धकारमा दरिएका छन् ।

कृति ः लक्ष्मणरेखाका दासहरू (निबन्धसङ्ग्रह)
निबन्धकार ः जयदेव गौतम
प्रकाशक ः विक्रान्त बुक हाउस, भक्तपुर
प्रकाशन ः २०६७, असोज
पृष्ठ ः ८९+१४
मूल्य ः रु. १७५।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *