पेशाले अध्यापक सरिता तिवारी ‘बुद्ध र लाभाहरू’ कविता कृति प्रकाशनको दिव्य दस वर्षपछि अस्तित्वको घोषणापत्र कवितासङ्ग्रहमार्फत् नारीचेतना र अस्तित्ववादी चेतनाको दर्बिलो उपस्थितिसहित पृथक् स्वादका सिर्जना पस्किन सफल भएकी छिन् । नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने कविता विधा र सिर्जित कवि भीडमा तिवारीको यो उपस्थिति भने सर्वथा अलग र सम्झनायोग्य छ । लगभग पाँच दर्जन रचना सामेल सद्यः प्रकाशित पुस्तकका कविता विषयवस्तु, संरचना, शिल्प, परिपाक र शैलकिा दृष्टिले समेत विविधायुक्त छन् ।

नारीअस्तित्व, कविअस्तित्व र समग्र मानवीय अस्तित्वको घोषणापत्रको रूपमा आफ्नो कृतिलाई बिनिर्मितसहित प्रस्तुत गरेकी स्रष्टा तिवारीका रचनामा नारीवादीचेतको आधिक्यसँगै स्वतन्त्रता, स्वाधीनता, जागृति, उन्मुक्ति र आस्थाको सजीव स्वर समवेत रूपमा यसरी मुखरित भएको छ-
‘च्यातेर तिम्रा धर्मशास्त्रका पानाहरू
कुल्चेर तिम्रा विधिशास्त्रका हरफहरू
उभिण्डो पारेर नीतिशास्त्रका अक्षरहरू
उभिएकी छु म यतिखेर
अहम् युद्धको कुरुक्षेत्रमा ।’ (५६ः अस्तित्वको घोषणापत्र)

परिवर्तनको नितान्त नयाँ भाका सुसेलिएको समीक्षार्थ प्रस्तुत पुस्तकका रचना संवेखनाको चोप पोतिएका गीत हुन् । साठीको दशकको पूर्वार्द्धको समयको बुख्याँचा शासन, विद्रोह, सीमा अतिक्रमण, जनताका पीडा, देशको अधोगति र सर्जकका मुक्तिकामी आवाजमा अभिव्यक्त समयको भव्यता र विद्रूपतालाई अभिलेखन गरिएको अस्तित्वको घोषणापत्र कविता कृतिमा थरुनी दिदीको दुःख, बाल्यकालको स्मृति, सुहागरातको सम्झना, आमाको असल र आदरणीय चरित्र, जिम्मेवारी सन्तानको चाह लगायतका विषयवस्तु अभिव्यञ्जित छन् ।

संरचनाका दृष्टिले चार शब्दका कवितादेखि चार पेजसम्म लामा कविता सामेल यस कृतिमा अधिकविताझैँ लाग्ने रचनामा कविताको व्याप्ति, शक्ति र सौन्दर्यको उपासना गरिएको छ । जीवनको लय र सौन्दर्यलाई विचार र कलाको अन्वितिमा अत्यन्त आशावादी स्वरले प्रेम र प्रणयसँग अभिव्यक्त गरिएका तिवारीका कवितामा विद्रोहको रमरम झल्को पनि पाइन्छ । पूर्वीय र पूर्वेत्तर मिथकको प्रयोग, अङ्ग्रेजी शब्दको सामेली र कतिपय विम्ब र प्रतीकको आरोपणले केही कविता दुरुह बनेका छन् । संरक्षण कविता आन्दोलनकी एक सर्जक तिवारीका केही कवितामा त्यही आन्दोलनका अग्रज स्रष्टाको प्रभाव पनि टड्कारै देखिन्छ । कतिपय कविता, प्रयोगभिमुख पनि छन् । समग्रमा अस्तित्वको घोषणापत्र कवितासङ्ग्रहले देशको सामयिक चित्र प्रस्तुत गर्दै सरिता तिवारीको शिल्पगत वैशिष्ट्यलाई उजागर गरेको छ । उज्यालोको आहृवान गरिएका यस कृतिका रचना जति पढे पनि सर्वथा नूतन लाग्दछ ।

कृतिः अस्तित्वको घोषणापत्र (कवितासङ्ग्रह)
कवयित्रीः सरिता तिवारी
प्रकाशकः साहितय सङ्गम, चितवन
प्रकाशनः २०६७, जेठ
पृष्ठः ११२
मूल्य ः रु. १२५।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *