शरीर विज्ञानको अध्ययनबाट पनि बुझ्न सकिने आफूभित्र रहेको शारीरिक अङ्ग र त्यसको सञ्चालन प्रक्रिया सँगसँगै हामीमा भौतिक तथा अभौतिक रूपमा प्राणको स्थापन र निरन्तरता भै रहेको हुन्छ । अभौतिक र अमूर्त अवस्थाको प्राणशक्तिको स्थापनाको स्वरूपस्थल अथवा बीज स्वरूपको वृक्ष स्वरूप अवस्थाको रूपमा हामीले प्राण र शरीर भनेर सामान्य अवस्थामा सम्झन सकिन्छ । त्यस्तै प्राणको अवस्थाको बारेमा हाम्रो पूर्वीय दर्शनमा धेरै लामो समयदेखि चिन्तन गरेको पाइन्छ । जसलाई आत्माको अस्तित्व छैन भनने अर्थात् नास्तिक प्रकारले दार्शनिक चिन्तन गरेको दर्शनमा बौद्ध दर्शन, जैन दर्शन प्रमुख रूपमा छन् भने आत्माको अस्तित्व रहेको छ भनी आस्तिक प्रकारले हाम्रो बेद, पुराण, उपनिषद् आदिको धारणा रहेको छ । यसप्रकार आत्माको अस्तित्व छ छैन भन्ने दार्शनिक धारणा प्राणशक्तिको अस्तित्वसँग रहेको धारणात्मक विचारात्मक आज पर्यन्तका विमर्श रहेका छन् ।
प्राकृतिक योगका खातिर आध्यात्मिक दर्शनले माथि बताएको दुबै प्रकारका दर्शनमध्ये कुनै पक्षमा नभएर व्यक्तिको आफ्नो अस्तित्व माथि केवल यथार्थपरक चिन्तनबाट मात्र केन्द्रित रहन भनिएको छ ।
आफूलाई आफ्नो अस्तित्व चेतना सहित सर्व प्रथम आफ्नो जन्म मितिको समयलाई सोच्नुहोस् । त्यसबेला के के साथमा थियो ? के के थिइन थियो भने कसरी रहेको थियो ? जस्तै ः कपडाको अवस्था, हाम्रो जातपातको अवस्था, हाम्रो राजनीतिक अवस्था, हाम्रो धर्म सम्प्रदायबारे विचार गर्दा मोटामोटी निम्न
बस्त्र कपडाका बारेमा
आजको फेसन मोडलिङ्को यस २१औं शताब्दीमा आइपुगेका हामी त्यस बाल्यावस्थामा भने प्राकृतिक रूपमा नै निर्बस्त्र नाङ्गो थियौं ।
ततपश्चात हाम्रो परिवारले आफ्नो आर्थिक सामर्थ्य र मौसमी वातावरणलाई विचार गरेर समुचित कपडा लगाइदिएको र समाजमा सबैले त्यसै गरिरहेको हुँदा अनुकरण गर्दै आजसम्म आइपुग्दा कपडा अनिवार्य आवश्यकताको रूपमा भएको पाइन्छ ।
जातिपातीको बारेमा
जन्मसमय र बाल्यावस्थामा व्यक्तिलाई जाति विशेष, उचो जात निचो जात जस्ता कुराको कुनै चिन्ता नभएर केवल आफ्नो मानिसपनको भाव नै पूर्ण यथेष्ट भएको पाउन सकिन्छ । हाल वर्तमान उमेर अवस्थामा झैं उचो जात हुँदा गर्व गर्नुपर्ने निचो जाती हुँदा हेला हुनुपर्ने अनि तागाधारी जनजाति, दलित जस्ता जातिपातीजन्य शब्दको प्रयोगको त्यस अवस्थामा कुनै आवश्यकता नै पर्दैन । त्यसबेला जात पात केही नरही एक मानिस जाति मात्र रहेको छ ।
धर्मको बारेमा
आज तेरो मेरो तँ छाड र मछाड रहेका बौद्ध, हिन्दू क्रिश्चियन, मुस्लिम धर्मका सबै विद्वान् आ-आफ्ना दर्शन र विचारधारा सबैभन्दा उत्तम रहेको भनेर ठोकुवा गरिरहेको स्थिति छ सबैले अरुको धर्मका निन्दा, आलोचना गर्दै आ-आफ्ना धर्मप्रति आस्थाका सदस्य बढाउने होडबाजी चलिरहेको र आफूलाई कुन चाहि धर्म उत्तम भनेर चयन गर्न कठिन परेको आज अवस्था छ जवकि जन्म अवस्थामा यो धर्मसम्बन्धी कुनै विवाद मत मतान्तर बारे बालकलाई चिन्ता वा टाउको दुखाईको सुरुवात नभएको अवस्था स्थित एक निर्मल अवोधपन रहेको हुन्छ ।
राजनीतिका बारेमा
विभिन्न वाद सिद्धान्तको आधारमा रहेको विभिन्न पार्टी र तिनका विचारधारा ग्रहण गर्नै पर्ने बाध्यात्मक जीवनमा अल्झेको आजको यस अवस्थाको स्थितिमा रहेको पाइन्छ । जबकी जन्मदाको आफ्नो अवस्थामा कुनै राजनीतिक भावरहित आफ्नो अस्तित्वको रक्षार्थ खानाको लागि मातृ स्तनपान र आफ्नी आमासँग मात्र सरोकार र लगाव रहेको पाइन्छ । कुनै झुटा प्रपञ्च जालसाक्षीको आवश्यकता पनि बाल्यावस्थाको स्थितिमा रहेको हुँदैन ।
आध्मात्मिक चिन्तनबाट बाल्यावस्थाका माथिका अवस्थालाई हामीले अनुभव गरी पार गर्दै आइसकेको हुँदा अब फेरि त्यस अवस्थाको अनुभूतिसँग हालको विचारलाई केन्द्रित गरी तुलनात्मक चिन्तन गरी कार्य र कारणवादसँग सापेक्ष तादाम्य राख्दै आजको अवस्थासँग इच्छाशक्तिलाई माध्यम बनाउँदै समाजसँग शान्तिपूर्वक सामाना गर्दै जाने हो भने समय समाज युग सुहाँउदो सबैमा शीतल छहारी दिन असम्भव छैन तर शीतलताको विवेक चेतना भएपछि मात्र प्यासीको गाइड निर्देशन गर्न सक्षम हुन सकिन्छ ।
अन्त्यमा, अखण्डको चिन्तन गर्दै तनाव मुक्त हुन विचार ध्यान केन्द्रित हुँदै मार्गमा इच्छुकका लागि दर्शनधारा सहयोगी मन्त्र हो । ध्यान र अध्यात्मका लागि जङ्गल जान पर्दैन केही त्याग्न पर्दैन, मात्र दिनको केही समय विचार विमर्श र अन्तक्रिर्यामा छुट्याउँ । आफ्नो सहभागिता अरूका लागि दुःखद नहोस् भनी जहिले पनि सचेत बनौँ ।
