ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो।
‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो।
‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो।
‘यतिका बेर पर्खन्छ?’ उसले प्रश्न गर्‍यो।
‘समय नै त्यही हो।’ कर्मचारीले भन्यो।
‘यो त दिक्कलाग्दो भयो।’ उसले भन्यो।
‘यस्तो ठाउँमा धन्न बस चलाइएको छ, खुसी मान्नोस् न।’ त्यसले भन्यो।

‘आज मैले धेरै खुसी पाएको छु।’ उसले भन्यो।
‘खुसी, त्यो पनि धेरै?’ कर्मचारीले आश्चर्य मान्यो। उसको खुसीमा इर्ष्या लागेर सोधेको हो वा व्यङ्ग्य कसेको हो या कुराका लागि कुरा गरेको हो, त्यो प्रस्ट थिएन।
‘समयमा घरबाट हिँड्न पाउँदा म खुसी थिएँ। सम्म बाटोमा हिँड्न पाउँदा म खुसी थिएँ। बिसौनीमा आइपुग्दा म झन् खुसी भएँ। अहिले मैले छाया पाएको छु। यसले मलाई झन् खुसी दिएको छ। खुसीहरूको मात्रा बढिरहेको छ।’ उसले भन्यो।
‘आज तपाईँको खुसी हुने दिन रहेछ।’ कर्मचारीले भन्यो।
‘बस त्यही हो?’ खुसीहरू पन्छाएर उसले प्रश्न गर्‍यो ।
‘त्यही हो।’ कर्मचारीले भन्यो ।
‘कस्तो थोत्रो बस !’ उसले भन्यो ।
‘यो गरिबहरूको बस्तीमा यो नै पर्याप्त छ ।’ कर्मचारीले भन्यो ।
‘कसले चलाएको हो यो बस?’ उसले प्रश्न गर्‍यो।
‘रामबहादुरले।’ कर्मचारीले भन्यो ।
‘रामबहादुर त त्यो हैसियतको मान्छे होइन ।’ उसले भन्यो।
‘बैङ्कबाट ऋण लिएर यो बस किनेको।’ कर्मचारीले भन्यो।
‘ऋण लिएर किन्ने मान्छेले नयाँ बस किन्छन्, थोत्रो किन किनेछ?’ उसले प्रश्न गर्‍यो।
‘नयाँ किन्न पन्ध्र लाख लाग्छ, यो किन्दा पाँच लाख।’ कर्मचारीले भन्यो।
‘त्यो किसिमले विचार गर्दा त ठीकै हो।’ उसले भन्यो।
‘अहिले टिकट लिनुभयो भने सिटमा बसेर जान पाउनुहुन्छ।’ कर्मचारीले भन्यो।
‘नचलेको बसभित्र बसिरहँदा मलाई उकुसमुकुस हुन्छ।’ उसले भन्यो।
‘बसभित्र बसिरहन पर्दैन। सिट ओगटेर आफू बाहिर बसे भैहाल्छ।’ कर्मचारीले भन्यो।
‘ओगटौँ त?’ उसले सल्लाह माग्यो।
‘बसमा बसेर जाने विचार छ भने सिट ओगट्नोस्, उभिएर जाने विचार छ भने नओगट्नोस्।’ कर्मचारीले स्वतन्त्रता दियो।
उसले बसको टिकट लियो। उसको पछिल्तिर झोला झुन्डिएको थियो। त्यो झोला खाली सिटमा राख्यो। मान्छेहरू बसभित्र बसेर गफ गरिरहेका थिए। ऊ बसबाट ओर्लियो। सडकबाट वरपरको वातावरणमा आँखा पुर्‍यायो । त्यो ठाउँमा सब कुरा नयाँ थिए। सडक भर्खरै विदेशी सहयोगमा निर्माण गरिएको थियो। सडकमा दायाँबायाँका पसलहरू र घरहरू नयाँ थिए। त्यो ठाउँ केन्द्रबिन्दु हुन्छ भन्ने अनुमान गरेर विभिन्न ठाउँबाट मान्छे ओइरिएका थिए। यो बस्ती नै नयाँ थियो। एउटा बोर्डिङ स्कुलको साइनबोर्ड झुन्ड्याइएको थियो। त्यो नयाँ थियो। त्यस स्कुलमा पढाउने शिक्षिकाहरू नागालैन्डका थिए। प्रत्येक वर्ष पशुपतिमा आउने नागाबाबाहरू नागालैन्डका हुन् भन्ने विश्वास एउटा युवकलाई थियो। उसले आफ्नो त्यो विश्वासलाई एउटा चियापसलमा यसरी सार्वजनिकीकरण गर्‍यो- ‘नागालैन्डमा त सबै पुरुषमहिला नाङ्गै बस्छन्। त्यसैले त्यस ठाउँलाई नागालैन्ड भनिएको हो।’
‘तपाईँहरूको ठाउँमा मान्छेहरू त सबै नाङ्गै हुन्छन् । तपाईँहरूले लुगा कसरी लगाउनुभयो ?’ शिक्षिकालाई प्रश्न तेर्स्यायो ।’ह्वाट?’ ती शिक्षिकाले प्रश्न गरिन्। तिनी नेपाली भाषा बुझ्दैनथिन्। तिनको कुराकानीको भाषा अङ्ग्रेजी थियो। उसले ह्वाट बुझेन। फेरि त्यही कुरा दोहोर्‍याउन उसलाई लाज लाग्यो। एउटा भातहोटेल थियो। यो पनि यस गाउँका लागि नयाँ थियो। एउटा कपडापसल थियो। एउटा जुत्तापसल थियो। एउटा छाता र झोलाहरूको पसल थियो। एउटा सिएका कपडाहरूको पसल थियो। एउटा टेलिफोनको अफिस थियो। सब थिए एउटा-एउटा।
सडकमनि लम्स्याइलो परेको पहाड थियो। गर्भिणी आइमाई सुतेकी, उसले कल्पना गर्‍यो। त्यही गर्भिणीलाई कुल्चँदै ऊ यहाँ आएको थियो ।
उसको घर पुग्न त्यो पहाड नाघेर जानुपर्थ्यो । घरमा उसका बाबुआमा मात्र थिए। बाबु उनासी वर्षका थिए। उनी खुट्टा सुन्निने रोगले थला परेका थिए। डाक्टरले उनलाई चौबीस घन्टामा बीस घन्टा आराम गर्न भनेको थियो। उनी अधिकांश समय घरमा नै बिताउँथे। उसकी आमा सत्तरी वर्षकी थिइन्। तिनी चुपचाप बस्न सक्तैनथिन्। तिनी आफूलाई कुनै न कुनै काममा व्यस्त राख्थिन्। तिनी सेतो दुबीले गर्दा मौलिक आकारबाट भिन्न देखिएकी थिइन् । मान्छे तिनी देखेर घिन मान्थे। मान्छेहरू तिनीसँग घिनाउँछन् भन्ने कुरा थाहा थियो। तिनी कतै जान पनि मन गर्दैनथिन्।
‘अब हामीलाई के गर्छस्?’ बाबुले उसलाई सोधे
‘म के गर्न सक्छु र?’ उसले आफ्नो अर्समर्थता तेर्स्यायो।
‘तँसँगै बस्ने कुरा गर्दै छे तेरी आमा।’ बाबुले भने ।
‘मिल्दैन।’ उसले भन्यो ।
ऊ एउटा कम्पनीको सुरक्षाकर्मी थियो। त्यो काम छोडेर घरमा बस्दा पैसाको मुख देख्न पनि दुर्लभ हुने सम्भावना थियो। समस्यालाई यथावत् राख्दै ऊ वर्षौँदेखि आएको थियो। यस पटक पनि समस्यालाई यथावत् राखेर घरबाट निस्केको थियो ।
समय कटाउन ऊ एउटा परिचित पसलमा गयो।
‘फर्केको?’ त्यसले भन्यो।
‘हो।’ उसले भन्यो।
‘अब कहिले आउँछौ?’ त्यसले भन्यो।
‘थाहा छैन।’ उसले भन्यो।
‘बाबुआमालाई कस्तो छ?’ त्यसले भन्यो।
‘अवस्था ठीक छैन।’ उसले भन्यो।
‘नगएको भए पनि हुने!’ त्यसले भन्यो।
‘त्यति साह्रो त होइन।’ उसले भन्यो।
‘एक्लो छोरालाई यही समस्या हुन्छ।’ त्यसले भन्यो।
‘एउटा कुरा तिमीसँग सोधौँ?’ उसले भन्यो।
‘भन न।’ त्यसले भन्यो ।
‘यतातिर जग्गा किन्न कस्तो हुन्छ?’ उसले भन्यो।
‘एकदम राम्रो। तिमी आफ्ना बाबुआमालाई यहीँ राखेर जहाँ जान पनि सक्छौ। फोन छ, तत्काल खबर गर्न। अस्पताल लान पनि सजिलो छ।’ त्यसले भन्यो ।
‘गाउँको बेचेर यहाँ किन्न कसो होला?’ उसले भन्यो।
‘सडक लाइनमा किन्यौ भने त पसल राखेर पनि जीविका चल्छ।’ त्यसले भन्यो।
अर्कोपल्ट छिट्टै आउने विचार गर्‍यो। केही दिन बसेर सबै चाँजोपाँजो मिलाउने योजना बनायो। ड्राइभरले अघिदेखि हर्न बजाइरहेको थियो। ऊ आफूले ओगटेको सिटमा गएर बस्यो। बस बिस्तारैबिस्तारै उकालो लाग्यो। बाटोमाथि पनि भीर थियो। बाटोतल पनि भीर थियो। झ्यालबाट हिमसृङ्खला देखिए। तिनीहरू आफ्नो चरित्रबाट च्युत भएका थिएनन् । बस चलेको आधा घन्टा बितिसकेको थियो। झ्यालबाट बाहिर हेर्‍यो। भीर डरलाग्दो देखिन्थ्यो। ड्राइभरले मोटरको गियर बदलेको थियो। मोटरलाई उकालो लाग्न धौधौ परेको थियो। मोटर उक्लेन।
‘के भयो?’ यात्रु करायो।
‘ब्रेकले काम गरेन।’ ड्राइभरले भन्यो।
‘काम गरेन?’ एकैसाथ धेरै यात्रु कराए। सम्भावित अनिष्टको सूचना प्रवाहित भयो।
‘अब के हुन्छ?’ यात्रुहरू हडबडाए ।
‘अब तपाईँहरू आफ्नो सुरक्षा आफैँ गर्नोस्।’ ड्राइभरले घोषणा गर्‍यो।
ड्राइभर बसबाट ओर्लियो। खलासी ओर्लियो। मोटर उल्टो दिशातिर गुड्न थालेको थियो। मोटर कसैको नियन्त्रणमा थिएन। यसको परिणति थाहा पाउनेहरू तछाडमछाड गरी ओर्लन थालेका थिए। अब केही क्षण मात्रमा केही हुन गैरहेको थियो।
उसको नजिक एउटा वृद्ध व्यक्ति थियो। त्यसको हातमा एक माना घिउ थियो। सहरमा बसेको आफ्नो छोरालाई भेट्न ऊ जाँदै थियो। त्यो वृद्धलाई उसले हुत्यायो। एउटी महिला थिई। त्यो शिक्षिका थिई। त्यसको भर्खर विवाह भएको थियो। सदरमुकाममा शिक्षकको काम गरिरहेको लोग्नेलाई भेट्न त्यो बसमा चढेकी थिई। त्यसलाई उसले सडकमा घचेट्यो।
बस पछिल्तिर गुडिरहेको थियो। कुनै पनि क्षण केही पनि हुन सक्थ्यो। अस्पताल भर्ना गरिएको आफ्नो बाबुको उपचार्रखर्चसहित फर्केको छोरालाई उसले बसबाट धकेल्यो। वर्षौँदेखि आफ्नो जग्गामुद्दाको तारेख लिन हिँडेको मान्छेको उद्धार उसले गर्‍यो।
कसैको जात, उमेर, व्यवसाय र नातागोता हेरेर उसले उद्धार गरेको थिएन। समय बहुत कम थियो। यो बहुत कम समयमा जेजति मान्छेलाई उद्धार गर्न सकिन्छ गर्न ऊ तम्सेको थियो। एउटा पसले थियो- व्यापारको सिलसिलामा सहर जान लागेको। यो उसका लागि अन्तिम थियो । उसले उद्धार गरेका सात जना पुगे। उसले गन्ती गरेर उद्धार गरेको थिएन। अब भने आफैँ हामफाल्ने जमर्को गर्‍यो। मोटर भीरबाट खस्यो। भीरमा मोटर ठक्कर खाँदै खोचमा पुगेर नराम्ररी बजारियो। त्यो मोटरको आवाज कुनै विशाल ढुङ्गा पल्टिएर जाँदाको जस्तै थियो। बस ढुङ्गेपहाडमा ठक्कर खाँदै खसेकाले कच्याककुचुक भयो। त्यसभित्र बाँकी रहेका कोही पनि जीवित रहेनन्। ऊ पनि मृतकहरूको हूलमा सामेल भयो।
आफू बाँच्न सक्ने पूरा सम्भावना भएर पनि आफूभन्दा पहिला अरूको उद्धार गर्न उसलाई केले प्रेरित गर्‍यो? ती वृद्ध बाबुको विवश अनुहारले? कि साराले घिन मान्ने उसकी आमाको सम्झनाले? कि यिनीहरूलाई केही गर्न नसकेको हीनताबोधले? केही क्षणअघिसम्म व्यक्तिगत संसारको निर्माणमा तल्लीन ऊ थियो। केही क्षणपश्चात् नै ऊ अर्काको भलाइमा कसरी उभियो र आफूलाई जानीजानी कालको मुखमा पुर्‍यायो?
उसको कच्याककुचुक भएको लास लिन बाबु आउन सकेनन् । अरू गाउँले आए । ती सात जना आफ्नो घर गए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *