सवाल
स्वदेशमै बस प्यारा गुन्द्रुक ढिडो खाउँला ‘बरू’
झुत्रो झाम्रो त्यही सहि रमाउदै आउँला ‘बरू’
नहोस सुख सयल भो, नहुन देउ घर छाउने खर
तिम्रो मेरो प्रीतिले घरको छानो छाउँला ‘बरू’
मेला पर्म गरौंला हुर्किहाल्छन लाला बाला
साथ बसी हासी खुसी रोदी सेलो गाउँला ‘बरू’
तड्पाएर मनलाई दुईडाँडा मै बस्नु भन्दा
खुशी होस् मन केवल तनकै दुःख पाउँला ‘बरू’
अभाबैम पिल्सएर सकिएन बाँच्न भने
एकै साथ तिमीसँगै मै नि मरिजाउँला ‘बरू’
अन्त खुट्टा मोल्नुभन्दा अैंचो-पैंचो गाउँमै गरौ
सकिएन तिर्न भने अर्को जुनी आउँला ‘बरू’ ।
मिथिला प्याकुरेल
जवाफ
अशान्ति छ मनमा प्यारी गास हाले नि बास छैन
अनिकालमा यही बसेर रमाउने आश छैन
एकै छाक खाएर नै यही मायामा बाँचेका छौं
ओत बस्ने घर नभएनि वच्चा पाल्ने गास छैन
तिम्लाई छाडी मलाई टाढा जानकहाँ मन थियो र
माया सांचि बस कान्छि, यहाँ सुखको सास छैन
मन बाध पीर नगर विछोडमा पोल्छ मुटु
अँगालोमा सधै जिउला यी दुःखमा मास छैन
तिम्रो यही छ चाहना भने छोडि जान्न अब
माया गर्ने त्योमन पाउदा दुः खको योरास छैन
आफ्नै ठाउमा कर्म गर्छु अन्त खुटा मोल्दिन भो
भोलिको त्यो विहानीमा आउछ खुशी उदास छैन ।
रामकृष्ण पौडेल अनयाँस