Skip to content

शीर्षक के हो ? (मुना २०६७ माघ)

  • by


आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त आकाश मिहिनेत गरेर पढ्छ नै घरमा समेत अध्ययन गरिरहन्छ । ऊ अरू जस्तो गृहकार्य सकेर खेल्न पनि निस्कँदैन बरु आमालाई भान्छाको काममा सघाउँछ । यदि आमाले “पर्दैन बाबु ।” भन्नुभयो भने “के आमा ! छोरा मान्छेले घरको काम गर्नु हुँदैन र ? मलाई काम गर्न दिनुहोस् न” भनेर भन्छ । छोरी मान्छेलाई मात्र जूठो चुल्हो गर्न लगाउने पितृसत्तात्मक परिवेश आकाशलाई पटक्कै मन पर्दैन ।

अझ आकाशको एउटा बानीले त देख्ने सुन्ने सबै चकित पर्छन् । ऊ देशलाई चौपट्ट माया गर्छ । कतै विकास निर्माणको कार्य भइरहेको देख्यो भने दङ्ग पर्छ आकाश । कुनै विपत्तिमा देश फस्यो भने उसलाई साह्रै नरमाइलो लाग्छ । राष्ट्रलाई सदा हृदयमा सजाएर पूजा गर्छ आकाश । यति कलिलो उमेरमा नै धर्तीको माया गर्न जानेको आकाशलाई देखेर कोही उत्साहित हुन्छन् भने कोही “हाम्रा देशका नेताहरू पनि सबै आकाश जस्तै भए कति सुन्दर हुन्थ्यो मुलुक” भन्छन् ।

आकाश परोपकारी पनि उत्तिकै छ । कोही गरिब घरमा आयो भने ऊ धेरैथोक दिएर पठाउँछ । ऊ असल भएका कारण त्यसो गर्दा आकाशका आमा रिसाउनुहुन्न बरु स्याबासी दिनुहुन्छ । आकाशलाई ठूलो भएर धेरै पढेर देशको सेवा गर्ने रहर छ । हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो सुन्दर देश नेपालको सबैतिर घुम्ने सपना छ उसको । आकाशका बाबु सरकारी कार्यालयमा अधिकृत हुनुहुन्छ । उहाँले छोराको सपना पूरा गरिदिने वाचा गर्नुभएको छ । त्यसैले आकाश आफ्नो बुबादेखि औँधी खुसी छ ।

आका शिक्षक शिक्षिकाले जुनसुकै विषय पढाउँदा पनि ध्यान लगाएर सुन्छ । एकदिन शिक्षकले भ्रष्टाचारको विषयमा पढाउनुभयो । त्यसपछि उसले भ्रष्टाचार बढेकै कारण हाम्रो देशको विकास द्रुततर गतिमा हुन नसकेको कुरा थाहा पायो । फेरि उसले “राष्ट्रसेवकले अवैध रूपमा जनताबाट पैसा लिएर मात्र काम गर्नु भ्रष्टाचार हो” भन्ने कुरा पनि जान्यो । त्यति नै खेर उसले आफ्नो बाबालाई सम्झ्यो । बाबाले धेरै सम्पत्ति कमाएर घर, घडेरी र गहनाहरू जोडेको कुराले उसको मनमा चिसो पस्यो ।

बेलुकी बाबा अफिसबाट र्फकने बित्तिकै आकाशले जिज्ञासा राख्यो- बाबा हजुरको तलब कति छ ?’ बाबाले ट्वाल्ल पर्दै भन्नु भयो “किन र बाबु ?’

उसले फेरि प्रश्न गर्‍यो- “के हजुरको तलबले हामीलाई यति धेरै खर्च गर्न पुग्छ त ?

बाबा अवाक् हुनुभयो । उहाँलाई हीनताबोध र लज्जाले एकैपटक ढाक्यो । बाबाले मुखै खोल्न नपाई आकाश बोल्यो ः-

“बाबा ! थाहा छ राष्ट्र सेवकले भ्रष्टाचार गर्नु हुँदैन रे । हजुर पनि राष्ट्रसेवक हगि ? हजुर भ्रष्टाचार गर्नुहुन्छ त ? नगर्नोस् है ? थाहा छ हजुरले भ्रष्टाचार गर्नुभयो भने हामी मात्र धनी हुन्छौँ, देश त झन् गरिब हुन्छ अनि जनतालाई पनि सुख हुँदैन । बरु हामी हजुरले जति कमाउनु हुन्छ त्यतिबाट नै पुर्‍याएर खर्च गरौँला । हजुर बिर्सेर पनि दुराचारी नबन्नोस् है ?”

यति सानो बच्चाको यति गम्भीर कुरा सुनेर आकाशका बाबालाई आफूले घुस खाएर कमाएको सम्पत्तिप्रति पश्चाताप जाग्यो । आजैदेखि राष्ट्रको सेवा निःस्वार्थरूपले गर्ने र घुस कहिल्यै नखाने अठोट मनमनै गरेर मुस्कुराउँदै छोराको मुखमा हेर्नुभयो र आकाशलाई भन्नुभयो- ‘हुन्छ बाबु ! तिमीले मेरो आँखा खोलिदियौ । अबदेखि म कहिल्यै भ्रष्टाचार गर्दिन । “आकाशको मन हर्षले पुलकित भयो । बाबाले उसको ढाड थप्थपाएर स्याबासी दिनुभयो । आकाश ढुक्क भएर बाबाको काखमा पल्ट्यो र भुसुक्क निदायो । यति असल र देशभक्त छोरा जन्माएकोमा उहाँले आफ्नी पत्नीलाई धन्यवाद दिनुभयो र आफू पनि फुरूङ्ग हुनुभयो ।

मुना २०६७ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *