आफ्नो देशको स्वाधीनता, संस्कृति र स्वअस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर आफूलाई लोकहितमा समर्पित गराउने व्यक्तिलाई नै ‘सहिद’ भनिन्छ । प्रत्येक वर्ष माघ महिनामा हामी यस किसिमका सहिदहरूको संस्मरण गर्दै सहिद दिवस मनाउने गर्दछौँ । एकतन्त्रीय राणा शासनलाई समाप्त पारी प्रत्येक नागरिकलाई स्वतन्त्र र स्वाधीन तुल्याउने दिशामा समर्पित भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ सर्वसाधारण सबैलाई उनीहरूको मौलिक हक दिलाएर स्वतन्त्र र स्वाधीन तुल्याउन अग्रसर थिए । उनीहरूले राणा शासनबाट भइरहेको शोषण, अन्याय र अत्याचारको खुलेर विरोध गरे । न्यायपूर्ण, समतामूलक र शोषणरहित समाजको स्थापनाका दिशामा आफूलाई क्रियाशील तुल्याए । यस कार्यमा अघि बढ्दा उनीहरू कुनै पनि किसिमको धम्की र प्रलोभनमा परेनन् । बहादुरीपूर्वक आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्दै गए ।

मानिसले अन्याय गर्नु पनि हुँदैन र अन्याय सहनु पनि हुँदैन भन्ने मान्यता उनीहरूको थियो । यसका साथै मानिसले आफ्नो स्वार्थपूर्तिका लागि कहिल्यै पनि देश र जनतालाई हानि हुने किसिमको काम गर्नु हुँदैन । हामीले सधैँ उन्नतिशील कार्य गरेर देशलाई अघि बढाउनुपर्छ । यसका लागि सबैले परिश्रमपूर्वक काम गर्न पाउनुपर्छ । राष्ट्रले प्रत्येक नागरिकलाई यस दिशामा अग्रसर हुने स्वतन्त्रता प्रदान गर्नु पर्दछ । यसको अभावमा देशको चौतर्फी विकास हुनसक्दैन । प्रजातन्त्र र स्वतन्त्रताको अभावमा कुनै पनि नागरिकले आफ्नो विकास आफैँ गर्नसक्ने समुचित वातावरण पाउन सक्तैनन् । यस किसिमका विचारहरूले नै उनीहरूलाई अघि बढ्न अग्रसर तुल्याएको थियो । यही कारणले आफ्ना क्रियाकलापहरूका माध्यमबाट सम्पूर्ण नेपाली समाजमा राष्ट्रिय चेतना जगाउने कार्यमा उनीहरू आजीवन समर्पित रहे । नेपाल आमाको असल छोरोको रूपमा आफूहरूलाई चिनाए । आफूलाई अमर तुल्याए । आफ्नो जन्म र जीवनलाई सार्थक पारे । नेपाली इतिहासमा सदा संस्मरणीय र वन्दनीय व्यक्तित्वका रूपमा देखापर्न सक्षम भए ।

यस किसिमका होनहार राष्ट्रिय व्यक्तित्वहरूलाई राणा-शासकहरूद्वारा पक्राउ गरी उनीहरूलाई सर्वस्वसहित मृत्युदण्डको फैसला सुनाइयो । उनीहरूमाथि राजद्रोह र देशद्रोहको अभियोग लगाउने काम भयो । वास्तवमा उनीहरू राजद्रोही र देशद्रोही थिएनन् । आफ्नो मातृभूमिमा बस्ने सबैको सर्वतोमुखी विकासका लागि नै उनीहरू अग्रसर भएका थिए । राणा शासकहरूको अन्याय, अत्याचार र उत्पीडन आदिको विरोध उनीहरूले गरेका थिए । यसले राणाशासकहरूको स्वार्थमा ठेस लाग्न पुग्यो र उनीहरूलाई अंश सर्वश्वसहित मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । त्यो दिन वि.सं. १९९७ माघ ६ गतेको दिन थियो ।

यसपछि वि.सं. १९९७ माघ १० गते राति शुक्रराज शास्त्रीलाई पचली (टेकू) को एउटा रूखमा झुन्डयाएर फाँसी दिइएको थियो । माघ १३ गतेका दिन धर्मभक्त माथेमालाई सिफलको एउटा रूखमा झुन्डयाएर फाँसी दिइएको थियो । यसपछि वि.सं. १९९७ माघ १४ गतेका दिन दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली ठोकेर मारिएको थियो । यही दिनलाई संस्मरण गर्दै हामी प्रत्येक वर्ष माघ १० गतेदेखि सहिद सप्ताह र माघ १६ गतेका दिन सहिद दिवस मनाउने गर्दछौँ ।

यसरी फैसला सुनाइएको चार दिन पनि पुग्दा-नपुग्दै उनीहरूलाई फाँसी दिने क्रम सुरु भएको थियो । यस्तो अवस्थामा पनि राणा शासकहरूसँग माफी मागेर उनीहरूका सामु घुँडा टेक्नुभन्दा आफ्नो प्राणको आहुति दिन मन पराएर हाम्रा सहिदहरूले जसरी र जुन रूपमा रगतको बीउ रोपे त्यसैको परिणाम स्वरूप वि.सं. २००७ सालामा देशमा स्वतन्त्रता र प्रजातन्त्रको बोट उम्रिन पुग्यो । राणा शासकहरूको अन्याय र अत्याचार मात्र समाप्त भएन राणाशासन नै ढल्यो । यसरी प्राप्त भएको स्वतन्त्रता र प्रजातन्त्रको संस्थागत विकास गर्दै अघि बढ्ने क्रममा देशमा समय-समयमा विभिन्न किसिमका बिघ्न बाधाहरू सिर्जना गरियो । यो बिघ्न-बाधा हटाउने क्रममा धेरैले आफ्नो जीवन बलिदान दिँदै आए । यसपछि वि.सं. २०४६ को जनआन्दोलनको क्रममा होस् वा २०६२-२०६३ को जनआन्दोलनको क्रममा नै किन नहोस् – यस किसिमका प्रत्येक आन्दोलनमा हाम्रो देशका अनेकौँ व्यक्तिले लोकतन्त्रको संस्थागत विकासका लागि आइपरेको स्थितिमा आफ्नो जीवन बलिदान गर्नु परे पनि पछि पर्ने नगरेको अनेकौँ उदाहरण पाइन्छ ।

वास्तवमा लोकतान्त्रिक, न्यायपूर्ण र समतामूलक समाज स्थापना गर्ने सहिदहरूका सपना अझै पनि पूर्ण रूपमा साकार हुनसकेका छैनन् । यस अवस्थामा हामीले प्रत्येक वर्ष माघ महिनामा ‘सहिद दिवस’ वा ‘सहिद सप्ताह’ मनाएर मात्र सहिदहरूको सपना साकार हुनसक्ने विषय बन्न सक्तैन । सहिदहरूले सोचेको जस्तो नेपालको नवनिर्माण अझै हुनसकेको छैन । यसका लागि उनीहरूले देखाएको बाटोमा हामी सबै अग्रसर हुनसक्नुपर्छ । त्यो बाटो भनेको हामी सदैव प्रगतिपथमा अघि बढ्नु हो ।

देशका प्रति सबै मानिसमा समर्पणभाव देखिनुपर्छ । जसरी सहिदहरूले आफ्नो वैयक्तिक स्वार्थको कुनै पर्वाह नगरी सबैको भलाइका लागि आफूलाई अग्रसर तुल्याएका थिए-त्यस किसिमको त्याग र समर्पणबिना देशको विकास सम्भव हुँदैन । देशको विकास नभएमा नागरिकहरूको जीवन सुखी र सम्पन्न बन्न सक्तैन । त्यसैले देशमाथि आइपरेको विघ्नबाधा हटाउन सबै नागरिकको ऐक्यबद्ध प्रयत्न हुनुपर्छ । शोषण, अन्याय र अत्याचारको बाटो समातेर जनतामा भय, त्रास र असुरक्षाको वातावरण फैलाई आफ्नो स्वार्थ पूरा गरेर देशलाई नै खोक्रो बनाउनेहरूको सदैव विरोध गर्नुपर्छ । हामीले सदैव उन्नतिशील कार्य गरेर सहिदहरूको आत्मालाई हँसाउने प्रयास गर्नुपर्छ । यसो गर्न सकिएको स्थितिमा नै हामीले सहिदहरूप्रतिको आफ्नो कर्तव्य पूरा गर्नसक्छौँ र सहिदहरूप्रति वास्तविक सम्मान पनि अभिव्यक्त गर्न पुग्छौँ । यस क्रममा कवि भूपि शेरचनको “सहिद रोलान् हामीले उन्नति गरेर नगए” भन्ने उक्तिलाई सदैव संस्मरण गरी जीवनभर यसलाई आत्मसात् गरी अघि बढ्नसकेमा नै हामीले हाम्रा सहिदहरूको वास्तविक सम्मान गरेको ठहरिने छ भन्ने यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन ।

मुना २०६७ माघ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *