सधैँभरि हातहरू दिन्छन् मलाई साथ
त्यसैले त मन पर्छन् मलाई मेरा हात ।
खुरुखुरु काम गर्छन् अह्राउनासाथ
रिसै उठोस् तर यिनले हान्दैनन् है लात ।
पियाउँछन् पानी यिनै खुवाउँछन् भात
गुडाउँछन्, उडाउँछन् होसियारी साथ ।
खोस्री-खनी पार्छन् यिनै अनाजको रास
बगैँचामा गराउँछन् बिरुवाको नाच ।
लेखिदिन्छन्, गराउँछन् परीक्षामा पास
खन्छन् यिनै बाटाहरू परिश्रम साथ ।
आशीर्वाद दिनुपर्दा छोइदिन्छन् साथ
दुबैभाइ एक हुन्छन् नमस्तेका साथ ।
केही गरी जगत्मा नभए यी हात
बातै मात्र हुन्थ्यो क्यारे उन्नतिको बात ।
सधैँभरि हातहरू दिन्छन् मलाई साथ
त्यसैले त मन पर्छन् मलाई मेरा हात ।
मुना २०६७ माघ
