त्यहाँ बाटाको बीचैमा हूल छ । हूलमा सबैखाले युवक छन् । हातमा शस्त्रअस्त्र अर्थात् लठ्ठी, खुकुरी, फलामको सिक्री, डण्डी आदि लिएर उफ्रिरहेका छन् । त्यहाँबाट कोही पनि जान सकेका छैनन् र आउन पनि । तिनीहरू कराइरहेका छन्-के के आवाज हो के के ! स्पष्ट सुनिने वाक्यांश भनेको -‘इथनिक स्टेट’ सेल्फ स्टेट मात्र हो ।
त्यहीबेला एक बूढा मान्छेलाई त्यहाँबाट अर्को टोल जानुपर्ने भएको छ । बूढा ८० वर्षका हुँदा हुन् । लौरो टेकेर तिनी त्यही हूल अगाडि उभिन पुग्छन् । हूलमध्ये एक कुनाबाट उपद्रे, मुन्द्रे बूढाको अघिल्तिर आई उभिन्छ ।
-क्या हो बूढा, ज्यानको माया छैन ?
– किन र बाबु ?
-देख्दैनौं क्या हो ! यहाँ हाम्रो आन्दोलन भइरहेको !
-कस्तो के आन्दोलन ?
-इथनिक स्टेट मागको ।
-त्यो भनेको के नि बाबु ?
-त्यो भनेको स्वायत्त प्रदेश हो ।
-ए………!
ती बूढा विमूढ उभिन्छन । ए मात्र बोलेर जान खोज्छन् तर राज्यवादी कर्णधारले रोकिदिन्छ ।
-हैन हो, बूढा त अटेरी पो रहेछ ।
-कतै यो बूढो सरकारी जासुस पो हो कि क्या हो ?
-होला होला ।
-नछोड बूढालाई ।
-ठोक्ठोक् ।
एक नाइके निशम्भुले खुकुरी उज्याएर बूढाको टाउकामा छुवाउँदै नाप्छ, मानौं खसीको गर्दन एकै झमटमा छिनाउनु छ । बूढामा तैपनि त्रास देखिएको छैन । बरू जुगुुप्सा वा ग्लानिजस्तो देखिएको छ ।
-यो के हो बाबु ?
-पहिला तिमी भन, तिमी जासुस हौं वा सङ्घीयताको विरोधी हौं वा के हौं ?
-बाबु, म चिम्सेमा मगर हुँ । थेप्चेमा राईलिम्बू हुँ । चुच्चेमा बाहुन हुँ । क्रोधमा छेत्री हुँ । बोलीमा नेवार हुँ । कालोमा मधेसी हुँ । गोरोमा गुरुङ हुँ । वर्णमा सेर्पा हुँ र यस्तैयस्तै सम्पूर्ण जातमा म नेपाल हुँ ।
युवामञ्च २०६७ फागुन
