काठमाडौ, चैत्र ११ –
विभिन्न कालखण्डहरूमा पढिइएका कथाहरू एकमुष्ट बदलिएको परिवेशमा पुनर्पठन गर्दा एक प्रकारको ‘फ्ल्यास ब्याक’ जस्तो हुँदो रहेछ । मेरो सक्रिय पत्रकारिता युगका सहकर्मी मित्र सरोजराज अधिकारीका फुटकर कथाहरूको ओजिलो संग्रह ‘रूपबजारकी नोरा’ पढ्दा त्यस्तै अनुभव गरें । संग्रहका दस कथाहरूमध्येका एक ‘फतुमाको बुर्का’ की मूलपात्र फतुमाले बुर्का लगाएजस्तै ‘शार्दूल’ उपनामको बुर्का लगाएर चल्तीका अखबारमा कथा लेख्दै आएका सरोजको वास्तविक नाममा प्रकाशित ‘रूपबजारकी नोरा’ पढेपछि मैले उत्तरआधुनिकतावादी सिद्धान्तकार ज्याक डेरिदाले सुझाएझैं फरक र चलायमान अर्थहरू भेटंे तिनै कथाहरूभित्र, जसमा मैले पछिल्ला कालखण्डमा अर्कै अर्थहरू देखेको थिएँ ।
सांग्रिला बुक्सद्वारा प्रकाशित ‘रूपबजारकी नोरा’ का दस कथाहरू विभिन्न कालखण्डहरूमा, सन्दर्भहरू र अझ भन्नुपर्दा कथाकारका मुडहरूमा लेखिएका हुन् । दस कथाहरूका पात्रहरू, सन्दर्भहरू र घटनाक्रमहरू भिन्दाभिन्दै छन् । कथाहरू एकअर्काबीच जेलिएका पनि छैनन् । तर, पनि यिनै कथाहरू एकमुष्ट पढ्दा मैले एउटा कुराचाहिँ टड्कारो खुट्याएँ, कि कथाकारले नेपालको उथलपुथलपूर्ण समयलाई अभिलेखीकरण गर्दै छन् र उनी यो कर्म एउटा वाचकी (न्यारेटर) को भूमिकामा गर्दै छन् ।
कथाहरू पछिल्लो दशकयता लेखिएका हुँदा ‘रूपबजारकी नोरा’को केन्द्रबिन्दु राजनीति हो, जसलाई कथाकार स्वयंले भूमिकामा प्रस्ट्याएका छन् । त्यसैले कथानकहरू सशस्त्र द्वन्द्व, राजनीतिक संक्रमण, राजाको ‘कू’ र राजतन्त्रको पतनको सेरोफेरोमा बुनिएका छन् । तर, रमाइलोचाहिँ कथाको केन्द्रबिन्दु राजनीति रहँदारहँदै पनि कथाको सेरोफेरो भने समाज रहेको छ । मुलुकको हिंसात्मक र अनिश्चयपूर्ण राजनीतिको प्रभाव समाजमा परेको हुँदा राजनीतिले तहसनहस पारेका पात्रहरूको उठान ‘रूपबजारकी नोरा’ मा गरिएको छ । ‘मङ्गला’ कथाकी मूल पात्र मङ्गला यस्तै पात्र हुन् जो साँढेरूपी राज्य र विद्रोहीको जुधाइमा पिल्सिएकी एक अकिञ्चन नारी हुन् । पति र पुत्र दुवै गुमाएकी मङ्गला बोकोलाई पतिवत् र पुत्रवत् प्रेम गर्छे । ‘मङ्गला’की मङ्गला पतिसँगको प्रणयको कल्पनाले जति रत्तिन्छे त्यति नै पतिसँगको असामयिक वियोगले तड्पिन्छे । यस कथामा कथाकारले भाषा र काल्पनिकीको सुन्दर प्रयोग गरेका छन् । जसरी भूपिले ‘मैनबत्तीको शिखा’ मा एउटी विधवाको सुहागरातको कल्पनालाई प्रस्तुत गरेका छन् ।
कथाको अर्को पाटो पात्रहरूको छनोट र तिनका प्रवृत्तिहरू हुन् । हुन त एउटा कथाको नाम नै ‘पात्रहरू’ छन्, जसका पात्रहरूका नामहरूले उनीहरूको कर्मलाई नै व्यङ्ग्य गरेका छन् । जस्तै ः जीवयन्ता संवेदनाहीन यान्त्रिक जीवन बाँच्न अभिशप्त क्याबिन रेस्टुराँकी वेट्रेस हो । विजयश्वरी द्वन्द्वमा निर्दोष लोग्ने गुमाएकी विधवा हो । आशामाया जीवनमा सबै आशाहरू गुमाएपछि आत्महत्या गर्न खोजेकी वृद्धा हो । पवित्रादेवी जमिनदारहरूले तन्नाझैं माडेकी एउटी बँधुवा मजदुर हो । उता ‘दूतावासबाहिर प्रेम’ कथाका कविपात्र बैरागी काइँलाको ‘मातेको मान्छे’झैं सडकछेउको कन्डम पोको पारेर फालिएको फोहोरको डंगुरमाथि तुर्काउँछ । त्यो पात्र भन्छ, ‘२ सय ४० वर्षदेखि हाम्रो पुर्खाले एउटै काम गर्यो । बीचमा १ सय ४ वर्ष त हाम्रो जागिर नाम मात्रको थियो, काम अर्कैले गर्थ्यो । फेरि पछि हामीले नै काम सम्हाल्यौं ।’ (पृष्ठ ५०) कथा पढ्दा ती पात्र को हुन् पाठकले प्रस्टै खुट्याउन सक्छन् । यसरी वास्तविक पात्रहरूको उपस्थितिले कथालाई एकातिर जीवन्तता दिएको छ भने अर्कातिर वास्तविकतालाई आख्यानको लेप लगाइएको देखिन्छ । ‘रूपबजारकी नोरा’ संग्रहका कथाहरू पढ्दा त्यसमा उभ्याइएका पात्रहरू को हुन् भनेर खुट्याउन पाठकलाई कुनै हम्मे पर्दैन । जस्तै, ‘एक घची रामदेवसे पुछम्’ का २०५१ सालको मध्यावधि निर्वाचनमा बर्दियाबाट जित्ने काशीराम, उनलाई टिकट मिलाइदिने त्यसै जिल्लाका रामदेव, अनि कोटेश्वरमा बस्ने त्यसै पार्टीका महासचिव को हुन्, प्रस्टै बुझ्न सकिन्छ । कथाकारको यो शैली चोटिलो भए पनि कतिपयलाई ठाडो लाग्न सक्छ ।
‘रूपबजारकी नोरा’ पढ्दै जाँदा सबैभन्दा उल्लेखनीय पक्ष कथाकार अधिकारीको भाषाको मीठास हो, जसका कारण ९४ पृष्ठको यो संग्रह एक बसाइको पठनमा सकिन्छ । उदाहरणका लागि केही कथाका केही हरफहरू प्रस्तुत गर्न सकिन्छ, ‘साँघुरो झुपडीभित्र दुई प्रकारको गन्ध महसुस गर्थी फातुमा, बाबुको मुखवाट रक्सीको र आमाको शरीरबाट आलो रगतको ।’ (पृष्ठ २८) ‘अचम्मको छ यो कविको जात पनि । कविता सुनाउन कतिलाई चिया पिलाउनुपर्छ मान्छेहरूले उडाएर जात्रा हुन्छ । एउटा कविता सुनिदिने मान्छे हत्पती फेला नपरेर आफैंले पढ्दै, सुन्नै गर्नपर्छ तर शासकले भने यिनै कविका कविता पढेर जेल कोच्छ । शासक, सेना, पुलिस, गुप्तचर पो रहेछन् त कविताका असली पारखी ।’ (पृष्ठ ६८)
कथानक र भाषाका कारण ‘रूपबजारकी नोरा’ सुरुचिपूर्ण छ पढुन्जेल । चोटिला वाक्य र व्यङ्ग्यवाणले कथाकारले समाजका नेता र अगुवा भनाउँदा समाजका ठेकेदारहरूलाई ठहरै पारेका छन् । र, यसो गर्दा उनले आफ्नो राय पनि लादेका छन् कथामा । कथानक, काल्पनिकी, शिल्पका दृष्टिले कथाहरू अब्बल छन् । तर, विधाका दृष्टिले चाहिँ केही अन्योल देखिन्छ । किनकि, ठाउँठाउँमा आख्यानकारमाथि निबन्धकार हावी भएको देखिन्छ । सायद ‘रूपबजारकी नोरा’ को सामर्थ्य र कमजोरी पनि यही हो । हुन सक्छ पेसाले पत्रकार रहेकाले यथार्थको नजिक पुग्ने प्रयासका कारण पनि रिपोर्टिङको छिटा कथामा परेको हुन सक्छ ।
प्रकाशित मिति: २०६७ चैत्र १२ ०८:१५
