२००७ साले क्रान्तिले जीवनका विभिन्न समस्याहरूमा लेख्न नेपाली साहित्यलाई ढोका खोलिदिएको कुरा सबैमा विदितै छ । क्रान्तिपछिको तत्कालीन साहित्य नाराबाजी साहित्यको प्रभावमा रहृयो जो क्रान्तिपछिको समयमा पाइने प्राय धेरै मुलुकहरूसरहको तथ्य हो । क्रान्तिपछिको समय सँगसँगै नेपाली साहित्यमा धेरै प्रवृत्तिहरू देखापर्न थाले । प्रगतिशील साहित्य क्रान्तिपछिको तत्कालैको समयमा नाराबाजी साहित्यको बोलबालामा रहेकाले बाहिर फष्टिएर आउन सकेन । पछि बिस्तारै जीवनका बहु समस्या र बहु पक्षलाई लिँदै प्रगतिशील साहित्य अगाडि बढ्न लाग्यो । ‘०७ सालअघि सामान्य लक्षणहरू लिएर बसेको व्यक्तिवादी साहित्य यता प्रगतिशील साहित्यको विकासमा केही कारणवश रहेको सुस्तताका कारणले व्यक्तिवादी साहित्यको प्रवृत्तिलाई प्रवलरूपमा देखाउने प्रयासहरू हुन थाले । यही प्रयास अन्तर्गत २०२१ सालतिर जगदीश शमशेरले नेपाली साहित्यको बाटोमा “अहम् ब्रहृमाष्मि”को भावना लेख्नु पर्ने कुरा उठाउन लागे । साहित्यमा सामाजिक यथार्थको प्रवृत्तिले साहित्यका कुण्ठावादलाई बढाएको छ भन्ने उनको जोडतोडको स्वर रहन गयो । तेही समय धनुषचन्द्र गौतमले पनि सामाजिक जीवनको नवीन परिवेशलाई निरुत्साहित गर्दै व्यक्तिवादी परिधिभित्र रहेर साहित्यको मूल्याङ्कन सम्बन्धमा कुरा गरेर यस्तै प्रवृत्तिलाई अगाडि बढाउन साथ दिए ।
नेपाली साहित्यमा उपस्थित यस्ता प्रवृत्तिले ‘०७ सालको प्रजातान्त्रिक क्रान्तिले जीवनका अन्यअन्य पक्षहरूमा झैँ साहित्यलाई नयाँ परिवेशमा उपस्थित गरिदिएको वातावरणलाई रूमल्याउने काम भयो । सामन्ती राणाको हुकुमी एकतन्त्रतीय शासनको सङ्कुचित घेरामा थुनिएका नेपाली जनता आफ्नो परिवेशमा यथार्थिक साहित्यको निर्माणसँगै नवयुगले ल्याएको जीवन इतिहासको निर्माण चाँडै होस् भन्ने चाहन्थे तर यसरी व्यक्तिवादी साहित्यतर्फ ढकिलिने प्रवृत्तिले व्यक्तिवादी साहित्यको रूझान बलियो बन्न थाल्यो प्रगतिशील साहित्यको उत्तोत्तर विकासमा यो बाधक बन्यो र कतिपय प्रगतिशील साहित्यकारहरू रनभुल्लमा पर्दै दिग्भ्रमित बन्न पुगे । यहीबेला प्रगतिशील साहित्यको पक्षमा रहेका कतिपय समालोचकहरू पनि सशक्त भएर साहित्यभित्रको यो कमी र कमजोरीलाई उजागर गरेर आउने अवस्थामा रहेनन् । कतिपयले त प्रगतिशीलताको नाम चाहिँ रटे तर कामचाहिँ जीवनका बहु पहलुहरूलाई लिएर लेखिएको साहित्यमा सही समझ र दृष्टिकोण राख्नेभन्दा मुक्तकष्ठले एकोहोरो तारिफ गर्ने काम मात्र गरे । तत्कालीन समयमा आफूलाई प्रगतिशील समालोचक भन्ने तारानाथ शर्माले ‘अनुराधा’ नामक विजय मल्लद्वारा लिखित उपन्यासको मूल्याङ्कन गर्दा यस उपन्याससित सम्बन्धित परिवेशको कुनै अध्ययन बिना नै ‘अनुराधा’ जस्तो उपन्यास दस वर्ष लेखिँदैन भन्ने मुडेबलको प्रदर्शन गरे । प्रगतिशील समालोचनाको पक्षको स्वयम् घोषित अर्का व्यक्ति आनन्ददेव भट्टले पनि प्रगतिशीलताको नाम त खुब लिए तर आफ्नो मूल्याङ्कनमा यसका चरित्रहरूलाई बुझ्न असमर्थ रहँदा उपरोक्त कमी र कमजोरीलाई नै साहित्यमा प्रोत्साहित गर्न पुगे । यहाँ यी नाम लिएका व्यक्तिहरू मात्र नभई त्यतिबेला प्रगतिशीलताको रटानमा बसेका यस्ता धेरै व्यक्तिहरू छन् जसले प्रगतिशील साहित्यको विकासमा अज्ञानतावश यस्ता क्रियाकलापहरू गर्न पुगे- सबैको यहाँ नाम उल्लेख गर्न आवश्यक छैन । यसरी प्रगतिवादको नाममा कोरा कुराहरू धेरै भए जसले यसको समुचित विकासमा बाधा पुर्यायो ।
तर जसरी विस्तारै ‘०७ सालले खोलेको साहित्यिक क्षितिज समयको विकाससँगै माझिँदै जान लाग्छ, जीवन-पक्षलाई लिएर बोल्न लागेको नेपाली साहित्यलाई पहिले समान व्यक्तिवादी साहित्यको घेराभित्र फन्को मार्ने काम निरुत्साहित हुन थाल्दछ । जनजीवन पक्षीय साहित्यको बढावामा व्यक्तिवादी रुझानतफर्का साहित्यकारहरूको प्रगतिवादी साहित्यले साहित्यको रूप, कौशल एवम् कला, कौशलको विकासमा बाधा पुर्याउँछ भन्ने स्वरहरू खुब घन्किन थाल्दछन् । धेरै पहिलेदेखि यस्ता कुरा गर्दै आउने जगदीश शमशेर र ईश्वर बरालका रचनाहरू त प्रगतिवादी साहित्यलाई यसबेला हमला गर्ने गरेर आएका देखिन्छन् । त्यसबेला मैले आफ्ना रचनाहरूमार्फत् प्रगतिवादको सही व्याख्या, विश्लेषण र मूल्याङ्कन नेपाली साहित्यमा प्रस्तुत गरेर यसको योगदानमा सहयोग पुर्याउँदै प्रगतिवादी साहित्यलाई डोर्याउने अथक प्रयास गरेकी हुँ । जगदीश शमशेर र ईश्वर बरालसँग डटेर साहित्यिक बहस गर्दै प्रगतिवाद सम्बन्धमा सही मूल्याङ्कन र विचारधारा राख्ने काम मबाट भएको हो त्यसबेलाका पत्रपत्रिका विषेश गरेर ‘रूपरेखा’ मा मेरा लेखहरू छ्याप्छ्याप्ती छापिएका हुन् । नेपाली समाजको विकासको गतिलाई हेर्न सक्ने साहित्यकारहरूको उपजलाई नेपाली साहित्यमा देखिएको त्यसबखतको यस प्रवृत्तिले सधँै रोक्न सक्ने कुरा थिएन जनजीवनलाई लिएर बोल्ने साहित्यकारहरू दिनहुँ बढ्दै गए । व्यक्तिवादी साहित्य दुर्बल हुँदै गयो । तैपनि व्यक्तिवादी साहित्यको रुझान कमजोर बन्न पुगे पनि यसले बेला मौकामा टाउको उठाउने काम भने गरिरहृयो । ०७ सालको क्रान्तिपश्चात्को पाँच दशकमा आज पनि यो नेपाली साहित्यमा कमजोरै भएर बसेको छ भन्न मिल्दैन । प्रगतिशीलपक्षले यसलाई कम गरेर आफ्नो काम गरे या आजको समयको प्रगतिवादको गति एवम् चरित्रलाई सशक्त रूपले प्रस्तुत गर्दै नेपाली साहित्यको मूल्याङ्कन गर्दा यसको सही स्वरूपलाई राख्ने तथा उजागर गर्ने कार्यमा सानो त्रुटि मात्र रहे पनि प्रगतिवादले आफ्नो बाटोमा समस्यै-समस्या झेल्न पुग्नु पर्दछ । नेपाली साहित्यको विकासमा यसले पुर्याउने बाधा हाम्रो निम्ति ठूलो खतरा हुनेछ किनभने आज नेपाली साहित्य आफ्नो प्रगतिको विकाससँगै विश्व इतिहासको प्रगतिको दाँजोमा पुग्ने जमर्को राख्ने अभियानको नवीन खोजीमा छ ।
जन आन्दोलन ०४६ र दोस्रो जनआन्दोलन २०६२-२०६३ ले यस्तो पृष्ठभूमि, सामाजिक विकासको क्षेत्रको निर्माण आज गरिसकेका छन् जसको नेपाली साहित्यकारहरूले उपयोग गर्नुपर्दछ ।
कुनै पनि राष्ट्रको आफ्नो जीवनदर्श्ान हुनुपर्दछ । दर्श्ानसँगसँगै सिर्जनात्मक प्रक्रियाको प्रार्दुभाव हुने गर्छ । आजको नौलो क्षितिजमा प्रगतिशील र क्रान्तिकारी साहित्यको नाममा फेरि नारावाजी साहित्य र कोरा तथा सपाट चित्रणहरूको कुरा गर्दै साहित्यमा यस्ता प्रवृत्तिलाई प्रोत्साहन दिने कार्य भए आजको साहित्यले खोजेको नवीन अभियान अगाडि बढ्ने छैन । आज यदाकदा प्रगतिशील साहित्य एवम् क्रान्तिकारी साहित्यको कुरा गराइमा नारावाजी साहित्य एवम् कोरावादको गन्ध र सन्देश बराबर आएको पाइँदैछ । समयमै चनाखो भएर साहित्यमा उपस्थित यस प्रवृत्तिलाई अगाडि बढ्नबाट रोक्न सक्नुपर्दछ ।
सानेपा, ललितपुर
मधुपर्क २०६७ चैत
