गाउँको सिरिखुरी बेच्दा पनि बीसोटा हजार हात नपर्ने घर र घडेरी छोडेर होटलमा भाँडा माझ्दै बी.ए. पास गरेका र लोकसेवा आयोगको तर मारेका एक जना नकच्चरोले एक दिन कुरैकुरामा भने – ‘हेर्नोस् गोविन्दजी, परीक्षा पास गर्नुस्, कति हुलाक कुर्नुहुन्छ ? अर्थ, गृह, मालपोत, यातायाततिर छिर्नोस्’ हुन पनि धोती न टोपीका यी नकच्चराले डोटी मालपोतदेखि छोटी भन्सारसम्म रोजीरोजी कहाँ चहारेनन् ? यिनका घरघडेरी मात्रै कति छन् कति ! भनिन्छ, यिनले घर बनाउँदा गाह्राभरि सुनका इँट्टा लुकाएका छन् । पैसाका बिटा विदेशतिर हुत्याएका छन् । पाँचोटा छोरा अमेरिका छिराएका छन् । कसरी कमायौ भन्दा यिनले छोराछोरीको भिसा झ्यालको सिसामा देखाउँदै जुँगा मुर्साछन् । धन्य प्रभु ! छेपाराका झैँ रङ फेर्न सिपालु यी कृपालुलाई मान्छेहरू जुँगे खरदार पनि भन्छन् । नाक नभए पनि जुँगाले शान राख्दोरहेछ भन्ने कुराका यी ज्वलन्त प्रमाण हुन् । जहाँ गयो उहीँ नकटी पट्याउन खप्पिस यी खरदारले हाकिमको भुँडी बोकेका कति फुँडीहरूलाई मेरी स्टोप्समा लगेर खलाँस पारेका छन् । फुँडी देखेपछि असाध्यै काउकुति लाग्छ । हाकिमको हाउगुजीसँग यी किन डराउँथे । आन्द्राभुँडी सबै जानकारी राख्थे । को कति फुँडीको भुँडी तुरीतुरी भयो यिनले दिएको फाँटबारी सुन्दा कसरी यत्रो घरबारी जोडे सुँघ्न गाह्रो पर्दैन । नाक लामो भयो भने रौँ र सिँगानका खोस्टाले बाधा पुर्याउँदोरहेछ । नाकै काटिदिनोस् हृवाङहृवाङ्ती प्वाल पारेर छोड्नोस् त, तीन कोस परको गन्ध थाहा पाउँछ । कोठामा छिर्न नपाउँदै फाइलको गन्ध सुँघ्न सिपालु यी जुँगे खरदारलाई मैले त्यसै न्वारान गरेको होइन ।
यस्तै सबका आदरणीय अर्का पात्र छन् । उनी जन्मदै मावलीको अपुताली स्याहारेका हुन् । उनी कोखमा छँदै मामा माइजू दुवै पालैसँग खसे । तीन बिघा खेत र धौले घर यिनका नाममा पर्यो । वंश परम्पराले यी घरज्वाइँ बस्न रुचाउँछन् । त्यसैले यिनका लागि धूमधामसँग कन्याको खोजी भयो । सात पुस्ता भयो यिनका पुर्खाले अपुताली स्याहार्न थालेको । यी के कम हुन्थे ? घरज्वाइँ बस्न खरसाङ पस्न पनि यी तयार थिए । सुँघ्ने र रुङ्ने कुरामा नम्बरी यी अपुतालीप्रसादले त्यस्तै सरजाम पनि जम्मा गरेका थिए । छिमेकमा अपुताली पर्ला-पर्लाजस्तो थियो, नभन्दै अपुताली नै पर्यो । कन्याको बढ्दो वैँस सँगसँगै यिनको सपना पनि क्रमशः झाँगिदै गयो । बार्दलीमा बसेर सुसेल्नेदेखि झ्याल खोलेर उरेल्ने गर्दा समेत हैरान परेका यी अपुतालीप्रसादले तन्त्रमन्त्रतिर ध्यान दिए । दिनदिनै गाईको घ्यू पुर्याउने कामदेखि बूढाको गोडामा दाम राखेर ज्यू गर्ने सामनीतिको प्रयोग गर्न समेत यी हतारिन थाले । धन्य प्रभु ! बूढाको मन च्छो रोल्पा तालको हिउँ पग्लेझैँ पग्ल्यो । नौनीका डल्ला र माल पट्याउन गल्ला पठाउनै परेन । अहिले पाँच-पाँचओटा राँडीको सम्पत्ति यी दुवै दम्पतीले स्याहारेर अर्बपति भएका छन् । नकटासँग कसको के लाग्छ ?
तपाईँले नकटा नकटीहरूको बथान क्याविन रेष्टुरेण्टहरूमा देख्नुभयो होला । कालो बजारियाका कन्तुर र तुलामा भेट्नुभयो होला । होइन, मठमन्दिरदेखि जेलका जन्जिरसम्म जरा गाडेको छ यसले । यो औधि फस्टाएको क्षेत्र राजनीति पनि हो । यो समाजमा जन्मन्छ, ब्यूरोक्रेसीमा झाँगिन्छ र राजनीतिमा नाङ्गिन्छ । यो फेरि कुरूपताको विषय पनि होइन । सुन्दरी नाङ्गिएजस्तै नाङ्गिन्छन् नेपालका नकटाहरू ! क्षम्य तरिकाले कृत्य-कृत्य बनेका छन् नकटाहरू । नकटाको अर्थ के हुन्छ मैले शब्दकोश हेरेको छैन । तर हामी बहुमतमा विश्वास गर्छौ । नाक नभएका नकच्चराहरूको भीडमा तपाईँ नाक ठड्याएर हिँड्नै सक्नुहुन्न । जेलमा गएर साधु बन्न सक्नुहोला तर नाक नकाटी संसद भवनभित्र समेत छिर्न सक्नुहुन्न । नाक ठड्याएर अफिसको कुर्चीमा अण्डकोष थचार्न सक्नुहुन्न । वेश्यालय धाउन र सङ्गतिको जस पाउनै सक्नुहुन्न । के सङ्गत, के विसङ्गत ! यहाँ तपाईंले बुझेका धेरै विसङ्गतिहरू सङ्गत भइसके ।
जातले जे भए पनि पेसाले राँड हुनेहरू कति होलान् यो देशमा ? जे जसरी होस् यो देशमा नकटा-नकटीहरू भारी बहुमतमा छन् । कति आकर्षक हुन्छ यस्ता राँडहरूको जिन्दगी । यी पनि चिल्लाफुस्रा सुकेका हुँदारहेछन् । विशेषतः नाक नभएका नकटा-नकटीहरूले बजार लिएको छ । यिनीहरूको नाक विदेश निर्यात हुन्छ । उनीहरू डलरको खेती गर्छन् । तपाईँ भन्नुहोला नाक पनि कोही किन्छ ? किन नकिन्नु ? नाक खरिद गरेर साख गिराउन सकिन्छ भने सय लाख खर्च गरे हुन्छ । अहिले नाक नभएका कतिपय पत्रकारहरूले विदेशको हौवा खडा गरिदिएका छन् । हाम्रा नाकहरू विदेश निर्यात भए भनेर भन्दैछौं । यस्ता नाक नभएकाहरूको स्वास्नी को हुन्छ ? जसरी नाक निर्यात हुन्छ । त्यसरी नै नकटा वा नकटीहरू विदेश निर्यात हुन्छन् । यस्तै नकटा नकटीहरूलाई मैले चिल्ला राँड वा चिल्लीराँड भनेको हुँ । नाक खरिद गर्नुको अर्थ मान्छेको अस्मिता खरिद गर्नु हो ।
यस्तै एउटी राँड थिई । उसलाई फेसबुक खोल्ने रहर जागेछ । अहिले फेसबुकमा धेरै नकटानकटीहरूको नाक बिक्री भएको छ । त्यसैले उनीहरूसँग नाक छैन । नाक प्रदर्शन गर्दैनन् । नकटाको खासै त्यस्तो स्टेटस् पनि हुँदैन । घरमा स्वास्नी हुने नकटाले विवाहित भनेर पनि खोल्दैन । छोराछोरी त परैका भए । त्यस्तै नकटीहरू फेसबुकमा बग्रेल्ती भेटिन्छन् । उनीहरू निश्चित थर राख्छन् । अभ्यन्तरमा आफ्नो नाकको नेटवर्किङ मात्र गर्दैनन्, डेटिङ पनि गर्छन् र उनीहरूलाई प्लेब्वाइसँग च्याट गर्दा गौरव र आनन्दको अनुभूति हुन्छ । यस्ता किलरहरू नाक खरिद गर्न माहिर मानिन्छन् । आम नकटीहरू यस्ता सेक्स किलरहरूसँग सपना र विपनामा रमाउँछन् । यौन आनन्द लिन्छन् । अँ भन्दै थिएँ यस्तै एउटी राँडले इमेलमार्फत् आफ्नो नाक नर्वेको एउटा नकटोलाई प्रेषित गरी । नकटाले फोटो हेर्यो ठीकै जस्तो लाग्यो । उसको इच्छा नर्वे पुग्ने थियो । जेजसरी होस् नकटाले स्पोन्सर गरिदिए हुन्थ्यो भन्ने सपनामा ऊ हराई । अनेकौँ नकटीहरूसँग यौन आनन्द लिन पल्केको नर्वेली नकटालाई यो नेपाली नकटीसँग आनन्द उठाउने अभिप्रायले स्पोन्सर गर्यो । डकुमेन्ट तयार भयो । ऊ सबै छोडेर नर्वे उडी । त्यहाँ पुगेपछि चलाख नकटाले भर्जिनिटीमा प्रश्न उठायो र पछिसम्म ऊसँग सम्बन्ध बढाउन चाहेन । घरमा सबै बितिसकेको थियो । ऊ अहिले नर्वेका वेश्याकोठीहरूमा आफ्नो नाक बेच्छे ।
यस्ता अनेकौँ नाक नभएका नकटाहरूको नाक फेसबुकमा देख्न पाइन्छ । उनीहरूको दिमागमा सिँगान हुन्छ । नाकै नभएपछि सिँगान दिमागमा नगए कहाँ जान्छ ? हेर्ने चश्मा पनि हुँदैन ।
अड्याउने ठाउँ पनि रहँदैन । कति नकच्चराहरू राम्रो पोजका फोटा राखेर यस्ता नकटीहरूको व्यापार गर्छन् । रोमान्समा हराउँछन् । दैनिकजसो सिरानीमा राख्ने फोटाहरू फेसबुकमा राखेर केटा पट्याउने कला पनि उनीहरू जान्दछन् । ठीक त्यस्तै नाक नभएका नेताहरू विदेशी राजदूतावासमा नाक प्रेषित गरेर नाक छोप्दै गाउँघरतिर डुलेको पनि देखिन्छ । अक्सर यस्ता नकटाहरू गाउँमा पुग्दै पुग्दैनन् । पुगे पनि नाक छोपेर बाटो काट्छन् । जनता कराउँछन् भनेर होइन नाक काटिएको नकटो देखेर जनता डराउँछन् भन्ने मनोविज्ञानले काम गरेको छ । अतः फेसबुककी नकटी र देशभित्रको राजनीति उस्तैउस्तै हुन् ।
नकटाहरूको सार्वभौम अर्थ छैन । यसको सापेक्ष अर्थ हुन्छ । कहिलेकाहीँ नकटाहरूको खोजी गर्न आफैँ पनि नकटो बन्नुपर्दोरहेछ । जस्तो देश छ, त्यस्तै भेष भनेझैँ लङ्गडाको देशमा खुट्टो उचाल्नु र कानाका देशमा गए आँखा चिम्लनु भनेको साँच्चै रहेछ । पानी पिउन भट्टीमा जाने मान्छे कस्तो होला ? नाङ्गाको देशमा कपडाको मूल्य के होला ? यसै भएर होला सात सालतिर एउटा कविले साँढे चढेका थिए । दिउँसै लालटिन बोकेर सडक चाहरेका थिए । मलाई पनि नाङ्गै हिँडु कि भन्ने झोक नचलेको कहाँ हो र ! यसरी हिँड्दा नाक मात्रै देखिदैन भएभरको आङ पनि देखिन्छ भ्वाङ पनि भेटिन्छ । म नाङ्गै हिँडे भने मलाई नकटो भन्लान् भन्ने डरले नहिँडेको हूँ । म नाङ्गै हिँड्न पाउने कि नपाउने ? यो देशको प्रणालीले मलाई जवाफ दिने पनि होइन । यो संसार नाङ्गो छ, मान्छेहरू नाङ्गै छन् । यसै भएर हाम्रा जोगीहरू नाङ्गिन्छन् । नेताहरू कहिलेकाहीँ म जोगी हुन राजनीति गरेको होइन भन्छन् । यसको सट्टा म नाङ्गिन राजनीति गरेको होइन भनिदिए कति राम्रो हुन्थ्यो ।
नकटाको अर्थ निर्लज्ज पनि हुन्छ । यो नाक काटिएको प्राणी हो । यो कहिलेकाहीँ नेप्टो पनि हुन्छ, चेप्टो पनि हुन्छ, बाङ्गो पनि हुन्छ । नाङ्गो त हुने नै भयो । प्रश्न उठ्छ नाक नै काटिएको छ भने अन्यत्र जिन्दगी डुब्छ । सातपुस्ता पिर्छ भन्छन् । बरु मुर्कट्टा बन्न ठीक । भएभरको सिँगान दिमागमा हुलेर डुल्नुभन्दा मुर्कट्टा नै वेश । यस्ता मुर्कट्टाहरू राति देखिन्छन् भनिन्छ । ती भूतप्रेत पिशाच होइनन् । यस्तै नकटाहरू हुन् । नाक काटिएको छ भने आफ्नो टाउको बाउको सामुन्ने पनि राख्न सकिन्न । छोप्नुपर्यो । अण्डकोष देखिएर फरक पर्दैन तर नाकै छैन भने त्यति पीडादायी हुन्छ । अतः यस्ता नकटाहरू टाउको छोपेर हिँड्ने गर्छन् । हामी भ्रमवश लौ आज मुर्कट्टा देखियो भन्छौँ ।
सभासद्हरूलाई म संविधान बनाउने सल्लाह दिन्न । ऐन र नियम बनाउने सुझाव दिन्न । बनाउनोस् नाक । जन्माउनोस् नाक । अन्माउनोस् नाक । जोगाउनोस् नाक । किनकि नाक भएकै कारण म नाङ्गै नहिँडेको हुँ । नाक भएकै कारण मेरो बाउले दिएको यो तीन कौडीको टाउको छोप्दै नहिँडेको हुँ । निधारमा टीको र कलमको डिको दिन सिकाएको यही नाकले गर्दा हो । संसारभर सारा नियमहरू समाप्त होउन् तर नाकको सभ्यता र मर्यादा समाप्त नहोस् । संसार चल्छ । यो धर्ती रहुञ्जेल चल्छ । इतिहासमा नाक काटिएको घटना पनि सुन्न पाइन्छ । नाक काटेपछि मार्नु पर्दैनथ्यो । मान्छेहरू आफैं मरेतुल्य हुन्थे ।
नकटो बन्न हतपत को तयार हुन्छ ? नकटो देखिन कोही चाहँदैन । कुकुरहरू पनि नकटा हँुदैनन् । पशुपक्षीहरू पनि मर्यादा उल्लङ्घन गर्दैनन् । मैले एउटा कुकुर्नी पालेको थिएँ । त्यो कुकुर्नी वैँशले तम्तमाउँदो उमेरकी थिई । जो पायो उही कुकुर उसँग हिमचिम बढाउनै नसक्ने । एकदिन प्रातः ४ बजेतिर म मर्निङ वाकमा थिएँ । एउटा लर्के प्रौढ कुकुर मेरा पछि-पछि यात्रामा सँगै पछि लागेको थाहा पाएँ । त्यो दिन मैले वास्ता गरिनँ । अर्को दिन पनि त्यस्तै गर्यो । ऊ मसँग केही चाहिरहेको, खोजिरहेको छ जस्तो भान दिन्थ्यो । मेरा पैतालामा ढोग्ने, सुँघ्ने, चाट्ने र पुच्छर हल्लाएर क्रमशः जिब्रो निकाल्ने गर्न थाल्यो । हप्ता दिनपछि मैले शङ्का गरेँ । कतै घरकी कुकुर्नीसँग उसको प्रेम त परेन । प्रणय कलामा प्रवीण रहेछ यो कुकुर । मायाप्रेम नै हो भने म बाधा किन बनूँ । यही सोचले गेट खोलँे र कुकुरलाई भित्र प्रवेश गराएँ । उसले पुच्छर हल्लाउँदै आफ्ना दुवै खुट्टा उचालेर मलाई अभिवादन गर्यो । सायद यो कुकुरको प्रवेश सँगसँगै अरू कुकुरहरू ग्लानिबोध गरिरहेका थिए तर आश्चर्य ! कुकुर्नीले यो इमान्दार कुकुरप्रति चासो नै देखाइनँ र ङुर्र ङुर्र आवाज निकाल्दै नजिकै पर्न दिइनँ । यसपछि यो कुकुर मेरा सामुन्ने कहिल्यै देखा परेन । मैले सोचें- भेटनरीको गर्भनिरोधक इन्जेक्सनले करामत गरेछ । कुकुर्नीमा कामवासना नै हरायो । मैले पछिसम्म यो कुकुर्नीलाई कुकुरका पछि दौडेको देखिनँ । कारण के थियो कुन्नि ! सायद घरको शिष्टता उल्लङ्घन र यौनसिर्जित अकर्मण्यताको प्रदर्शन ऊबाट भएन । यहाँ प्रश्न उठ्छ – के यस्तै इन्जेक्सन दिएर नकटानकटीहरूलाई रोक्न सकिन्न ? मैले गर्वको अनुभूति गरेँ । के मान्छेहरू मर्यादामा छन् ? के मान्छेहरू यसरी नै आफ्नो नाक राखेर हिँड्छन् ? मैले नकटाहरूलाई अघिल्लो कुकुरको इमान्दारिता र घरकी कुकुर्नीको यौन वितृष्णासँग दाँजेर हेरें । मैले यस्ता धेरै नकटानकटीहरूको समाजमा बसेर नजिकैबाट अध्ययन गरेको छु । पैसठ्ठीले नेटो काट्दा पनि चिटिक्क परेर हिँड्नु, कालो चश्मा, प्रोटोकलबिनाको टाई र कालै कपाल यी केका निम्ति ? केटी देख्नेबित्तिकै कुममा हात राखेर हिँड्न खोज्ने, घरमा ओशोका चक्काहरू बजाउने र फोटो टाँस्ने, भनेर र बोलेर पुग्ने ठाउँमा छोएर काम अह्राउने यी कलाका पारखीहरूको मनोवैज्ञानिक अध्ययन गर्दा दुइटा कुरा देखियो – या त यिनीहरूको नाक सँगसँगै अण्डकोष छ, या त यिनीहरूको नाक अण्डकोषमा छ ।
नकटो हुनु प्राकृतिक कुरा हो, नैसर्गिक विषय पनि हो । नकटोपन र यौन पर्याय होइनन् । तैपनि कतिपय नकटाहरू जोडिन्छन् । मान्छे जस्तो छ त्यस्तै हुन दिने हो भने ऊ जति अराजक अर्को कोही भेटिने छैन । समुद्रमा तैरिरहेको हिउँको ढिस्को जस्तै हो मान्छे । जहाँको ९५ प्रतिशत भाग पानीमा छोपिएको अवस्थामा छ भने ५ प्रतिशत मात्र सतहबाहिर छ । यो अमूर्त अदृश्य भागको प्रतिनिधित्व आम नकटा नकटीहरूले गर्दछन् । सम्झनोस् नाक मात्र सतहबाहिर छ । अरू सबैभित्र छन् । यो नाक पनि भित्र पस्यो भने नाक काटिन्छ । फेरि नकटानकटीहरूलाई नै नाकको औधि माया छ । अरू सग्लो नाक खोज्नै पर्दैन । तपाईंको नाक नकटा-नकटीहरूले नै काटिदिन्छन् । आफूजस्तै अरूलाई देख्न चाहने हरेक नकटा नकटीहरूको गोजीमा अण्डकोष झुण्डिएको छ छैन तर तपाईँको नाक काट्ने कैंची भने अवश्य नै झुण्डिएको हुन्छ । सावधान !
पोखरा-
मधुपर्क २०६७ चैत
