नेपाली नाट्य, कला र सङ्गीतमा ज्यादै कम्ती पुस्तकहरू लेखिएका छन् । सैद्धान्तिक, व्यवहारिक ज्ञानबाहेक यी विषयका अनुसन्धानात्मक कृतिहरूको त झनै ठूलो अभाव छ । नेपाली सङ्गीतको साङ्गोपाङ्गो अध्ययन गरी लेखिएको कृति ‘नेपाली सङ्गीतका एक शतक’ पाठकसामु ल्याउने काम गरेका छन् सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीले । यस पुस्तकको मूल उद्देश्य सय वर्षयता नेपाली सङ्गीतको विकासक्रम र कालखण्डलाई केलाउनु रहेको देखिन्छ ।
नेपाली सुगम सङ्गीतको आरम्भ सन् १९१० देखि भएको पाइन्छ । ग्रामोफोनको जमानामा सेतुराम र मेलवादेवीको उदयसँगै नेपाली सङ्गीतले नयाँ गोरेटो पहिल्याउने काम गर्यो । यसलाई थप गोडमेल गर्ने काम मित्रसेन, मास्टर रत्नदास प्रकाश, उर्मिलादेवीहरूले गरे । वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि भने नेपाली सङ्गीतमा नयाँ मोड देखियो । मुलुकभित्रै गीत रेकर्डिङ हुन गाइएका गीतहरू रेडियोमा प्रसारितसमेत हुने गर्नाले यसमा आकषिर्त हुने जमात एकाएक बढ्यो । यस क्रममा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद, प्रथम गायिका रानुदेवी, सङ्गीतकार नातिकाजी, कोइलीदेवी, अरूणा लामा, नारायणगोपाल, तारादेवी आदिले नेपाली सङ्गीत आरोहणमा मानक स्थान बनाए । यस कृतिमा सयौँ सङ्गीतसाधकको आगमनको पृष्ठभूमिलाई खोतल्ने काम मात्र भएको छैन, तिनको प्रभाव र योगदानको प्रशस्त चर्चासमेत भएको छ । यस कृतिमा हरेक दशकको नेपाली सङ्गीतलाई छुट्टाछुट्टै अध्ययन गरिएको छ । साठीको दशकको पूर्वाद्धमा देखापरेको साङ्गीतिक प्रवृत्ति र तिनको प्रभावसमेत समेटिएको छ । कतैकतै भने उनले विवादित कुराको उठान गरेका छन् । जस्तै – उनले नेपाली पपगीतलाई आधुनिकतावादको अपूर्ण प्रोजेक्ट भनिदिएका छन् । यो थप बहसको विषय हुनसक्छ । यो इतिहास अभिलेखीकरणसमेत भएकोले महत्त्वपूर्ण ठाउँमा लेखकले स्रोत खुलाइएका भए अझ राम्रो हुने थियो ।
योबाहेक नेपाली सिनेमाको सङ्गीत, प्रतिनिधि सङ्गीतकर्मीहरूको भिन्न चर्चा र एफ.एम. रेडियोको सन्दर्भ यस कृतिको थप वैशिट्य बनेको छ । प्रकाश सायमी नेपाली गीत-सङ्गीतमा देखापरेका एक यस्ता अध्येता हुन् जो पछिल्लो समयसम्म ‘अपडेट’ भइरहन सक्छन् । नेपाली सङ्गीतकर्मीहरूसँगको बाक्लो उठबस रुचाउँछन् र नेपाली सङ्गीतलाई सूक्ष्म आँखाले हेर्न जान्दछन् । उनको प्रत्यक्ष संलग्नता साहित्य र चलचित्रसँगै समेत रहेकाले उनले नेपाली सङ्गीतलाई सघनरूपले बुझ्न सकेका हुन् । ‘नेपाली सङ्गीतको एक शतक’ उनको पहिलो बुझाई होइन । यसअघि पनि उनले ‘नेपाली सङ्गीतको स्वणिर्म युग’ पुस्तकमार्फत् आफ्नो दृष्टिकोण प्रस्तुत गरिसकेका छन् । अहिलेको उनको प्रयास अझ सार्थक देखिएको छ । यसले नेपाली सङ्गीतको विगत र आगतसँगै अनागतको आँकलन गर्नसमेत बाटो बनाइदिएको छ ।
कृति ः नेपाली सङ्गीतको एक शतक
लेखक ः प्रकाश सायमी
प्रकाशक ः भावक अभियान नेपाल
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः १७६ + १४
मूल्य ः रु. २५०।-
मधुपर्क २०६७ चैत
मधुपर्क २०६७ चैत
