Skip to content


नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे । कविता साधनामा प्रतिवद्ध कवि अच्युत घिमिरेको भज्याङमा उभिएर कविता सङ्ग्रहभित्र वर्तमान समयको सिङ्गो प्रतिविम्ब उपस्थित भएको पाइन्छ । कवि स्वयम् युवा भएको हुँदा कवितामा कतै प्रेम, कतै विद्रोह र मानवीय स्वभावहरू सूक्ष्मरूपमा चित्रण भएको कवितामा भेटिन्छ । यसै कृतिभित्रबाट उनको कविताको एक अंश ः

चराले कहिल्यै आकाश मेरो हो भन्दैन
पानी मेरो हो भन्दैन
धर्ती मेरो हो भन्दैन
चराले देश भत्काउने कुरा गर्दैन

कवितामा कतै एकदमै प्रभावशाली विषयको उठान छ भने विम्ब, प्रतीक र अङ्कारले कविता सुसज्जित पनि छन् । तर कतै भने सुधारका बाटाहरू पनि थुप्रै भेटि्टन्छन् । देशको वर्तमानलाई नियाल्दै कवि अच्युत घिमिरे आफ्ना कविताहरूमा एकदमै चिन्तित देखिन्छन् –

उफ् दुःख थियो
अभाव थियो
छटपटी थियो
मरभूमिमा रूपान्तरित कुनै देश थियो ।

साहित्यिक हल्ला र पुरस्कारको दौडबाट टाढा रहेर चुपचाप काव्य साधनामा समर्पित भएर अघि बढी रहनु भएको छ । घिमिरे किताबको आवरण सज्जादेखि अन्य विविध प्रक्रिया सन्तोसजनक नै छ । कविताहरूको छनोट र सम्पादन प्रक्रियामा भने ध्यान दिनुपर्ने देखिन्छ । उनका कविताले पाठकलाई जीवनप्रति उत्साही तुल्याउँछन् ।

पुस्तक ः भज्याङमा उभिएर (कवितासङ्ग्रह)
कवि ः अच्युत घिमिरे
प्रकाशक ः सुरभि साहित्य प्रतिष्ठान
संस्कारण ः २०६७ असार
पृष्ठ ः ८८+७
मूल्य रु ः १२५।-

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *