मिर्मिरे उज्यालोलाई
कुल्चनेहरू
अनन्तसम्मका
सुन्दर सम्भावनाहरूलाई
फोहरमा फाल्नेहरू
उत्साहित फूलका बगैँचाहरूमा
बिहान बिहान
पातमा टल्किने
शीतका थोपाहरू
झुल्के घाममा टल्कँदा
आफ्नै आँखामा
नलुकाएर
निर्मम खस्न दियौ भुइँमा ।
रात रातभरि
नसुतेको रातसँग
पौठेजोरी खेल्दै
बल्ल तल्ल ब्युँतिएको
बिहानीको
तातोघामको तीरले
मेरो कोठाको झ्याल
छिचोलेर उन्मादी
शैलीले मलाई
अभिवादन गर्दा
मेरा आँखा
सुस्तरी खसे
एउटा वैंसालु
कालो गुलाफको बोटमा ।।
मधुपर्क २०६७ चैत
