समय नदीजस्तै बग्छ । दिनहरू माछाजस्तै चिप्लन्छन् । निरर्थक भोटाहरू फाट्छन् । मान्छेहरू उँधो बगाएर उँभो खोज्छन् । मौका खुस्केपछि पश्चताप र पीर गर्छन् । लगनपछिको पोतेको के काम ?
‘धेरै पढेर ठूलो मान्छे भएस् !’ हजुरबा, हजुरआमा दसैँको टीकामा निधारभरि राता अक्षता टाँसेर टोपीमा पहेँला जमरा घुसार्दै आर्शीवाद दिन्थे । ‘कति धेरै पढाइ र कति ठूलो मान्छे ?’-उसको बाल मस्तिष्कले धेरै र ठूलोको गणित बुझ्दैनथ्यो । उसले राम्रो पढेर प्रथम क्षेणीमा एस.एस.सी.उत्तीर्ण गर्यो । आई.एस्सी र बी. एस्सी. सकेर एक वर्षे बी.एड. गर्यो ।
अपेक्षाकृत उसले धेरै पढेन र ठूलो मान्छे भएन । अर्थात् ठूलो पदमा पुगेन र पैसा कमाएन । जीवनको आधा बाटो पार गरेपछि साथीहरू र पढाइको सापेक्षामा आफ्नो जिन्दगीको लेखाजोखा गर्यो । प्राथमिक शिक्षा पूरा नगर्ने उसका साथीहरू विदेश गएर मालामाल भए र सहरतिर बसाइँ सरे । अन्डर एस.एस.सी. केही साथी नेता र ठेकेदार भएर धेरैमाथि पुगे । माथि भन्नाले कोही कञ्चनजङ्घा त कोही सगरमाथा । विज्ञान क्याम्पसमा भर्ना भएर पनि आई.एस्सी. पढ्न नसकेर आई.एड. र बी.एड.पढ्ने उसका साथीहरू तुरुन्त विद्यालय निरीक्षक भए । अहिले बढुबा भएर धेरैजना जिल्ला शिक्षा अधिकारी छन् । शिक्षा सेवा आयोगले आठ वर्षपछि बल्ल नतिजा प्रकाशित गर्यो । तब मात्र स्थायी मा.वि. शिक्षक भएर दुर्गमको एउटा विद्यालयमा अहिले ऊ चक-डस्टर घोटिरहेछ । उसका कतिपय साथी हलो जोतिरहेछन् र केही साथी ढाकरमा साहुको भारी बोकिरहेछन् । यी साथी उसको सम्झनामा कहिल्यै आउदैनन् । उनीहरूको जीवनसित आफ्नो जिन्दगीलाई कहिल्यै तुलना गर्दैन ।
यो असन्तोषी मान्छेको स्वाभाव नै यस्तै रहेछ । ‘अगाडि मात्र देख्ने, पछाडि फर्केर कहिल्यै नहर्ने !’
कृष्णगर्त, खोटाङ
युवामञ्च २०६७ चैत
