आ-आफ्ना देवता उनी ठूला भक्त थिए ।
बिहान साँझ भगवान्को पूजापाठ नगरी भोजन ग्रहण गर्दैनथे । फुर्सद भएका बेला ज्ञान ध्यानका विषयमा प्रवचन पनि दिन्थे ।
‘हामी सबैका मनमा भगवान् छन् । हामी सबैको आत्मा भगवान्को रूप हो । त्यसैले एकले अर्कालाई भगवान् सम्झेर माया, दया र आदर गर्नुपर्छ ।’ प्रवचनमा प्रायः यस्तै कुरा हुन्थे । भक्तजनले दिएको भेटी र प्रसादका कारण भौतिक सम्पत्तिको कुनै कमी थिएन ।
‘महाराज एक सातादेखि राम्ररी खान पाएको छैन । भोकले गर्दा मेरो आत्मा र आत्माभित्र बसेका भगवान्लाई पनि सास्ती भएको छ । कृपया केही खानेकुरा दिएर सहयोग गर्नुहोस् ।’ एक दिन एक जना व्यक्तिले उनको अगाडि आएर बिन्ती गर्यो ।
महापुरुष ध्यान मग्न थिए । व्यक्तिको आवाज सुनेर आँखा खोले, व्यक्तिलाई हेरेर र भने-‘मैले मभित्र बसेका मेरै देवतालाई खुसी पार्न सकेका छैन, तिम्रा देवता खुसी पार्न तम्सुँ ?’
युवामञ्च २०६७ चैत
