म पैदल हिँडिरहेको बाटो निकै हिलाम्य छ । हो, म हिलाम्य बाटोमा हिँडिरहेको छु । मेरो अगाडि हिलो, मेरो पछिल्तिर पनि हिलो । चारैतिर हिलो । हिलोले भरिएको मेरो बाटो निकै चिप्लो छ । माछाको जीउमा पाइला चालेझैँ मेरो पाइला ठीक ठाउँमा पर्दैन । मेरो शरीर हल्लिएको छ । हिलोमा छ्यापछ्याप गरेर खुट्टा चाल्दै म हिँडिरहेको छु । यो हिँडिरहेको पाइलाले तान्दै मलाई कहाँ लगिरहेछ, मलाई थाहा छैन । साँच्चै यो बाटोको टुङ्गो कहाँ होला ? यसको प्रारम्भ कहाँबाट भयो ? कहाँ पुगेर यो टुङ्गिन्छ ? मलाई केही थाहा छैन । म त त्यसै हिँडिरहेछु, जहाँ बाटो गइरहेछ । जतिजति म बढ्छु, त्यतित्यति यो बाटो पनि अघि अघि बढिरहेछ । मलाई विश्वास छ, म नथाकुञ्जेल यो बाटो पनि थाक्ने छैन । म जति हिँडे पनि अगाडि बाटो छैन, भनेर त्यसले मलाई कहिल्यै निराश पारेको छैन । यसले सघैँ मलाई स्वागत गरिरहन्छ । त्यसैले यात्रा गर्न त मसित नै इच्छा, आत्मबल र धैर्य हुनुपर्छ । हो, यो हिलाम्य बाटोमा चिप्लिएर लड्न सक्छ । कुनै टुङ्गो नभएको बाटो हेर्दाहेर्दै निराश हुनसक्छ । त्यसो भनेर पछि हट्नु मेरो कमजोरी हो । यहाँ घनघोर पानी पर्न सक्छ । यहाँ भयानक हुरी आउन सक्छ । अझ अहिले नै भुइँचालो जान सक्छ । म उभिरहेको बाटो नै चर्किन सक्छ । मेरो टाउकोे माथिको आकासले नै मलाई थिच्न सक्छ । त्यसो हुन्छ भन्दैमा यात्रा रोकेर खाटमुनि लुक्नु कायरता होइन र ? म डरछेरुवा हुन चाहन्न । मर्नु अगावै लाश हुने मन छैन मलाई । मलाई यो हिलाम्य बाटेामा हिँड्ने मन छ ।

यो हिलाम्य बाटोमा हिँडिरहेकाहरू अरू पनि धेरैधेरै बटुवाहरू छन् । कोही त मजस्तै एक्लो, कोही दुक्लो त कोही समूह बाँधेर आएका । यो बाटोमा भेटिने प्रत्येक मोडमा कतिसित भेट हुन्छ, कति छुट्टएिर जान्छन् । कतिसित जम्काभेट हुन्छ, कति हराएर जान्छन् तर सबै हिँडिरहन्छन् । कोही सुस्त गतिमा त कोही छिटोछिटो लम्कन्छन्, कोही फटाफट हिँड्छन् । अनि सबै सतर्क-बाटोमा चिप्लिएर लड्ला भनेर । कुनै पनि बेला चिप्लिएर लड्न सक्छ भन्ने आशङ्काले सबै त्रस्त छन् । अय् अय्, ल ल, मेरो अघिल्तिर हिँडिरहेको बूढो लडिहाल्यो । च्व.. च्व.. हिलोमा डग्रङ्ग लडिहाल्यो । जीउभरि हिलोले लपक्क भिज्यो । उसले उठ्ने प्रयास गर्‍यो, सकेन । फेरि प्रयास गर्‍यो, सकेन । ऊ छट्पटायो । हेरिरहेकाहरू गलल्ल हाँसे । उनीहरूको हाँसोले आकास थर्कियो । थाहै नपाई म पनि हाँस्ोछु तर म हाँसेको त्यो बूढोलाई गिज्याउन होइन । ती हाँसिरहेका मान्छेहरूको ढङ्गलाई गिज्याउन । मान्छेहरूको सङ्कुचित मनलाई गिज्याउन । हो, जतिजति मान्छेको दिमाग फराकिलो हुँदै आउँछ उतिउति उसको छाती सङ्कुचित हुँदै गएको छ । उसले जतिजति ज्ञान हासिल गर्‍यो त्यतित्यति विवेक पनि हराउँदै गएको छ । अचेल मान्छेका मनहरूबीचको सम्पर्क टुटेको छ । मान्छेमान्छेबीच भएका सद्भावनाको गाँठो चुँडिएको छ ।

ओहो ! दया, माया, मानवता र विवेक कहींँ पर फ्याँकेर मान्छेहरू सभ्यताको अर्कै बाटोमा दौडिरहेका छन् । त्यसैले त्यो बूढोलाई कसैले पनि सहारा दिएर उठाउने प्रयास गरेनन् । बरु सबै आ-आफ्नै दार्‍हा देखाएर हाँसिरहे । उठ्न खोजेकालाई सहारा दिएर उठाउनुको साटो उभिरहेकालाई समेत छिर्की हालेर लडाउने अचेलका मान्छेहरूको मनोवृत्ति देखेर मलाई रिस उठ्छ । मान्छेहरूको स्वार्थीपनाको तातोले पोल्यो मलाई । मैले मान्छेको सभ्यताको बाटो निकै हिलाम्य देखेँ ।

परबाट मान्छेहरूको एउटा समूह मेरो आँखामा टाँसिन आयो । मनभित्र उत्सुकताको जरा पलायो । के भइरहेछ यो हिलाम्य बाटोमा । त्यो हूलमा गुञ्जिएको हाँसोले मेरो उत्सुकताको आगोमा घीउ थपिदियो । त्यसपछि त चालै नपाइ मेरो पाइला त्यो हूलतर्फ मोडियो । हूलछेउ पुग्नासाथ मेरा आँखा त्यहँा सबका सामु लडिरहेका दुई जना केटाहरूमा पर्‍यो । ती केटाहरू एकले अर्कोलाई हिर्काइरहेका छन् । ती दुवै जनाको ओठ फुटेको छ । दुवै जनाको लुगाको फेर च्यातिएको छ । अनुहार रगतले लथपथ छ तर सबै जना ताली बजाएर हलल्ल हाँस्दै मनोरञ्जन लिइरहेका छन् । मलाई भने अचानक मान्छेहरूले साँढे जुधाइरहेको चित्र सम्झना आयो । ओहो ती त साँढे होइनन् । पशु पनि होइनन् ती । ती त मान्छे । भोलिका खम्बा हुन् ती त । मेरो आँखाले त्यो दृश्य हेरिरहन सकेन । मैले हूललाई पन्छाएर तिनीहरूलाई छुट्याइ दिएँ । त्यसैबेला एउटाले कस्तो जान्ने मान्छे रहेछ कति मज्जा लिएर बक्सिङ खेलिरहेको ठाउँमा डिस्टर्व पो गर्न आउँछ भनेको स्वरले मलाई झसङ्ग पार्‍यो । बल्ल मैले बुझेँ तिनीहरू त्यसै ठट्टा गरी खेलको रूपमा मात्र लडिरहेका रहेछन् । मलाई अप्ठ्यारो लाग्यो । मेरो परिवेशले मलाई गिज्याइरहेको अनुभव भयो । रगतले लतपतिएर पनि ती केटाहरूको सुस्तरी हाँसिरहेको अनुहारले मेरो सोझोपनलाई लोप्पा खुवायो । साँच्चि मैले आफू बाँचिरहेको युगलाई चिन्न सकिनँ । आफ्नो युगलाई नै बुझ्न सकिनँ । ओहो ! कति आश्चर्यको कुरा -झगडा पनि एउटा खेल भइसकेछ अचेल । झगडा मात्र एउटा खेल, मनोरञ्जन लिने साधारण खेल । मान्छेले आफूलाई मन लागे जसरी खेल्ने खेल । मेरो जीउ नै सिरिङ्ग भयो, मान्छेहरूले हाइड्रोजन बम र न्युट्रोन बमको खेलौना बोकेर आफ्नै अस्तित्वसित पनि खेल खेल्न थालिसकेछ ।

सुस्तरी अघि बढिरहेका मेरा पाइला, चारैतिर दौडिरहेका मेरा आँखा, यताउता उडिरहेको मेरो मन यी सम्पूर्ण तर्सिने गरी अकस्मात मेरो पछाडि आइरहेको मोटरले जोडसित हर्न बजायो । पछिल्तिर फर्केको मेरा आँखाले एउटा राम्रो कार बेतोडले आफूतिर आइरहेको देखे । म तीब्र वेगले छेउ लागें । मोटर हुँइकियो साथै त्यसले छ्यापेर गएको हिलोले मलाई नुहाएर गयो । मेरो जीउभरि हिलो लाग्यो । मलाई झनक्क रिस उठ्यो । तर मैले गर्न नै के सक्छु ! हिलो छ्यापेर मोटर बेतोडले कुद्यो । केही गर्न नसकेर म वाल्ल परिरहेँ । मलाई लाज लाग्यो । नमज्जा पनि लाग्यो । किनभने मलाई लाग्यो कि, त्यो मोटरले मेरो कमजोरी, मेरो विवशतालाई हिलो छ्यापेर गयो । म कार हाँकेर हिँड्न सक्तिनँ, ट्याक्सी चढ्न सक्तिनँ । शायद त्यही नै मेरो विवशता, त्यही नै मेरो ठूलो कमजोरी हो । आजको युगमा मान्छे जोख्ने तराजु भनेकै पैसा भइसक्यो । पैसा भएको मान्छे मात्र बलियो, राम्रो, ठूलो हुन्छ यो युगमा । मलाई कस्तोकस्तो भयो । मेरो लुगामा लागेको दाग हेर्दाहेर्दै मलाई लाज लाग्यो । तैपनि मैले आफूलाई सम्झाएँ । त्यो गाडीले केवल मेरो लुगामा हिलो छ्याप्न सक्यो । मलाई छ्याप्न सकेन, मेरो हृदयमा छ्याप्न सकेन । त्यसैले मैले लाएको लुगामा जति नै फोहर हालिदिए पनि मेरो मन त पवित्र नै छ । मेरो हृदय त स्वच्छ नै छ । उनीहरूको धनको तुजुकले छ्यापेको हिलोले मेरो मुटुमा कहिल्यै पनि दाग लगाउन सक्तैन । मेरो आत्मामा कहिल्यै हिलो पोत्न सक्तैन । बल्ल मैले सन्तोषको सास फेरेँ ।

प्रत्येक मान्छे आफ्नो पद छाप छोड्दै यो हिल्याम्य बाटोमा हिँडिरहेको छ । जति पनि मान्छेहरूले यो बाटोमा टेकेका छन् ती सबैले आ-आफ्ना पदछाप छोडेर गएका हुन्छन् तर कालान्तरमा समयसँगसँगै तिनीहरूको पदछाप मेटिएर जान्छ । त्यसको ठाउँमा नयाँनयाँ पदछापहरू देखापर्छन् । त्यसैले यो हिलाम्य बाटोमा असङ्ख्य पदछापहरू देखिन्छन्, असङ्ख्य पदछापहरू मेटिन्छन् । त्यसैगरी म पनि आफ्ना पदछापहरू छाड्दै हिँडिरहेको छु । सासै फुल्ने गरी म यो बाटोमा हिँडिरहेको छु । अझै पनि म थाकेको छैन । मलाई पनि यो बाटोको गन्तव्यमा पुग्ने इच्छा छ । अर्को शब्दमा भन्ने हो भने मलाई अझै बाँच्नु छ । हो, जीवनको बाटोमा भेटिने अनन्त समस्याको हिलोमा चिप्लिएर धेरैधेरै जिन्दगीहरू ढल्न सक्छन् । तैपनि म समस्या देखेर वाक्कदिक्क भएको छैन । समस्याबाट हुने असफलता देखेर डराएको छैन । किनभने मलाई थाहा छ समस्या र असफलता नै नयाँ सिर्जनाको मुहान हो । मैले हिलोमा कमलको फूल फुलेको देखेको छु । हिलोमा नै रोपाइँ गरेर धेरै जिन्दगीहरू लहलहाएकोे मैले हेरेको छु । त्यसैले समस्या र असफलता भनेकै एउटा शृष्टि हो, एउटा सिर्जना हो । हो, जीवन देखेर मलाई वाक्क लागेको छैन । जीवनमा आइपर्ने समस्या देखेर विरक्त लागेको छैन । त्यसैले मलाई यो हिलाम्य बाटोमा हिँडिरहने इच्छा छ । अझ कहिल्यै नमेटिने पदछापहरू देखिनेगरी हिँड्ने आङ्काक्षा छ ।

अनुवाद ः ध्रुव मधिकर्मी

(नेपालभाषा साहित्यमा कविकेशरी चित्तधर हृदयबाट सुरु भएको आत्मपरक निबन्धलाई मलजल दिएर हुर्काउने कार्यमा विजयेश्वर बैद्यको नाम उल्लेखनीय छ । नेपाल-भाषाको पुरानो र प्रतिष्ठित श्रेष्ठ सिरपा (पुरस्कार) प्राप्त गर्ने उनी चौथा निबन्धकार हुन् । प्रस्तुत निबन्ध श्रेष्ठ सिरपा प्राप्त ध्याचःगु लँयः निबन्धसङ्ग्रहबाट अनुवाद गरिएको हो ।)

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *