Skip to content

एसियाली लेखक महासम्मेलन दिल्लीमा पूर्व-तयारी सन्दर्भ भने नेपालमा

  • by


एकदिन घरमा पुराना पुस्तक-पत्रिका आदि पल्टाइरहँदा संयोगवश मोटो जिल्दा भएको एउटा कापी पाइयो । कापी पल्टाएर हेर्ने बित्तिकै पहिलो पृष्ठमै ‘न्यु दिल्लीमा लेखक महासम्मेलनमा पठाउनेबारे प्रारम्भिक समितिको माइन्युट बुक २०१३ भदौ’ लेखिएको पाएँ साहित्यका पाठकको निम्ति यो अभिलेख ऐतिहासिक घटना भई अति महत्त्वपूर्ण हुनुको साथै नौलो र रोचक विषय पनि भएको हुँदा सोही माइन्युट बुकको आधारमा त्यस समितिद्वारा गरिन लागेको कार्ययोजनाबारे सङ्क्षिप्त विवरण प्रस्तुत गर्ने प्रयास यहाँ भएको छ ।

त्यसो त वि. सं. २०१२ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्यक्ष, सचिव विजय मल्ल तथा सदस्यहरूमा माधवप्रसाद घिमिरे, भीमदर्शन रोका र शङ्कर गार्गेय भएर काव्य प्रतिष्ठान नामक साहित्यिक संस्था गठन गरी त्यसको मुखपत्रको रूपमा माधवप्रसाद घिमिरेको सम्पादकत्वमा का.मे.अ. दर्ता नं. ७४ मा दरिई कविताप्रधान द्वैमासिक ‘इन्दे्रणी’ पत्रिकाको प्रकाशनसमेत भइरहेको थियो तर पनि निकट भविष्यमै भारतको राजधानी न्यु दिल्लीमा सम्पन्न हुन लागेको अभूतपूर्व र ऐतिहासिक एसियाली लेखक सम्मेलनमा नेपालबाट सहभागी बन्न जानका लागि कार्ययोजनाहरू तर्जुमा गर्ने पूर्व तयारीको सन्र्दभमा अलग्गै प्रारम्भिक समिति गठन भएको रहेछ । सो प्रारम्भिक समितिमा नेपाली साहित्यका १३ जना लब्धप्रतिष्ठित लेखक/कविहरू सम्मिलित भएका रहेछन् । जसअनुसार सो समितिमा सर्वश्री लेखनाथ पौडरयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, ईश्वर बराल, भवानी भिक्षु, शङ्कर लामिछाने, केदारमान व्यथित, नारायणप्रसाद बाँसकोटा र भीमनिधि तिवारी सदस्य रहनु भएको रहेछ ।

सो अभिलेखअनुसार प्रारम्भिक समितिको पहिलो औपचारिक बैठक वि.सं. २०१३ साल भदौ २६ गतेका दिन कवि शिरोमणि लेखनाथको निवासमा बसेको रहेछ । बैठकमा उपस्थित हुनु हुने सदस्यहरूमा सर्वश्री लेखनाथ, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, विजय मल्ल, शङ्कर लामिछाने, सिद्धिचरण र नारायण बाँसकोटा गरी जम्मा ७ जना मात्र भएको उक्त माइन्युटमा उहाँहरूद्वारा उपस्थिति जनाउन गरिएको हस्ताक्षरबाट थाहा हुन्छ ।

दोस्रो बैठक भदौ २९ गते बसेको रहेछ ।

सर्वश्री विजय मल्ल, शङ्कर लामिछाने, लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, ईश्वर बराल, बालकृष्ण सम, उपस्थित रहेको सो बैठकले महासम्मेलनको बैठकलाई जानकारी दिन तलका बुँदाहरू टिपेका रहेछन् ः

1. General report of exiting Literature special reference to women’s contribution and jurenile literature.

2. Writers and its trade.

3. Asian traditions with special reference to the probl´s of ´ergent Asia.

4. Cultural exchanges

जन्ल रिर्पोट तयार गर्नेबारेमा कमिटिका सबै सदस्यहरूबीच आपसी विचारविमर्शद्वारा पारित सुझावका आधारमा आश्यक परिवर्तन र परिमार्जन गरी एसियाली महासम्मेलनको सचिवालयमा पठाउने निर्णय गरिएको रहेछ । यसबाहेक सो महासम्मेलनको बैठकमा सहभागी बन्न जान आउने खर्चको मोटामोटी रकम देहायबमोजिम छुट्याएर अन्य काम कारवाही सम्पन्न गर्न केही उपसमितिहरू पनि गठन गरिएको रहेछ ।

सो ऐतिहासिक सम्मेलनमा १५ जनाको एक प्रतिनिधि मण्डल पठाउने निर्णय गर्नुका साथै अन्य खर्चको विवरण बैठकद्वारा स्वीकृत गरिएको रहेछ । सो अनुसार-

१. काठमाडौँ-दिल्ली-काठमाडौँ आउजाउ गर्न जवान १५ लाई जनही कं. रु. ३००।- दरले कं. रु. ४,५००।-

२. महासम्मेलनलाई चन्दा कं. रु. २,०००।-

३. ग्रुप मिटिङ कं. रु. २,५००।-

४. उपहार कं. रु. १,०००।-

सो महासम्मेलनबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको पनि केही ध्वनि मुखरित गर्ने उद्देश्यले उच्चस्तरीय नेपाली गद्य-पद्य सङ्ग्रह पनि सम्पादन गरी त्यसको अङ्ग्रजीमा समेत रूपान्तरण गरी अन्दाजी ५०० पृष्ठका दुइटा पुस्तक प्रकाशन गर्न निर्णय गरिएको रहेछ ।

प्रकाशन सामग्रीमा जीवित लेखक/कविहरूका रचना मात्रै समावेश गर्ने भनिएको छ । साथै सो पुस्तक प्रकाशित भइसकेपछि त्यसको बिक्री वितरणबाट प्राप्त लाभांशबाट लेखक/कविहरूलाई ५० प्रतिशतका दरले पारिश्रमिक दिने पनि निर्णय भएको रहेछ ।

उपरोक्त पुस्तक प्रकाशनार्थ तत्काललाई रु. ७,०००।- रकम छुट्याएको रहेछ ।

कार्य योजना मुताविक ८ सदस्यीय पद्य सङ्कलन समितिमा तलका व्यक्तिहरू चयन भएका रहेछन् – सर्वश्री कविशिरोमणि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण, ईश्वर बराल, माधवप्रसाद घिमिरे, नारायणप्रसाद बाँसकोटा एवं व्यथित ।

यसरी नै अनुवादकहरूमा ६ जना पनि देहायका महानुभावहरू सर्वश्री लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, बालकृष्ण सम, सिद्धिचरण, ईश्वर बराल तथा विजय मल्ल चयन भएका रहेछन् ।

त्यस्तै, ७ सदस्यीय गद्य सङ्कलन समितिमा सर्वश्री बालकृष्ण सम, गोठाले, शङ्करप्रसाद लामिछाने, नारायणप्रसाद बाँसकोटा, भीमनिधि तिवारी, विजय मल्ल र भिक्षु सदस्य बनेका छन् । त्यसरी नै अनुरवादकहरूमा गोठाले, लामिछाने, बाँसकोटा, विजय, सत्यमोहन जोशी र चित्तरञ्जनको नाम भयन गरिएको उल्लेख छ ।

माथि उल्लेखित रकमहरू जुटाउन ७ सदस्यीय एउटा चन्दा उपसमिति पनि गठन भएको रहेछ । जसअनुसार त्यसका सदस्यहरूमा सर्वश्री लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, व्यथित, गोठाले, माधवप्रसाद र नारायणप्रसाद बाँसकोटा आदि रहेका छन् ।

यी सबै कार्ययोजनाहरू राम्ररी सम्पादन भए, नभएको निरिक्षण गरी मूलसमितिमा प्रतिवेदन पेस गर्न ५ सदस्यीय रिपोर्ट कमिटी पनि गठन भएको रहेछ । सो समितिमा लक्ष्मीप्रसाद देवकोटा, ईश्वर बराल, सत्यमोहन, नारायणप्रसाद बाँसकोटा र विजय मल्ल रहेका छन् ।

प्रा. स. का. सभा हरेक हप्तामा बस्ने र सो बैठकमा उपसमितिहरूको प्रगति विषयमा छलफल गरी विवरण पेस गर्नुपर्ने जनाई यी कार्यहरू सर्वसम्मतिबाट स्वीकृत भयो भनी लेखनाथले बैठकको निर्णयको अन्त्यमा सही गरी टुङ्ग्याइएको छ ।

अन्त्यमा समितिको आगामी बैठक भदौ ३१ गते लेखनाथकै निवासमा बस्ने पनि निर्णय भएको रहेछ । प्राप्त अभिलेख यक्तिकैमा टुङ्गिएको छ ।

नेपाली साहित्यको प्रायः दिग्गजको रूपमा परिचित लेखक-कविहरू सम्मिलित भएर सामूहिक प्रयासमा प्रशंसनीय गृहकार्यको गुरुयोजना बने पनि ती केवल कागजी योजनामा मात्रै सीमित रहेको देखिन्छ । यस पङ्क्तिकारलाई थाहा भएसम्म उपर्युक्त बमोजिमको कुनै पुस्तक प्रकाशित भएको पाइँदैन ।

बरू यस पङ्क्तिकारलाई सम्झना भएअनुसार वि.सं. २०१३ साल पुस महिना तदनुसार डिसेम्बर महिनामा भारतको नयाँदिल्लीस्थिति विज्ञान भवनमा आयोजना गरिने यो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रथम पटक सहभागी हुन जान यही इन्द्रेणी पत्रिकालाई नै एसियाली लेखक सम्मेलनाङ्कको रूप दिने निधो गरियो । महत्त्वपूर्ण सम्पादकीयसहित ११ जना तत्कालीन विशिष्ट कविहरूका २८ वटा कविताको अङ्ग्रेजी अनुवाद गरी मूलसहित प्रकाशित गरियो । ती कविताहरू लक्ष्मीप्रसाद देवकोटा तथा भीमदर्शन रोकाद्वारा अङ्ग्रजीमा अनुवाद गरिएको थियो ।

यस ऐतिहासिक एसियाली लेखक सम्मेलनाङ्कमा समावेश गरिएका कविहरू हुन् -सर्वश्री लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, केदारमान व्यथित, मवीवी शाह, भीमनिधि तिवारी, जनार्दन सम तथा भीमदर्शन रोका ।

यस सङ्ग्रहले विशेष गरी आधुनिक नेपाली कविताका महत्त्वपूर्ण उपलब्धिहरू प्रथमपल्ट विदेशी पाठकसामु प्रस्तुत गर्‍यो । त्यसपछि लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा सर्वश्री बालकृष्ण सम, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, भवानी भिक्षु, ईश्वर बराल, भीमनिधि तिवारी तथा शङ्कर लामिछाने सम्मिलित ८ सदस्यीय टोलीको नेपाली प्रतिनिधि मण्डलले उक्त अङ्क उपहार स्वरूप लगेर सो सम्मेलनमा भाग लिएको थियो ।

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *