म मेलुङको मान्छे, मुगुको मुटु सुम्सुम्याउने मेरो अभीष्ट त्यत्तिकै मृत थियो । यामहरू आउँथे । यामहरू थाहै नपाई बित्थे । म भने मुगु पुग्ने मनभरिको इच्छा पालेर भौँतारिरहेको हुन्थेँ । मुगुसँग मायाप्रीति गाँस्ने र राराको रमैलोमा रम्ने मेरो अभिलाषा अतृप्त नै थियो ।
मिति २०६७/०१/२९ भगवान्का अनुकम्पाले विभागीय निरीक्षणको सिलसिलामा जाने भइयो मुगु । मनभरिको मुगु । खाइरहनुपर्ने गमगढी । विकासमा ताल्चा लागेको कोठाजस्तो ताल्चा एयरपोर्ट । श्रीहीन श्रीनगर । विकासको ज्ञापनपत्र दिन हत्तारिएको मुगु कर्णाली । मुगुसम्बन्धी यस्तैयस्तै स्वप्निल र सुन्दर कल्पनामा नाचिरहेँ, झुमिरहेँ – म मकैचरी । अब मग्नमस्त हुनेछु – मुगुमा । रमाउने छ – मन पनि मुगुमा । सुखमा आनन्दित हुँदै मगनशून्य हुनेछु – मुगुमा ।
कर्णालीको यात्रा गर्दा टिकट पाउनु एउटा युद्ध जित्नुसरह हो । भनेको बेलामा टिकट पाइँदैन । अमेरिकी डी.भी. पर्नुजस्तै हो – दुर्गम क्षेत्रको प्लेन टिकट पाउनु । प्रहरी कार्यालयमा भाइहरूले बलियै पहल गरे – टिकटका लागि । तारा एयरमा रारा र मुगुको मनोहर यात्रा…..। म आत्तिएँ, म मात्तिएँ, म मइमत्त भएँ ।
प्लेनबाट हेर्दा काला र सुख्खा पहाडहरूले फेरि गिज्याए नराम्ररी । भूगोलसँग सन्निकट हाम्रो भाग्य भरोसामाथि फेरि उपहास दर्सियो नराम्ररी । देश दर्शनमा हिँडेका हामीजस्ता सरकारी जागिरेहरूलाई दुर्गमवासीहरूले फेरि एकपटक लाए धारेहात । क्षितिज पारिपारिसम्म हिमाल बसेका छन् – टपक्क मिलेर बसेका दाँतजस्तै । बाक्लो कुहिरो कहालीलाग्दो मृत्यु सन्त्रास बोकेर घिसि्ररहेछ अघिल्तिर । फाटेका टोपी लगाएका, कानमा बुलाकी लाएका, मैलाधैला पोसाक । मलिन मुहारका ती अधिकांश यात्रुहरू आफ्नो दुर्दिनलाई सम्झेर सोचमग्न, खोजमग्न र चैतन्यमग्न देखिन्छन् । यत्तिखेरै मलाई कताकता भावनाको भेल उकेल्न मन लाग्दछ ः-
छातीमा उकुच पल्टेको घाउ बोकेर
सेता बादलुको घुम्टो ओढ्दै
घरि आँसु झार्छे
घरि जम्लाहात गर्दै –
विकास माग्छे – मुगु
बैँस माग्छे
धर्ती हुनुको अस्तित्व माग्छे – मुगु
नागरिक हुनुको हैसियत माग्छे – मुगु
-ताल्चा एयरपोर्ट आइपुगियो । त्यसपछि लुखुरलुखुर झरियो -ओरालो । एकजना मुगुकै भाइ भेटिए । उनी नै यतिखेर बाटाका साथी भएका छन् । हो, हामी नेपाली ओरालो र्झन असाध्यै मन पराउँछौं । हामी उकालो ऊचाउँन्नौ तर ऊचाउँछौ ओरालो । हामी ओरालो अनुचर प्राणी । ओरालो हाम्रो प्रवृत्ति र संस्कृति । ओरालो-हाम्रो राजनीतिकर्मीको शिक्षा । उनीहरूको शिक्षा पनि ओरालो हाम्रो सिकाइ पनि ओरालो ।
-पापी पेट भोकले भाउन्निएको छ बेस्सरी । अपराधी पेट औधि रन्थनिएको छ बेस्सरी । तल देखिने गमगढीको गुचुमुच्च घरले मनलाई तानेको छ, आकर्षण गरेको छ र सदरमुकामको दृश्य दर्शनयोग्य पनि छ । ती सहचरी भाइ पनि निकै गफी रहेछन् । आफ्ना जिन्दगीका सुख, दुःख, आरोह, अवरोह र तीतामीठा आस्वादहरू पोखे अनवरत ।
हो, हामी भूगोलले ठगिएका मान्छे । हामी आफ्नै दाइभाइले गाँजेका मान्छे । हामी सधैँ अरूका भरिया भएर बाँचेका मान्छे । अरूको रिमोट कन्ट्रोलमा विकासको खाका कोर्ने मान्छे । सिंहदरबार कर्णालीको कयस कहिल्यै बुझ्दैन । नीतिगतरूपमा व्यवस्था गरे पनि मुगुका नाममा त्यहाँका महानायकहरूकै भाग्य बल्दछ । मुगुमध्येकै हुनेखाने मान्छेहरूको तल तराईमा घरबास जोडिन्छ । नत्र चालीस हजार जनतालाई वाषिर्क सत्तरी करोड बजेट खर्च गर्दा पनि उपलब्धि किन हुँदैन । विचरा ती साना र गुचुमुच्च परेका घरहरूमा मइन्टोल बल्दैन । उनीहरूका मनोकामना सिद्ध हुँदैन । मनुष्यता जचिन्न । यहाँ भाले हुनेहरू नै सधैँ-भाले हुन्छन् । र्याल काढ्ने र्यालेहरूकै सधैँको रामरमिता चलिरहन्छ । म सोच्छु – के खाएर बाँच्दा हुन् मुगुमा मान्छेहरू ? कुन आश्वासनले सार धान्दा हुन् यहाँका नागरिकहरू ? किनकि मुगुलाई मनोहर बनाउन पुगेनन् कोही महानायक । महापुरुषहरू रोकिएनन् – मुगुमा कोही । ती पुगे पनि केवल राराको लोभलाग्दो यौवनसँग रासलीलाका लागि पुगे । अनेक बहानामा महापुरुषहरू स्वर्गकी अप्सराको सौन्दर्य भोगका लागि मात्र पुगे । कि त भाषणको मरिकुच्चे भारी बोकेर, कि त उद्घाटन र सिलान्यासको सिलसिला बोकेर ती मुगुका रूपहीन गरामा होइन, राराको गालामा चुम्बन खान पुगे ।
घडीले बिहानको एघार हानेको छ । चारैतिर उब्जनीशून्य बस्ती मात्र देखिन्छ । मान्छेहरू पनि निदाउरा अनुहारका भेटिन्छन् । बोल्न पनि पैसा नै तिर्नुपर्लाजस्तो । साना होटेल, कालो चामल, कालो सिमीको दाल र कालै ओछ्यान । नबुझिने भाषा, नबुझिने भाव । सुकिला लुगादेखि भाग्छन्, मीठा बोलीदेखि तर्सिन्छन् । गुलिया आश्वासनहरूदेखि बैरागिन्छन् ।
बाटामा भेटिएका एक हूल मुगाली युवतीहरूलाई सोधेँ -“कतातिर हो बैनी हो ?” ताल्चा खिसिक्क हाँस्दै फर्कियो प्रत्युत्तर । भारी बोक्न हिँडेको प्रष्टीकरण दिए ती पुष्ट पठ्ठीहरूले । सीधै लडिनेजस्तो लामो बाटो पट्यारलाग्दो छ । जीउ थाक्दो छ तर दृश्य जाग्दो छ । फेरि अप्ठ्यारो ठूलो ढुङ्गाको डिलमा दुई जना नानीहरू बसिरहेको भेटियो । होलान करिव दस एघार वर्षका । मध्याहृनको घाम चर्कंदो छ – मुगुमा । त्यो चर्को घाममा लडिएलाजस्तै गरी बसेका छन् – नानीहरू ठूलो ढुङ्गामा ।
मैले सोधेँ – ”किन अप्ठ्यारोमा बसेका नानीहरू हो ।” “त्यसै” सङ्क्षिप्त जवाफ फर्कियो उत्ताबाट । छेउमा लडियो भने मरिएलानी नानी हो ! मैले मेरो मनको गाँठो फुकाएँ । ‘मरे के हुन्छ त ?’ नानीहरूको गहिरो र निरासलाग्दो जवाफले अमिलियो मन । त्यो जवाफमा व्याप्त दुःखको पहाड छ । त्यो प्रत्युत्तरमा कहिल्यै नपुरिने घाउ र कहिल्यै नबिर्सिने पीर छ । म फेरि भावुक कवि बनेँ -मुगुको ओरालोमा यसरी ः-
घरिघरि कवि – मुगु,
हररात आँसुमा डुब्छ – मुगु
मति र गति बिग्रेकोमा वैरागिन्छ – मुगु
छ्याङको रसमा विचार बेच्छ – मुगु
जोसँग पनि दुखेसो पोख्छ-मुगु
नीलोकालो हुँदै भोकभोकै पुगियो – गमगढीमा । गजक्क परेर बसेको छ -गमगढी । साँघुरो ढुङ्गाले छोपेको तर नछोपिएका खानेपानीका पाइपहरू देखिन्छन् । मतमुखी जागेका रहेछन् मुगुमा । बाटोमा देखियो – गणतान्त्रिक होटेल अर्को अर्थमा गणतान्त्रिक मदिरालय । यतिखेर मेरो मन मेरो जन्मस्थान दोलखाको मेलुङ्ग र मुगुको तुलना गर्दैछ । मेरो मनचरी मख्ख छ – मुगुमा । छ्याङको झोलले सुगन्धमय छ -गमगढी । निरीक्षणको क्रममा पुगेँ कार्यालय । तल एक्लै बगिरहेको मुगु कर्णालीले सोध्यो । “के छ मनु ? आफ्नो इमान, उत्तरदायित्व र जिम्मेवारी नबिर्सी है ।”
छकाल भैसक्यो-खानापिना भएन । बेला बितेपछि भात नपाइने रहेछ त्यहाँ । नेपालीलाई कि भात कि मात चाहिने । भातमै रमाएका भाते हामी । विडम्बना ! भात पाइएन । निरीक्षणका सबै कामहरू सम्पन्न गरियो । प्रमुख जिल्ला अधिकारी एवं सहकर्मीहरूसँग पनि अन्तर्क्रिया गरियो । हो, राम्रै गठबन्धन भयो गमगढीसँग । बजार परिक्रमा गरियो । लामो भीड छ खाद्यान्न अफिसमा । चामल र नुनको खेल दुर्गममा असाध्यै हुँदोरहेछ ।
राति गुजारियो । भोलिपल्ट मुगु कर्णालीसँग बिदा मागेँ – “हे मुगु कर्णाली ! भगवान्का दयाले तिम्रो काखमा आइपुगेँ । मुगुको मनोरोगलाई माथिसम्म पुर्याउँन सकूँ । मेरो कमजोरीलाई कुन दृष्टिले हेरिन् तिनले । म भने पुनः एक पटक दङ्ग भएँ । खुसीले गद्गदाएँ गमगढीमा । लाग्दैछ -गमगढीको गथासोलाई पनि हल्का पार्न पाए हुन्थ्यो ।
उकालो बाटो । म राराको दर्शनका लागि अघि बढेको छु । बाटामा एयरपोर्टतिर लागेका मान्छेको लर्को । लर्कोसँगै खर्कतिर लाग्दा खुसानुभूति, लामाचौरमा खाजा । राराको दर्शन खातिर मन उतै तानिएको छ । मुगु पुगेपछि रारा नपुग्ने कोही हुँदैन । रारामा आफ्नो रहर नपुर्याउने कोही हुँदैन । सुन्दर जङ्गल व्याप्त छ, बाटैभरि वरिपरि हिमाल हाँसेको छ । भुइँमा हरिया गलैँचा बिछ्याएजस्तो छ । प्रकृतिको सन्निकट मन गम खाँदैछ । गफसफ चल्दैछ । करिव दुई घण्टाको हिँडाइपछि देखियो रारा राष्ट्रिय निकुञ्ज । राराको दक्षिण पश्चिम भागमा करिब एक हजार भेंडा अटाउने ठूलो गुफा छ रे । जडीबुटीको गन्ध मन्दमन्द चलेजस्तो लाग्दै छ । नेपालमा पाइने भिन्न प्रजातिका असला माछा -यही रारामा पौडी खेल्दा रहेछन् । तालको पश्चिमतिर रहेको खेस्मालिका चुचुरो धार्मिक दृष्टिले समेत महत्त्वपूर्ण रहेछ । सुनियो यहाँबाट करिब ७ वटा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । एउटा बेग्लै उन्माद, बेग्लै उत्साह र ऊर्जा सञ्चार भयो-शरीरभरि, मस्तिष्कभरि । अब पुगियो रारा । आहा रारा ! त्यही मिलिचौरको चौतारीमा म.वि.वि. शाहले २१ दिन बसेर कविता लेखेका रहेछन् । राराको हेलिकोप्टर दुर्घटनाको दुःखद चर्चा पनि चल्यो । त्यो अत्यासलाग्दो र कहालीलाग्दो दुर्घटना । कसैले सुनियोजित षड्यन्त्र भने । मुर्माटपमा एन.टि.भिको टावर रहेछ । राराको वरिपरि परिक्रमा गर्न करिव पाँच घण्टा लाग्ने रहेछ । शान्त तलाउजस्तो राराजस्तै जीवन भए आहा ! कस्तो हुन्थ्यो ?
राष्ट्रिय निकुञ्जका वार्डेन दुर्गा सरकोमा त्यो रात थर्पु हालियो । राति झम्झम् पानी नीलो आकाशजस्तो रारा दह । सारा दुःख भुलेर यही बसुँजस्तो तर के सकिन्थ्यो ? जागिरे जीवन जिन्दगीको जोगामेसो ।
भोलिपल्ट रारासँग बिदा मागेर लागियो ताल्चा एयरपोर्ट । ताल्चामा प्लेन नआएर एकदिन रोकिँदा ताल्चा लाएको कोठामा थुनिएजस्तै भइयो । जेहोस्, गमगढीलाई गौरवपूर्ण भूमि बनाउने कसले ? रारालाई विश्वव्यापी यसको पहुँच, विज्ञापन, चेतना, कार्य योजना र कोल्टो परेको इतिहासलाई कसले उजागर गर्ने ? कहिले आउला त्यो याम ? पीर नमान मुगु – हामी सक्दो गर्छाैं ? बाई बाई रारा ! बस है – यो मेरो बिदाइ अभिवादन स्वीकार्दै ः
आएपछि रारा अघाउँदैन कोही
आएपछि रारा रिसाउँदैन कोही
आएपछि रारा कष्ट सम्झँदैन कोही
आएपछि रारा कहिल्यै बिर्सिदैन कोही
मेलुङ्ग-५, दोलखा
हाल ः सुर्खेत
मधुपर्क २०६८ बैशाख
