कविता कसका लागि लेख्ने भन्ने अझै बहसको विषय नै बन्ने गरेको छ । त्यसो त कवितामा कलापक्ष ठूलो कि विचार पक्ष भन्ने विवाद पनि उस्तै छ । यी विवादहरूकै बीचमा कवि अतृप्त पाण्डेको कवितासङ्ग्रह ‘समयसित रुमाल छैन’ बजारमा आएको छ ।

विचारप्रधान यी कविताहरू जनताका लागि लेखिएका छन् । जनताका सुख-दुःखलाई समेटिएका छन् । अझ यस सङ्ग्रहभित्र रहेका अधिकांश कविताहरूले सोझा-निमुखा जनताको आवाज बोलेका छन् । कतिसम्म भने गरिब र निमुखाहरू हेपिएको कुरा कवितामा प्रष्टरूपमा आएका छन् । प्रत्येक कविताले समानताको कुरा गरेका छन् । असल समाजको निर्माणको कुरा गरेका छन् ।

सङ्ग्रहभित्र रहेका ६० वटा कविता अब्बल विचारका कविताहरू हुन् । सबै कविताले कविभित्रको विद्रोह चेतनालाई मात्र उजागर गरेका छैनन्, सक्षम समाज निर्माणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको पनि प्रष्ट पारेको छ ।

अतृप्त पाण्डेय पुराना कवि हुन् । उनले आफ्ना सबै कवितामा देश र जनताका कुरा गरेका छन् । लामो समयदेखि अस्थिर रहेको नेपालको राजनीति र त्यसले आमजनतामा पुर्‍याएको असर कविताका मुख्य विषय हुन् । अझ दिन प्रतिदिन नेताहरूमा मौलाउँदै गएको लोभ र स्वार्थ अनि विभिन्न दलहरूमा देखिएको क्रान्तिको नाममा आएको विचलनलाई कवितामा सशक्तरूपमा ल्याइएको छ ।

यस सङ्ग्रहको सवल पक्ष भनेको नै विचारको प्रष्टता हो तर अधिकांश कवितामा विचार अत्यधिक रहेका कारण कविता कहीँ कतै बोझिलो बनेको छ । कवितामा बेलाबेलामा देखिने यही बोझिलोपनाले कवितामा कलापक्षलाई पनि महत्त्व दिएको भए अझ सुन्दर हुन्थ्यो भन्ने खट्किरहन्छ-सिङ्गै सङ्ग्रह पढुञ्जेल ।

चेतनामूलक यी कविताहरूमा कलापक्ष फिटिक्कै छैन । अधिकांश कविताहरू सडक आन्दोलनताका लागि लेखिएका जस्ता छन् । केही केही कविता नारा बनेका छन् । ‘कविता सोझै भन्नुपर्छ र निमुखाहरूका आवाजलाई बुलन्द पार्नुपर्छ’ भन्ने मान्यतामा कविता लेखिएका छन् । पूरै सङ्ग्रह पढिसकेपछि लाग्छ, आफैँमा फरक तर चेतनासहितको व्यङ्यपरक कविताहरू हुन् यी ।

अतृप्त पाण्डेयका कविताको सबभन्दा सुन्दर पक्ष हो -आशावादिता । प्रत्येक कविता आशावादी छन् । यति ठूलो सङ्क्रमणका बाबजुद पनि कविले आफूभित्रको आशालाई जीवितै राखेका छन् । उनलाई विश्वास छ, एक दिन उनले खोजेको जस्तो समाज र देश निर्माण हुनेछ ।

‘समयसित रुमाल छैन’ कवितासङ्ग्रहभित्र केही कविताहरू गीति लयमा पनि छन् । कवि अतृप्तले आफ्नो समयमा देखेका पीडालाई विसङ्गतिलाई, आफ्नैबाट मिलेका अविश्वासलाई र आफैँले बनाएको नेताले देश भत्काउँदै गरेको अवस्थालाई कवितामा सोझै व्यक्त गरेका छन् ।

विम्ब र मिथकहरूको प्रयोग नगरी सोझै लेखिएका यी कविताहरू आम सर्वसाधारण, जो सामान्य लेखपढ मात्र गर्न सक्छन्, उनीहरूको मन जित्न पक्कै पनि सफल हुनेछन् तर जो हामी आधुनिकता र विश्वव्यापीकरणको कुरा गरिरहेका छौँ, नयाँ-नयाँ प्रयोग र मिथकहरूको कुरा गरिरहेका छौँ, यस सन्दर्भमा भने अतृप्तका कवितालाई कहाँनेर राख्ने भन्ने अन्योल पर्नसक्छ ।

एउटा भन्नैपर्ने कुरा चाहिँ के हो भने विचारमा प्रष्ट हुँदाहुँदै पनि शिल्पमा ध्यान नदिँदा कविता बोझिला बनेका छन् । यी बोझिला कविताले नेपाली कवितामा सङ्ख्या त थप्लान् तर गुणस्तरीय बृद्धिमा खासै महत्त्व राख्दैन । कविता लेखनक्रममा कलापक्षलाई ध्यान दिएको भए यी कविता अझ सुन्दर हुनसक्थे ।

कृति ः समयसित रुमाल छैन (कवितासङ्ग्ह)
लेखक ः अतृप्त पाण्डेय
प्रकाशक ः शब्दघर
प्रकाशन ः २०६७
पृष्ठ ः १७२
मूल्य ः रु. १००।-

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *