झण्डै चार दशक नेपालको आमसञ्चारका क्षेत्रमा सेवा गरेर उमेरको हद पुगी निवृत्त भएका दुर्गानाथ शर्मा कुशल सञ्चारकर्मीका रूपमा प्रसिद्ध छन् । सञ्चार क्षेत्रमा रहँदाका वैदेशिक यात्रानुभवहरूलाई समेटेर लेखिएका यिनका ३४ वटा फुटकर नियात्रात्मक निबन्धहरूको सङ्ग्रह विना राहदानीको विदेशयात्रा नामक कृतिका रूपमा प्रकाशित भएको छ । यसमा सङ्कलित नियात्रात्मक निबन्ध वा आलेखहरूमध्ये ३२ वटा त राष्ट्रियस्तरका नेपाली दैनिक समाचारपत्रहरूमा प्रकाशित भइसकेका छन् । दुई वटा मात्र प्रकाशित नभएका आलेख यसमा परेका हुन् । यी आलेख प्रकाशनका आधारमा २०४० चैतदेखि २०६३ वैशाखभित्र लेखिएका देखिन्छन् । यसरी २३ वर्षको अन्तरालमा लेखिएका यी निबन्ध मूलतः छापा पत्रकारितासँग सम्बन्धित सामग्री हुन् । विना राहदानीको विदेशयात्रा कृतिको नामकरण यसै सङ्ग्रहभित्रको एउटा आलेखको शीर्षकलाई सापट लिएर गरिएको छ । यसभित्रका निबन्धहरूमा साहित्य र पत्रकारिताको मिश्रण छ ।

वस्तुतः यात्रा प्रसङ्गको रोचक, मार्मिक र कलात्मक स्मरणात्मक अभिव्यक्ति नियात्रा हो । यी निबन्धमा कतै नियात्राको प्रबलता छ त कतै संस्मरणको घनत्व छ । यी आलेखले विश्वका धेरै मुलुकहरूका कुनै न कुनै पक्ष वा विशेषताहरूका बारेमा पाठकवर्गलाई जानकारी दिन्छन् । चीन, जापान, नेदरल्यान्ड, भारत, बङ्गलादेश, कजाकस्तान, टर्की, मलेसिया, कतार, दुबई, दक्षिण अफ्रिका, थाइल्यान्ड, अमेरिका, बेलायत, स्विजरल्यान्ड, इजिप्ट, अबुदावीलगायतका देशहरू र त्यहाँका विभिन्न सहरहरूको भ्रमण र अवलोकन गरी बटुलेका अनुभव/अनुभूतिहरू लेखकले यी निबन्धमा अत्यन्त सरल शैलीमा प्रस्तुत गरेका छन् ।

यी निबन्धहरूले पाठकलाई कहिले ब्याङ्कक घुमाउँछन्, कहिले भारतको तीर्थ गराउँछन्, कहिले गान्तोक फेरिएको सूचनाहरू दिन्छन्, कहिले अमेरिकामा बरालिएका अनुभूति गराउँछन् । कुनै वेला तुर्केली कफीको, कुनै बेला हिरोसिमामा भट्टराई बाजेको नानको र कुनै बेला ढाकाको मिष्ठी दही तथा माछा र झोलको स्वाद दिलाउँछन् । यसरी नै हङकङमा लगेर नेपाली कविता सुनाउँछन् र विना राहदानी विदेश भ्रमण गर्नुपर्दाको रहस्यतिर पुर्‍याउँछन् । पढ्दै जाँदा एकातिर चिनियाँहरूले नेपालीहरूप्रति दर्साउने सद्भाव तथा जापानीहरूले नेपाललाई गर्ने मायाका मधुर प्रसङ्गहरू भेटिन्छन् भने अर्कातिर खाडीमुलुक तथा मलेसियाजस्ता देशहरूमा पुगेर दुःख पाएका नेपालीहरूका दुर्दशा पनि छन् । प्रायः सरकार र सञ्चारसँग आबद्ध अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउन जाँदाका प्रसङ्गहरूको व्याप्ति छ यी निबन्धमा । यस्तै सन्दर्भका समसामयिक प्रकरण र प्रसङ्गहरू पनि यी निबन्धमा उद्घाटित भएका छन् । केही राजनीतिक चेतना र चिन्तनले पनि यी निबन्धमा स्थान पाएका छन् ।

खासगरी पत्रकारिताका लागि लेखिएका हुनाले यी निबन्धमा भाषिक विदग्धतालेभन्दा पनि सूचना वा साञ्चारिक भाषाको स्तरले प्राथमिकता पाएको दृष्टिगत हुन्छ । पाठकले यी नियात्रात्मक निबन्धहरूको अध्ययनबाट अतीतावलोकनका साथै बिना राहदानीको विदेश यात्राको अनुभूति गर्न पाउँछन् । ‘तस्बिरहरूको समाविष्टिले यी निबन्धको प्रभावकारीतामा थप बल पुगेको छ ।’ यी आलेखहरूले हामीलाई विदेशबाट सिक्नुपर्ने धेरै कुरा बताएका छन् । मूलतः सूचना र सन्देशमूलक सामाग्रीहरूको समाहरणले यस कृतिको मूल्य र महत्व बढेको छ ।

कृति ः विना राहदानीको विदेश यात्रा
लेखक ः दुर्गानाथ शर्मा
प्रकाशक ः श्रीमती अम्बिका शर्मा भण्डारी,
श्री पङ्कज शर्मा, श्री निरज शर्मा
प्रकाशक ः २०६७
पृष्ठ ः १८७+१०
मूल्य ः रु. १९५।-

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *