डाँडा र पाखा छहरा र ताल
आकाश चुम्ने गिरि छन् विशाल
हावा सुगन्धी जलपात मीठो
यो देशको चित्र सधैँ अनौठो ।।

पूर्वी दिशामा जब रश्मि खुल्छ ।
स्वर्गीय आभा लटरम्म झुल्छ
मानौँ कि त्यो ज्ञान प्रकाश पुञ्ज
पाएर आत्मा कति तुष्ट हुन्छ ।।

भाषा अनेकौ कपडा अनेक ।
आस्था र विश्वास झनै अनेक
वैविध्यमा सुन्दर मेल देख्छु
सानै भए तापनि विश्व देख्छु ।।

खैला र बैला अहिले सुनिन्छ ।
शङ्का सबैको ‘अब क्यै त हुन्छ’
भूगोल टुट्ने बढिरा’छ हल्ला
नेतृत्वमा यै चलिरा’छ सल्ला(ह) ।।

ओहो ! कसोरी पहिरो गयो नि ।
आत्मीय धागो किन चुडियो नि ?
देख्दै छु आफ्नै जनजाति भिन्न
आपस्तमा लड्न कि वा उछिन्न ।।

कोही त नेवा गणराज्य भन्छन् ।
कोही मधेसी, अनि लिम्बू भन्छन् ल
बाँडेर माटो मुटु टुक्रिँदै छ
हिंसा र कोलाहल डुक्रिँदै छ ।।

यो शान्तिको उद्गम दिव्य देश ।
अध्यात्म औ दर्शन सन्निवेश
संसारको एक यही छ आँखा
हाम्रो अहं रोज्दछ भिन्न भाका ।।

सम्झेर आफ्नो इतिहास दर्प ।
आमा पुकार्छिन भूतका सुपुत्र
सिद्धार्थ, पृथ्वी, बलभद्र, भीम
धिक्कार हाम्रो मति भो विलीन ।।

हे देशवासी ! अब सोच सोच ।
आत्मा गुमाई अब क्यै नरोज
यो राष्ट्र बाँचे तब जिन्दगी छ
यो राष्ट्र भाँचे तब बन्धकी छ ।।

क्षेत्रीय, जातीय मपाई छोड ।
मेची र कालीबीच भाइ जोड
एकात्ममै फुल्दछ वृक्ष-कल्प
नेपालको छैन कुनै विकल्प ।।

हिन्दू विद्यापीठ, नेपाल

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *