Skip to content


धेरै छन् नीतिका उक्ति घोक्यौँ बुझ्यौँ भने ‘सुधा’
मौकामा काम लाग्नेछ के हो जीवन ? हो ‘क्षुधा’
यात्रा-सङ्घर्ष चुनौती स्वप्न सौन्दर्य प्रेम यो
हिँड्ने मनुष्यका बाटा मृत्यु जिवन्त घाट हो ।

पैसाले मिल्छ के कस्तो नमिल्ने के छ यसले
औषधि मिल्छ पैसाले आयु मिल्दैन तेसले
लोग्नेमान्छे कति मिल्छन् पति मिल्दैन सद्मति
स्वास्नी मान्छे जति मिल्छन् पत्नी मिल्दिन हत्पति ।

मिल्छ नेाकर राम्रै न – न मिल्न सक्छ सेवक
बाक्लो ओछ्यान मिल्नेछ निद्रा मिल्दैन भो दुःख
मिल्छ शासन पैसाले न ता सद्भाव मिल्दछ
शुल्क तिरे गुरु मिल्छ सद्गुरु न त मिल्दछ ।

मिल्छ कलम राम्रै नै सिर्जना न त मिल्दछ
वकिल मिल्छ पैसाले वकालत न मिल्दछ ।
मिल्छ भोजन राम्रै नै मीठो भोक न मिल्दछ
सम्मान मिल्छ पैसाले स्वभिमान न मिल्दछ ।

के के छन् जिन्दगीभित्र बुझी राख्ने कुराहरू
सत्य वचन सत्धर्म ख्याल राख्ने सधैँ गरौँ
सच्चामित्र र स्वराष्ट्र- अर्काको ऋण तिर्नमा
न बिर्स कहिल्यै बाबु धोका हुन्छ पछि त्यहाँ ।

गोली बोली र यो प्राण फर्कंदैन छुटेपछि ।
समय ग्राहक मृत्यु पर्खंदैन हिँडेपछि ।
भोको पागल बच्चामा दया राख सधैँभरि
परस्त्री र गुरुसाथ न जिस्कनु कसै गरी ।

धेरैपल्ट पनि मिल्छन् पति पत्नीहरू कति
शत्रु मित्रु यहाँ मिल्छन् मिलापत्र गरेपछि ।
खुला संसारमा खोजे के पो मिल्दैन लौ भन
नमिल्ने मात्र तीनोटा ‘आमा-बाबु र यौवन’ ।

गोविन्दप्रसाद घिमिरे (जी.पी. काश्यप)
रसुरुङ्गा, झापा

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *