उसले सधैँ
जूठो मुखले
मसँग शुद्धताको प्रमाण मागिरहृयो
आगो दन्काएर कोठाभरि
अग्नि परीक्षाको तयारी गरिरहृयो
तर मलाई
यो सब मञ्जुर थिएन
मैले ठानिन
म आगोमा हामफाल्नु पर्छ
किनकि
म निर्दोष थिएँ
र मलाई
यो पनि थाहा थियो कि

राम बन्न खोज्ने छ
र कुनै दिन
मध्य रातमा
फेरि उसले मलाई
जङ्गल धपाउनेछ
उसले मलाई
सीता बनाउन खोज्ने छ
तर
तर म
सीताजस्तै पवित्र भएर पनि
विवश थिइन
र उसलाई
परमेश्वर ठान्दै
उसको इसारामा
अग्निस्पर्श गर्न चाहिन
न त म
मध्यरातमा सुटुक्क
उसको घर छोड्न
मञ्जुर भएँ
बरु एक दिन
मध्याहृन सूर्यको
झलमल्ल रापमा
छाती फर्काउँदै आत्मविश्वासले
त्यागिदिएँ उसको महल
किनभने
मलाई जूठो राम चाहिँदैन
मलाई झूटो राम चाहिँदैन
र मलाई
उसको इसारामा चल्दा चल्दै थाकेर
धर्तीमा समाहित हुने
सीता बन्नु छैन
त्यसैले अचेल
खोजिरहेछु आफ्नो आस्तित्व
किनकि
म ‘म’ भएर बाँच्न चाहन्छु
म ‘म’ भएर हाँस्न चाहन्छु ।

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *