काठमाडौ, वैशाख ३० –
आज एकजना गर्भवती बहिनीलाई जेलमा भेटेर आएँ । निकै कमजोर र सानै उमेरकी रहिछन् । अब स्वदेश पठाउन चाँजोपाँजो मिलाउँदै छु,’ एक साँझ लेबनानबाट फोनसम्पर्कमा आएका दीप्रेन्द्र उप्रेतीले भने । त्यहाँको नेपाली दूतावासका स्वयंसेवी दीपेन्द्रले भेट्दा युवती सात महिनाकी गर्भवती थिइन् । तिनै युवती तीन महिनाको शिशु बोकेर केहीअघि काठमाडौं आइपुगिन् । राजधानीको एक सेल्टरमा बसिरहेकी उनले भनिन्, ‘बाँच्नलाई मृत्युको मुखसम्म पुग्नुपर्यो । म छोरी बनेर गएकी थिएँ, आमा बनेर फर्केकी छु ।’
काठमाडौंमै हुर्किए पनि मैले धेरै पढ्न पाइनँ । ट्युसन पढेर अलिअलि अंग्रेजी बोल्न जानें । विदेश जाने योजना थियो । एजेन्टलाई ५५ हजार तिरेर दुबई उडें ।
दुबई एयरपोर्टमा साहु (मिस्टर) लिन आए । इन्जिनियरको घरमा परेछु । मासिक तलब दुई सय डलर । काम २४ घन्टै ‘अन कल’ जस्तो । दुईतले ठूलो घरको सरसफाइ, दुईवटा बच्चाको स्याहारसुसार, खाना पकाउने, खुवाउने काम । गएको एक महिनादेखि नै मलाई फिर्ता पठाइदेऊ भनेको मानेनन् । काम साह्रै गाह्रो थियो । दु:ख कस्तो दिने भने, बच्चाले अलिकति फोहोर गर्यो वा खाना पोखायो भने पनि पूरै घर सफा गर्नुपर्ने । मैले अहिलेसम्म लिएको तलब फिर्ता गर्छु भन्दा पनि जान दिएनन् । ६ महिना मैले त्यो घरमा त्यसैगरी काम गरें ।
६ महिनापछि उनीहरूसँग आफन्तको विवाहमा म पनि लेबनान गएँ । एक महिनापछि मलाई थाहै नदिई उनीहरू फर्केछन् । म उनीहरूको आफन्तको घरमै छुटें । त्यही घरमा काम गर्न थालें । त्यहाँको मिस्टर भने बेइमान । उसको छोराछोरी नै उमेर काटिसकेको थियो । त्यो बूढो जतिखेर पनि हातपात गर्न खोज्ने । मभन्दा अघि बसेको फिलिपिनोले सुन पैसा धेरै कमाएर लग्यो भनेर लोभ्याउन खोज्थ्यो । जबर्जस्ती गर्न थालेपछि छोरालाई भनिदिन्छु भनेर धम्की दिएपछि केही गरेन ।
एकदिन मिस्टरकी बूढी माइती गइन् । घरमा मिस्टर र म मात्र भयौं । बेलुका पाँच/छ बजेतिर बूढाले पानी माग्यो । पुर्याएर आफ्नो कोठामा फर्किंदा डर लागिरहेको थियो । नभन्दै मिस्टर मेरो कोठामा आयो । जबर्जस्ती गर्न खोज्यो । छेउमा रहेको गिलासले टाउकोमा हानिदिए । मिस्टरले भन्यो, ‘मलाई हिर्काउने, म केटाहरू बोलाएर बाँकी राख्दिनँ भनेर गयो ।’ बूढो बाहिर जानेबित्तिकै झ्यालबाट हामफालेर भागे । दुई तलाबाट हामफालेछु ।
त्यो घर अलि एकान्तमा थियो । त्यहाँबाट भाग्दै गएँ । हिँड्दाहिँड्दा गाउँ नजिको जंगलमा पुगेछु । त्यही जंगलमा गएर बसेँ । अलिपछि त हिँड्नै सकिनँ । खुट्टाबाट रगत आइरहेको थियो । मैले जुत्ता पनि फुकाल्न सकिनँ । भोक र तिर्खा लाग्न थाल्यो तर आफ्नो खुट्टै चल्दैन । अब यहीँ मरिन्छजस्तो लाग्यो । म त्यो जंगलमा तीन दिनसम्म बसें ।
बिस्तारै हिँड्न सक्ने भएपछि सडकमा निस्किएँ । मैले खुट्टा लतार्दै हिँडेको देखेपछि एकजना फिलिपिनो महिलाले निधीखुदी गरिन् । उनले आफैंसँग हिँड भनिन् । मलाई चाहिँ लगेर बेचिदिने हो कि भन्ने डर लाग्यो । मैले जान्न भन्दा पनि उनले मानिनन् । लगेर उपचार गराइदिन् । ठीक भएपछि उनैले एउटा होटलमा काम लगाइदिन् ।
होटलको काम झन् गाह्रो थियो । जतिखेर पनि घोटिनुपर्ने तर तलब जम्मा सय डलर । त्यहीँ खाना खान आउने एउटी महिलाले एक दिन ब्युटिपार्लरमा काम गर्ने हो भनेर सोधिन् । होटल छोडेर म उनीसँगै गएँ । त्यहाँ काम राम्रो र सजिलो थियो । तर, उनी डेढ महिना नबित्दै अमेरिका जाने भइन् । फेरि अर्को काम खोज्नुपर्ने भयो ।
काम खोज्न हिँडेको केही दिनमा एउटा राम्रो घरमा काम पाएँ । त्यो घरको मिस्टर र म्याडम दुवै राम्रा थिए । एक दिन उनीहरूले आफ्नो साथीसँग विवाहको प्रस्ताव गरे । सामानको व्यापार गर्ने १९ वर्षको केटो रैछ । उसले मलाई खुब मन पराएको रहेछ । उसँग कुरा गरें ।
त्यसको दुई महिनापछि ऊ विवाहको प्रस्ताव लिएर फेरि आयो । उसले मलाई धेरै विश्वास दिलायो । मेरो आफ्नो मान्छे भन्ने त्यहाँ कोही थिएन । मिस्टर र म्याडमले पनि तिमीलाई राम्रो हुन्छ बिहे गर भने । मलाई पनि राम्रै होलाजस्तो लाग्यो । हाम्रो कोर्ट म्यारिज भयो । उसले घर लग्यो । सबैसँग चिनायो । घरको काम गर्न पनि दिएन । त्यो घरमा ११ जना दाजुभाइ थिए । म छैटौं बुहारी थिएँ । ससुराले पनि ५ वटा विवाह गरेका रैछन् । परिवार कत्रो भने खाना पकाउने भाँडो नै मभन्दा ठूलो थियो । त्यहाँ साह्रै राम्रो थियो । जिन्दगी राम्रो बितिरहेको थियो । कहिलेकाहीँ आफैंलाई सम्झिंदा अचम्म लाग्थ्यो । एक दिन मैले आफू गर्भवती भएको थाहा पाएँ । श्रीमान् र परिवारका मान्छेलाई भनें । सबै निकै खुसी भए । विवाह भएको एक वर्ष हुन लाग्दा एकदिन अचानाक घरमा प्रहरी आयो र मेरो श्रीमान्लाई पक्रेर लग्यो । एकजना महिलाले जबर्जस्ती गरेको भन्दै उजुरी दिएपछि उसलाई समात्न आएको रहेछ । मेरो पनि कागजात नदेखेपछि मलाई पनि लग्यो ।
मेरो श्रीमान् र त्यो महिलाले आफ्नो इच्छाले सम्बन्ध बनाएको ठहर गरेर उनीहरूलाई एक वर्षको सजाय सुनायो । तर, मेरो ट्राभल डकुमेन्ट बन्न ढिलो भयो । मेरो पेटमा सात महिनाको गर्भ रहेको थाहा पाएपछि पुलिसले मलाई नेपाल फर्किन पनि नदिने भन्यो । त्यहाँ मैले मजस्तै गर्भवती अर्को नेपाली दिदी भेटें । उसलाई एउटा बंगलादेशीले यौन व्यवसायमा जबर्जस्ती लगाएको रहेछ । त्यो दिदीले बच्चा यतै छोडेर नेपाल जान्छु भन्थिन् । मलाई पनि त्यस्तै गरौं भन्ने लागेको थियो । तर, पछि सोचें, मैले छोडें भने यसले मैलेभन्दा बढी दु:ख पाउनेछ । त्यही भएर म यो शिशु लिएरै आएँ ।
म यसरी आएको मेरो घरमा थाहा छैन । म आमाबुबालाई सबै कुरा भन्न चाहन्छु तर कसरी भन्ने थाहा छैन । म र मेरी छोरीलाई स्विकार्नुहुन्छ कि हुन्न थाहा छैन ।
प्रस्तुति : होम कार्की
प्रकाशित मिति: २०६८ वैशाख ३१ ११:५५
