ऊ!
खोइ ! अब आउँदैन पो क्यारे ?
एक मन भन्छ मेरो
अर्को मन,
प्रमाण दिन खोज्छ ….
“आमाको सपना” अगाडि ल्याउँछ
“त्यो अवश्य आउँछ “…..
“एक जुगमा एक दिन” आएरै छाडछ…
उसलाई समझदा ,
उमङ्गका सन्चार पाउँछन् कोषहरूले,
नया सम्भावना देख्छन आँखाहरूले
” शान्तिको ध्वनि ” का लागि उद्वेलित हुन्छन दुवै कान
धर्तीमा विकास उब्जाउँन लाग्छन दुवै हात
छयालीस साल आयो,
तीन दशक लामो कालरात्रीले विदा पायो
सोचेको थिए ,
भोलिपल्टको सुर्योदय सँगसँगै ,
“ऊ” आइपुग्नेछ यस धर्तीमा …
तर…
“ऊ” आएन …
थाहा छैन,
बाग्मतीमा मिसिएका ढल सँगसँगै ,
प्रदुषित भयो कि?
बेचिएका “कान्छी” र “”भुन्टी” सँगसँगै ,
निर्यातित भयो कि?
“धमिजा” र “लाउडा”को भीडमा,
“गुमनाम” कतै हरायो ऊ?
“सिंहदरबार”मा चल्ने कमिशनको खेलमा
“अनाम” कतै बिलायो ऊ???
तर पनि …
आशै आशामा ,
दुइ दशक धैर्य गरें मैले…
जंगलमा चलेको दाजुभाइको लडाइँमा पनि,
धर्मयुद्धको सपना देखें
गाउँघरमा मच्चेको अपरेशनमा पनि,
गीताज्ञानको कल्पना गरें
प्रत्येक युद्धविरामको नाटकका बेला,
वार्ताटोलीभित्र उसैलाई खोज्दथें
जेलभित्र/बाहिर सबैतिर,
उसैको प्रतीक्षा गर्दथें
अन्तत: ६३ साल आयो….
पुरै देश काठमाण्डूमा उर्लदा
खुशीले गद्गद् थिए
नारायणहिटीबाट “शाही” लाई लखेट्दा
आनन्दविभोर भए
छ दशकमा संबिधान सभा बन्दा,
मेरो आत्मा आल्हादित थियो
६०१ जनाको भीडभित्र
उसैको खोजी हुदैथियो
तर…
भेटिन मैले उसलाई कतै…
कठै ! कहाँ हरायो ???
खोइ! कहाँ बिलायो???
अब त….
विश्वास भत्किसकेको छ मेरो…
अहँ ! ऊ अब कहिल्यै आउँदैन ….
डा. अजय रिसाल
धुलिखेल अस्पताल
