Skip to content

अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक
पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन॥
॥१॥

अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका
नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ – शक्ति कै बडो बिराट रूप सार्थक ॥
॥२॥

बिभिन्न सूत्रमा उनी प्रकृति सृष्‍टि गर्दछिन्‌
पदार्थ – शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्‌कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्‌पल ॥
॥३॥

झरेर पात बृक्षमा नयाँ मुना पलाउँछन्‌
तिनै मुना वयस्क भै कठै पुन: हराउँछन् –
तथापि बृक्ष शाखमा जिजीविषा यथेष्‍ठ छ
अनेक बज्र कालको सहेर ज्युन पोख्त छ ॥
॥४॥

हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्‍त आज ता ॥
॥५॥

गुफा – गुफा चहार्नु नै हिजो त नित्‍य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्‍यमा रहन्न यो छ निश्‍चित !!
॥६॥

चलायमान कालको अमूर्त विन्दु – विन्दुमा
बिनाश-सृष्‍टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा –
बिनाश मै छ सृष्‍टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन !!
॥७॥

अल्लाहलाई निवेदन (प्रकासोन्मुख कबिता संग्रह)बाट साभार गरिएको

3 thoughts on “प्रकृति-नियम”

  1. हत्तेरिका ! अल्लाहलाई निबेदन:
    हत्तेरिका ! अल्लाहलाई निबेदन: प्रकासोन्मूख कविता संग्रहबाट साभार गरिएको हुनु पर्नेमा अल्लाहलाई निबेदन चैं निकनेम जस्तो भएर सुबेश घिमिरे अल्लाहलाई निबेदन पो भएछ । मिलाउन मिल्छ होला कुमार सर ?

  2. अलि लामो भएकोले अहिलेकोजस्तो
    अलि लामो भएकोले अहिलेकोजस्तो बना’छु। कस्तो होला? आफैंले पनि केरमेटसुधार गर्न सकिन्छ। लगइन हुनुहुन्छ भने, आफूले लेखेको रचनाको शीर्षकको माथि “Edit” छ, त्यहाँबाट।

  3. कबिता मलाई राम्रो लाग्यो
    कबिता मलाई राम्रो लाग्यो

Leave a Reply to kumar Cancel reply

Your email address will not be published. Required fields are marked *