Skip to content


सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो । मेरा मित्र कार्तिकेय घिमिरेले एक दिन भन्नुभयो- डायमनशमशेर राणाजस्तो अन्तर्राष्ट्रियस्तरको साहित्यिक प्रतिभाको हामीले जीवनी तयार गर्नु महत्त्वपूर्ण काम हुनेछ । त्यसका लागि मैले कार्यक्रम मिलाएको छु । तैँले साथ दिएमा पक्कै पूरा हुन्छ । कार्यक्रममा मैले सहमति जनाएँ । सोहीअनुरूप हामी बिहान १० बजेतिर डायमन निवास कुपण्डोल पुग्यौँ । कम्पाउन्डवाला घर, सफा आँगनमा चारैतिर गमला, फूल र बिरुवाहरूले सजाइएका । हामी गेट खोलेर सरासर भित्र प्रवेश गर्‍यौँ । उहाँ बैठक कोठामा बसी रहनुभएकोले हामीलाई पनि त्यही बोलाउनुभयो ।

पहिलो पटक डायमनशमशेर राणालाई सामुन्ने भेट्न पाउँदा खुसीको सीमा रहेन । पचासी वर्षमा पनि उज्यालो मुहार, खाइलाग्दो शरीर, जोश, जाँगर र फूर्ति उत्तिकै देखिने पचपन्न साठी वर्षेजस्तै । मीठो र सम्मानजनक बोलिवचनले मान्नैपर्ने विशिष्ट आगन्तुकलाईझैं हामीलाई स्वागत सत्कार गरेको देखेर म आश्चर्यचकित भएँ । राणा खानदानका भएर पनि उनमा सरल स्वभाव र खुल्ला हृदय, जनप्रेमी, समाजवादी एवम् प्रजातान्त्रिक विचार भएको पाएँ । केही क्षणको कुराकानी र चियापानपछि भोलिपल्टको कार्यक्रमको निश्चित गरी हामी फर्कियौं ।

भोलि पल्टदेखि उहाँले आफ्नो बाल्यकालीन एवम् युवावस्थाका रोचक घटनाहरू अनि बाबुबाजे र श्री ३ प्रधानमन्त्रीहरूको बानीव्यहोरा र चालचलन सुनाउनुभयो । साथै राजा त्रिभुवनसँगको मित्रताबारे रमाइला प्रसङ्गहरू बताउनुभयो । निरङ्कुश एकतन्त्रीय राणाशासनमा जनताले पाएको दुःख अनि प्रजातन्त्रका लागि गरेको सङ्घर्ष, राजा महेन्द्र, वीरेन्द्रसँगको सम्बन्ध बी.पी. कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाहरूसँगको राजनीतिक सहकार्य इत्यादि विगतका सुखदुःखका घटनाहरू कहिले भावुक बन्दै र कहिले हाँस्दै सुनाउनुभयो ।

आफ्नो जीवनको अविस्मरणीय घटना बताउने क्रममा भन्नुभयो- ‘२००७ सालतिर प्रजातन्त्र नआउँदै म सेनाको लेफ्टिनेन्ट पदमा थिएँ । २००६ सालमा राणा सरकारको अनुमतिबेगर बनारस गई ‘वसन्ती’ किताब छपाएर ल्याएँ । त्यसबेला किताब लेख्नु छपाउनु घोर अपराध भएकोले म पनि दाजुभाइ भतिजा सबैका नजरमा महाशत्रु, कुलङ्गार र अपराधी सावित भएँ । आफन्तहरू बोल्न छोडे । आगोपानी बाराबार ।’

‘उता राजा त्रिभुवन र नेपाली जनतासँग भने सामीप्यता गहिरिँदै थियो । यस्तैमा एक दिन पाटनको कुनै घरमा महत्त्वपूर्ण बैठक भनी मलाई बोलाइयो । गोप्य बैठकमा म डराइडराइ एक तलामाथि गएर भर्‍याङको टुप्पोमा बडो सजकताका साथ बसेँ । केही बिपत आइपरेमा भागिहाल्ने उद्देश्यले । निरङ्कुश राणा शाहीको बिरोधमा जुलुस नारा मेरै नेतृत्वमा गर्ने भनी (मैले नमान्दा नमान्दै) बैठकले निर्णय गर्‍यो । केही पहिलेदेखि नै राणा शासनप्रति नकारात्मक बनेको मैले रतिभर डर नमानी सरकारको विरोधमा सहभागी भएँ । मलाई तत्काल समातेर सिंहदरबार जेलमा राखियो साथै (कोर्टमार्सल) मृत्युदण्डको सजायँ पनि सुनाइयो ।’

‘सिंहदरबार जेलमा म सँगै अर्को कोठामा बालकृष्ण दाजु पर्नुभएको थियो लेखनकै क्रममा । अँध्यारो कोठाको सानो प्वालबाट हामी कुराकानी गर्थ्यो । मार्ने निश्चित भएकोले देश र जनताको मुक्तिका लागि मर्न पनि कुनै डर चिन्ता भएन । एक दिन सिंहदरबार गेट वरिपरि अत्याधुनिक हातहतियार तैनाथ गरिएको देखेँ । एकाधमात्रले चलाउन जानेका उक्त हतियारबारे हिन्दुस्थानमा गई तालिम लिइसकेकोले म पनि विज्ञ नै थिएँ । मेरो मनमा तत्काल आएको विचार दाजु बालकृष्णसँग भनेँ- अब यिनीहरूले मलाई मार्नेमा कुनै शङ्का छैन, म यहाँबाट भागेर गई ती हतियार समाती मोहनशमशेर र अरू दुईचार जनालाई मार्छु । मेरो कुरा सुनेर बालकृष्ण दाजुले भन्नुभयो- अहिले त्यतिसम्म निराशा हुनु पर्दैन । छिट्टै नै राणाहरूले शासन छोड्दैछन् भन्ने सुनेको छु । उहाँको कुराले म पनि पछि हटेँ । नभन्दै केही दिनमै राणा शाही हट्यो । प्रजातन्त्रको बहाली भयो । प्रजातन्त्र आएकोमा सबैले खुसीयाली मनाए ।’ यस्तै यस्तै रोचकपूर्ण घटनाहरू उहाँ सुनाउनु हुन्थ्यो । दिनहरू बितेको थाहै हुँदैनथ्यो । प्रायःजसो दिनभरि नै उहाँसँगै रहन्थेँ ।

जीवनको उद्देश्यबारे उहाँ भन्नुहुन्थ्यो- ‘लामो समयसम्म नेपाली काङ्ग्रेसको पाटन जिल्ला सभापति भएँ । पाटनलाई सुन्दर र नमुना सहरको रूपमा विकसित गर्ने रहर राजा महेन्द्रले २०१७ सालमा तुहाइदिए । त्यसपछि जेलनेलले जीवन बित्यो । जेलमा रहँदा बस्दा सबैजसो लेख्नेपढ्ने गर्थे । मैले राणाहरूकै इतिहास समेटेर ‘वसन्ती’ पहिल्यै लेखिसकेको थिएँ । राणाशाहीकै इतिहासमा आफू विज्ञ भएकोले फेरि पनि यही विषयवस्तुमा दिनरात लेख्न थालेँ । शिक्षा र साहित्यले नै समाजमा व्याप्त अन्याय, अन्धविश्वास, अन्धकार, अशिक्षा, अज्ञानता हटाउन सक्छ भन्ने मेरो मान्यता हो र लेखनको उद्देश्य पनि यही हो ।’

‘वास्तवमा मैले लेखक-साहित्यकार बनुँ भनेर लेखेको थिइन, न नेता, पद र पैसाका लागि राजनीति गरेको थिएँ । समय र परिस्थितिले लेखक र नेता दुबै बनाएको रोचक अनुभूति सुनाउनुहुन्थ्यो’ – ‘म कहिल्यै पद र पैसाको पछि लागिन । हुन त राजा महेन्द्र नै दुई दुई पटक घरमा आएका थिए तर मैले वास्ता गरिन अनि त मलाई जेलमा हाले ।’

यसरी आफ्नो सम्पूर्ण जीवन नै नेपाली जनता देश र समाजको मुक्तिका लागि, प्रजातन्त्र, स्वतन्त्रता र साहित्यको उन्नतिका खातिर खर्चेका डायमनशमशेर राणा आफ्नो ९४ वसन्तमा पनि देश, जनता र साहित्यकै प्रगति हुन नसकेकोमा चिन्तित हुनुहुन्थ्यो । अनि बारम्बार भन्नुहुन्थ्यो – ‘सारा युरोप, अमेरिका साहित्यबाट नै धुमधाम विकास भएको मैले पाएँ । एकै घर परिवारमा श्रीमान् श्रीमतीको बेग्ला बेग्लै पुस्तकालय छ । नयाँ पुस्तक बजारमा आउनासाथ किन्छन् । फुर्सद भयो कि साहित्य पढ्छन् । साहित्य भनेको चेतना हो । यसको वृद्धि र विकासले नै व्यक्ति, समाज र देशको उन्नति हुन्छ ।’ सभा समारोह वा अन्य जोसँग पनि उहाँ यही कुरा भन्नुहुन्थ्यो ।

कुरै कुरामा एक दिन भन्नुभयो- ‘डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान’ बनाउन केही साथीहरू लागेका थिए । बीचैमा छोडे, नेपाली कागजमा प्रिन्टेड विधान देखाउँदै भन्नुभयो, तपाईंको फुर्सद भए गर्नुस् । उहाँको प्रस्तावमा मैले सकारात्मक सोच बनाएँ । केही साथीहरू मिली यो कार्यक्रमलाई अगाडि बढायौँ । कार्तिकेय घिमिरेको अध्यक्षतामा २०६२ साल मङ्सिर १६ गते ललितपुरमा संस्था दर्ता गरियो । प्रतिष्ठानको कार्यालय नै उहाँको निवासमा राखिएकाले प्रायः उहाँसँग दिनहुँजसो कुराकानी हुन्थ्यो । जीवनको अन्तिम अवस्थामा पनि भन्नुहुन्थ्यो, ‘अझै हामीमा चेतना आएको छैन । साहित्यमा कदर गरिएको छैन ।’ प्रतिष्ठानले विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गर्नुहुन्थ्यो । तै पनि सोचेजस्तो अगाडि बढ्न बढाउन सकेका थिएनौँ ।

उहाँ र उहाँका कृतिहरूका विषयमा खोजअनुसन्धान गरी व्यापकरूपमा विस्तार गर्न सकेमा उहाँमाथि न्याय हुने थियो साथै देश र जनताको पनि हित हुने ।

आज डायमनशमशेर राणा हामीसामु भौतिकरूपमा हुनुहुन्न तापनि उहाँका चर्चित उपन्यासहरू नेपाली साहित्य आकासमा जग्मगाइरहेका छन् । उहाँका मार्मिक प्रजातान्त्रिक विचारहरू, अनि देश र जनताका लागि दिएको योगदान युगौँयुगसम्म इतिहास बनेर रहनेछ । जसले हामीलाई सधैँ देश र जनताको उन्नतिका लागि घचघचाउने छन् । सत्मार्गतिर डोर्‍याउने छन् ।

(लेखक डायमनशमशेर राणा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *