वि. सं. २०५८ भदौ ४ देखि ८ सम्म सिक्किमको गान्तोकमा बस्ने अवसर पाएको थिएँ । निर्माण रजतजयन्ती समारोहको सन्दर्भमा भएको त्यो यात्रा अत्यन्तै रोचक र सान्दर्भिक थियो । त्यही यात्राको एउटा अंश यहाँ प्रस्तुत गरिएको छ ।
गान्तोकको पाल्जोर स्टेडियमरोड स्थित होटल टिवेटबाट बिहान ९ बजे तयार भएर हामी पर्यटनतिर लाग्यौं । ईश्वरवल्लभ र बैरागी दाइ यस यात्रामा नजाने भएपछि इन्द्रबहादुर राई र भाउजू अनि डा. लख्खीदेवी सुन्दास, टी.बी. चन्द्र सुब्बा र चन्द्र शर्मासमेत हामीहरूले एउटा जिपबाट यात्रा सुरु गर्यौं ।
गान्तोक बजारबाट नागबेली परेको उकालोसँगै विभिन्न गाउँबस्ती, खोल्सा, डाँडा, जङ्गलहरू पार गर्दै हाम्रो गाडी-यात्रा अगाडि बढ्यो । अगस्त महिना । पानी सिमसिम पर्दैछ । प्रायः कुहिरोले ढाकेको हुँदा सुन्दर दृश्यहरूबाट चाहिँ टाढिएका थियौं । केही ठाउँमा बाटो भत्किएर, माथिबाट पुरिएर साँगुरो भएको हुँदा मुस्किलले गाडी पार गर्दैगयौं । नाथुला रोड-पन्ध्र माइलमा पुगेर एउटा चिया दोकानमा केहीबेर बस्यौं । चियावाल्नी पेमा लामा निकै गफिली रहिछन् । “चिया मात्रै के खानु हो, यस्तो जाडोमा…। तिनले हाँस्तै भनेकी थिइन् । “होइन, अहिले यति नै भएपुग्छ, भरे फर्किंदा चियासँगै सिया पनि खाउँला ।” भनेर हामी बाटो लाग्यौं ।
र्फकदा मात्रै टसारो छाँगु-मात्रैको रमणीयता ग्रहण गर्ने भन्दै गाडी गुडाइयो । छाँगुभन्दा उताको सबै इलाका सैनिक क्षेत्र रहेछ । बाटोमाथि, बाटोमुनि, वरपर डाँडा सबैतिर सैनिक आवास र क्याम्पहरू । जताततै अवरोध काठ तेस्र्याइएका । ठाउँठाउँमा जाँच्तै छोड्दै गर्ने रहेछ । उकालो निकै चढेपछि एउटा दोबाटो आयो ।
शेराथाङ भन्ने ठाउँ रहेछ त्यो । त्यहाँबाट तिब्बती सिमाना क्षेत्र प्रसिद्ध नाथुुलातिर जाने र बाबाधामतिर जाने बाटो छुट्टनिेरहेछ । करिव चौध हजार फिटको उचाइमा रहेको त्यस दोबाटोसम्म पुग्दा मलाई कस्तो कस्तो असजिलो अनुभव भएको थियो । लेक लागेछ क्यार, मैले आफै उत्तर खोजें । उहिलेको भोट जाने मुख्य नाकाहरू नाथुलाका ऐतिहासिक प्रसङ्गसहित चर्चा गर्दै त्यहाँबाट बाबाधामतिर लाग्यौं ।
बाबाधाम अचम्मको मन्दिर र मान्यता परम्परा । त्यो धाम कुनै देवालय देवदेवी मन्दिर होइन । भर्खरै केही दशक अगाडिका एक जना व्यक्ति विशेषका नाममा स्थापित मन्दिर रहेछ । सैनिक क्षेत्रमा यो मन्दिर विशेष प्रचलित भए पनि अन्य सर्वसाधारणहरूसमेत त्यस मन्दिरको दर्शन अवलोकनका साथै आफ्ना मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वासमा त्यहाँ पुग्दा रहेछन् ।
बाबा-धामको उत्पत्ति कथा
सन् १९६६ मा हरभजन सिंह नामक पञ्जाबी मूलका व्यक्ति सैनिक सेवामा लागेर त्यस ठाउँमा पुगेछन् । भनौं उनको पोस्टिङ त्यही नाथुला क्षेत्रमा भएछ । केही महिनापछि एक दिन तिनी आफ्नो ड्युटीका क्रममा साथीहरूसँग जङ्गलतिर सर्च गर्दै जाँदा अचानक हराएछन् । साथीहरूले चारैतिर खोजे, भेटेनन् । रात परेपछि साथीहरू फर्किए । भोलि पर्सिपल्ट पनि हरभजन हराएको ठाउँ वरपर खोजियो तर उनको पत्तो लाग्न सकेन । त्यस क्षेत्रबाट भाग्ने, हराउने ठाउँ पनि छैन तर आश्चर्यसँग हरभजन हराएपछि तिनको नाम निसान फेला परेन ।
केही दिनपछि हरभजनलाई साथीहरूले सपनामा देख्न थाले । एउटा साथीलाई सपनामा तिनले आफू नमरेको तर अन्तध्र्यान भएर अदृश्य बनेको कुरा बताएछन् । सिपाहीहरूले त्यो कुरा आफ्ना हाकिम क्याप्टेन कहाँ पुर्याए । क्याप्टेनकै नेतृत्वमा फेरि केही दिन हरभजनको खोजी भयो । अनि हरभजन हराएको ठाउँ वरपर खोजी गर्दा उनको राइफल चाहिँ भेटियो । राइफल भेट्टिएको ठाउँमा उनीहरूले एउटा ढुङ्गा गाडिराखेर फर्किए ।
यो कुरा क्रमशः सेलाउँदै गएको थियो तर केही समयपछि सैनिक छाउनीमा विभिन्न चेष्टाहरू देखिन थाले । धेरै सिपाहीहरूले हरभजनलाई सपनामा देख्न थाले । दिउँसै पनि यसो झकाउनासाथ उनी देखा परिहाल्थे ।-“म मरेको छैन, अन्तध्र्यान -अदृश्य) मात्रै भएको हुँ । मलाई सुरक्षित गरेर राखिदिनु ।” भन्दै सपना सुनाउने गर्थे ।
पहिले हरभजन बसेको क्याम्प वरपर रात परेपछि अँध्यारामा हरभजनको छायाँ देखिन थाल्यो । छायाँ देख्ता सिपाहीहरू तर्सिने, कराउने पनि गर्नथाले । एक जना क्याप्टेनले पनि सपनामा हरभजनलाई देखेछ । “मेरो नाममा एउटा मन्दिर बनाएर मलाई राखिदिनु म सबैको कल्याण गर्नेछु ।” कर्णेल ब्यूँझिदा यस्तो भनाइ गुन्जिरहेको थियो । त्यस कर्णेलसहित सिपाही साथीहरूले माथिल्लो हाकिम कर्णेलकहाँ त्यो कुरा पुर्याएर हरभजन हराएको ठाउँमा एउटा मन्दिर बनाउन अनुरोध गरे तर कर्णेलले ध्यान दिएन । केही दिनमै कर्णेलको अर्कै ठाउँमा सरुवा भयो । त्यस कर्णेललाई केही अनिष्ट पनि भयो भन्ने खबर फैलियो ।
अर्को नयाँ कर्णेल पोस्टिङ भएर आएपछि एक जना क्याप्टेनद्वारा हरभजन प्रकरणको सविस्तार वर्णन गरेर सुनाइयो तर उसले यो कुरा पत्याएन त्यो कुरा त्यक्तिकै उडाइदियो तर त्यसै रात कर्णेलले पनि सपनामा पञ्जावी पगडी दारीसँगको सैनिकलाई आफ्ना छेउ उभिएको देखेछन् । अघिल्लो दिन सुनाएअनुसारका सिपाहीलाई सपनामा देखे अनि बिउँझेपछि ती कर्णेललाई मनमा चिसो पस्यो । केही नराम्रो हुने आशङ्का भएछ । बिहान चारैतिर हेर्दा थिएन । अनि भोलिपल्टै ती कर्णेलले मन्दिर बनाउन आदेश दिए । सैनिक खर्च र प्रबन्धमा ती हरभजनलाई विश्राम गर्ने आवास गृह बनाइयोे । त्यस मन्दिरको नामः ‘हरभजन बाबाधाम’ भनेर राखियो ।
सपनामा साथी सिपाहीलाई बताएजस्तै ती हरभजनका लागि विश्राम गर्ने सम्पूर्ण व्यवस्था मिलाइयो । ती सिपाहीको एउटा ठूलो मूर्ति बनाएर स्थापित गरियो । देवी देउतालाई झैं प्रतिदिन फूलमाला अबीर धूपदीप नैवेद्य सबैथोक चढाउने परम्परा बसाइयो ।
मूर्ति भएको ठाउँसँगै अर्कोतिरको एउटा कोठामा कुर्सी, टेवल र टेवलमाथि रजिस्टर, कापी, कलम, कलमदानी र आवश्यक अफिस सामान राखिएको छ । अर्कोतिरको कक्षमा शयन कक्ष र छेउमा खानपिनलाई चाहिने भाँडाकुडा र आवश्यक सरसामानहरू सजाइएको छ । समग्र हेर्दा एउटा व्यक्तिको जीवनकालमा उपभोग गर्न चाहिने जति सामग्री सजिएको देखिन्छ ।
मन्दिर निर्माणसँगै आवश्यक पूजा-आजाको व्यवस्था भएपछि क्रमशः त्यसको महìव बढ्दै गएर सर्वसाधारण जनजीवनसम्म प्रचारप्रसार भइसकेको छ । त्यसपछि एउटा तीर्थस्थलका रूपमा मान्यता पाइसकेको रहेछ । यसरी त्यस मन्दिरलाई त्यतिबेला ‘बाबाधाम’ नामले नै चिनिन्छ ।
एक जना हवल्दारको मातहतमा चारपाँचजना सिपाहीहरूको रेखदेखमा त्यो धामको व्यवस्थापन चलेको छ । हामीलाई एक जना सिपाहीले त्यहाँको सबै कुरा बेली बिस्तार गरेका थिए ।
अन्तरध्यान भएका हरभजन बाबाको अन्य सैनिकहरू समान नै प्रमोसन हुँदैआयो । सिपाहीबाट क्रमशः बढुवा हुँदै त्यसबेला क्याप्टेन बनिसकेका थिए । ती २००४ को मार्चमा रिटायर हुनेछन् । प्रत्येक तहको बढुवाअनुसार नै मन्दिरभित्रको व्यवस्था पनि बढाउँदै लगिएको थियो ।
मन्दिर बाहिरपट्ट िसयौं पानीका बोतल र ग्यालिनहरू थिए । सबैमा पानी भरेर राखिएको देखेर त्यसबारे सोध्दा थाहा भयो । दर्शनार्थीहरूले नै यस्ता बोतल र ग्यालिन लिएर आउँछन् । खाली भाँडा छोडेर पानीले भरिएका लैजाने गर्छन् । खाली भाँडाहरूमा अघिल्लो दिन पानी भरेर राखिन्छ । त्यसरी एक रात वा बढी रात वा बढी समय भाँडा बोतलहरूमा भरेर राखिएको पानीको प्रयोग गर्दा औषधिको काम गर्छ अरे । पेट दुखेको, टाउको दुखेको निको हुने । आँखा, नाक, कान दुखेको पनि यो पानी राख्ता निको हुने । आगोले पोलेको ठाउँमा पानी पट्ट िगर्दा चट्टै हुने । पेटसम्बन्धी विभिन्न रोगसँगै ग्यास्टिक निको पार्ने । यस पानीको महत्त्व धेरै छ । मन्दिरमा चढाएको प्रसाद र फूल अक्षता पनि घर लैजाँदा लच्छिन हुन्छ ।
बिहान बेलुका निश्चित समयभित्र बाबालाई खाना राखिदिनुपर्छ । पानीको लोहोटा राखिदिनुपर्छ । सुत्नेबेलामा ओछ्यान टकटक्याएर मिलाइदिनुपर्छ । बेलाबेला तन्ना फेरिदिनुपर्छ । अनि बेलुकी सबै काम गरेर ढोका ढप्क्याएपछि हामी आफ्ना क्वार्टरतिर जान्छौं । बिहान मन्दिरको ढोका खोलेर भित्र पस्ता कोही मानिस भएझै आभास हुन्छ । ओछ्यानको तन्ना राति सुतेझैं खजमजिएको हुन्छ । धेरै कुराको अनौठो चेष्टा पाइन्छ यहाँ । बडो विचित्र घटना हुन्छ यस मन्दिरभित्र र छेउछाउमा ।
प्रत्येक वर्ष सैनिकले पाउने बिदा सुविधा यी बाबालाई पनि दिइन्छ । बाबाको घरपरिवारमा वर्षको एकपल्ट एकमुष्ट तलब पुर्याइदिने गरिएको छ । एउटा कार्यरत सैनिक अफिसरका रूपमा बाबाका बारेमा सबै काम गरिएको छ ।
यहाँ आएर दर्शन गर्नेहरूले भन्ने गरेको सुनेको हो । बाबासँग आफ्नो दुःख पुकारा गरेर माग्दा पुग्छ अरे । यहाँ आउनेले भाकल गर्छन् । कतिले त अर्कोपल्ट आउँदा आफ्नो मनौती पुगेको भन्दै विभिन्न कुरा ल्याएर बाबालाई चढाउँछन् ।
हामीले छक्क पर्दै ती सिपाहीका कुरा सुन्यौं । चारैतिर जङ्गल र नागी चौरका बीचमा स्थापित एक्लो घर-बाबाधाम । एकान्त र रमणीय स्थान बाबाधामको अनौठो कथासँग जोडिएको यथार्थ घटना सुनेर-बुझेर हामी फर्किएका थियौं ।
समान प्रसङ्ग
नेपालमा कुमारी मन्दिर छ । जीवित देवी भनिन्छ कुमारीलाई । विश्वकै अनौठो परम्परामध्ये पर्दर्छिन् कुमारी-जीवित देवी मन्दिर र दर्शनपरम्परा तर यी बाबा जीवित र मूर्तमान् पनि छैैनन् । अर्कै अनौठो परम्पराभित्र परे यी बाबा हरभजन र यिनका नाममा बनाएको बाबाधाम ।
नेपालमा पाटनका राजा योगनरेन्द्र मल्लसँग पनि एउटा यस्तै खालको कथा जोडिएको छ । उनी आफू जीवित छँदै पाटनको तलेजु मन्दिरअगाडि आफ्नो मूर्ति बनाएर राखेका थिए । त्यस मूर्तिको पछाडिपट्ट िकर्कोटक नागको मूर्ति र नागको टाउकोमा एउटा बाहिर निस्कँदा विशाल तालको पानी तरङ्गीत भएको देखेर किनारमा उभिएर रमिता हेर्यौं । त्यस तालको चारैतिर बाटो रहेछ । त्यस बाटोमा घुमाउन याक, घोडाहरू लिएर केही व्यक्तिले सेवा पुर्याउँदा रहेछन् ।
राजाले प्रजाहरूलाई भनेका थिए रे, मेरो मूर्ति पछाडिको चरा उडेर नगएसम्म म जीवितै रहनेछु । त्यसकारण मेरो यो शरीर मरेर गए पनि मलाई जीवितै ठानेर मेरा निम्ति आवश्यक सरसामान जुटाइराख्ने गर्नु ।
पछि राजा मरेर गए पनि पाटन दरवारको एउटा कोठामा राजाका निम्ति बस्ने ठाउँ, खानेकुरा र तमाखु भरेर राखिदिने जस्ता काम २००७ साल अघिसम्म चलिरहेकै थियो भन्ने जनश्रुति पाइन्छ । करिब तीनसय वर्षअघिका ती राजाले आफ्नो मूर्तिसँगै राख्न लगाएको सुनको चरो पनि अहिलेसम्म उडेको छैन । त्यस जन श्रुतिअनुसार यी राजा जीवितै होलान् ।
हामीहरू बाबाधामबाट फर्कियौं । पानी सिमसिम परिरहेको थियो । टसागो-छाँगुको एउटा रेस्टुरामा आएर केहीबेर विश्राम गर्यौं । चियाखाजा पछि रङ्गिबिरङ्गी ढङ्गले सजाइएको एउटा याकमा चढेर नयाँ खालको अनुभव बटुल्दै केही बेर घुम्यौं । रङ्गिचङ्गी सजाएको त्यस याक आरोहणको छुट्टै अनुभव पाइयो । एक कि.मि. लामो र २१५ मि. चौडा यो छाँगु आफैँमा अद्भूतसहितको मनोहारी सुन्दर देखिदोँ रहेछ । छाँगु ताल पुगेपछिको आनन्द-‘अहा कति राम्रो’ भन्ने वाक्यः स्वतः फुत्किने रहेछ । छेउको बोर्डमा लेखिएको छ-“तपाईं बाह्र हजार फुटको अग्लाइमा हुनुहुन्छ । जताततै सैनिक छाउनी । सर्वसाधारण कोही पनि आउजाउ गर्न पाउँदैन । जताततै तगारा राखिएको । पास-विशेष अनुमति लिएकाहरू म्ाात्र अघि बढ्न सक्छन् । केहीमाथि गएपछि भेटिनेरहेछ- ‘वेलकम टु नाथुरा’ लेखिएको बोर्ड । त्यही लेखिएको छ-‘कस्मिरदेखि कन्या-कुमारीसम्म भारत एक छ ।’
गान्तोकबाट करिव पचास कि.मि. टाढाको यो क्षेत्र ज्यादै हरियाली र मनोहर छ । सुनसान कानै बन्द हुने शून्य क्षेत्र । यसरी हामीहरू सिक्किम यात्राभित्रको पनि एउटा छुट्टै अनौठो यात्रा गरेर साँझ परेपछि होटल टिबेट फर्किएका थियौं ।
मधुपर्क २०६८ जेठ
