Skip to content


उत्सवहीन उत्सवहरू छन्, वरिपरि ।

ती परिगणितताहरूले, अहिले पात्र चयनमा छु ।

चयन विचरणमा छु । चेतमा, विम्बविरेचनले, विचरिततामा छ ।

ती ध्येय उन्मिलितताले, अमूक पात्रको विषयमा मसी यसरी खर्चिंदैछु, जसको कुनै पहिचान छैन । परिणति छैन । सङ्गति छैन । कारकीय सम्परीक्षण छैन ।

जुन चरित्रताको सान्निध्यमा छु, उसको कुनै परिचय छैन भनेर उद्घोष गर्नुपर्दा, ग्लानि पनि भइरहेको छ ।

उसको परिचयहीनताले बिथोलिएको छ, मन ।

धेरै परिचयहीनताहरूको ऊ एउटा प्रतिनिधि चरित्रपात्र हो भनेर चित्त बुझाउने स्थितिमा पनि छैन, म । यस्तो अन्योलमा बाँच्नुपर्ने कारण र स्थितिहरूले पनि गिजोलिरहेको छ, मलाई ।

म त्यहाँसम्म पुग्न चाहन्छु ।

यी शब्द र वाक्यहरू, राग र आलापहरू आफैं विरोधाभाषपूर्ण हुन सक्छन् ।

पहिचानविन्दु नभएको कुनै पात्र हुन्छ र ! न्यूनतम वैशिष्ट्य नभएको कुनै चरित्र हुन सक्तैन ।

जे भए पनि, जस्तो भए पनि असल-कमसल पहिचान त हुन्छ नै । जस्तोसुकै भए पनि चिनारी त हुन्छ, हुन्छ ।

पहिचान भएकाहरूमा, रूमल्लिँदा रूमल्लिँदै पहिचानविहीनको खोजीमा यहाँसम्म आइपुगेको रहेछु । आफूले आफूलाई, यी शब्दहरूले तह लगाइँदा त्यति अस्वभाविक हुने छैन ।

आत्मतुष्टिका लागि यति भनेर फेरि एकपल्ट निवृत्त हुँदै हुन्छु, म ।

नाट्यशालामा, कृत्रिम, स्वभाविक वा काल्पनिक सबै प्रकारका स्वनामधन्य अभिनयहरू, हामी पात्रहरू गर्छौं । हाम्रो भूमिका छ । हामीले प्राप्त गरेको निर्देशन छ । कतिको पहिचान खुल्छ, कतिको खुल्दैन । कतिको खुल्दैजाने सम्भावना रहन्छ । कति अनिर्णयकै वन्दी भएर पिल्सिँदै गइरहेका हुन्छन् ।

पहिचान हुनेहरू मात्र, पात्रको परिचय होइनन् । पहिचान बनाउन नसक्नेहरू पनि, ती परिचय हुन् । यो कुरा मैले राम्ररी बुझेको छु । तथापि म कुनै पहिचानविहीन चरित्र विशेषलाई लिएर तरङ्गित भइरहेको रहेछु । मलाई पहिचानविहीनकै मात्र चिन्ता रहेछ ।

मेरो वरिपरिको परिवेशमा कुनै जीवजस्तो मुद्रा छ । जीवजस्तो आकृति छ । जीवधारी रागात्मकता छ । शरणागतता छ ।

चाउरिएका, चोइटिएका केही कविताको पङ्क्तिमाथि घोत्लिइरहेका बेला, कवितामा वणिर्त चोइटिएकै मनसित मनोलाप गरिरहेका बेला कुनै नाम नभएको, पहिचान नभएको पात्र पङ्क्तिलाई खोजिरहेको रहेछु । कविताका विम्बहरूले झस्काइदिँदा, प्रतीकीय तरलताहरूले आलोकीय तुल्याइदिँदा झसङ्ग हुन पुगेछु, म ।

यथार्थमा उसको पहिचान नभएरै पहिचान बनेको हो । मैले यो कुरा किन बुझ्न नसकेको होला । करिब आधा शताब्दीको कालखण्ड पिउँदा नपिउँदै क्विन्टलको छेउछाउ पुगेको यस गोचर प्राणीलाई उसको क्षमता र चेतनाअनुसार मैलोधैलो, कालो-गोरो, दुब्लो-मोटो अस्तित्व, जे जसरी सकिन्छ, स्वीकार गरिदिँदा मेरो केही बिग्रँदैन पनि ।

कुरोको चुरो यो पनि थिएन ।

पहिचान भएकाका बीचमा पहिचानविहीन, पहिचान सङ्क्रमिततालाई विश्लेषण गर्न आइपुगेको हुँ म ।

यसलाई मैले कुशलतापूर्वक सम्प्रेषण गर्न नसकेको मात्र हो ।

जे होस् अविषयक-अविचारित ती प्रणालीमाथि म प्रवेश गर्न खोजिरहेको छु, जसको कारण र उपलब्धि मलाई आवश्यक छैन । यो जीवको जटिलता परीक्षण गर्न यी सकसहरू लागेका हुन् ।

ऊ चाहेर पनि किन सङ्लिन सक्तैन !

मैलोधैलो जीवन बाँच्ता कस्तो प्रकारको सन्तुष्टि प्राप्त हुन्छ ! न ऊ भन्न सक्छ, न म सोध्न सक्छु ।

द्विविधा-दोसाँध र द्वन्द्व-अन्तर्द्वन्द्वले मौन बस्न नदिने रहेछ । यिनै कारणहरूले लेखक हुनुको एउटा निरीहता वा लेखक हुनुको दोस्रो अराजकता उत्पन्न हुँदो रहेछ । पात्र निरीक्षण त्यसैले, प्रारम्भ गरिँदो रहेछ । आफूले आफूसम्म आइपुग्न खोज्दा भेट्न भेट्न खोजेको अनुभूतिलाई मात्र राख्न सकिन्छ । भेटेर, मूर्त भेटिसकेकोे अनुभूति प्रकट गर्न सकिन्न । अहिले मलाई यस्तै अनुभूति भइरहेको छ ।

पृथिवीमा अनगिन्ति आयु र कामनाहरू, पहिचान बनाउने तरखरमै बितिरहेका छन् । कतिलाई पहिचानसित सरोकार पनि छैन । भ्रूणको स्वभाविक विकासलाई नै जीवनको गन्तव्य मानिदिँदा पुग्दो रहेछ । कतिपय चाहिँ पहिचानको खोजीमा पनि जुटेका देखिन्छन् । कसैले बनाएँ भन्छ, कसैले ती प्रयासको सोलोडोलो परिभाषामात्र अर्थ्याइरहन्छ ।

पहिचान बनाउने सरल प्रविधि र सूत्रहरू भइदिएको भए, यो पृथिवीको स्पन्दन कस्तो हुन्थ्यो होला ! आफूले आफूलाई श्रेष्ठ अङ्कित गर्ने यो यन्त्रमानव कति अग्लो हुन्थ्यो होला !

पृथिवीलाई, आत्मरतिको विषाक्तताले उत्तिकै च्यापेको छ । पृथिवीलाई, पहिचानविघटित यान्त्रिक पाशविकताले उत्तिकै बलात्कृत तुल्याइरहेको छ । पृथिवीको खगोलीय वृत्तलाई उत्तिकै पीडा छ । यस किसिमको विषाक्तता र हिंसाहरूबाट मुक्त हुनेहरू पहिचान बनाउन सफल पनि भएका छन् । जे भए पनि, पहिचानविहीनहरूकै बाहुल्यता छ, धर्तीमा । यी बाहुल्यताहरूका माझमा यो परीक्षणको पात्र, यो चासोको सन्दर्भ, भारी तौल फिँजाउँछ, मेरा अघिल्तिर । उसका दैनिकीहरू मनुष्येतर तृष्णा, लोभ, जलन र हाहाकारमा प्रदर्शित भइरहेका छन् ।

दम्भ र गर्व छ, तौलभरका यी उपादेयताहरूलाई ।

के उसको पूर्ण आयु ऊदेखि ऊसम्मका लागि मात्र निर्मित थियो त ! यति सानो वृत्तमा यो पहिचानविहीन पहिचान अल्मलिएको रहेछ । पहिचानको खोजीमा, पहिचानको निर्माणमा लाम लागेका बोधिसत्वहरू युगौंयुगदेखि द्रवित हुँदै आइरहेको पनि सुनेकेा छु, मैले ।

तर यो निस्पन्द-निष्प्राणको परिचय भिरेको मेरो पात्र अझै ऋतुस्नाता कौसीमा उभिएर अट्टहास गरिरहेकै छ । ऊ निष्प्राण नभएर, मचाहिँ हुँदै गइरहेको भ्रान्तता तयार हुन्छ । उसको हावाले, उसको गन्धले, ललाटको छायाँले मेरो वरिपरि नै अप्रतिहतता सिर्जना गर्दै गइरहेको अनुभव हुन्छ ।

मेरो चयनको यो प्राणेतर दम्भ बडो कठोर छ । दुष्ट छ । नृशंष छ । उसको कठोरतासित मनोवाद गर्न आइपुगेको मेरो दर्शन र चिन्तन पनि दिशानिर्देश हुन सकिरहेको छैन । उसलाई परिचय प्रदान गर्ने सन्दर्भमा आफ्नै स्वाधीनताको विघटन हुने हो कि ! यो भय पनि छ । उसको पहिचानविहीनतामा चिन्तित हुँदै गइरहेको मेरो संवेदना आत्मपरस्त भएर पुनः स्वस्खलनतर्फ फर्कने हो कि ! संत्रासमाथि संत्रास पनि थपिंदै गइरहेको छ ।

कहलिएका मनोचिकित्सकले पनि यसको तन्तुको परीक्षण गर्न सक्लान् जस्तो लाग्दैन । यो जीव पूरै रहस्यमय छ । तिलस्मीमय छ । जे बोल्छ, त्यो गर्दैन । र जे गर्दै गइरहेको छ, त्यो स्वीकार गर्दैन । आफूले हासिल नगरेका बहादुरी र पुरुषार्थको वयान गरेर थाक्तैन पनि । आफ्ना बुता र वर्गतले भ्याएसम्मका दुर्वोध्य वोधातीतहरूलाई वोध्य र वैध तुल्याउने चेष्टामा छ, ऊ ।

उसको यो अभिनयकौशल नियमित आकस्मिकतामा पर्दैन । कुनै भाग्यवादी दर्शनमा पर्दैन । कर्मशील पद्धतिमा पर्दैन । यसलाई वर्गीकृत गरेर राख्ने स्थान पनि पाएको छैन मैले । समाजमा सबैले सबै कोणबाट चिनिएको पात्र हो, ऊ । परिचयविनाको परिचयमा कोही पनि अपरिचित छैनन् ऊसित । यिनै वृत्तहरूमा उसका रङ्गमञ्चीय चेष्टाहरू परेका छन् ।

तर जस्तोसुकै भीड र कोलाहलमा पनि ठम्याउन सकिन्छ, उसलाई । कुन्नि, यो नाम नभएको जीवले धेरै ठूला नाम भएका हस्तीहरूलाई समेत पछारेको देेखेको छु । विश्वलाई सानो गाउँमा रूपान्तरित तुल्याउने विज्ञान र प्रविधिले समेत एकपल्ट ऊसित झस्किनै पर्दछ कि जस्तो लाग्छ । यति हुँदाहुँदै पनि उसको नाम राख्न सकेको छैन मैले । उसप्रतिको कुनै धारणा बनाइदिन सकेको छैन मैले ।

हचुवाको भरमा नाम दिने कार्य राम्रो होइन पनि ।

एउटा संभाव्य सटिकता आवश्यक हुन्छ, उसलाई पुष्टि गर्न ।

समाजको अङ्ग भएर पनि समाजमा नदेखिएको यो ‘अकुशल क्षेम’ लाई त्यति सजिलै परिभाषित गर्न सकिन्न । यो मेरो बुतादेखि बाहिरको कुरा हो ।

जीवन कुनै सूत्र वा फर्मुलामा बाँधिने कुरा होइन तर योजना र कार्यक्रमले जीवनलाई नियमित तुल्याउन सकिन्छ । सिर्जना र साधनाले जीवनलाई सङ्गीतमय तुल्याउन सकिन्छ । यो नियमितता भनेको सुसंस्कृतता हो । यो साधकीयता भनेको सौन्दर्यव्यञ्जन हो । र सुकिलोपनमा रूपान्तरित तुल्याउने एउटा प्रविधि पनि ।

शदियौंदेखि, अनेक ठूला महापुरुष सन्तमहन्त, लेखक-दार्शनिक, कवि-कलाकार, वैज्ञानिक चिन्तकहरूले जीवनलाई बुझ्ने चेष्टा गरे । अनेक कोणहरूबाट अध्ययन परीक्षण पनि गरे, तिनले जीवनलाई ।

कष्टसाध्य जीवनको साधनामा, पहिचान निर्माणको प्रयास पनि थियो – यो । यीमध्ये धेरैले इतिहासको सुनौलो पानाबाट चिप्लिनु पर्‍यो ।

केही यस्ता अपवादीय अनर्थलाई स्मरण गर्ने हो भने पहिचानको खोजीमा लाग्नेहरू पनि उदासीन हुन थाल्छन् । यसबारे दुःखी हुन सकिन्छ, अल्मलिन सकिँदैन । इतिहासमा छुटेका र छुटाइएका सन्दर्भ र कारणहरूका पछाडि जे भए पनि हामीसित वर्तमान र भविष्य सुरक्षित छ । अभिनय सफल तुल्याउने गुणहरूले युक्त छौं, हामी । आफ्ना विशिष्टताहरूलाई अवमूल्यन गर्दै जाने हो भने एक पाइला पनि अघि सार्न सकिन्न ।

अभिनय गर्नै पर्दछ । रङ र प्रकाशसित क्रीडा गर्न जान्नै पर्दछ । जे होला, जस्तो होला । जहाँ पुग्न सकिन्छ । प्रस्थानविन्दु निर्धारण गर्नै पर्दछ ।

अभिनयका चरणहरू छन् । प्रकाश र दृश्य परिवर्तनहरूले केही नभन्न केही भनिरहेका हुन्छन् । केही भन्न केही नभनिरहेका हुन्छन् ।

दूरन्त यात्रामा छौँं हामी, बढिरहेका ।

कमजोर, गम्भीर वा सशक्त, अभिनयले वर्गीकृत छौं, ती सबै । समष्टिमा पर्दा नखुल्दै ज्ञात भइसक्ने स्थिति छ ।

उल्लेखित मेरो त्यो पात्रको, रूपहीनताले चाहिँ मलाई छाडेको छैन । उसको परिचय नहोस्, पहिचान नहोस् सरोकार राख्दिन भनेर तर्किन चाहँदा पनि म उसलाई सारमा ल्याइरहेको हुन्छु ।

उसको भद्दापनले थिच्तैथिच्तै लगिरहेको छ । उसको अनाकृतिले पछ्याउँदै पछ्याउँदै आइरहेको हुन्छ । समाजभित्र समाजविहीन, मनुष्यभित्र मनुष्यविहीन, उसको संलग्नतालाई नचाहँदा नचाहँदै स्वीकार गर्नुपर्ने यो स्थितिमाथि म धेरैपटक गम्भीर नभएको होइन ।

एउटा लेखकले पात्रको हिंसा गर्न सक्दो रहेनछ ।

दुःख र यत्नपूर्वक खोजिएका र सङ्ग्रह गरिएका पात्रहरू, पात्रविधानहरू, चरित्रहरू, विम्ब-रिदमहरूलाई रक्षित गर्ने लेखक स्वयं आत्मदाह गर्छ तर तिनलाई केही हुन दिँदैन ।

मैले अघि नै भनिसकेको छु, पात्रका विविध प्रकारहरू छन् । मेरो चयनको यो जीव, आमपात्रभन्दा धेरै भिन्न प्रकृतिको भएको हुँदा उसप्रति कतिलाई वितृष्णा हुन सक्ला र कतिलाई सहानुभूति पनि ।

म ती संवेगहरूलाई छेक्न सक्तिन ।

पात्रले रूवाउँछन् । तर्साउँछन् पात्रले ।

काव्यविहीन पात्रको कल्पना गर्न सकिन्न ।

‘सङ्कल्पात्मक काव्यको प्राण’ सकारण र अकारण अनुभूतिमा निर्भर गर्दछ ।

पहिचानविहीनसित पनि सुषुप्त, अप्रसवित अनुभूति हुन्छ ।

अस्तित्वरिक्त र वायवीय पदार्थमाथि पनि नियन्त्रण राख्ने यो अनुभूतिको चलायमानले, कुनै मूल्य दिन सक्छ । पहिचान प्रदान गर्न सक्छ ।

मेरो लेखकले यो पहिचानविहीनलाई मूल्य प्रदान गर्ने क्रममा, कुनै संज्ञाको उद्घोष गर्नु छ । कुनै मूर्तताको नाम जुराउनु छ ।

त्यहाँ, प्रेम र श्रेयका बीच जीवन तैरिइरहेको छ ।

दुवैलाई उपलब्धिको उत्कर्षमा पुर्‍याउन महान् अभिनय आवश्यक हुन्छ ।

यस्तो स्थितिमा नाम र पहिचानहरूलाई अघि लगाउन असङ्ख्य पहिचानविहीनहरूलाई पनि, जुलुसमा सामेल गराउन उत्तिकै अनिवार्य छ ।

परिचयले परिचयको उत्खनन्मा, नामको स्तम्भ थप निर्माण गर्नुपर्दा विशिष्ट कालपात्रनिर्मित विषय प्रवेशले मूल्य धेरै चुकाउनु पर्दछ । त्याग-समर्पण र उत्सर्गहरू जोडिएका हुन्छन्, त्यहाँ । आफूले आफूलाई पूर्ण निवृत्त तुल्याइसकेपछि नामको स्पर्श गर्न सकिन्छ । तर कहिलेकाहीं नाम बनाउन नसक्नेहरूका अगाडि नामकै प्रश्न तयार गर्नेहरूले, अकल्पनीय मूल्य चुकाएका हुन्छन् ।

रामायण र महाभारतमा वणिर्त पात्रहरूका बीच, नाम नबनाउनेहरूका अगाडि, तीभन्दा अग्लिएका पात्रहरूले पनि मूल्य चुकाउन सकेका पुष्टि हुँदैनन् । यद्यपि मूल्य नचुकाउने यी पात्रहरू, आफैंमा पनि पहिचानविहीन थिएनन् । आख्यानवाचकहरूले ठूलै छल गरेका छन्, आफूले आमन्त्रण गरेका कतिपय ती, पात्रचरित्रताहरूसित । प्राचीन जीवनमा वास्तविक इतिहासपुरुषलाई, धिरोधात्तीय गुण विशेषताहरूलाई रोकेर, तिनबाटै छल गरिएका पात्रहरू, सधँै स्वणिर्म अक्षरबाट विलुप्त तुल्याइएका घटनाहरू कम दयनीय छैनन् ।

नामको खोजीमात्र प्रमुख चिन्ताको विषय होइन ।

उत्तरित-अनुत्तरित प्रश्न बनेका सन्दर्भ र स्थितिहरूमाथि पनि परीक्षण आवश्यक छ । इतिहासतर्फ नर्फकनेहरूले भविष्यको रक्षा गर्न सक्तैनन् । प्राचीन स्मृतिहरूलाई, पुरातन पृष्ठभूमिका स्मृति तरलताहरूलाई, वर्तमानको आवर्तभित्र जोडेर हेर्न युगीन संस्कृति र व्यवहारमाथि पनि विश्लेषण गर्न आवश्यक छ । समयको गर्भमा लुकाइएका रहस्यहरूलाई खोजतलास गर्न नसक्नेहरूले वर्तमानको क्रान्तिकारी ध्वजा फहराउन सक्तैनन् ।

क्रान्तिकथा त्यसैले, पहिचान हुने र नहुनेका बीचमा छैन । कथालाई, इतिहासलाई, कथा र इतिहासजस्तो विराट मानसस्तम्भलाई, सर्वाधिक जीवन बाँच्ने उपक्रममा धेरैपटक योजनाकारले उलटपुलट तुल्याएका छन् ।

इतिहासकार र आख्यानकारहरूले गरेका त्रुटिहरू कति न्यायसङ्गत छन् भन्ने मात्र मेरो प्रश्न हो । नायक – महानायकहरूका सहकार्यमा प्रत्यक्ष – अप्रत्यक्ष संलग्न कति उपपात्रहरूको गहन भूमिका थियो, ती सबै लुकाइँदै आएका छन् ।

विमति यसैमा छ ।

यसरी पात्रविधानहरू, सधँै न्यायसङ्गत निर्माण भएका छैनन् । समृद्ध र शक्तिशालीकै मात्र इतिहास लेखिँदै आएको छ । यस्तो स्थितिमा सामान्यतया पहिचान बनाउन असमर्थहरू समयको गर्भमा त्यसै पुरिएर र चेप्टिएर हराउँदै जानु अस्वभाविक छैन ।

मैले इङ्गित गरेको पात्र यी दुवैमा पर्दैन ।

उसले आफ्नो भार आफूमा मात्र राखेको छैन, बढाइदिएको छ अरूलाई पनि । भार थपेर भार बाँच्नेहरूबाट समाजको सौन्दर्य भङ्ग हुन्छ ।

पहिचानविहीन पात्र विचरणमा निस्केको म, त्यसैले एउटा सम्बोधन गर्नुपर्ने निष्कर्षमा पुगेको छु । काँठबाट सहरीया हुन आइपुगेको यो मेरो पात्र, जसलाई गुलीराम कावुलीवालाले सम्बोधन गर्न आइपुगेको छु ।

द्रव्य र शिकारको प्रेमी-पारखी गुलीराम, काउलीको व्यापार गर्छु भन्छ तर उसले काउली व्यापार गरेको देखिँदैन । काउली रोप्ने भूमिको चाहिँ दलाली गर्दै हिँडेको, सधँै देखिन्छ । अझ खोलाले काटेका कातभूमि, बगर र ऐलानी खोज्दै चहार्दै हिँडेको र सोहीको दुई नम्बर कारोवार गरेका अनगिन्ती सन्दर्भ छन् ।

उसको द्रव्य र शिकारमोहप्रति मेरो चिन्ता र चासो होइन । उसले समाजमा कायम शान्तक्षेमलाई, तरङ्गीत तुल्याउँदै गरेका विविध प्रसङ्ग छन् । यीप्रति मात्र मेरो आपत्ति हो ।

ऊ कहिले श्रम शोषण गर्छ त, कहिले निर्धा र कमजोरहरूमाथि जाई पनि लाग्छ । ऊ कहिले विष्फोटक पदार्थको ओसारपसार गर्छ त, कहिले लागूपदार्थको अवैध धन्दामा पनि रहन्छ ।

अहिले आधुनिक शहरीया भइटोपलेको गुलीरामले, काँठका निर्दोष-निष्पाप व्यक्ति र समुदायलाई धेरै कोणबाट ठगी गरेको प्रसङ्ग पनि छन् । ती सबैको फेहरिस्त दिइरहन आवश्यक छैन । ऊ सुकिलो पोसाक लगाएर मैलो कार्य गर्छ । बस् यत्ति नै हो कि समाजमा अवैध हुने कार्यहरूमा ऊ रौसिएर सग्बगाउँछ । उसका व्यापक संलग्नताहरू छन् ।

ऊ अब गुलीराम काबुलीवालामा रूपान्तरित हुँदै गइरहेको कुरालाई सबैले स्वीकार्नै पर्दछ ।

उसले रवीन्द्रनाथ टैंगोरको ‘कावुलीवाला’ पढेको पनि छैन र त्यसबारे ज्ञान पनि छैन उसलाई तर ऊ टैंगोरको ‘काबुलीवाला’ भन्दा धेरै होचो कदको छ । केवल त्यो नामसित गुलीरामको संयोग जुर्न गएको मात्र हो ।

अब, गुलीरामले आफ्नो नामको अर्थ आफैं खोज्नु पर्दछ ।

म उसलाई व्याख्या गर्ने पक्षमा छैन । किनभने नाममा धेरै कुरा छ । धेरै अर्थ छ । आफ्नो नामको, आफ्नो पहिचानको अर्थ र दर्शन सबैले आफैँ थाहा पाउनु पर्दछ । नामको अर्थ थाहा नपाउनेहरू दोहोर्‍याएर पहिचानविहीन पनि हुन सक्तछन् ।

यहाँ तर आफैँले आफँैलाई विश्वास गर्न नसक्नेहरू पनि छन् । आफैले आफैँलाई सधैँ आशङ्कामात्र गर्नेहरू पनि छन् । अर्थात् आफैँले आफैँलाई मात्र ठीक ठान्न भयभीत हुनेहरू पनि छन् । आफैँले आफँैलाई प्रेम गर्ने नगर्ने द्विविधामा पनि छन् ।

यहाँ गुलीराम कहाँ पर्छ !

रोलाँ बाथहरू बिउँतिएर भन्नेवाला छैनन् ।

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *