जीवनको इतर एउटा दोसाँधमा अल्झिएको भोगाइ अभिषप्तता मुछिएको यो बिहान अभिनय गरिरहेछ सायद, ऊ मान्छे बुख्याँचा भएर । नोस्टाल्जियाको सुर्कनी फुकाएर रातभरि बटुलेको सपना स्वः हरूको पोल्टाबाट स्खलित भइरहेछ मानौँ ऊ ग्लेसिएर हो योबेला । म देख्दैछु खैरा र फिक्का मुटुका पीडासँगै तैरिएको संवेदनाको रातो आइसवर्ग ।
शून्य रेक्टर स्केलले चर्काएको यो सहर मौन हल्लाहरूको चरमतामा सायद सन्नाटा पिइरहेछ बेमौसमी प्रसव वेदनाहरूसँगै ! यो देश दुखेको पीडा आकाश निभेजस्तै नीरव र निःशब्द छ प्रायः । जतिवेला तिमीले बारम्बार एउटा निराकार उपमा दिएर सम्बोधनको पोको तेर्साइरर्यौ अनेकन यद्यपिहरूसँगै । लाग्यो मेरा निमित्त, सिर्फ ! मेरा प्रयोजनहरूका खातिर बाँकी जान्दिनँ केही होइन । ईश्वर सम्झियौ तिमीले, माफ गर कारण उसको परिभाषा दिन सक्ने क्षमता नै छैन मसँग, यसो भनौँ अझ दर्शन र चेतना प्रवाहको कुनै संयन्त्र छैन या अथवा त्यो एन्टिसिपेसनकै रिक्तता छ ममा यतिबेला । ‘एभ्री गड इज अ क्रियटर वट एभ्री क्रियटर इज नट गड’ । बस् यति हो ईश्वर हुनुको विषयमा मैले बोल्नु पर्ने, या उसले दिएको अधिकार मलाई ।
हुन सक्छ कुनै प्राथमिक सिद्धान्तको परम्परागत असर आजसम्म विद्यमान छ, ‘ईश्वरको आकार व्यक्त गर्न हामीलाई निराकार शब्द चाहिन्छ र रूप व्यक्त गर्न अरूप ! मनमा अरूप अभिव्यक्तिः दर्शाउन दुई आयामे शब्द र चिन्ह वा ध्वनि !’ ८ अँह जान्दिनँ म, योभन्दा बढी । बरू आउँ सोधौं नित्सेलाई ः ‘गड ह्याज अलरेडी डेड’ स्वीकार्य छ तिमीलाई यी वाक्यांशहरूसँग ! (?) तिमी जे गर, यद्यपि म मान्छु कारण जीवित ईश्वरको नामसम्म सुनेको छैन, देख्नुसँगको सरोकार के नै रहृयो र- क्राइस्ट, बुद्ध, अल्लाह, या यस्तै अन्यहरू । यदि माटो र ब्रोन्ज मेटलका हाइपोथेटिकल आकृतिहरूलाई ईश्वर मान्छ्यौ भने तिम्रो देखाइको ईश्वर पनि निर्जीव नै त छ आखिर ! यद्यपि यो नसोच कि एउटा अर्थोडक्सको संज्ञा दिन खोजिरहेछु यतिबेला तिमीलाई । त्यसो त एउटा सामान्य पुरुषको तुलनामा नारी बढी नै आस्तिक हुन्छे ईश्वरप्रति, जानाजान या अन्जानबस, अँह त्यो थाहा छैन ।
हो ! मान्छेहरू कुनै धारबाट ईश्वर जीवित हुनुको व्याख्या गर्न सक्छ त्यो आफ्नो ठाउँमा छ । भो ! छोडिदेउँ यसलाई र नलागौं पनि ग्रिक थिओलोजिका पन्नाहरू उल्टाउन तर्फ अब, हुन्छ (?) एउटा अवास्तविक इमेज बाँचेको मान्छे म, के थाहा तिमीलाई सोलोमनको मुटु इतर बोकेर रात पिइरहेछु भनेर । सुनेको छु या भनौं कतै पढेको पनि रक्सीले शून्य बनाउँछ लेखकीय तत्त्वहरू हुनुको भित्र यद्यपि यतिबेला शून्यताको कुनै विश्लेषणको अपेक्षामा छैन म, जान्दछ्यौ सायद, ढलिसकेको यो साँझ कुन मूडमा छु यतिबेला म भनेर ! दिनभरि एसिडिक डेस्कसँग बाँचेको मस्तिष्क यो बेला अक्षरहरूमा बाँच्न खोज्दैछ सायद इतर एउटा जीवन नै किन नहोस् र सेरिब्रम उपरको सतहभरि सञ्चारित भइरहेछन् तिम्रा शब्दांशहरूः हाइड्रोक्लोरिक प्रोसेसबाट गर्नुपर्ने यो, यति कन्सनट्रेसनको मात्रा इन्क्रिज गर्नुपर्ने फलानो रियाक्सनमा, लिवरेट हुनुपर्ने यति मोलिथ्युल या अथवा एक्स्पोज गर्नुपर्ने फलानो नर्भ, मेडुला अब्लङ्गटासम्म पुग्न स्पाइनल कर्डदेखि भेन्ट्रल पोर्सन चेप्नु पर्ने, इत्यादि इत्यादिहरू । के यही होइन प्रयोगशालासँगको सान्निध्यता काँचको सोकेसभित्र बन्दी बनाइएको त्यो अस्थिपञ्जरसँगको प्रेम या अथवा बग्रेल्ती एसिडका व्यारलहरूसँगको मित्रता (!) बस् छोड यी सब । बरू आऊ आज एउटा पृथक मित्रताको कुरा गरौं, इतर एउटा जीवन सिद्धान्तको कुरा गरौं, भावनात्मक सान्निध्यता र छुट्टै सह-अस्तित्वको कुरा गरौं ! हो ! मेरो भौतिक सामिप्यताभन्दा पर छ्यौ तिमी यतिबेला म जान्दछु, यद्यपि यतै कतै यिनै रिक्तताहरूमा, तिक्तताहरूमा या अक्षरहरूमा सायद, यसो भन्नुपर्ला निराकार छ तिम्रो यतिबेलाको मसँगको सान्निध्यता, यदि म गलत छैन भने ।
जीउने क्रममा अचेलभोलि अलिकति क्लिस्ट भएको छ जीवन ! सायद फूललाई प्रेम गछ्र्यौ तिमी अञ्जानवस, तिम्रो मस्तिष्कउपरको आवरणीयतामा भ्रान्तिमय मान्यता जीवित छ एउटा, फूल कोमल हुन्छ भन्ने । सायद प्रत्येक नारीहरू यसै भन्छन् । तिमीभन्दा पूर्वहरूदेखि नै भ्रान्तिवत् शृङ्खला एउटा । किन्तु के थाहा तिमीलाई फूल कति निर्मम हुन्छ, यति हो कल्पना गर्न सक्छ्यौ एउटा क्रूर शासक जत्तिकै । काँडा कति तीखो हुन्छ कल्पना तिमी आफैँ गर ।
सायद कमै सुनेकी छ्यौ फूलको धारले रेटिएको मृत्युकथा ! कथा भनेँ, तिम्रा निमित्त हुन पनि सक्छ यद्यपि मेरा निमित्त के हुनसक्छ यो, सायद जान्दिनौ तिमी । र, इतरमा जीवनका मूलसडकहरूमा एउटा विस्म्यादी चिन्ह उभिएर जाम पारिरहेछु सायद यतिबेला यी भोगाइका डेस्टिनेसनहरू उपर र एउटा अप्राप्तिको कलेवरमा बेरिएको खिन्न मनका टुक्राहरू बटुलेर मृत्युका संरचनाहरूसम्म हिँडिरहेछु मानौं, घडीको सुई हुँ म जो सतत् गन्तव्यविहीन जीवन बाँच्न वाध्य छ ।
जीओसेन्ट्रिक चेतनाको सतहबाट उठेर हेलियोसेन्ट्रिक चेतनासम्म आइपुग्दा सायद, अप्टिमिस्टिक सम्प्राप्तिका फ्लेभरहरूबाट विमुख छैनौ र हुँदिनौ पनि ! यो युगको सपना प्रिडेस्टिनेसन हो या के, स्वयं आफ्ना क्यालिक अहङ्कारका आवरणहरूमा घुलाएर एउटा कन्ट्राडिक्सनको संरचना जन्माइदिन्छ्यौ यही कि जीवन इतरहरूबीच भोगाइको जहाँ कुनै समर्पण हुनै पाउँदैन । हो ! यतिबेलाको यो संवेदना उपरको निस्क्रिय अवस्था, याद छ मलाई, कुनै समय तिमीले भनेका कुराहरू ः ‘तिम्रा यी प्रत्येक शब्दहरूबीचका सूक्ष्म दर्शन र विनिर्मित भाषा मेरो किञ्चित बौद्धिकताको सिमानाभित्र अटाउन सक्दिनँ । अँ ! पृथक धारको एउटा इतर संरचना ।’ शब्दशः यही भनेकी थियौ । किन र कसरी (?) सिर्फ ! प्रश्नांशका अवशेषहरू मात्र बाँकी छन् मसँग यतिबेला तिमीसँग साट्नु पर्ने बिचार, बिम्ब र भावनाको कलेवरभित्र ।
मधुपर्क २०६८ जेठ
