Skip to content


महिला-पुरुष समानताका प्रचारप्रसार जतिसुकै भए पनि व्यावहारिकरूपमा हुन सकेको छैन । कानुनले समान हक र अधिकार प्रत्याभूत गरेको भए पनि सामाजिक प्रचलन, सांस्कृतिक मान्यता, धार्मिक परम्परा तथा पुरातन मानसिकताका कारण महिलाहरू अहिले पनि विभेदका सिकार बन्न बाध्य छन् । २१ औँ शताब्दीमा पनि नेपाली महिलाहरू छुवाछूत, छाउपडी, बालविवाह, बोक्सी, बेचबिखनजस्ता पीडा भोगिरहेका छन् ।

यसरी उपेक्षित नेपाली महिलालाई आफ्नो हक र अधिकारका लागि सङ्घर्ष गर्नसके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उत्प्रेरणाका लागि निरन्तर लागिरहेका लेखक तथा पत्रकार हुन्- निर्मलकुमार आचार्य । नेपाली महिलाका अप्ठेरा, सफलता र कीर्तिमानलाई प्रस्तुत गरेर महिलाहरूमा आत्मविश्वास बढाउने काम गर्दै आएका छन् आचार्यले । यही अभियानअन्तर्गत प्रथम नेपाली महिला, १०१ प्रथम नेपाली महिला (पूरक खण्ड) प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त निबन्धसङ्ग्रह, गीतसङ्ग्रहसहित चार कृति प्रकाशित गरिसकेका आचार्यको ‘अग्रणी महिला’ हालै प्रकाशित भएको छ । यसमा नेपालको राजनीति, कला, शिक्षा, चिकित्सालगायतका क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाएर उदाहरणीय बन्न सफल ५५ जना महिलाको व्यक्तित्व र कृतित्वको प्रकाश पारिएको छ ।

माइती नेपालमार्फत् प्रशंसनीय कार्य गरेवापत सीएनएन हिरोबाट पुरस्कृत अनुराधा कोइराला र अन्य महिला व्यक्तित्वलाई पुस्तकमा समेटिएको छ । पुस्तकमा महिला जिल्ला वन अधिकृत (डीएफओ) माधुरी कार्की थापा, प्रथम मौसमविद् मन्दिरा राजबाहक, प्रथम सर्भेयर भारती श्रेष्ठ, स्रष्टा ललितत्रिपुरा सुन्दरी, जिल्ला शिक्षा अधिकारी बुनु श्रेष्ठ, पशु चिकित्सक डा. पूणिर्मा श्रेष्ठ, एयर ट्राफिक कन्ट्रोलर प्रभा बैद्य, फार्मिसिस्ट विजया लक्ष्मी श्रेष्ठ, व्युटी थेरापिष्ट विना वैद्य, सरकारी वकिल सत्यभामा माथेमा, नर्स विद्यादेवी कंसाकार, खाद्य विशेषज्ञ जीवनप्रभा लामा, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, टेस्टट्यूब बेबी प्रशंसा बज्राचार्य, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुर्‍याल समेटिएका छन् ।

शिक्षा क्षेत्रमा विशिष्टता हासिल गर्ने महिलाहरूमध्ये गणितमा विधावारिधि गर्ने डा. इन्दुकुमारी बज्राचार्य, भाषा विज्ञानमा डा. सुभद्रा सुब्बा दाहाल, मैथिली भाषासाहित्यमा डा. शयामाकुमारी महतो, हिन्दीमा डा. आशा सिन्हा, पत्रकारिता डा. गीतामैया श्रेष्ठ, माइकोरेजा (ढुसी) मा डा. इन्दिरा भट्टराई रहेका छन् । चाटर्ड एकाउन्टेन्ट बन्दना खेतान, क्यान्सर नर्सिङमा स्नातकोत्तर गर्ने एकमात्र महिला दयालक्ष्मी जोशी (बैद्य) मूतिकलामा स्नातकोत्तर गर्ने प्रमिला गिरी, सहकारीमा स्नातक गर्ने ओमदेवी जोशी नेपालका पहिलो महिला हुन् ।

यसैगरी पर्यटनविद् अम्बिका जोशी, कलाकार शान्ति मास्के, गायिका भरवी छोङ्ङ, अस्मिता रञ्जित, रङ्ग निर्देशक शकुन्तला शर्मा, नृत्यकार हनि श्रेष्ठ, मूर्तिकार सुषमा सिंखडा, सगरमाथा आरोही पुजन आचार्य, साहित्यकार माधुरी भट्टराई, खेलाडी सङ्िगना बैद्य, विमा अभिकर्ता मिठु सिंह, डा. सावित्री गुरुङ, स्कुल महिला अभियन्ता लिली थापा, आयुर्वेदसेवी डा. माया गौतमका प्रेरणास्पद जीवनी पुस्तकमा छन् । सेनाको उच्चपदमा पुग्ने विग्रेडियर जनरल डा. सुधा शाह, प्रहरीमा डीआईजी विमला थापा, दलित आन्दोलनकी अग्रणी मिठाइदेवी विश्वकर्मा, सबैभन्दा बढी रक्तदान गर्ने निता घिराइया, पुतली बनाएर अन्तर्राष्ट्रिय पुरस्कार पाउने किरण मास्के, फेसन शिक्षिका ज्ञानीशोभा तुलाधार, सामाजिक सङ्गठन दिव्या कोइराला, अपाङ्गता भएकी स्रष्टा झमक कुमारी, पशुपालक सावित्री गुरागाई, जेल तोड्ने उमा भुजेल, रिकन्डिसन हाउसकी शकुन्तला बस्नेत, कमलरीबाट सभासद् हुने शान्ता चौधरी र १९ वर्षको संरक्षण अभियानबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने साधना थापाजस्ता उदाहरणीय महिलाहरू पुस्तकमा समेटिएका छन् ।

यसरी अग्रणी महिलाहरूले गरेको उत्साह, आँट र सफलताका लागि गरेको निरन्तर सङ्घर्ष महिलाको लागि मात्र नभएर पुरुषको लागि पनि पुस्तक प्रेरणामूल बन्नसक्ने देखिन्छ । यस्तो सार्थक कार्यका लागि लेखक निर्मलकुमार आचार्य धन्यवादका पात्र बनेका छन् ।

पुस्तकः अग्रणी महिला
लेखकः निर्मलकुमार आचार्य
प्रकाशिकाः रमिला आचार्य
संस्करणः २०६७, फागुन
पृष्ठः १०+१५६
मूल्यः रु. २५०।-

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *