Skip to content


नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर
चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल
गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल
पानी वर्षेर माटाको, सुगन्धमय रामपुर

उच्च पर्वत मालाले, घेरेको छ उपत्यका
छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित
हिमका कण बोकेर वायु घुम्छ सबैतिर
यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर

लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन्
प्रकृतिका नयाँ भाका, घर-घरै पुर्‍याउँछन्
यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन
शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा

कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर
सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर
बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर
जन्म-मरणका घाट, सबै हिन्दू बराबर

दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा
पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा
दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब
लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर

मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर
जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन
चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर
ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर

वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि
मन बोकेर अर्काको, आफैँभित्र लुकाउने
कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर
सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर

रामपुरटार, ओखलढुङ्गा

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *